आज महाशिवरात्रिव्रत, हेर्नुहोस् २०७६ फाल्गुन ९ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल फाल्गुन महिनाको ९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत फेव्रुअरी महिनाको २१ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फाल्गुनकृष्णपक्षको त्रयोदशी तिथि बेलुका ५।४० बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति धनु राशिमा छन् । उत्तराषाढा नक्षत्र बिहान १०।०० बजेसम्म रहनेछन् । यसैगरी आज व्यतिपात योग र भद्रा करण रहेका छन् । आज सूर्योदय ६।३९ मा छ भने सूर्यास्त बेलुका ५।५८ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा छन् ।


आज महाशिवरात्रिव्रत परेको छ । फाल्गुन कृष्णचतुर्दशी साक्षात् शिवजी निराकारबाट साकार रूपमा प्रकट भएको दिन हो । शंकर भगवान विशालकाय अग्निलिङ्मा प्रकट हुनुभएको दिनका रूपमा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक मनाइन्छ । भगवदुत्पत्तिसँगै यो सृष्टिको पनि आरम्भ भएको हो । माघमासस्य शेषे या प्रथमे फाल्गुनस्य च । कृष्णा चतुर्दशी सा तु शिवरात्रिः प्रकीर्तिता ।। (कालमाधवीयस्कन्ध, नागरखण्डम्) अर्थात् फाल्गुनकृष्ण चतुर्दशीलाई शिवरात्रि भनिन्छ । जुन शिवउपासनाका निम्ति उत्तम दिन हो । महाशिवरात्रिपर्व रात्रिव्यापिनी हुन्छ । जुन रातले चतुर्दशीलाई धेरै छोएको छ सोही दिन महाशिवरात्रि पर्व मनाइन्छ ।


भगवान् शंकरका विभिन्न ज्योतिर्लिङ्ग पनि यही फाल्गुन कृष्ण चतुर्दशीमा प्रकट भएका हुन् । पछि आएर समुद्र मन्थनबाट प्राप्त विषलाई पनि साक्षत् नीलकण्ठ भगवानले यही दिन आफ्नो कण्ठप्रदेशमा राख्नुभएको कथा पुराणमा वर्णन पाइन्छ ।


शंकर तम तत्वप्रधान भएकाले कृष्णपक्ष चतुर्दशीको मध्यरात्रिमा प्रादुर्भाव हुनुभएको हो । यस्तो अन्धमय समयमा पनि कल्याण गर्ने विश्व ब्रह्माण्डका अखिल नायक सृष्टिस्थिति र लयकर्ता आद्य शक्ति परमात्मा परमेश्वर देवाधिदेव महादेवको महिमा अपरम्पार छ । शिवशक्ति आद्य परमात्मा परब्रह्म हुनुहुन्छ । यो संसार भगवान शिवकै अंशरूपमा चलिरहेको छ । चराचर जगत् शिव सङ्कल्पबाट सृजित भएको हो । शिवलीला अपरम्पार छ । सृष्टिसँगै लय पनि अवश्यम्भावी छ जो परमात्मा परमेश्वका कृपाले मात्र सम्भव हुन्छ । आद्य शिवशक्तिबाट नै यो संसारको उत्पत्ति भएको हो । वेदले पनि भगवान शिवको स्तुति गरेका छन् । तन्मे मनः शिवसङ्कःपमस्तु ।। (यजुर्वेद, ३४।२) को वेदध्वनिबाट पनि उक्त कुराको पुष्टि हुन आउँछ ।


लिङ्गपुराणको अन्तिम अध्यायमा मन्त्रयोग, स्पर्शयोग, भावयोग र महायोगको चर्चा गरिएको छ । मुखले मन्त्रको जप, मनबाट रूपको ध्यान गर्नु मन्त्रयोग हो । नाडीशुद्धिबाट वायुशुद्धि गर्ने प्रक्रिया स्पर्शयोग हो । भित्र र बाहिर भगवद् रूपको स्फुरण हुनु भावयोग हो । यी तिनवटै सिद्धि पश्चात् सर्वोत्तम महायोगको स्थान आउँछ, जो निर्विकल्प समाधिरूप हो । यसको सिद्धिपश्चात् सम्पूर्ण बन्धनबाट मुक्त भएर शिवसायुज्य प्राप्त हुन्छ भन्ने कुरा लिङ्गपुराणमा व्यक्त गरिएको छ । महाशिवरात्रि शिवतत्व प्राप्तिको उत्कृष्ट दिन हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल