‘कोरोना र भ्रष्टाचारविरुद्ध कदम नचाले दसैंलगत्तै सरकारविरुद्ध आन्दोलन’

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले काम नगरेको बताएका छन् । पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिको प्रतिवेदन बुझ्दै देउवाले सरकारले जनताको जीवनमा खेलबाड गरेको आरोप लगाएका हुन् ।

पछिल्लो समय काठमाडौंमै कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको उललेख गर्दै देउवाले भने, ‘अक्सिजनसहित व्यवस्था गरी आइसोलेसन तयार गर्ने काम सरकारको हो, तर सरकारले काम नै गरेको छैन ।’

गरिब जनतालाई निःशुल्क पिसिआरसमेत नगरेर सरकार गैरजिम्मेवार बनेको आरोप लगाउँदै उनले काठमाडौं र सातै प्रदेशमा अक्सिजनसहित व्यवस्था भएको कम्तीमा एक हजार बेडका आइसोलेसन तयार राख्नुपर्ने बताए । देउवाले भने, ‘काठमाडौंमा धेरै आइसोलेसन बनाउनुपर्छ । स्थिति भयावह भइसकेको छ । आइसोलेसन बेडको हाहाकार भइरहेको छ ।’

कोरोना रोकथाम तथा नियन्त्रणमा जति खर्च भए पनि कांग्रेसले निशर्त सहयोग गरेको उल्लेख गर्दै उनले सरकारले जनताका पक्षमा काम नगरेको बताए । सरकारले तुरुन्तै भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार नगरे विरोधमा उत्रने उनको चेतावनी छ ।

यस्ता महामारीमा सबैभन्दा धेरै काम गर्नुपर्नेमा सरकारले जनताको मतलव नै नगरेको ठहर गर्दै देउवाले भने, ‘सरकारले जनताको कुनै वास्ता नै गरेको छैन । मरे मरून् भन्ने अवस्थामा पुगेको छ ।’

सरकारले कोरोना नियन्त्रण र भष्टाचार रोक्ने कदम नचाले दसैंलगत्तै आन्दोलनमा उत्रने पनि देउवाले चेतावनी दिएका छन् । संसद बैठक डाक्न पनि पार्टीले माग गर्ने बताउँदै उनले गैरजिम्मेवार र संवेदनहीन सरकारविरुद्ध संसदमा अब हंगामा गरेर सरकारलाई जनताका पक्षमा काम गर्न बाध्य बनाइछाड्ने बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल