आज विजया एकादशीव्रत, हेर्नुहोस् २०७६ फाल्गुन ७ गते

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल फाल्गुन महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत फेव्रुअरी महिनाको १९ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फाल्गुनकृष्णपक्षको विजया एकादशी तिथि बेलुका ५।१६ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति धनु राशिमा छन् । मूल नक्षत्र बिहान ८।४६ जेसम्म रहनेछन् । यसैगरी आज वज्र योग र कौलव करण रहेका छन् । आज सूर्योदय ६।४१ मा छ भने सूर्यास्त बेलुका ५।५६ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा छन् ।


आज विजया एकादशीव्रत परेको छ । एकादशी भनेको चान्द्रमहिनाको एघारौँ दिन हो । फाल्गुन कृष्णपक्षको एकादशीाई विजया भनिन्छ । विजय प्रदान गर्ने भएकाले यस एकादशीलाई विजया भनिएको हो । कार्यक्षेत्रमा सफलता प्राप्तिका निम्ति पनि विजया एकादशीको व्रत धारण गर्न सकिन्छ ।


जब भगवान् श्रीराम माता सीताको खोजीमा लंका जादै हुनुहुन्थ्यो त्यस बेला बाटामा समुद्र तर्नु पर्ने भएकाले समस्या उत्पन्न भयो । समुद्र तर्ने कुनै उपाय नभेट्दा लक्ष्मणसँग समस्याको हल सोध्नुभयो । लक्ष्मणले उत्तर दिनुभयो – यहाँबाट आधा योजन टाढा पर परम ज्ञानी वकदालभ्य मुनिको आश्रम छ, हामीले ऋषिसँगै यस समस्याको हल खोज्नुपर्छ । सोपश्चात् भगवान श्रीराम लक्ष्मण समेत वकदाल्भ्य मुनिको आश्रममा पुग्नुभयो र ऋषिलाई प्रणाम गरेर आफ्ना समस्या पनि राख्नुभयो ।


सम्पूर्ण समस्या सुनिसकेपछि ऋषिमुनिले आज्ञा गर्नुभयो – हे राम π हजुर आफ्ना सेना समेत भएर फाल्गुन कृष्णपक्षको एकादशीको व्रत लिनुहोस् । यस एकादशीको व्रतको प्रभावले हजुरले निश्चितरूपमा समुद्र तरेर रावणलाई पराजित गर्नु हुनेछ । श्रीरामले मुनिको निर्देशनबमोजिम आफ्ना सेनासमेत सबैले एकादशीको व्रत लिनुभयो र सागरमा पुलको निर्माण गरी लंकामा आक्रमण गर्नुभयो ।


यसै व्रतको प्रभावले राम लेखेका ढुङ्गा समुद्रमा तैरिनथाले र लंकासम्मको पुल निर्माण भयो । सो पश्चात् रावणसँग घनघोर युद्ध भयो अन्ततः भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गर्नु भयो । यसरी विजय प्राप्त गर्नुको पछाडि एकादशीव्रतको विशेष प्रभाव रेहको छ । अतः विजयजा एकादशीको व्रत जसले धारण गर्दछन् ती व्यक्तिले आफ्ना कार्यमा सिद्धिका साथै विजय पनि प्राप्त गर्दछन् भनी पद्म पुराणमा कथा वर्णन गरिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल