जयतु संस्कृतम् आन्दोलनको प्रभाव

Advertisement


जयतु संस्कृतम् धर्म भूतये, जयतु संस्कृतम् राज भूतये
जयतु संस्कृतम् देश भूतये, जयतु संस्कृतम् विश्व भूतये ।।

यिनै नाराका आधारमा नेपाली विद्यार्थीले आन्दोलन सुरु गरेका हुन् । नेपालको इतिहासमा छात्रले खुल्ला रूपमा सडकमा उत्रिएर राणाशासन विरुद्ध गरेको आन्दोलन ‘जयतु संस्कृतम्’ नै पहिलो हो । यसअघि पनि छात्रले राणाशासनप्रति असन्तोष देखाउने प्रयत्न नगरेका होइनन् । वि.सं. १९९५ मा जुद्धशमशेरले एउटी सुन्दर ब्राह्मणी कन्या र अर्की तल्लो जातकी साग बेच्ने सुन्दर युवतीलाई देखेर आफ्ना आठपहरियाद्वारा दरबारमा दाखिला गराएको घटनाले संस्कृत पढ्ने विद्यार्थीले त्यस कार्यको विरोधस्वरूप नेपालगञ्ज निवासी गोपचन्द्र रेग्मी, भानु आचार्यसमेत एघार जनाले २ बजे राति माटाको हाँडीमा विष्टा भरेर जुद्धशमशेरको सालिकमा खन्याइदिएका थिए ।

यसै विषयलाई लिएर राणाले विद्यार्थीमाथि दमन सुरु गर्यो । नेपालको इतिहासमा पहिलोपटक यी विद्यार्थीले धर्ना दिने र सत्याग्रहको कार्यक्रम अख्तियार गरी आफ्नो पहिचान प्रस्तुत गरे । यस आन्दोलनका नेतामा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, काशीनाथ गौतम, हरिप्रसाद देवकोटा, पद्यशंकर त्रिपाठी, श्रीप्रसाद गौतम थिए । यिनै कारणले छात्र आन्दोलन क्रमशः बढ्न थाल्यो । ‘जयतु संस्कृतम्’ आन्दोलनले राणाशासनका विरुद्ध जनजागृति गरायो र प्रजातान्त्रिक आन्दोलनलाई ठूलो मद्दत गर्यो । यो मैदानबाट जन्मिएको ‘संस्कृत छात्र संघ २००४’ नेपालको पहिलो छात्र सङ्गठन हो । यो आन्दोलन १९९७ सालमा प्रजापरिषद्ले गरेको आन्दोलन पछि दोस्रो ठूलो आन्दोलन हुन पुग्यो (अधिकारी, हेमराज २०५८ः २०९) । जयतु संस्कृतम् आन्दोलनले जनतालाई राणाशासन विरुद्ध लाग्नुपर्ने जागरण गरायो र प्रजातान्त्रिक आन्दोलनलाई अघि बढ्न ठूलो मद्दत पुग्यो ।

आन्दोलन अघि बढ्ने अनेक कारणमध्ये तीनधारा पाठशालाका विद्यार्थीलाई एउटा कुरामा चित्त बुझेन । त्यो थियो – संस्कृतबाट उत्तरमध्यमा, शास्त्री र आचार्यसम्म गर्ने र अंग्रेजीबाट आई.ए., बी.ए. र एम.ए. गर्नेका बीच सरकारले गरेको विभेदको पहिलो कारण हो । एउटा अंग्रेजीमा एम.ए. गर्नेले वार्षिक १२ सय पाउँथ्यो भने संस्कृतबाट आचार्य गर्नेले प्रतिवर्ष ६ सय पाउन पनि मुस्किल थियो । एम.ए. हुनेले सरकारी ओहोदामा राम्रा–राम्रा पद पाउँथे । तर आचार्य गर्नेले पाउने भनेको पण्डित पद मात्र थियो । पण्डित नभेट्टाउनेले पुरेत बनेर विवाह व्रतबन्ध, न्वारान, पास्नी, रुद्री–चण्डी पाठ गरेर, काजक्रिया गराएर निर्वाह गर्नुपर्दथ्यो । कतिपयले तिनलाई ‘टपरे’ भनेर हेला पनि गर्थे । तर उत्तिकै शिक्षा लिएका पण्डितले एम.ए. गर्नेलाई सम्मान नै गर्नुपथ्र्यो । त्यसैले संस्कृत पढ्ने विद्यार्थीलाई लाग्यो, हामीमा के कमी छ, हाम्रो शिक्षामा ज्योतिष, आयुर्वेद, दर्शन, गणित, वास्तुकला, शिल्पशास्त्र जे चाहियो त्यही छ । शिल्पशास्त्रले हाम्रो प्राचीन कला, मठमन्दिर देखाएको छ, आयुर्वेदमा विज्ञान छ, कतिपय अवस्थामा एलोप्याथिक डाक्टरले निको बनाउन नसकेका बिरामी आयुर्वेदले निको गराएको छ तर हामीलाई अहिलेसम्म भूगोल, इतिहास, नागरिक शास्त्रको अध्ययन गर्न सुविधा दिइएको छैन । यदि यी शास्त्रको अध्ययन गर्न पाइयो भने हामी कोहीभन्दा कम हुने छैनौँ । त्यसैले अब हामीले श्री ३ महाराजकहाँ बिन्ती चढाउनु पर्छ । यो भयो भने हाम्रो हैसियत बढ्छ भनेर विद्यार्थीले एउटा बिन्तीपत्र तयार पारे । त्यसमा निम्न कुरा थिए :

अंग्रेजी पढ्ने र संस्कृत पढ्नेलाई समान दृष्टिले हेर्नुपर्ने । अंग्रेजी पढ्नेले पाए सरहको सुविधा संस्कृत पढ्नेले पनि पाउनुपर्ने । संस्कृतमा नपरेका इतिहास, भूगोल, नागरिक शास्त्र, अर्थशास्त्र पढ्न पाउनुपर्ने । भाषालाई महत्त्व दिनुको सट्टा ज्ञान र सीपलाई महत्त्व दिनुपर्ने । संस्कृतमा आचार्य, शास्त्री र अंग्रेजीमा एम.ए., बी.ए.लाई समान स्तर कायम गर्नुपर्ने । अंग्रेजीमा कलेज रहेको छ, संस्कृतमा पनि रहनुपर्ने । मध्यमा परीक्षा दिनका लागि बनारस जानुपर्ने भएको छ, त्यो हटाएर नेपालमै परीक्षा दिन पाइने व्यवस्था हुनुपर्ने । यस्ता माग राखी लेखिएको मागपत्र श्री ३ पद्यशमशेरकहाँ एकप्रति पठाइदिए । विद्यार्थी यसपछि अब केही हुन्छ कि भनेर ताकेता गर्न लागे । अन्त्यमा यी मागपत्र हेरेर श्री ३ पद्यशमशेरबाट यस्तो घोषणा भयो ।

यो मातृभाषा हो । यसमा विज्ञान छैन । अहिले अंग्रेजी विश्वभाषा भएको छ, यसमा शिक्षा दिए संसारका जुनसुकै ठाउँमा पनि हेलमेल हुन सकिन्छ । यस मृतभाषाले काजक्रिया, न्वारान, पास्नी, विवाह, व्रतबन्ध, सप्ताह, पुराण, चण्डी, रुद्री गर्नलाई मात्र काम दिन्छ । त्यसैले यसमा अरू कुनै बोझ थप्नु छैन । फेरि श्राद्ध गराउनेलाई नागरिक शास्त्र, अर्थशास्त्रको ज्ञान दिएर के काम ! फेरि टपरेवृत्ति गरेर खाने मृत भाषा कहाँ अंग्रेजी भाषा सरह हुन सक्छ ! पद्यशमशेरको यस्तो भनाइले नेपालभर तहल्का मच्चियो । सारा वेदपाठ गर्नेहरू, संस्कृतका अनुयायीहरू, संस्कृतमा आस्था राख्नेलगायत छात्रवासका विद्यार्थीले जयतु संस्कृतम्को नारा लगाउँदै छात्रावास छाडेर बाहिर निस्के । संस्कृत विभागका डाइरेक्टरलाई ब्रह्मराक्षस, रानीपोखरी पाठशालाका नौजना पण्डितलाई नवग्रह र पद्यशमशेरलाई राजावेन उपाधि दिएर छात्रवास शून्य भयो ।

छात्रवास छोड्ने विद्यार्थी त्रिपुरेश्वर, बागमती कालमोचन घाटमा बस्न थाले । यसरी संस्कृत पाठशालामा हड्ताल हुनुको कारण पद्यशमशेरले संस्कृत भाषालाई मृतभाषा भनेको कुरा चारैतिर फैलियो । कति अभिभावकले छात्रलाई आफ्ना घर लगे । टाढाटाढाका विद्यार्थीले जयतु संस्कृतम्को नारा लगाउँदै भिक्षा मागेर हिँड्न थाले । यो अवस्था देखेर कतिले भन्थे, ब्राह्मणले सन्तोष लिनु पथ्र्यो । अझ श्री ३ रिसाए भने डाँडा कटाउन सक्छन् । कतिले ब्राह्मणलाई किन हेला गरेको भनेर सदासयता पनि प्रकट गरे । राजाले संस्कृत भाषालाई मृतभाषा किन भन्नुपर्यो । यदि त्यसो हो भने त्यही भाषाले किन काजक्रिया गर्ने त ? यस किसिमले आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा केही फरक परिवर्तनका धर्सा देखिन थाले, सरकारले विद्यार्थीको मागलाई सम्बोधन गर्नुपर्ने अवस्था आयो ।

आन्दोलनमा नारासहित जुलुस प्रदर्शन र प्रवचन शुरू भयो, मानिसले प्रशस्त भिक्षा दिए । छात्रहरूले समाजसेवी, बुद्धिजीवी र राजनीतिक व्यक्तिका साथै तमाम धार्मिक व्यक्तिको समर्थन पाउन थाले । यो आन्दोलनमा तीनसय विद्यार्थीको उपस्थिति थियो ।

काठमाडौँमा पुराण चलिरहेको थियो । पुराणको साङ्गे हुने दिन वि.सं. २००४ असार १० गते कमान्डर इन्चिफ मोहनशमशेरको आज्ञाले लाठसाहेब बबरशमशेर जङ्गबहादुर राणा विद्यार्थीलाई मनाउन आए । उनले विद्यार्थीसँग कुरा गर्न जनरल शुरशमशेर राणाको दरबारमा विद्यार्थी बोलाए । उनी धार्मिक भएकाले पर्व–पर्वमा विद्यार्थीलाई दान दक्षिणा, सिदा दिने गर्दथे । बबरशमशेर, शुरशमशेर, पंं. हेमराज शर्मा र विद्यार्थीका बीच कुरा भए । विद्यार्थीका माग पूरा गर्ने र रेस्टिकेट विद्यार्थीको सजाय रद्द गरी छात्रवासमा फर्काउने सहमति भयो । त्यो सहमति दशैँ अगाडि नै पूरा गर्नुपर्ने थियो । तर सरकार आलटाल गर्दै, मध्यमा परीक्षा दिन फारम भर्ने समय आएकाले नेपालमा टेस्ट परीक्षा दिएर मात्र बनारसमा मध्यमाको फारम भर्न पाइन्थ्यो । यसमा कोही टेस्ट परीक्षा बहिष्कार गर्ने थिए भने कोही परीक्षा दिने मनस्थितिमा थिए । परीक्षा बहिष्कार गर्नेमा कमलराज रेग्मी, कुलमणि देवकोटा, नारायणभक्त खनाल र दामोदर शर्मा छात्रावास छोडेर बनारसतर्फ लागे । यस विषयमा केवलपुरे किसान भन्छन् ः

पाठशाला भर्ना भएँ, पाएँ भात खान ।
आन्दोलनमा भाग लिँदा झण्डै गयो ज्यान ।।
चार सालमा निकालिएँ पाठशालाबाट ।
भीक माग्दै मैले कुरेँ कालमोचन घाट ।।
तेसपछि देश निकाला मैले हुनु पर्यो ।
अलि मैन्हा मेरो बास बनारसमा सर्यो ।।

कतिपय विद्यार्थीले यस्ता कविता गाउँदै हिँडेका पनि थिए । वि.सं. २००४ आषाढ १ गतेदेखि सुरु भएको जयतु संस्कृतम् आन्दोलन कहिले सशक्त, कहिले शिथिल हुँदै वि.सं. २००४ मार्ग २२ गते चरमोत्कर्षमा पुग्यो । त्यसपछि कति छात्रले बनारस जाने योजना बनाए त कति खर्चको बन्दोबस्त गर्न आआफ्ना घरतर्फ लागे । केही दिनपछि बनारस पुगेका कति विद्यार्थी पढाइ लेखाइमा लागे भने कोही पढाइका साथै बीपी कोइरालाको सङ्गतमा पुगेर नेपाली राष्ट्रिय काङ्ग्रेसको सदस्यता लिई राजनीतिमा सक्रिय भए । त्यसपछि त्रिचन्द्र कलेजका विद्यार्थीले पनि हड्ताल सुरु गरे । त्यसले र जयतु संस्कृतम्को आन्दोलनले जनमानसमा ठूलो प्रभाव पार्यो र आन्दोलनको राँको गाउँगाउँसम्म पुग्यो । यसरी विद्यार्थी आन्दोलन नेपालको प्रजातान्त्रिक आन्दोलनको एक अङ्ग बन्न पुग्यो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल