गीता रेग्मीको साहित्यिक हेतु र साहित्य यात्रा


गीता रेग्मी वि.सं. २०२७ साल फागुन १९ गते लमजुङ जिल्लाको जितामा जन्मेकी हुन् । उनको हुर्काइबढाइ र पढाइ चितवनमा भयो । गीता चार दिदीबहिनी र एक भाइमध्येकी माहिली हुन् । मध्यमवर्गीय परिवारमा जन्मेकी हुनाले उनले खासै अभाव झेल्नुपरेन तर आफूखुसी आफूले चाहेका सामान प्रयोग गर्न पाउने वातावरण भने पाइनन् । उनी घरका सानातिना काममा बाआमालाई घाउँदै भाइबहिनी र आफूलाई पनि समाजअनुकूल हुर्काउँदै गएको देखिन्छ । यसैको उपलब्धि हो गीताको आजको व्यक्तित्व । उनका पिता शिक्षित भएका कारण छोराछोरीलाई समान शैक्षिक अवसर दिनुपर्छ भन्ने सोच राख्नुहुन्छ । यसर्थ, गीताले उच्चशिक्षित हुने मौका पाइन् । विवाहपश्चात् पनि उनले आफ्नो औपचारिक अध्ययनलाई रोक्नुपरेन । जीवनसाथी दीपक अर्यालले उनको व्यक्तित्वलाई अझ विकसित गर्नमा कुनै बाधा व्यवधान दिएको देखिँदैन ।

सानैदेखि स्पष्टवक्ता, अरूको दुःखमा चाँडै द्रवित हुने भावुक बानी, सकेसम्म गल्ती गर्न नहुने समाजसापेक्ष आदर्श पालना गर्नुपर्छ भन्ने सोच उनमा विकसित भएको देखिन्छ । मध्यमवर्गीय परिवारमा हुर्केका कारण मिहिनेत नगरी फल पाइन्न भन्ने कुरालाई बुझेर उनले आफूमा पनि तद्अनुरूप गुण विकास गरेको देखिन्छ । यी सोच र गुणले आज गीतालाई बहुमुखी प्रतिभाका रूपमा विकसित गरेका छन् ।

रेग्मीको पहिलो पुस्तकाकार कृति परिचय (कथासङ्ग्रह) २०६५ मा प्रकाशित भयो । परिचयले नेपाली साहित्यवृत्तमा उनको परिचय दिलायो । समाजमा घटिरहने अनेक घटना, व्यक्तिपिच्छेका अलग सोचाइ र ती बारेका दृष्टिकोणलाई उनले कथाका ‘प्लट’ बनाइन् । साहित्यमा त्यसअघि थुप्रै कविता, कथा लेखेर लेखनमा सिद्धहस्तताका लागि उनले केही समय धैर्य गरिन् । यद्यपि ती कथाको भाषाशैली एवम् लेखाइमा पूर्णतः परिष्कृति आइसकेको भने छैन । २०६६ सालमा पुस्तान्तर (संयुक्त कथासङ्ग्रह) प्रकाशित भयो । २०६९ मा पश्चिमाहरूको देशमा नियात्रा पुस्तक प्रकाशित भयो । कथा र कविता लेखनमा हात बसाल्दाबसाल्दै उनले नयाँ विधामा कलमा चलाउन सुरु गरिन् ।

नियात्रा लेख्नु केवल यात्राको विवरण लेख्नु हुँदै होइन । यात्राका घटनालाई कल्पना र शिल्पले भरेर त्यसमा सौन्दर्योत्पादन गर्नु, त्यस सौन्दर्यले पाठकलाई सहजानुभूति गराई आस्वादन गराउनु निकै सिर्जनशील कार्य हो । नेपाली साहित्यको वर्तमान समयमा आख्यान र नियात्रा बढी पढिन्छन् । बढी पढिने विधामा लेखन र प्रकाशनको गति बढ्नु पनि स्वभाविक हो । यस अवस्थामा पाठकहरूको रोजाइमा पर्नु पनि सफलताको एउटा कडी हो । परिचयबाट सुरु भएको रेग्मीको गद्य साहित्यको लेखनयात्रा पश्चिमाहरूको देशमाकृतिमा पुगेर केही परिष्कृत भएको देखिन्छ । रेग्मीको यो कृति नियात्रालेखनको प्रारम्भिक कृति भए पनि उनको गद्य साहित्यिक यात्रामा एउटा शैली वा आप्mनो लेखकत्वको स्थापनामा गहकिलो खुड्किलो बनेको छ । यस खुट्किलाले रेग्मीको अर्को नियात्रा कृतिको लेखनमा लेखकीय स्वको निर्माण मात्र गरेन; उनलाई नियात्रा विधामै सिद्धहस्तता प्राप्त गर्नका लागि मार्गप्रशस्त गरिदियो ।

२०७४ सालमा रेग्मीको पत्थरैपत्थर प्रकाशित भयो । यस कृतिले उनलाई नियात्रालेखकका रूपमा स्थापित गरायो । यस कृतिसम्म आइपुग्दा रेग्मीका केही लेखकीय प्रवृत्ति स्थापित भएका छन् । नारी अस्तित्वबोध, सामाजिक दृष्टिकोण, नकारात्मक लागेका र सकारात्मक लागेका पक्षप्रति टीकाटिप्पणी, नेपाली हुनुको गौरवबोध, यथार्थको कलात्मक प्रस्तुति, मानवीय संवेदनालाई विषयका रूपमा टिपेर पाठकमा साधारणीकरण गराउन सक्ने क्षमता उनका लेखनका विषयगत प्रवृत्ति हुन् ।
माथि उल्लिखित तीन कृतिले मात्र रेग्मीलाई साहित्यमा स्थापित गराएका हैनन् । उनले तीजका गीत (२०६५) लेखिन् । ज्योतिका युगीन स्वरहरू (२०६७) संयुक्त कवितासङ्ग्रह प्रकाशित गरिन् । भृकुटी (२०७०), यात्राका प्रतिबिम्बहरू (२०७१), भूकम्पका अनुभूतिहरू (२०७२), जस्ता पुस्तकहरूको सम्पादन गरिन् । कविता र कथालेखन उनको साहित्यिक यात्राको अभ्यासको चरण हो भने नियात्रालेखन विकासको चरण हो । यो झन् परिष्कृत र सिद्धहस्त हुँदै अगाडि बढ्दैछ । यो गुण उनले केही मात्रामा जन्मजात लिएर आएकी हुन् । समाजसेवी र धुरन्धर पण्डित हजुरबुबा, सिलोक सजिलै बनाउन, गाउन सक्ने पण्डित ठुलाबाहरू र त्यही माहौलमा व्यक्तित्व निर्माण एवं उच्चशिक्षा प्र्राप्त गर्नुभएका पिताजीको हौसला र प्रेरणा रेग्मीका सबै कर्मको प्रारम्भका बीज हुन् । सहजात प्रतिभालाई पूर्वीय मनीषिहरूको पनि प्रथम काव्यहेतु मानेका छन् । त्यसमाथि उनको स्नातकोत्तरसम्मको शिक्षा, अन्याय र हेपाहा प्रवृत्तिप्रति औँला ठड्याउने स्वभाव, नेपाली साहित्यका विविध विधाको अध्ययन पठन, साहित्यिक सत्सङ्गको व्युत्पत्ति पनि कारक रहेका देखिन्छन् ।
रेग्मी विभिन्न साहित्यिक र गैरसाहित्यिक संस्थामा कार्यरत छिन् । आदर्श नारी विकास केन्द्र चितवन (२०४९) को संस्थापक उपाध्यक्ष, आदर्श भृकुटी सहकारी संस्थाको अध्यक्ष, विपि विचार राष्ट्रिय समाजको केन्द्रीय कोषाध्यक्ष, नियात्रा समाजको कोषाध्यक्ष, दण्डपाणि अज्र्याल स्मृतिकेन्द्रको सचिव, मञ्जुश्री साहित्य प्रतिष्ठानको कार्यकारी सदस्य, हरि सांस्कृतिक केन्द्रको कार्यकारी सदस्य, सर्जक समाज गोरखाको कोषाध्यक्ष, गौरीशङ्कर भवन निर्माण समितिको अध्यक्ष, पिसवेभ नेपालको संस्थापक सचिव, हेड्स नेपालको केन्द्रीय सदस्य, ज्योति साहित्य प्रतिष्ठान आजीवन सदस्य, गुञ्जन नारी साहित्य संस्था, अनेसास, स्रष्टा समाज, रेडक्रस, नेपाल साहित्य परिषद युके जस्ता थुप्रै सस्ंथाहरूमा सदस्य रहेर रेग्मीले तदअनुरूपको जिम्मेवारी पनि सम्हालिसकेकी र सम्हाल्दै आएकी छन् ।

नेपाली नारीले साहित्यिक, संस्थागत एवं जीविकोपार्जनका काम गर्ने भनेको आफ्ना पारिवारिक जिम्मेवारीमा परेका काम भ्याएर समय निकालेर गर्ने हो । सम्प्रति समयमा मध्यम वर्गीय परिवारमा त झन् नारीको दायित्व केवल घरायसी मात्र रहेन । विश्व अर्थतन्त्रमा स्थापित पूँजीवादी सामाजिक चरित्र र उपभोक्तावादले नारीमा अनिवार्य रूपले घर र परिवारका दोहोरो जिम्मेवारी थोपरेको छ । यी जिम्मेवारीलाई पूर्णतः बहन गर्न सक्ने नै समाजमा अस्तित्व राख्न सफल हुन्छन् । यस परिवेशमा रेग्मी आफ्नो बलबुताले भ्याएसम्म संस्थागत र साहित्यिक काममा लागिरहेकी छन् । २०४९ सालमा नै आदर्श नारी विकास केन्द्र नामक संस्थाको स्थापनामा संलग्न भएबाट उनको यस किसिमको सक्रियता देखिन्छ । आदर्श भृकुटी महिलासहकारी संस्थाको स्थापना र यसको विकासका लागि उनले गरेको निरन्तर खटाइको कसैसँग तुलना गर्न सकिँदैन । यी मात्र नभई माथि उल्लिखित अन्य साहित्यिक संघ संस्थामा पदीय जिम्मेवारी लिएर सोहीअनुरूप काम गर्दै जानुले उनको कर्मप्रतिको निरन्तर लगाव, साहित्यप्रतिको स्नेह र लगनलाई प्रमाणित गर्दछन् ।

पारिवारिक कार्यक्रम तय गर्दा निर्णायक बनेर प्रस्तुत हुनु, सबै सदस्यमाथि उत्तिकै चासो र स्नेहभाव राखी मर्यादाअनुरूप व्यवहार गर्नु, विभिन्न पारिवारिक सम्बन्धलाई कुशलतापूर्वक अगाडि बढाउनु पनि नारीका कुशलता नै हुन् । यी कुशलताविना नेपाली समाजमा एउटी नारीले ‘घर गरेर खान’ मुस्किल हुन्छ । रेग्मी यी पारिवारिक दायित्वमा पनि प्रतिबद्ध छिन् । उनले आफूलाई समयानुकूल तत्पर र क्रियाशिल राखेकी छन् ।

नेपाली साहित्य र संस्थागत क्षेत्रमा नयाँनयाँ प्रगति भइरहे पनि आजसम्म कमै मात्र भएको काम हो, योग्यम् योग्यायः अर्थात् योग्यलाई योग्य स्थान दिने । त्यस्तै गरी त्यो जिम्मेवारीको कदर गर्ने गुण पनि त्यति विकसित भइसकेको छैन । नेपाली राजनीति, सरकारी एवं गैरसरकारी संस्थाहरू र साहित्यिक वृत्तमा पनि निस्वार्थ भई गुणको कदर गर्ने चलन त्यति विकसित भएको छैन ।

पारिवारिक विरासती प्रथा, उच्च पदस्थको चाकडी प्रथा र चाकडीको कदरस्वरूप यश र ऐश्वर्य प्रदान गर्ने प्रथा उच्च मात्रामा स्थापित छन् । यी मध्ययुगीन प्रवृत्तिको अन्त्य गर्ने दायित्व पनि आजकै युगका व्यक्तिहरूको हो । रेग्मी जस्ता कर्ममा समर्पित स्रष्टा, योग्य सञ्चालक एवं जिम्मेवार व्यक्तित्वको सम्मान गर्नामा संस्थाकै महत्ता बढ्छ । योग्य व्यक्तिको व्यक्तित्व उजागर गर्दा, प्रशंसा गर्दा स्वयम् प्रशंसित भइने हुँदा यसतर्फ पनि संघसंस्थाको ध्यान पुगे उचित हुने म ठान्दछु । रेग्मीको कार्यकुशलता, क्षमता र श्रीवृद्धिको निरन्तर कामना गर्दै साहित्यिक क्षेत्रमा पनि नवीन विषय र शिल्पका उत्कृष्ट रचनाहरू लेख्न सामथ्र्य उनलाई सामथ्र्य प्राप्त होओस् भन्ने शततः शुभकामना !

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल