अमेरिकामा आधुनिक प्रविधिलाई अनुमति नदिने अमिशहरू

(लेनक्यासटर)

अमेरिकामा अहिले पनि टेलिभिजन, रेडियो, टेलिफोनमा पहुँच प्रतिबन्ध गरेर अमिशहरू आधुनिक संसारलाई उनीहरूको जीवनमा प्रवेश गर्नबाट रोक्न सक्षम बनेका छन् । अनौठो लाग्न सक्छ ! तर यो सत्य हो । पेन्सिलभेनिया राज्यको लेनक्यास्टर काउन्टीका अमिशहरूले अझ पनि शताब्दी पुरानो ‘सादा’ जीवनशैली बिताउँदैछन् ।

(अमिश गाउँ)

अमिशहरूको विश्वास अनुसार  उनीहरू संसारको अनुरूप हुनु हुँदैन । यस कारणले उनीहरू केही आधुनिक सुविधाहरूबाट टाढा हुन्छन्, जसले अमिशहरूलाई उनीहरूको विश्वासको अनुशरण गर्न अनुमति दिँदैन ।अमिशले बिजुली प्रयोग गर्दैनन्, त्यसैले त्यहाँ कुनै टेलिभिजन, कम्प्युटर वा रेडियो छैन । यातायातको लागि मोटर गाडीको ठाउँमा उनीहरू घोडा र बग्गी प्रयोग गर्छन् । कृषिका साथै व्यवसाय र कुटिर उद्योगमा संलग्न उनीहरूलाई हेर्दा अमिशको जीवनशैली ३०० वर्षभन्दा अघिदेखि अपरिवर्तित रहेको देख्छौँ।अमिशहरूको जीवनशैलीबारे अधिक जान्न र यस अनौठो संस्कृतिको अनुभव लिन लाखौँ आगन्तुकहरू अमेरिकाको सबैभन्दा ठूलो अमिश समुदायको घर लेनक्यास्टर काउन्टीमा आउँदछन् ।

(अमिश गाउँ घुमाउने बसहरू)

युयु र म पनि पुग्यौँ लेनक्यास्टर काउन्टीको अमिश गाउँ । पुर्याए– न्यूयोर्कका कृष्ण भट्टराईले । सफ्टवेयर इन्जिनियर साथै एक सफल व्यवसायी हुन्  कृष्ण भट्टराई ।

(अमिश घर)

अमिशको घर दैलो डुलाउने डा. एरिना थिइन् । यिनले अमिशहरूको घरभित्रका सर- सामानहरू, पकाइ खाने भाँडा बर्तनहरूदेखि अमिशहरूको पोशाकहरूको परिचयसाथै उनीहरूको जीवनशैली  वृत्तान्त सुनाएर मक्ख पारिन् हामीलाई ।

(अमिशले घरमा प्रयोग गर्ने सामान)

सन् १६९३ मा जाकोब अम्मानको अगुवाइमा स्विटजरल्याण्ड र अल्साटियन मेनोनाइट्स एनाब्याप्टिष्टहरूको एउटा समूहभित्र फरक चर्चको इतिहास सुरू भयो । त्यसपछि अम्मानलाई पछ्याउनेहरू अमिशको रूपमा चिनिए । अमिशहरू १८ औँ शताब्दीको सुरूतिर उत्तर अमेरिका आएका हुन् युरोपबाट । हाल अमेरिकाको पेन्सिलभेनिया राज्यमा मात्र  ७९,२०० भन्दा बढी अमिशहरू बसोबास गर्छन् ।

(अमिश पहिरन)

धर्मः एनाब्याप्टिष्ट मान्ने अनि शास्त्र: बाइबल पढ्ने अमिशहरू घरमा एकअर्कासँग कुराकानी गर्दा ओल्ड अर्डर पेन्सिलभेनिया डच बोल्छन्, जुन जर्मनको बोली भाषा हो । यो उत्तरी जर्मनीको केही भागमा बोलिने ‘प्लाट’-सँग मिल्दोजुल्दो छ ।

(अमिश पहिरन)

अमिशहरू विश्वास गर्छन् ठूलो परिवारहरू परमेश्वरबाट आशिष हुन् । उनीहरू धेरै बच्चाहरू जन्माउने आशा गर्छन् र एउटा परिवारमा सातदेखि दश जना बच्चाहरू हुन्छन् । जब बच्चाहरू स्कुल  जान थाल्छन् उनीहरूले अङ्ग्रेजी सिक्छन्  ।

(अमिश स्कुल)

अमिश स्कुल एक कोठाको घर हुन्छ । जहाँ कक्षा एकदेखि आठ सम्मको पाठ पढाइन्छ । स्कुलमा अविवाहित महिला  शिक्षिका हुन्छिन् । उनीहरूको विश्वास अनुसार आठौँ कक्षा भन्दा परको शिक्षा अमिश जीवनशैलीको लागि अनावश्यक छ ।

 (अमिश घोडाहरू)

उमेरको हिसाबले १४ वर्ष पुगेपछि औपचारिक शिक्षा बन्द गरिन्छ । उनीहरू १६ वर्ष उमेर नपुगुन्जेलसम्म आफ्ना अभिभावक,समुदाय र स्कुल शिक्षकद्वारा व्यावसाय प्रशिक्षण प्राप्त गर्छन् ।

   (अस्तबल)

१६ वर्षका अमिश युवा युवतीहरूलाई परिवारको फोल्डबाट छाडिन्छन् र  उनीहरूले पत्ता लगाउनु पर्छ कि अमिश हुनु भनेको के हो ? यो एक अवधि उनीहरूले वयस्कको  रूपमा बप्तिस्मा लिनु अघि देखा पर्दछ र उनीहरू अभिभावकको नियन्त्रणमा हुँदैनन् ।

(बग्गी)

अमिश चर्चको सदस्यता बप्तिस्माको साथ सुरू हुन्छ। १६ वर्षदेखि २३ वर्ष बीचको उमेरमा एकपटक कुनै व्यक्तिले चर्चमा बप्तिस्मा लिए ऊ विवाह योग्य ठानिन्छ । अमिश नियमहरूले अमिश चर्चका सदस्यहरूबीच मात्र विवाह गर्ने अनुमति दिन्छ ।

   ( अमिश घरहरू)

अमिश युवा युवतीहरू आफ्नो जीवन साथीको खोजी सुरू गर्छन् । कुनै जोडी  विवाहको लागि तयार हुन्छ । यो कुरा जुलाई वा अगस्त महिनासम्म गोप्य राखिन्छ । युवकले युवतीलाई एक उपहार दिन्छ र युवतीले आफ्नो परिवारलाई जानकारी दिन्छिन् ।

(अमिशले प्रयोग गर्ने भाँडाहरू)

त्यसको ठीक दुई हप्तापछि आइतबार सेवाको अन्तमा विवाह गर्न चाहने जोडीको अनुपस्थितिमा मण्डलीका डिकनले विवाह गर्न मनसाय राख्ने युवतीको नाम घोषणा गर्दछन् र उनी कोसँग विवाह गर्न चाहन्छिन्,सो बताउँछन् । त्यसपछि युवतीको बाबुले विवाहको मिति र समयको घोषणा गर्दछन् । युवतीको परिवार चर्चबाट फर्किएपछि छोरीले औपचारिक रूपमा आमा-बाबुसँग उनका भावी पतिको परिचय गराउँछिन्।

(अमिशले प्रयोग गर्ने काठका सामानहरू)

नोभेम्बर अनुकूल महिना मानिन्छ र मंगलबार अथवा विहीबारको दिन विवाह  सम्पन्न गरिन्छ । विवाहमा दुलहीले मन पराउने पोशाकको रंग नीलो हो । नव विवाहित जोडीले पहिलो रात दुलहीका अभिभावकको घरमा बिताउँछन् । धेरैजसो मण्डलीमा विवाहपछि पुरूषलाई दाह्री काट्न निषेध गरिएको छ  ।

(अमिश गाउँमा पसल)
(अमिश गाउँमा पसल)

अमिशको चर्चमा २० देखि ४० सम्मका परिवार हुन्छन् । ओल्ड अर्डर अमिशहरूले चर्च घरहरू निर्माण गर्दैनन् । तर हरेक आइतबार एक सदस्यको घरमा पूजा, सेवाहरूको लागि भेला हुन्छन् । यस कारणले गर्दा उनीहरूलाई ‘हाउस अमिश’ पनि भनिन्छ ।

(अमिश महिलाको पहिरन)

अमिशलाई ‘सादा मानिस’ भनेर चिनिन्छ । उनीहरूको पहिरन कालो, नीलो, खैरो, बैजनी वा हरियो रंगको सादा हुन्छ । अमिश पुरूषहरूले सामान्य पेन्टको साथ कालो सुट, कालो जुत्ता लगाउँछन् । काम गर्दा लगाउने जुत्ता खैरो हुन्छ ।  ट्राउजरमा कुनै जिपर हुँदैन र त्यसको सट्टा बटनहरू हुन्छन् ।

(अमिश महिलाहरू)

अमिश महिला र युवतीहरूले लामो बाहुलाहरू र पूरा स्कर्टको साथ ठोस रंगको कपडाबाट बनाइएको परम्परागत पोशाक लगाउँछन् । यी पोशाकहरू केप र एप्रनले ढाकिएको  हुन्छन् । आफ्नो कपाल कहिल्यै काट्दैनन् । टाउको पछाडि सानो टोपीले ढाक्छन् । अमिश महिलाहरूलाई कुनै प्रकारको गहना लगाउन अनुमति छैन ।

 (अमिश चिहानघारी)

अमिश समुदायमा कुनै व्यक्तिको मृत्यु भए, मृतकको पार्थिव शरीरलाई तीन दिनपछि दफनाइन्छ ।

(अमिश गाउँमा बसहरू)

अबको पालो मार्ग्रेट स्मिथको छ- हामीलाई अमिश गाउँ घुमाउने। उनी बसमा पर्खेर बसेकी थिइन्। बाहिर सेताम्मे हिउँ, हावा चिसो छ । केही दिनअघि परेको हिउँ पग्लिसकेको थिएन । अङ्गुर र स्याउका बोटहरूमा जमेको हिउँ सूर्यको किरणले पग्लिएर तप्कँदै थियो । सडकका दुवैतर्फ अमिशका घरहरू भेटिन्थे । म बसको झ्यालबाट बाहिरको दृश्य क्यामेरामा कैद गर्छु ।

(पुरानो फार्म जाने बाटो) 

अमिश गाउँ भ्रमण गर्दा उनीहरूको फोटो वा भिडियो लिनबाट जोगिनु पर्छ । अमिशहरूको उपस्थितिमा टेक्नोलोजी प्रयोग गर्नु उनीहरूको धर्मको विरुद्ध मानिन्छ, र उनीहरूले  फोटो खिच्ने अनुमति दिँदैनन् ।

(अमिश कृषक)

अमिशहरूले लामो समयदेखि जीवनशैलीको रूपमा खेतीपातीलाई रूचाएका छन् । लेनक्यास्टर काउन्टीमा उनीहरूले उब्जाएका फसलहरू क्षेत्रफलअनुसार मकै, गहुँ, जौ, आलु, सुर्तीजन्य बाली, सोयाबीन र अन्य तरकारीहरू मुख्य बाली हुन्  । मकै, गहुँ प्रायः गाईवस्तुलाई खुवाउनका लागि खेती गरिन्छ ।

(अमिश गाउँका गाईहरू)

हामी चढेको बस अमिश फार्म हाउस, अमिश पसल, अमिश खलियान, अमिश फार्म पशुहरू, एक कोठाको स्कुल, अमिशको चिहानघारी भएर सडकमा गुड्दै थियो ।

(अमिश मेनोनाइट्सको घर आँगनमा गाडीहरू)

कतिपय  घरका आँगनमा गाडी देखिन्थे, मार्गेट स्मिथ लाई सोध्छु – ‘यी घरहरू कस्का हुन् ?’

‘अमिशहरूको ।’

‘अमिशहरूले त गाडी चलाउँदैनन् भनेको होइन र ?’ मैले सोधेँ ।

‘ओल्ड अर्डर र न्यू अर्डर समूहका अमिशहरूले  गाडी चलाउँदैनन् । तिनीहरूले घोडा तान्ने बग्गीहरू प्रयोग गर्छन् । तर बिच अमिश र अमिश मेनोनाइट्स समूहका अमिशहरूले गाडी चलाउँछन् ।’ मार्ग्रेट स्मिथले भनिन् ।

(अमिश गाउँमा हिउँको पुतला)

अमिशहरू सैद्धान्तिक विवादका कारण पटक-पटक विभाजित भएका छन् ।उनीहरू मुख्य रूपले  (१) ओल्ड अर्डर अमिश (२) न्यू अर्डर अमिश (३) बिच अमिश  र (४) अमिश मेनोनाइट्स गरी चार समूहमा विभाजित छन् । समूहभित्र पनि विभिन्न उपसमूहहरू छन् र नियमहरू समेत फरक-फरक छन्  ।

(अमिश खलियान)

तर पनि आधुनिक अमेरिकी समाजभन्दा धेरै फरक छ अमिशहरूको परम्परागत जीवनशैली – जुन अकल्पनीय छ ।

===

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल