कथा : नयाँ भट्टी

Advertisement


-हरिविनोद अधिकारी

१. मेरो गाउँको पूर्वी छेउमा फेरि अर्को भट्टी खुलेछ । नयाँ भट्टी । नयाँ भट्टी कसको हो त मलाई खासै थाहा छैन तर बाहिरबाटै आएकी नयाँ पसल्नीले खोलेको भनेर गाउँमा गार्इँगुईँ सुनेको हुँ । राम्री पनि छिन् रे र सबैलाई एकदमै राम्रो व्यवहार गर्छिन् रे ।


२. गाउँको विशेषता भनेको नै सबैलाई सबैका वारेमा थाहा हुनु हो । जो नयाँ आउँछ, ऊ मात्र नयाँ हुन्छ, बाँकी त सबै गाउँका नै हुने भएकाले नयाँ कोही आयो भने या पसल थाप्यो भने सबैलाई त्यसको जानकारी यसकारणले पनि हुन्छ कि केही दिनसम्म त्यहीमात्र चिया पसल या चौतारीतिर छलफलको विषय हुन्छ । केटी रहिछ भने कसकी छोरी , नातिनी या विहे भएकी रहिछन् भने कसकी बुहारी वा कसकी पत्नी हो भनेर जानकारी नराख्ने कमै हुन्छन् । केटा रहेछ भने कहाँको हो,कसको छोरो वा नाति हो र किन हाम्रै गाउँमा आएछ त ? भन्नेसमेत चियो चर्चो गरिन्छ । झन एक्लै केटीले रक्सीसहितको होटेल थापे पनि चर्चा नहुने कुरै भएन । राम्री छिन्, रक्सी धित मर्नेगरी खान दिन्छिन् र पैसा पनि त्यस्तो महङ्गो लिन्नन् भन्ने चर्चाले फेरि गाउँमा नयाँ तरङ्ग ल्याएकै हो ।


३. न धेरै अग्ली, न धेरै होची, न धेरै मोटी , न धेरै दुब्ली । ठिक्ककी । न धेरै गोरी , न धेरै काली । ठिक्ककी । हँसिली । जे दिँदा पनि दुईहातले दिने। हाँसेरै बोलाउने, हाँसेरै बोल्ने। चिटिक्क परेकी बान्कीकी । लुगा पनि त्यति धेरै नलगाउने । जाडोमा पनि हाफ चोलो र स्कर्टमात्र लगाउने । घुँडामुनि कुनै पनि लुगा आउन नपाउने गरी चरिचिट्ट परेर बस्ने भनेपछि र हाँसेरमात्र बोल्ने भनेपछि अरु पसल्नीहरुले डाहा गर्न थालेको पनि सुनिन थालियो । अनि चिया र सियाका पसल्नीहरुले कुनै पुराना ग्राहक पसलतिर नहेरी कतै हिँड्न लागेको देखे भने भन्न थाले—त्यही नयाँ पसल्नीका तिर त जान लागेका हौला नि । पुरानो बाँकीचाहिँ छिटै तिर है , नत्र कठालो समाएर बेइज्जत गर्नु पर्ला नि ।


४.अनि केटाहरु पनि हाँसेर भन्थे—कति तिम्रोमात्र अनुहार हेर्नु नि । यसो उनको पनि कुरा सुनौँ, अनुहार पनि हेरौँ । साँच्चै पो राम्री छे त है । बानी पनि तिमीहरुको भन्दा त असल छ । रिसाउँदिनन् । पैसा पनि एकपैसा पनि छोड्दिनन् अनि उधारो पनि पटक्कै दिन्नन् । बरु हात हालेरै चल्नुपर्ने भने बानी रहेछ। काउकुती लगाउने र लुगा तानेर बस्नुस् भन्दै घन्टौँ राख्ने चलन चाहिँ रहेछ । रक्सी खान मन नभए नखाओ भन्ने तर बसेर बात मारुँ भनेर ढिपी गर्ने बानी रहेछ ।

५. सायद त्यसो गर्नुमा ग्राहकहरु भरिभराउ छन् है भन्ने पार्न पनि हुनसक्छ र बिस्तारै बानी पार्नका लागि अलमल्याएको पनि हुनसक्छ । तर एकजनामात्र पसलमा कसरी भ्याएको होला भनेरचाहिँ सबैलाई अचम्भ लागेको रहेछ । अरु कोही पनि छन् कि भन्दा सबैले उसैलाई देखेका कुरा गर्छन् । हामी भट्टीतिर नजानेलाई पनि एकपटक त हेर्न जाउँ जाउँ जस्तो गरी कुरा गरेको सुनियो ।


६.कोही भन्थे—यो त बम्बईबाट आएकी केटी हो , कताकी हो कसैलाई थाहा छैन । कोही भन्थे—यो दार्जीलिङतिरबाट आएकी गोरुको मम बेच्ने केटी हो । कोही भन्थे—यस्ती हँसिली केटी त यताकी हुँदै होइन, पक्कै नै भारततिरबाट नै आएकी हुनुपर्छ । तर उसको मिजासले भने सबैले मानेको के हो भने केटी सभ्य छे, चलाख छे, सिपयुक्त छे, पकाएको कुरा स्वादिष्ट बनाउँछे र ग्राहकलाई माया पनि गर्छे । रक्सी बेच्दा नापेरमात्र दिन्छे । तोकेको औँसमात्र बेच्छे । बाहिरबाट न त रक्सी लिएर आउन दिन्छे, न त बढी नै भयो भनेर आफ्ना पसलबाट रक्सी बाहिर लिएर जान दिन्छे , न त मातेर कसैलाई केही दुर्बचन बोल्न नै दिन्छे । मातेर जथाभाबी बोल्न थाले भने तत्कालै प्रहरीलाई बोलाउन पनि पछि पर्दिन भनेर केटाहरु डराउँथे रे पनि । अझ खासै विशेषता त उसको पसलमा चुरोट खान पनि दिन्न , आफू पनि चुरोट बेच्दिन रे । अनि खैनी, बिडी, पान पनि खान बन्देज लगाएकी छिन् रे । जति बोले पनि बोल, जति जिस्किए पनि जिस्केऊ , हात हालेर चले पनि चल तर फोहोर बचन बोल्न र सीमा नाघेर चल्न पनि बन्देज लगाएकी छिन् रे ।

७. रक्सी, ग्राहक र माया । रक्सी पसलका यी स्थायी भ्रम हुन् र निरन्तर चल्ने भयानक वृत्तको पाटो पनि हुन् । नियमित आकस्मिकता । रक्सी ग्राहक विना चल्दैन, ग्राहक रक्सी खाएपछि मायाका कुरा नगरी रहन सक्दैन र एकछिनपछि ती सबै आफैँ हराउँछन् भन्ने पनि उसलाई थाहा छ । कुनै माया त स्थायी पनि हुनसक्ला तर मनभित्रमात्रै । बाहिर भन्न नमिल्ने । तर उसको पसलमा एउटा भ्रम भने पाल्न पाइने रहेछ—भट्टीवाल्नी सबैलाई माया गर्छिन् । सबै ग्राहकलाई रक्सीसँगै माया बाँड्छिन् । तर त्यो माया क्षणिकमात्र हो कि स्थायी हो भनेर छान्ने समय अझै आएको छैन ।

८.हाम्रो गाउँका बीचैबाट पहाडी राजमार्गको बाटोमा मोटर दौडन थालेको छ । पहिले नेपाल भनौँ न राजधानी पुग्न हिँड्ने लाठेलाई पनि ३ दिन लाग्थ्यो , अहिले सामान्य बसमा पनि ४ घन्टामा काठमाडौँ पुगिन्छ । बाटोमा गाडीहरु दौडिरहेका हुन्छन् । उनको नयाँ होटल भनौँ कि भट्टीमा दसौँ गाडी रोकिन्छन् र सबैले खाना खान्छन् । कसरी एक्लैले त्यो व्यवस्था गरेकी होलिन् भनेर सबै छक्क परेका छन् । एक्लै केटी, नयाँ पसल भनौँ कि भट्टी छ अनि गाडीका लागि पनि रोकिने व्यवस्था छ र सबैलाई स्वादिष्ट र ताजा खान दिन सक्ने अनि परिचयका वारेमा खासै थाहा नभएको कसरी होला ?

९. कसले दियो त त्यो पसल या होटेल वा भट्टी राख्ने ठाउँ ? त्यो घर त पहिले जेठा मगर दाइको थियो अनि कसले कसलाई बेच्यो र अहिले कसको नाउँमा थियो र भाडामा कसले कसरी दियो ?अझ सुनियो—रक्सी नखानेहरुका लागि उसले चिया दिन नयाँ बेग्लै काँचका या स्टिलको कप राखेकी छन् रे र मधुमेह हुनेहरुका लागि बेग्लै हर्बल चियाको व्यवस्था गरेकी छिन् रे । सबैभन्दा ठूलो विशेषता त गाउँहरुमा उधारोमा केही पनि नदिनु नै हो नि त । उधारोमा त दिँदै नदिने भनेपछि एकथरि उधारोमा खान पल्केकाहरुलाई त्यो पसलको ढोका नै बन्द भएको मानिने भएछ । तर पनि उनको व्यवहारले भने सबै त्यतै ढल्किएका देखिए रे ।

१०. एकदिन त्यो पसल भनौँ कि भट्टी कस्तो रहेछ भनेर म पनि पुगेँ । यसो अनुहार हेरेको कता कता जेठा मगर दाइकी श्रीमती जेठी भाउजुको अनुहारसँग पो उनको अनुहार मिलेको जस्तो लाग्यो । अनि मैले सोधेँ—तिम्रो नाम के हो त नानी ? तत्कालै चिनीविनाको हर्बल चिया दिँदै उनले भनिन्—म उषा मगर । यसै गाउँका जेठा मगरकी कान्छी छोरी । म बाबासँगै सानैमा यो गाउँबाट बाहिर गएकी रहेँछु । पछि थाहा भयो, यहाँ हाम्रो जग्गा छ र घर पनि थियो । घर त भत्किएछ तर जग्गामा आएर यो पसल भनौँ कि भट्टी भनौँ थापेर बसेकी हुँ । होटेल कस्तो चलाउनु पर्छ र भट्टी नै भने पनि कुन अनुशासनमा चलाउनु पर्छ भनेर मैले सुरु गरेकी हुँ । मेरो सानीमाको छोरो पनि सँगै आउने छ र मेरा बुढा पनि अब मलाई सहयोग गर्न आउने छन् । भट्टीवाल्नी भनेकी चरित्रहीन नारीमात्र हुन्छे भन्ने र होटेल भनेको फोहोर र खराब खानामात्र खुवाउने ठाउँ हो भन्ने धारणा परिवर्तन गर्न जन्म गाउँमा मैले सकेँ भने म आफूलाई भाग्यमानी सम्झने थिएँ ।

११. सुनेँ मैले—भट्टी चलाउने हुनाले म सबैकी हुनेछु भन्ने गलत धारणा पनि रहेछ गाउँमा । कृपया अबदेखि हजुरहरुले पनि त्यस्तो धारणा नराख्न अरुलाई पनि भन्नुहोला र मेरो पसललाई उदाहरणीय बनाउने सहयोग गर्नुहोला ।

१२. हाम्रो गाउँमा जहाँ सहरको पनि केही गुण देखिन थालेको थियो, अब झन होटेल वा भट्टीका वारेमा पनि नयाँ धारणा बन्न थालेको पाइयो ।

१३. उषाको भट्टीलाई हाम्रो गाउँमा नयाँ भट्टी भनिए पनि अब आदर्श चेलीको आश्रमको रुपमा लिइन थालेको छ । बेच्न त रक्सी नै बेचिन्छ , त्यो पनि साँझपछिमात्र । साँझ ९ बजेसम्ममात्र । होहल्ला हुँदैन । झगडा हुन पाउँदैन । अब त उषाका बुढा कमल थापा मगर पनि उसलाई सघाउन आइसकेका छन् जो पूर्व प्रहरी निरीक्षकसमेत रहेछन् ।

१४. अनि भट्टी त गाउँमा नरहेको राम्रो तर रहे पनि नयाँ भट्टी जस्तो हुँदा त के भयो र ? भन्ने पनि देखिन थालेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल