केरुङ नाका थप सहज बनाउन स्याफ्रुबेसीमा पीसीआर टेस्ट मेसिन राखिने


काठमाडौं । सरकारले रसुवा भन्सार कार्यालयका काम सहज हुने गरि पीसीआर टेस्ट गर्ने व्यवस्था मिलाउने भएको छ । केही दिन अघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको टोलीले रसुवा भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको थियो ।

झण्डै ९ महिनादेखि भन्सार सहज नहुँदा नेपाली ब्यापारीहरुको सामान भन्सार कार्यालयमा रोकिएको छ । अहिले सामान नेपाल ल्याउन शुरु भएपनि पर्याप्त मात्रामा ल्याउन सकिएको छैन । चिनियाँ पक्षले स्वास्थ्यका सबै मापदण्डहरु पालना गरेर मात्रै नेपाल तर्फ सामान निकासी गर्न दिने अडान राखेको छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले नेपालीहरुको पीसीआर परीक्षण गरेर मात्रै चिनियाँ क्षेत्रमा प्रवेश गर्न दिने भएकाले स्वास्थ्य मन्त्रालयसँग स्याफ्रुवेशीमा पीसीआर मसिन राख्ने तयारी भइरहेको हरेकपललाई जानकारी दिए ।

उनले भने ‘सामान ल्याउन पनि त्यहाँ कार्यरत सबैको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य गरिएकाले अहिले त्यहाँ मेसीन राखेर अवस्था सहज बनाउने प्रयास गरिरहेका छौं ।’

रसुवा नाकाको भन्सार कार्यालय सुचारु गर्ने विषयमा सरकारले निर्णय गरेर नै परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोलीले अनुगमन गरेको थियो । नेपाल सरकार वाणिज्य र परराष्ट्र मन्त्रालयले चीनका संम्बन्धित निकायमा कुरा पुर्‍याएपछि चीनियाँ पक्ष स्वास्थ्य मापदण्ड पालना गरेर नाका खुलाउन सहमत भएका थिए ।

चीनका सामान ल्याउने मुख्य नाका नै केरुङ र तातोपानी हुन् । तर लामो समय ती दुवै नाका बन्द हुँदा नेपाली बजारमा चिनियाँ सामान अभाव हुने गरेको व्यवसायीहरुले पनि बताउँदै आएका छन् ।
नेपाली पक्षले अहिले सामान ल्याउनका लागि १५–२० जनाको समूह नै बनाएको छ । उनीहरुलाई छुट्टै होटेलमा आइशोलेशनमा राखिएको पनि महानिर्देशक दाहालले बताए ।

सुमन दाहाल, महानिर्देशक भन्सार विभाग

उनले भने ‘अहिले आइशोलेशनमा बसेकाहरुको पनि १४-१४ दिनमा पीसीआर रिपोर्ट बुझाउने र उनीहरुलाई मात्रै काममा लगाउने वातावरण मिलाएका छौं ।’ यसैगरी अहिले रसुवा नाकामा ट्रक राख्नका लागि मार्किङ गरेर स्थान छुट्ट्याइएको छ ।

साथै पहाडी नाका भएकाले भन्सार पूर्वाधारको समस्या रहेको पनि महानिर्देशक दाहालले बताए । अहिले त्यहाँ पूर्वाधार बन्ने काम पनि भइरहेको भए पनि गति भने सुस्त रहेको उल्लेख गरे । साथै बाटोका कारण पनि समयमा सामान आउन नसक्ने अवस्था रहेको पनि बताए ।

झण्डै केरुङ नाकामा १२ सय बढी कन्टेनर सामान अड्किएको बताइएको छ । जसले गर्दा नेपाली व्यवसायीहरुको लगानी पनि फ्रिज भएर बस्दा व्यवसायीहरु चर्को आर्थिक समस्यामा पनि पर्न थालेका छन् ।अहिलेको अवस्थामा सरकारले चिनियाँ पक्षसँग प्राथमिकता निर्धारण गरेर नेपाल तर्फ सामान पठाउन आग्रह गरेको छ ।

भन्सार विभागमा महानिर्देशक दाहालले पहिलो चरणमा तत्काल विग्रने खालका समान पठाउन आग्रह गरेको बताए । उनले भने ‘पहिलो चरणमा सड्ने खालका सामानहरु पठाउन भनेका छौं, दोस्रो चरणमा विकास निर्माणका सामाग्रीहरुलाई राखेका छौं भने अन्य उपभोग्य बस्तुहरुलाई तेस्रो चरणमा राख्न आग्रह गरेका छौं ।’

यसैगरी चिनियाँ पक्षसँग दुई सिफ्टमा नेपाल तर्फ सामान पठाउने व्यवस्था मिलाउन पनि आग्रह गरिएको र यस विषयमा उनीहरु सकारात्मक रहेको पनि दाहालले जानकारी दिए । चिनियाँ पक्ष दुई सिफ्टमा सामान पठाउन राजी भएसँगै नेपाल पक्षले फास्ट किलियरिङ गर्नुपर्ने भएको पनि जानकारी दिए । यसमा नेपाल पक्ष तयार रहेको पनि उनको भनाई छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल