सभामुखको निर्वाचनले के सङ्केत गरेको जस्तो छ ?

Advertisement

प्यारी बहिनी जगदम्बा
शुभाशीष

सन्चै छौँ र तिमीलगायत तिम्रो परिवारका सबै मान्यजन, पिताजी, माताजी तथा ज्वाईँसाहेव समेतमा मेरो नमस्कार भन्दिनू अनि भान्जाभान्जीहरुलाई प्यार छ है मामाको भनेर सुनाइदिनू ।
अनि तिमीले केही दिन अघिमात्र प्रतिनिधि सभाको सभामुखको निर्वाचनसम्बन्धमा के भएको छ या के हुँदैछ भनेर सोधेकी थियौ । त्यो बेलामा म हतारमा बाहिर निस्कन लागेको थिएँ र थाहा पाएसम्मका कुरा भन्न पनि पाईँन । अहिले झट्ट सम्झेँ र केही जानकारी दिउँ भनेर लेख्न थालेको हुँ ।

राजनीतिमा चासो राख्ने कुनै पनि नेपालीले विदेशमा बसेर झन नेपालको राजनीतिलाई वास्ता गरेकै हुन्छ भन्ने कुराको असल उदाहरण मेरै बहिनी हो जो बारम्बार नेपालको राजनीतिक अव्यवस्थाका वारेमा चिन्तित हुँदै फोन गरिरहेकी हुन्छ्यौैै । कहिले नेपाली काँग्रेसका वारेमा, कहिले नेकपाका वारेमा त कहिले सरकारका वारेमा चलेका हल्ला र भएका घटनाको विश्लेषण चाहन्छ्यौ । तिम्रालागि नयाँ धारणा बनाउन पनि हुनसक्छ या घटेका घटनाको कस्तो विश्लेषण गरिएको छ नेपालका भनेर जान्न चाहेकी पनि हुनसक्छ्यौ ।

अहिले सभामुखको विषय तातोतातो छ र यो चिठी लेख्दासम्म सभामुखको निर्वाचनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा निर्वाचित साँसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको अवस्था छ । त्यसो त अहिले सभामुख र उपसभामुख दुवैको पद खालि छ किनभने निरपराध उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएर ठाउँ खालि गरिदिएको अवस्था छ । खालि पनि किन गर्नु परेको भने यसभन्दा पहिलेका निवर्तित सभामुख कृष्णबहादुर महराले सँसद सचिवालयकै एकजना कर्मचारीमाथि करणी गर्न खोजेको आरोपमा प्रहरीले मुद्दा चलाएको छ र हाल उहाँ जेलमा नै हुनुहुँदा राजीनामा दिएर बस्नुभएको छ । राजीनामा सभामुखबाट मात्र दिनुभएको हो, प्रतिनिधि सभाको सदस्यबाट भने होइन ।

त्यसैले सभामुख चयन गर्नका लागि एउटै दलबाट सभामुख तथा उपसभामुख छान्न नपाइने अनि एउटै लिङ्गबाट पनि छान्न नपाइने संवैधानिक प्रावधानले गर्दा सभामुखको चयन हुन सकेको थिएन । कतिसम्म भने पुस ४ गते संघीय सँसदको अधिवेशन बोलाइएको थियो तर पनि सभामुखमा कसलाई छान्ने भन्ने सत्तारुढ दलभित्र विवाद बढेकोले सूचना टाँसेर एक महिनासम्म प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो । शिवमायाजीको विचार थियो, अबको सभामुख मै हुन्छु र अर्कोदलको उपसभामुख दिँदा राम्रो हुन्छ तर नेकपाका नेताहरुले खासगरी दुईओटा अध्यक्षमध्ये एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै मान्यताका आधारमा पूर्व माओबादीबाट सभामुख चयन गरिनु पर्छ र अर्को दललाई उपसभामुखका लागि छोड्ने नीति बनाउन समय लागेको हो ।

अन्ततःशिवमायाजीले भन्नुभएको थियो—त्यसो भए सभामुखको नाम तोक्नुस्, म बाटो प्रशस्त गर्नेछु । नभन्दै अग्निजीको नाम तोकिएपछि उहाँले राजीनामा दिनु भयो र अहिले यत्तिबेर नयाँ सभामुख निर्विरोध चुनिनु भएको छ र प्रतिपक्षी नेपाली काँग्रेसले कुनै अवरोध गरेन । यस्तो पो प्रतिपक्ष हुनु त । पहिले काँग्रेसले सरकार चलाउँदा केके हुन्थ्यो प्रतिपक्षबाट , त्यसबारे तिमी आफैँ पनि जानकार छ्यौ । सभामुखमा निर्विरोध निर्वाचित हुनुभएका अग्निजी मेरा पुराना साथी पनि हुनुहुन्छ र एउटा पूर्व शिक्षक नेताले मुलुकको विधायकी सँस्थामा सभामुखको पद पाउँदा म हर्षित नै छु तर कुरो उहाँका वारेमा सर्वोच्च अदालतमा परेको ज्यानमुद्दाका कारणले विवाद जन्मेको हो जुन तिमीले मलाई सोद्धा पनि किन अग्निजी नहुने र भनेकी थियौ ।

एकजना नमोवुद्धतिरका अर्जुन लामा भन्ने व्यक्तिलाई २०६२सालको सुरुमै माओबादीहरुले आफ्नो कब्जामा लिएर मारेछन् र त्यसमा अग्निजीको र अर्का तत्कालीन माओबादी नेता सूर्यमान दोङको प्रत्यक्ष संलग्नता छ भनेर अर्जुनकी पत्नी पूर्णिमायाले सर्वोच्चमा उजुर गरेकी छिन् जसको किनारा लागेको छैन । हुन त द्वन्द्वकालका् मुद्दा हेर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन फेरि पनि भएको छ तर यो मुद्दा त्यहाँ जाने कि सर्वोच्चले हेर्ने भन्ने कुरामा सर्वोच्च अदालतको संवैधानिक इजलासले कुनै निर्णय दिएको छैन जवकि त्यो मुद्दाको पेसी यही माघको २२ गते छ भनिएको छ ।

सामान्यतः कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिका वारेमा मुद्दा पर्यो भने अनुसन्धानका लागि सहज बनाउन आफ्नो पदीय दायित्वबाट पन्छेर र राजीनामा दिएर बस्ने चलन छ विश्वभरका प्रजातान्त्रिक देशहरुमा । हाम्रै पनि निवर्तित सभामुख महराले अनुसन्धानका लागि सहज बनाउन सभामुखबाट राजीनामा दिएको उदाहरण नजिर छ । झन सर्वोच्चमा नै मुद्दा भएको व्यक्ति नै किन विधायकी संस्थामा प्रमुख हुनुपरेको होला भन्ने विषयले अहिले नेपालमा छलफलको विषय बनेको छ ।

यदि पहिले नै संविधानअनुसार सभामुख वा उपसभामुखको पदबाट नेकपाले राजीनामा दिएको भए पनि अहिले यति विवाद हुँदैनथ्यो किनभने उपसभामुखले निर्वाचन स्वतः गराउनु हुन्थ्यो । तर सभामुखमा नेकपाले नै दाबी गरेपछि उपसभामुखले त राजीनामा नदिई आवेदन नै दर्ता नहुने अवस्था थियो । त्यसैमा नेकपाका दुईओटा अध्यक्षहरुको कसलाई बनाउने सभामुख भन्ने कुरामा विवाद यतिसम्म बढ्यो कि प्रतिनिधि सभाको काम आजको मितिसम्म पनि चलेको छैन । आगामी आइतवारका लागि सभामुख घोषणा गर्ने अनि सभाले सभामुख पाउने सम्भावना छ ।

नेकपामा पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र अग्निजीको पक्षमा प्रचण्डजी देखिनु भएको टड्कारै बुझिन्थ्यो । बीचमा साँसद पम्फा भुसाल, साँसद हरिबोल गजुरेल र उपसभामुख शिवमायाजीको नाम पनि आयो र गयो । शिवमायाजीको गुनासो के रह्यो भने सभामुख करणीको मुद्दामा अनुसन्धानका लागि या पुर्पक्षका लागि जेल जाने अनि मैलेचाहिँ किन राजीनामा दिनुपर्ने ? किन मेरो बढुवा हुन सक्दैन र ? तर कुरो के रहेछ भने बहिनी, पूर्व एमालेको भागमा प्रधानमन्त्री र पूर्व माओबादीको भागमा सभामुख दिने लिने भित्री सहमति रहेछ ।

त्यसैका लागि न त नेम्बाङजीको नाममा सहमति बन्न सक्यो, न त शिवमायाजीका नाममा नै । भन्न त शिवमायाजीलाई राष्ट्रपतिजीको समर्थन छ पनि भनियो तर शिवमायाजीको तर्कले कुनै पनि काम गरेन । वास्तवमा यदि एउटै पार्टी भएको हो भने त शिवमायाजीको वारेमा सहमति हुनै पथ्र्यो । तर यस्तो घटना पहिले चित्रलेखा यादवका लागि पनि घटेको थियो । जब तारानाथ रानाभाटलाई पुनस्र्थापित प्रतिनिधि सभाबाट राजीनामा गराइयो,त्यो बेलामा पनि चित्रलेखाम उपसभामुख हुनुहुन्थ्यो र पनि उहाँलाई सभामुखमा बढुवा गरिएन , मन्त्री बनाइयो तर मन्त्रीमा उहाँ जानु भएन , उपसभामुखमा नै बस्नुभयो । अहिले त शिवमायाले मन्त्री पाउनु त होला तर उहाँमाथि भने अन्याय भएकै हो ।

कान्छी बहिनी जगदम्बा,
यदि साँच्चै प्रजातान्त्रिक प्रक्रिया र संक्रमणकालीन न्यायका वारेमा सरकार र नेकपा संवेदनशील हुने हो भने माघ २२ गतेसम्म सभामुखले शपथ ग्रहण नगरे हुन्थ्यो या राष्ट्रपतिजीले पनि तत्काललाई शपथ ग्रहण नगराए हुन्थ्यो । अग्निजीले पनि सायद भावी समस्याको समाधानका लागि संवैधानिक पदको आवश्यकता देख्नु भएको होला जस्तो कि सभामुखको रुपमा संवैधानिक इजलासमा निर्णय गराउन सहज हुनेछ । तर नेपालको सर्वोच्च अदालतले त्यसरी पनि हेर्नेछैन किनभने संक्रमणकालीन न्यायका वारेमा सर्वोच्च अदालतले हस्तक्षेपकारी भूमिका नखेलेको भए कतिपय पीडितले अरु पीडा खप्नु पर्ने अवस्था थियो । गठित आयोगहरु या त निष्क्रिय बनाइए या त काम गर्ने वातावरण नै पाएनन् किनभने तत्कालीन अवस्थामा सरकारमा हुने र जनयुद्ध गर्ने दुवै पक्ष अहिले (सिद्धान्ततः एकले अर्कालाई दोष लगाउने पीडित र पीडक )दुवै सरकारमा छन् ।


बहिनी,
अझ माओबादी पक्ष र त्यो बेलामा सरकारमा बस्नेहरु दुवै अहिले एउटै सरकारमा छन् । अनि एउटै पार्टी भएपछि एकले अर्कालाई निर्दोष देखाउने कुरामा सहमति बनेको छ जसको पछिल्लो उदाहरण सभामुखको निर्वाचनमा देखिएको छ । चाहे माओबादीबाट पीडित भएकाहरु हुन् या तत्कालीन सरकारबाट ( प्रहरी तथा सेनाबाट) पीडित भएकाहरु हुन् तिनको वारेमा निष्पक्ष छानबिन हुने कुरामा अव शङ्का उत्पन्न भएको छ ।

प्रचण्डजीले त कमसेकम तत्कालीन माओबादीको पक्षमा वकालत गरिरहनु भएको छ , बाबुरामजीले पनि वकालत गरिरहनु भएको छ र माअ‍ोबादीबाट पीडित भएकाहरुका लागि अहिले पनि अवस्था भयावह नै छ । गाउँगाउँमा त्यो भयावह अवस्था सुन्न , देख्न र भोग्न पाइन्छ भन्छन् भुक्तभोगीहरु । त्यसकारणले अबका दिनहरु जसले पीडा दिएको भए पनि पीडितहरुले एकमुष्ट आन्दोलन गर्ने सम्भावन बढेर गएको छ । अबको आन्दोलनलाई कसले कसरी नेतृत्व गर्ला भन्ने ठूलो जिज्ञासा समाजमा देखिन्छ । अहिलेको अवस्थाबाट कोही पनि खुसी छैन ।

सत्ताधारीहरुका बीचमा देखिएको सैद्धान्तिक तथा व्यावहारिक रुपमपा नै नमेटिने विवादका डोबहरु र विपक्षी काँग्रेसमा देखिएको आपसको चिथोराचिथोर अनि अनावश्यक विवादको भुमरीमा रुमलिएको अहिलेको राजनीतिभित्रै सभामुखको चयन पनि एउटा अर्को मानवअधिकारभित्रको दण्डहीनता र आगामी दिनमा नसुल्झने विवादको आधार देखिएको छ ।

एउटा कुनै दललाई बहुमत दिएमा सरकार सखल्ल चल्नेछ भन्ने कुरामा अब नेपालीहरु विश्वास गर्न नसक्ने भएका छन् किनभने पहिले नेपाली काँग्रेसलाई बहुमत दिँदा आफैँमा मारामार गरेको नजिर फेरि पनि देखिन थालेको छ नेकपाभित्र पनि । झन कम्युनिस्ट पार्टी त प्रजातान्त्रिक परिपाटीका लागि दीक्षित सँस्था नै होइन । काँग्रेस त प्रतिपक्षीका रुपमा समेत विश्वस्त हुन सकेको छैन भने कम्युनिस्टहरुबाट प्रजातन्त्रका पक्षमा कसरी वकालत होला वा प्रजातन्त्रका गुणहरुलाई जोगाउन लाग्लान् भन्ने मान्ने ?

बहिनी तिमीलाई अझ भनौँ-काँग्रेसले पनि सभामुखको पदमा अग्निजीको उम्मेदवारीलाई सँसदीय दलबाट नै अनुमोदन गरेको छ किन रे भने आफू हारिन्छ किन उठ्ने ? सुनिन्छ उपसभामुखका लागि कोही तयार छ रे काँग्रेसमा अनि मौन बसेका रे । सुनिन्छ राष्ट्रिय जनता पार्टीका लागि उपसभामुखको पद नेपथ्यमा स्वीकार गरेरमात्र अहिलेको सरकारलाई समाजवादीले छोडेपछि दुई तिहाईको बनाउने खेलमा राजपा लागेको हो रे । त्यस्तै पनि देखिन्छ किनभने राजपाले यता काँग्रेससँग भन्दा पनि नेकपासँगको गठबन्धन बनाएको देखिन्छ । कसरी सम्भव भयो भन्ने कुरा श्री पशुपति नाथले मात्र भन्न सक्नुहुन्छ रे भन्छन् ।

कान्छी बहिनी,
यी सबै कुरा मैले जति बुझेको हुँ , तिमीलाई जानकारी गराएको मात्र हुँ । अरु पनि केही सोध्नु छ भने इमेल गरे पनि हुन्छ या फोन गरे पनि हुन्छ । यति बुझ, मुलुक अस्थिरतातर्फ धकेलिएको छ र त्यसको परिणाम छिटै थाहा हुनेछ । त्यसकै सङ्केतहरु देखिँदै छन् टड्कारोरुपमा ।
अरु सबै ठीकै छ । तिमीले पठाएको ल्यापटपले राम्रो काम गरेको छ । भाइ श्री र बुहारी सुनीता अनि कान्छो छोरो शेखरलाई पनि मेरो माया र सम्झना सुनाइदिनू ।

तिम्रो धेरै माया गर्ने ठूल्दाजु
हरिविनोद अधिकारी

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल