दशैंमा सामान अभाव हुनसक्छ : अध्यक्ष कार्की (कुराकानी)


काठमाडौं । कोरोना महामारीका कारण व्यवसायीहरु अहिले तनावमा छन् । ९ महिना अघि चीनबाट सामान ल्याउनका लागि गरेको लगानी खेर गएजस्तै भए पछि उनीहरुको भविष्य अन्योलग्रस्त छ ।

चीनमा कोरोना महामारी शुरु भएपछि नेपाल आउने सामान रोकिएको थियो । चीनमा केही हदसम्म कोरोना नियन्त्रणमा आएपनि फेरि नेपालमा शुरु भएको लकडाउन र निषेधाज्ञाका कारण केरुङ र खासामा गरि झण्डै १५ सय कन्टेनर सामान त्यही गोदाममा थन्किए । बल्ल तल्ल ल्याउनका लागि सहमति भए पनि दैनिक १०–१२ कन्टेनर मात्रै सामान निकासी हुँदा आउँदै गरेको दशैंको माग धान्न नसक्ने व्यवसायीहरुले बताएका छन् ।

नेपाल ब्यापार संघका अध्यक्ष कुमार कार्कीले अहिले व्यवसायीहरुको अवस्था चौपट भएको बताउँछन् । हरेकपलसँगको कुराकानीमा काकीले घर भाडा बैंकको ब्याजका कारण पनि अहिलेको अवस्था कायमै रहे २० प्रतिशत माथि व्यापारीहरु विस्थापित हुने पनि बताए । यसैगरी अहिले सामान आउन शुरु गरेपनि दशैंका लागि सामान प्रयाप्त नहुने पनि बताए ।

कोरोनाले गर्दा ब्यापार व्यवसाय कस्तो छ ?
कोरोनाका कारण व्यापार व्यवसाय चौपट छ । कोरोनाले गर्दा केरुङ नाकामा धेरै सामान अड्किएको छ । नौ महिनासम्म कोरोना महामारीका कारण नाका बन्द हुँदा धेरै सामान अड्किपछि ठूलो घाटा भएको छ । तैपनि हामीले ब्यापार गर्न खोज्दा कोहीबेला घरभाडाको समस्या, कोही बेला बैंकको समस्या झेल्दै आएका छौं । जसले गर्दा धेरै व्यवसायीहरु विस्थापित हुने अवस्थामा छन् । काठमाडौंमा धेरै सटरहरु पनि खाली हुने छन् ।

अहिले त अवस्था अलि सहज जस्तो देखिए पनि तपाईहरुलाई अप्ठेरा परेको सामान गोदामबाट ननिस्किएर हो ?
हामी समस्यामा पर्नुको मुख्य कारण भनेकै सामान गोदामबाट नआएर नै हो । जसले गर्दा हामीसँग सामान भएन । व्यापार भएन । समान ल्याउनका लागि तिरेको पैसा उतै जाम भएको छ । पसल त हामी बाध्य भएर खोलेका छौं तर सामान नै नभए पछि के को ब्यापार गर्ने गाह्रो छ ।

कति सामान आउन बाँकी छ त ?
यति नै भन्न सक्ने अवस्था त अहिले छैन । तर, मोटामोटी हिसाव गर्दा झण्डै १२ सय कन्टेनर सामान केरुङमा अड्किएको छ । यसैगरी खासामा साढे २ सय कन्टेनर सामान अड्किएको छ ।

यो समस्या कोरोनाका कारणले हो अथाव वर्षातको समयले गर्दा हो ?
शुरुमा चीनमा कोरोना संक्रमण बढ्दा नेपालका केही मानिसहरुले कोरोना सर्छ भनेर यता गाडी आउन दिएनन् । उताबाट सामान लैजान हामीलाई ताकेता पनि गरेका थिए । हामीले उक्त सामान ल्याउन सकेनौं । सिमा क्षेत्रका स्थानीयले पनि अबरोध गरेका थिए । पछि हामीले सामान खोलिदेउ हामी ल्याउँछौं भन्दा चीनियाँ पक्षले मान्दै मानेन । जसका कारण हाम्रो सामान उतैका गोदाममा थन्किन बाध्य छ ।
अहिले विभिन्न निकायमा हामीले ढोका घचघच्याउँदा बल्ल सामान त खुला भएको छ । तै पनि दशैको मुख भइसक्यो त्यो पुरै सामान आउन सक्दैन ।

नौ महिना अघि लोड गरेको सामानले दशैंको माग धान्छ त ?
दशैंको माग पनि धान्दैन । अझ भन्ने हो भने माल नै आइपुग्दैन । अहिले दिनको १०–१२ वटा कन्टेनर छोड्ने कुरा छ । अबको २० दिनमा दशैं नै सकिहाल्छ । व्यापार गर्ने भनेको १० दिन जति हो । यति सामानले त काठमाडौंमा छेउ टुप्पो पनि पुग्दैन । अहिलेको अवस्थामा १०० केन्टनर आउँछन् र अलि बढी प्रेसर गर्यौं भने २०० कन्टेनर सामानले पुग्दैन ।

तपाईहरुले फेस गरेको बैंक र घरभाडाको समस्या के हो ?
घरभाडाको समस्या केही केहीले हल गरेका छन् । कोरोनाका बेला भनेर एक डेढ महिनाको भाडा छुट गरेका छन् । तर अधिकांशले बस्ने भए बस नभए ठाउँ खाली गरेर जाउ पनि भनिरहेको अवस्था छ ।

समस्या समाधानका लागि कसरी पहल गरिरहेको छ ?
हामीले नेपाल राष्ट्रिय व्यवासायी महासंघ, नेपाल ब्यापार संघले मिलेर हामीले घरभाडा सम्बन्धी समस्या समाधानका लागि पहल गरिरहेका छौं । समस्या समाधानका लागि सपिङ मलहरुमा सजिलो रहिछ । व्यापारीहरुको कमिटीले नै सबै बसेर छलफल गर्दा कुराहरुको सुनुवाई हुने गर्छ । तर, एउटा एउटा घर भएकाहरुसँगको समस्या हल गर्न भने अप्ठेरो रहिछ । मलहरुमा त पचास पचास प्रतिशत जस्तो पनि भएको छ । जस्तो सिभिल मलमा हामी तीन चारदिनसम्म गएर छलफल ग¥यौं । उहाँहरुले सात महिनाको भाडा प्याकेजमा छुट दिनुभयो । जसमा चार महिनाको ५० प्रतिशत छुट दिनुभयो भने बाँकी तीन महिनाको भाडामा ४० प्रतिशत छुट दिनुभयो । अन्त अन्त पनि यसैगरी एक दुई महिनाको छुट त दिएका छन् । तर त्यो पर्याप्त छैन ।

अहिलेको यो अवस्थाले कति व्यापारी विस्थापित हुने खतरा देखियो त ?
अहिलेकै अवस्था रहे कम्तिमा २० प्रतिशत व्यापारीहरु विस्थापित हुन्छन् । अझैं कोरोना कतिसम्म रहन्छ त्यो थाहा छैन । बानेश्वरका एक जना व्यापारीले आत्महत्या नै गर्नुभयो ।

राहतको पहल गर्दा जवाफ के छ ?
बैंकले पाँच प्रतिशत व्याजमा उद्योगहरुलाई सहुलियत दिने भनेको छ । तर, व्यापारीहरुलाई दिने भनेको छैन । यहाँ उद्योग र व्यवसायीहरु नङ र मासु जस्तै सम्बन्धमा रहन्छन् भन्ने कुरा नै बुझेका छैनन् । यो विषयमा अब राष्ट्र बैंकबाट आउला । केही कुराहरु मौद्रिक नीतिमा त आएको छ तर कार्यान्वयनको पाटो अलि फितलो जस्तो छ ।

तपाई व्यवसायीहरु एक हुनुहुन्छ ?
हामी सबै समस्या ग्रस्त छौं । एक हुन त परि हाल्यो नी । हामी सबै मिलेर नै सरकारसँग हाम्रा कुराहरु राखिरहेका छौं ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल