अमेरिका निर्वाचन : चुनावी सभा तीब्र

अमेरिकामा चुनावको दिन नजिकिँदै जाँदा राष्ट्रपतिका दुई उम्मेदवारले मध्यपश्चिमका महत्वपूर्ण राज्यहरुमा चुनावी सभा तीव्र पारेका छन् । वर्तमान रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पूर्व उपराष्ट्रपति समेत रहेका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिँदै छन् । नोभेम्बर ३ मा अमेरिकामा चुनाव हुँदैछ ।

सो दिन राष्ट्रपतिसँगै सिनेट, हाउस अफ रिप्रिजेनटेटिभ, राज्यका संसद, गभर्नरसहितका लागि मतदान हुँदैछ । ह्वाइट हाउसको मार्ग सुरक्षित गर्नका लागि मध्यपश्चिमी राज्यको मत अति महत्वपूर्ण हुने भएकाले ट्रम्प र बाइडेनले अन्तिम दिनका चुनावी अभियानलाई सोही क्षेत्रमा केन्द्रित गरेका छन् ।

आयोवामा भएको चुनावी सभामा बाइडेन राष्ट्रपति ट्रम्पमाथि आक्रमक रुपमा प्रस्तुत भए । चार वर्षअघिको चुनावमा ट्रम्पले आयोवामा १० अंकको फराकिलो जित दर्ता गरेका थिए । यस्तै चार वर्ष पहिलेको चुनावमा हिलारी क्लिन्टनको पक्षमा गएका मिनेसोटामा ट्रम्पले आफ्नो समर्थन जुटाउने प्रयास गरेका छन् । आउँदो मंगलबार हुने चुनावअघिका प्रायः सबै मतसर्वेक्षणहरुमा बाइडेन राष्ट्रिय रुपमा ट्रम्प भन्दा स्पष्ट रुपमा अघि देखिएका छन् ।

तर राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने इलेक्ट्रोल कलेज मतका लागि महत्वपूर्ण मध्यपश्चिमका ‘ब्याटलग्राउण्ड’ राज्यहरुमा दुवै उम्मेदवार केन्द्रित भएका हुन् । मतदानको दिन आउँदो मंगलबार भए पनि अग्रिम मतदानमा सहभागी हुनेको संख्या अमेरिकामा इतिहासमै सबैभन्दा बढि देखिएको छ ।

कोरोना भाइरसको महामारीका कारण हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मत खसाल्नेहरुको संख्या ८ करोड ८५ लाख भन्दा बढि पुगेको छ । त्यसमध्ये पाँच करोड ५० लाख हुलाक मार्फत गरिएको मतदान हो । यो पटकको चुनावमा दशकौँ यताकै धेरैले मतदान गर्ने देखिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण जो बाइडेनले यो चुनावी अभियान अधिकांश समय डेलवरको विलिङ्गटन स्थित घरबाटै गर्दै आएका थिए । पछिल्ला दिनमा उनी ब्याटलग्राउण्ड स्टेटमा गएका छन्, तर उनले भौतिक दूरी कायम गरी तुलनात्मक रुपमा साना चुनावी कार्यक्रम गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पले भने भौतिक दूरीको वास्ता नगरी भिडभाड युक्त ठूला चुनावी सभा गर्दै आएका छन् र यो क्रम संक्रमण तीव्र गतिमा बढिरहेका बेला पनि जारी राखेका छन् । बाइडेनले शुक्रबार आयोवा, विस्कनसिन र मिनेसोटामा चुनावी सभा गरेका छन् । चुनावी अभियानमा यो उनको सबैभन्दा व्यस्त दिन हो ।

मिनेसोटामा भएको चुनावी सभामा बाइडेनलाई ट्रम्पका समर्थकले अवरोध गर्ने प्रयास गरे । उनको सम्बोधनका क्रममा ट्रम्पका समर्थकले गाडीको हर्न बजाएर बाधा गरेका हुन् । बाइडेनले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने प्रस्ताव गर्दा पनि ट्रम्पका समर्थकले अवरोधको प्रयास गरे ।
सम्बोधनमा बाइडेन ट्रम्पमाथि आक्रामक रुपमा प्रस्तुत भए । ट्रम्पले कोरोना भाइरस सामु आत्मसमर्पण गरेको तथा श्वेतहरुको वर्चश्वको पक्षमा आफ्नो समर्थन दर्शाएर रंगभेदलाई थप बढाएको अराोप लगाए । ट्रम्पले देशलाई विभाजित गरेको र आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने बाइडेनले बताए ।

ट्रम्पले पछिल्ला दिनमा आफ्नो चुनावी अभियान ऐतिहासिक रुपमा डेमोक्र्याटिक राज्यहरु मिशिगन, विस्कनसिन र पेनसिलभेनियामा केन्द्रित गरेका छन् । चार वर्षअघि उनले यी राज्यमा जित हाँसिल गरेका थिए । शुक्रबार उनी मिनेसोटा पनि पुगे । मिनेसोटाले सन् १९७२ यता राष्ट्रपतिमा रिपब्लिकनलाई मत दिएको छैन ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल