संक्रमितको उपचारमा रेम्डेसिभिर प्रभावकारी देखिएन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ का संक्रमितको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर औषधि प्रभावकारी नभएको अथवा निकै न्युन प्रभावकारी भएको जनाएको छ । रेम्डेसिभिर नामक औषधिको कोभिड–१९ मा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको डब्लूएचओले जनाएको छ ।

फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्लुएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको बताएको छ । उक्त परीक्षणमा रेम्डेसिभिर तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११ हजार बिरामीमा प्रयोग गरिएको थियो ।

ती कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको देखिएन । तर रेम्डेसिभिर औषधि निर्माता कम्पनी गिलियड साइन्सेसले प्रतिक्रिया दिँदै उक्त परीक्षणको आँकडा मिल्दो नदेखिने दाबी गरेको छ ।

सो अध्ययनबाट कुनै निष्कर्ष निकाल्न सकिनेमा पनि उसले संशय व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड उपचारका लागि लिएका औषधिमध्ये रेम्डेसिभिर पनि एक थियो ।

गत अप्रिलमा अमेरिकामा गरिएका परीक्षणमा रेम्डेसिभिरमा कोरोना भाइरस संक्रमण निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका थिए । विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर प्रयोग गर्दा बिरामीमा कोरोना भाइरस संक्रमण भएपछि विकसित लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको थियो ।
रेम्डेसिभिरको विकास इबोलाको उपचारको लागि गरिएको हो ।

यो एन्टिभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ । अप्रिलको अनुसन्धान नतिजापछि विश्वभरि नै अस्पतालहरूले कोभिडको उपचारमा रेम्डेसिभिरको प्रयोग गर्दै आएका थिए ।

कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएपछि यसविरुद्ध प्रयोग गर्न सकिने पहिलोमध्येको औषधिको रूपमा रेम्डेसिभिरको उपयोगिता पत्ता लागेको थियो । पछि जुन महिनामा ब्रिटेनमा गरिएको अनुसन्धानमा सस्तो र सुलभ रूपमा पाइने डेक्सामेथासन नामक स्टेरोइड औषधिले कोभिडबाट ज्यान जोगाउन सक्ने पाइएको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल