खेलकुद पनि ठूलो ज्ञान हो – जीवन पानी

Advertisement

साहित्य र अध्ययनबाहेक मेरो खेलमा रुचि छ । सानोमा फुटबल खेलिन्थ्यो, छेलो हानिन्थ्यो । छेलोका ३–४ वटा प्रतियोगितामा प्रथम पनि भएको छु । स्कुल स्तरीय लङजम्प, त्रिपलजम्प, हाइजम्प, रनिङ र एथलेटिक्सका प्रतियोगितामा पनि म प्रायः फस्ट, सेकेन्ड हुन्थेँ । मार्शलआर्टमा पनि रुचि छ । तर अहिले उमेरका कारणले पहिलाजस्तो खेल्न सक्दिनँ । पेसा र व्यस्तताले पनि अनुकूल वातावरण मिल्दैन । खेल हेर्नचाहिँ खुबै मन लाग्छ । हेर्दा, ‘यत्तिको त म पनि खेल्न सक्छु’ भन्ने भइरहन्छ । मनमा जोशचाहिँ पहिलाजस्तै आउँछ । तर शरीर त्यस्तो कहाँ हुनु ! ब्याडमिन्टन खेल्दाखेरि घुँडाको लेगामेन्ट चुँडिएको छ । खेल्दा घुँडालाई जतन गरेर खेल्नुपर्छ ।

आफूले छेलो खेलमा धेरै पुरस्कार जितेको कारणले पनि होला, छेलो धेरै मनपर्छ । यसपछि मनपर्छ फुटबल । स्कुल पढ्दा फुटबल खेलमा मेरो भूमिका गोलकिपरको हुन्थ्यो । त्यसबेला अन्तर स्कुल फुटबल प्रतियोगिता हुन्थ्यो, स्कुल–स्कुलमा । यो ०४४ तिरको कुरा हो । म गोलकिपर बसेको बेला हाम्रो स्कुल प्रथम भएको थियो । यस्तै एकचोटि अन्तरस्कुल शिक्षकहरूबीच मार्शल आर्टमा प्रतिस्पर्धा भएको थियो काठमाडौँको रंगशालामा । १९ वटा स्कुलबीच भएको प्रतिस्पर्धामा म प्रथम भएको थिएँ । यो २०५२ सालतिरको कुरा हो ।

खेलमा मेरो रुचि र सफलताक कारणले मलाई खेलाडी हुन मन लागेको थियो एक समय । बीचमा अरूखाले साथीभाइ भेट भए । खेल पनि एउटाबाट अर्कोतिर गइयो । पछि मार्शल आर्टतिर लागियो । क्लासको फस्ट ब्याई, पढाइप्रति पनि एकदम रुचि थियो । पढाइ र खेलकुदलाई समानान्तर रूपमा लिएर जान नसिकने भइयो । सरहरूले पनि पढाइतिरै जान प्रोत्साहित गर्नुभयो । बुबा–आमाले पनि खेलकुदतिर जाँदा, यो बदमास होला, हात खुट्टा भाँच्ला, अङ्गभङ्ग होला भन्ने सोच्नुभयो । यो राम्रो खेल्छ र खेलकुदमा अगाडि जान सक्छ भन्ने सबैलाई थाहा थियो । तर न मेरा छिमेकीले, न आफन्तले, न बाआमाले, न शिक्षकले, कसैले पनि मलाई खेलकुदपट्टि जान प्रेरित गरेनन् । प्रेरित गरेको भए, सायद त्यता जान सक्थेँ । सायद किनभने आफ्नै मन पनि पढाइ पनि नबिग्रियोस्, भन्थ्यो । हाम्रो स्कुलमा म क्लासमा फस्ट त हुन्थेँ हुन्थेँ । पूरै स्कुलमा पनि फस्ट नै हुन्थेँ । प्रावि, निमावि र मावि सबैको फस्ट, अर्थात होल फस्ट । फस्टहरू मध्येको पनि फस्ट हुन्थेँ म । यसरी मभित्रको खेलाडीलाई मभित्रको विद्यार्थीले पनि मार्यो । सरहरूले पनि मार्नुभयो । बुबाआमाले पनि जिउँदो राख्न दिनुभएन । छिमेकीहरूले पनि मारे । आफन्तहरूले पनि समाप्त पारे । कसैले बाँकी राखेनन् ।

अहिले फुटबल र मार्शल आर्टमा अरूले खेलेको देख्दा ‘यत्तिको त म पनि खेल्न सक्थेँ, योभन्दा पनि अझ राम्रो खेल्न सक्थेँ’ भन्ने लाग्छ । ‘राष्ट्रियस्तरको खेलाडी बन्नसक्थेँ’ जस्तो लाग्छ । ‘स्वर्र्ण पदकै आउँथ्यो’ जस्तो लाग्छ । म सानैदेखि खेलतिरै लागेको भए, गज्जबले आउँथ्यो स्वर्णपदक । छोराहरूसँग कुरा पनि गर्छु, ‘मैले अहिले खेलाडीहरूले पाए जत्तिको सुविधाहरू पाएको भए र आम्दानी पनि यत्तिको हुन्थ्यो भन्ने थाहा पाएको भए, खेलकुदतिरै जान्थेँ । यत्तिको त म पक्कै खेल्थेँ बाबु ।’ मैले पढाइतिर मात्रै केन्द्रित रहेर खेललाई अन्याय गरेजस्तो महसुस हुन्छ कहिलेकाहीँ । स्वर्णपदक गुमाएजस्तो पनि लाग्छ ।

अहिले त खेलका कुरा गर्ने साथीहरू पनि छैनन् मेरा । रुचि मिल्नु पर्यो नि । कुनैकुनै बेला विद्यार्थीसँग गेमकै प्रसङ्ग आउँदा कुरा गर्छु । उनीहरूसँग खेलका कुरा गरेर बस्ने फुर्सद पनि छैन । अनुकूल वातावरण पनि पर्दैन । विद्यार्थीले नटेर्ने भए भन्दो पनि हुँ । उनीहरू मायाले नै डराउँछन् । धाक देखाउनु परेको छैन । अहिले छोराहरू नै साथी भएका छन् खेलका कुरा गर्न । फुर्सदमा छोराहरूसँगै बसेर फुटबल हेर्छु । कहिलेकाहीँ लामो फुर्सद भएका बेलामा क्रिकेट पनि हेर्छु । क्रिकेट मलाई छोराहरूले नै सिकाएका हुन् । पहिला छोराहरूले योे खेल्न सिके, जाने, त्यसपछि मात्र मैले जानेको हुँ । पहिला तिनीहरूले यो खेल हेरेको देख्दा गाली गर्थेँ म, ‘के हेर्छौँ यस्तो गेम ! अरू हेर्नू ।’ छोराहरूलाई भने यो खेल अति मनपर्ने । उनीहरू भन्थे, ‘बुझेपछि यो खेल पनि रमाइलो छ । ल, आउनुस्, हामी सिकाउँछौँ ।’ नभन्दै पोखरामा उनीहरूले ब्याट समाएर खेल्न सिकाएरै छोडे । खेलका नियम जान्ने बनाए र हेर्ने रुचि जगाइदिए । अहिले क्रिकेट हेर्न रमाइलो लाग्छ । पहिला मन पर्दैनथ्यो । खेलप्रति एकदम रुचि छ छोराहरूको । मेरो जस्तो खेलप्रति रुचि र मसँग जत्तिको क्षमता सुरुदेखि नै उनीहरूमा देखिएको भए म प्रोत्साहित गर्थेँ । म रोक्तिनथेँ उनीहरूलाई अगाडि बढ्न । जता रुचि छ, त्यतैतिर जान दिनुपर्छ भन्ने मेरो मान्यता हो । तर उनीहरूको रुचि खेलभन्दा पनि पढाइप्रति बढी छ ।

अहिले खेलकुदमा रुचि भएका विद्यार्गी जत्ति छन् । खेलकुदप्रति मानिसहरूमा पहिलेभन्दा सकारात्मक धारणा बन्दै गइरहेको पनि छ । तर पर्याप्त छैन । अहिले पनि खेलप्रति रुचि र राम्रो क्षमता हुँदाहुँदै पनि बालबालिकाले खेल्न नपाइरहेको अवस्था छ । कतिपय अभिभावकले बच्चालाई पढाइतिरै ध्यान दिनुपर्छ भनेर खेलकुदतिर जान दिइरहेका छैनन् । जान दिने हो भने राम्रो गर्न सक्ने क्षमता धेरै बच्चाहरूमा छ । यसको परिणाम कति बालबालिकाले त बाउआमालाई ढाँटेर, छलेर स्कुल नआई–नआई पनि खेलेका छन् । यसले गर्दा न बालबालिकाको पढाइ नै राम्रो हुनसकेको छ, न त खेलकुद नै ।

अभिभावकले बालबालिकालाई उनीहरूको रुचिमा हिँड्न दिनुपर्छ । पढाइतिरै जानुपर्छ भनेर भन्नुहुन्न, रोक्नुहुन्न । सर्टिफेकटको माक्र्सभन्दा कम माक्र्स हैन खेलकुद । खेलकुद केही नै होइन भन्ने मानसिकता बदल्नुपर्छ । त्यताबाट पनि मानसिक रूपमा, शारीरिक रूपमा, अन्य धेरै रूपमा आफूलाई विकास गर्न सकिन्छ । खेलकुद पनि ठूलो ज्ञान हो । अभिभावकले बच्चाको रुचिलाई मार्नुहुन्न । कति बच्चाले नृत्य गर्न खोजिरहेका हुन्छन्, तिनलाई नृत्य गर्न दिनुपर्छ । कतिले गाउन खोजिरहेका हुन्छन्, तिनलाई गाउन दिनुपर्छ । अभिभावकले खेललाई ज्ञान मान्नु जरुरी छ । पढाइबाहेक अरू थोक गर्नैै पाउँदैनस् भनेर अहिले पनि अभिभावकहरूले जबर्जस्ती गर्दा बच्चाहरूले राम्ररी पढ्न सकिरहेका छैनन् । कुण्ठित हुनु परेकाले तिनको पढाइप्रति पटक्कै रुचि छैन । आफ्नो रुचि अनुसारको काम गर्न नपाउँदा उनीहरूको खेल क्षमता र पढाइ दुवैको क्षति भइरहेको छ । अभिभावकले गरेको लगानी खेर गइरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल