बिपी कोइरालाको पठन संस्कृति र त्यसको सिर्जनामा प्रभाव

बिपी शतकभरि त्यसको संयोजक भएर अनेक स्थानमा पुग्दै कार्यक्रमको संयोजन गर्दै ठूला ठूला गोष्ठीहरूमा प्रस्तुति गर्दै गराउँदै वर्षदिन व्यतीत भइसकेकोले गर्दा मलाई बिपी विषयका साहित्यिक विषयवस्तुहरू सबै निषेशित भएजस्तो लाग्छ ।

अहिले गणना गर्दा नेपाली लेखक संघ अन्तर्गत सम्पन्न भएका विचार–गोष्ठीको सङ्ख्या पच्चीस पुगेछ र अनेक विद्वानले त्यस अवसरमा प्रस्तुत गर्नुभएका गोष्ठीपत्रहरूको हिसाब गर्दा ७२ पुगेछ । यो वर्ष भरिमा प्रकाशित र शीघ्र प्रकाश्य जर्नल/पत्रिकाको सङ्ख्या पनि १९ पुगेको छ ।

म आजसम्मको अन्तिम जर्नलको निमित्त लेख्न बसेको छु । यी प्रत्येक जर्नलमा प्रकाशित लेख रचनाको गणना गर्दा ३०० नाघ्ने छ । बिपी अध्येताको निमित्त योभन्दा ठूलो खुसीको कुरा केही हुने छैन । यी सबै प्राप्तिहरू एउटै आर्काइवमा राख्नुपर्ने यस्तो अत्यन्तै ठूलो सङ्ख्या बिपी साहित्य विषयमा, विचार दर्शन विषयमा यथासम्भव धेरै काम सम्पन्न भएका छन् । यी कार्यपत्रहरूको सङ्ग्रह प्रकाशित गर्ने हो भने पनि हजार पृष्ठभन्दा बढीको ग्रन्थ तयार हुनेछ । तर बिपीसँग सम्बद्ध संस्थासँग यस्तो भिजनको अभाव छ । सरकार बिपी विषयक सम्पूर्ण सकारात्मक कार्यमा सधैँ मौन छ ।

वास्तवमा बिपीको अध्ययन र शैक्षिक पृष्ठभूमिमा नै उनको दर्शन र लेखन सिद्धान्तमा आधारित रहेको छ । सर्वप्रथम वनारस जस्तो एक उर्वर स्थान भारतीय सभ्यता संस्कृति धर्म र राजनीतिको एउटा महान् केन्द्र त्यहीँ अनेक संगत प्राप्त हुनु नै बिपीको प्रेरणा स्रोत थियो । त्यसमाथि उसैबेला अङ्ग्रेजी शिक्षा र कानुनतिर अभिरुचि राखेको देख्ता आफ्ना तार्किक शक्तिको विकास हुने ठाउँ पनि मिलेको थियो । त्यसकारणले बाल्यकालको अति उर्वर संस्कृति केन्द्रमा शिक्षा हुनु त्योभन्दा बढी पारिवारिक संस्कारको योगदानले उच्च विचार, मनोवल र सत्यनिष्ठा जस्ता कुरामा गहिरो लगाब हुनु बिपीका महत्त्वपूर्ण आधार थिए । पारिवारिक संस्कार, समुचित मार्ग निर्देश र स्वविवेकको बाटो प्रष्ट नहुने व्यक्तिको निमित्त सफलता असम्भव छ । बिपीले एक अन्तर्वार्तामा प्रकट गरेका छन्— मैले भारतीय साहित्यका महान् स्रष्टाहरूसँग केही सिक्ने अवसर प्राप्त गरेको थिएँ । तीमध्ये शान्तिप्रिय द्विवेदी, प्रेमचन्द, रामकृष्ण दास, मैथिलीशरण गुप्त, जयशंकर प्रसाद जस्ता हिन्दी साहित्यका महारथीहरूसँगको परिचय र निकटताले म प्रभावित भएको थिएँ ( हे— बिपीका छरिएका सामग्री) । यसरी पहिलो प्रहरमा भारतीय साहित्यबाट त्यसका महान् गुरुहरूबाट आफू अघि बढ्न थालेको कुरा उनैले स्वीकारेका छन् । पछि जीवनको आयाम विस्तृत हुँदै जाँदा उनको लेखन सँगसँगै पठनको पनि विस्तार हुन थाल्यो । त्यही व्यापक पठनले बिपीलाई अत्यन्तै भिन्न, सचेत र समय सापेक्ष बनाउँदै लग्यो । आज लेखक पाठक तथा बौद्धिकले बिपीबाट लिने प्रेरणा नै उनको पठन र लेखन मार्ग हो । उनीहरूकै अध्ययन र लेखनले राष्ट्रको इतिहास लेखिँदै जान्छ र यो देशको साहित्य उन्नत हुँदै जान्छ ।

बिपीको अध्ययन र सिर्जनाको प्रथम दर्पण नै जेल जर्नल र फेरि सुनदरीजल हुन् । यिनैसँग जोडिएका आफ्न कथा, आत्मवृत्तान्त पनि रहेका छन् । यस्ता कृति नलेखिएको भए बीपीको आधी व्यक्तित्व किम्बदन्तीको धुवाँले ढाकिएको हुन्थ्यो । यो नै बिपीको एउटा सन्देश हो— जीवनकालमै लेखेर छोड्न सकियो भने त्यसले स्रष्टालाई यथावत सुरक्षित गर्दछ । नत्र उसलाई समयको धूलोले पुर्दछ । अरू लेखकको स्वैच्छिक अर्थमा बाँच्नु पर्दछ जसरी आज महाकविको स्थिति हुँदैछ ।

सर्वाधिक महवको त जेल जर्नल नै छ । जेल जर्नलले पाठकलाई यस कृतिको गहिराइ र महत्त्वले आकर्षित गर्दै लान्छ । बन्दीगृहका एक दशकले व्यक्तिगत चिन्ता मानसिक र शारीरिक व्यग्रता र पार्टीले भोगेको संकट, प्रतिबन्धित मुलुक र क्रमिक रूपले अन्तर्राष्ट्रिय जगतको उज्यालो आउन थालेको समयलाई संकेत गर्दछन् । यही व्यापक अन्तर्राष्ट्रिय उज्यालो हेरेर नै बिपीले सत्यको लागि अडान लिए वा लिन सके । स्वतन्त्रताको लागि प्रतीक्षा गर्ने मनोबल प्राप्त गरेका थिए । यी सबै प्राप्तिमा टाढाबाट आएको उज्यालो नै प्रधान तत्व रहेको छ ।

पहिलोपल्टको सुन्दरीजल जेलमा २०१७ साल पौष २ गतेदेखि नै अत्यन्तै अप्ठ्यारो बन्दीगृहको अन्धकारले छोप्न थाल्यो । त्यो दिन लेखिएको एउटा वाक्य छ— हामी चार जना, शिवराज, जवानसिंह, प्रेमराज र म आर्मी क्लबको कोठामा राखिएका छौँ । त्यसले एउटा निराशाजनक वातावरणमा होमिन तत्पर भएका योद्धाको मनस्थिति देखाउँछ । त्यसै दिन अपरान्हमा यी शब्द लेखेका छन्— आजदेखि लेख्ने बानी थाल्नुप¥यो भनेर यी गन्थन थालेँ । मेरो लेखाइ निरुद्देश्य होला, जस्तो मनमा उठ्ने र बिलाउने नाना थरिका विचार, भावनाहरू असम्बन्धित र उद्देश्यहीन हुन्न, यदि मेरा यी गन्थनका लक्ष्य ममै सीमित रहे भने भन्ने सोचेर पत्रको रूपमा दिनहुँ तिमीलाई सम्बोधन गर्छु । मेरा यी डायरीका पाना हुन् अत्यन्त व्यक्तिगत । यस्तो नितान्त व्यक्तिगत (श्रीमतीलाई सम्बोधन गरिएको) पत्र— लेखन पछि गएर राष्ट्रको अमूल्य सम्पदाको रूपमा, यातना व्यवस्थाको प्रमाणको रूपमा राष्ट्र अझै अन्धकार युगमा, बर्बरयुगमा बाँचिरहेको छ भन्ने देखाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । वास्तवमा त्यो कठोरताले नै बिपीको लेखन निकाल्यो । त्यसले नै विश्वसाहित्यका राजनीतिका संस्कृतिका अनेक विषयको अध्ययन गर्ने प्रेरणा दियो । त्यसले नै निरङ्कुशता विरुद्ध लड्ने शक्ति उत्पन्न ग¥यो । दिन काट्न मुस्किल परेको बेला यातनागृह भित्र र बाहिरका स्थितिहरूको यसरी तुलना हुन्छ— यहाँ दिन बित्तैन, दिन काटिन्छ । बाहिर दिन भन्नाले समयको एउटा ससानो नगण्य अवधिको बोध हुन्छ । यहाँ भित्र भने त्यही दिन लम्बिएर सुरसाको बदन जस्तो हुन्छ । यस्तै स्थितिमा बिपीले गम्भीर अध्ययन पठन चिन्तन आरम्भ गरेका हुन् । उर्वर मस्तिष्कको लागि कुनै खुराक पनि थिएन । त्यसैकारणले गर्दा उनको मन गम्भीर पठनमा लाग्यो ।

नेपाली साहित्यमा अरू पनि गम्भीर अध्येता होलान् तर मेरो निम्ति तुलनीय चाहिँ बिपी कोइराला, महाकवि देवकोटा, शंकर लामिछाने, लैनसिंह वाङ्देल यस्तै केही मात्र छन् । त्यसो त जत्रै ठूला अध्येता भएता पनि ती अध्ययनहरू कुनै प्रकाशनमा वा कृतिमा नआएसम्म सबै प्रयत्न व्यर्थ भएर जानेछ । बिपीले आफ्नो पठनलाई लेखन वा सिर्जनामा ल्याएर जीवन्त बनाए । अझ बिपीको पठन बहुआयामिक, बहुविधात्मक रहेको छ । जेल जर्नलमा नै बिपीले व्यवस्थित रूपले आफ्ना पाठ्य सामग्रीहरूको उल्लेख गरेका छन् । यसैमा नै उनले ती सामग्रीप्रति आफ्नो दृष्टिकोण र मूल्याङ्कन प्रस्तुत गरेका छन् । ती सामग्रीबाट नै देशको तत्कालीन साहित्यको, चिन्तनको मूल्याङ्कन गर्न सकिन्छ ।

सबभन्दा पहिले ता दर्शनको इतिहास (हिष्ट्री अफ फिलोसफी)प्रति आफ्नो रुचि भएको धारणा खुलेको छ । अन्यत्र पनि धेरै ठाउँमा बिपीले दर्शन विषयलाई गम्भीरतापूर्वक लिएका छन् । त्यसैकारणले गर्दा उनका तर्कमा, वार्तामा, लेखनमा उच्च दर्शन र विचारक पात्रको आधिक्य पाइन्छ । मुख्य आधार ता गीता नै छ । यस दर्शन ग्रन्थले अतीतकालदेखि वर्तमानसम्म ल्याउँछ । यसैले बिपीलाई तीन कृति लेखायो । पछि पाश्चात्य दर्शनको पनि बिपीले बारम्बार चर्चा गरेका छन् । परन्तु ती दिनमा भने उनलाई प्लेटोदेखि यताको दर्शन अध्ययन गर्न मुस्किल लाग्यो । त्यसैले उनले नयाँ समयका दार्शनिक शोपेन्हावर पल्टाए तर ती शोपेन्हावरले पनि उनलाई एकाग्रता प्रदान गर्न सकेनन् । अकारण यातनागृहमा परेको बेला अर्थर शोपेन्हावरजस्तो पूर्वीय दर्शनबाट प्रभावित जर्मन दर्शनिकले १८६० सम्ममा ठूलो ख्याति स्थापित गरेका थिए । वेदान्त र बौद्धधर्मबाट प्रभावित शोपेन्हावरलाई पश्चिमेलीहरू ‘भारतवर्षका सन्त’ नामले चिन्दथे । पछि आउने ठूलाठूला विद्वानहरू नित्से, वाग्नर, आइन्स्टाइन, फ्राइड, युङ, टाल्स्टाय, सबैसबै शोपेन्हावरको दृष्टिकोणबाट अत्यन्तै गहिरोसित प्रभावित थिए । त्यसैकारणले हुनुपर्छ बिपीले शोपेन्हावर पढ्न आरम्भ गरे । परन्तु मन एक चित्त हुन सकेन । बिपीले त्यहीँ भनेका छन्— यो ज्ञान कुनै नारीको आभूषणजस्तो अभिमान देखाउने वस्तु होइन । आज मलाई ज्ञानले पनि सान्त्वना दिन सकेको छैन । यसको पनि मलाई लोभ रहेन ।

सबै प्रकारका लोभ र मोहहरू त्याग्नु पर्ने स्थितिमा बिपी कोइराला यतानगृहभित्र थिए । उनले गम्भीर पठनद्वारा आर्जित ज्ञान केवल काँचो वादविवादको लागि थिएन । आत्मप्रकाशको लागि थियो । बिपीलाई ज्ञानको स्रोतबारे पनि द्विविधा थियो । उनी धर्म, विश्वास, तीर्थव्रत आदि कुरामा कहिल्यै थिएनन् । तथापि एक ठाउँ उनले भनेका छन्— मेरो देब्रे आँखा अनवरत फड्की रहेको छ । यसरी आँखा फड्किनुको के अर्थ हो ? पछि एक अन्तर्वार्तामा भनेका छन्— अन्धविश्वास भनेको के होला < विज्ञान वा बुद्धिबाट अगम्य वस्तु अन्धविश्वास हो < कि यसरी आफ्नो सामान्य वार्तामा तर्कको वा दर्शनको जगतमा प्रवेश गरेपछि उनलाई लाग्दछ— आफूले धर्म मान्दिनँ भने तापनि धर्म, दर्शन, भावना, संस्कृति, शिक्षा अनेक कुराको वातावरणले गर्दा कुनै पनि कुरा निख्रिएर यसै हो भन्न मुस्किल रहेछ ।

बिपीको पठनबहुविधा बहुभाषामा छ । त्यसो त जेल जर्नलमा र पछि फेरि सुन्दरीजलमा गरी दुई तीनपल्ट नै आफू दर्शन साहित्य र इतिहासले प्रभावित छु भनेर दोहो¥याएका पनि छन् । हेर्दै जाँदा त्यसको प्रमाण पनि पाइन्छ । त्यसका साथै दर्शनको लागि अङ्ग्रेजी हिन्दी वा संस्कृतको सहारा खोज्नु परेझैँ साहित्यका लागि पनि संस्कृत वा अङ्ग्रेजीको सहारामा पुग्नु पर्दछ । नेपाली साहित्य त्यस बेलासम्म रहरले उत्साहले विरोधको लागि सामान्य किसिमले आरम्भ गर्ने स्थितिमा मात्र पुगेको थियो ।

जेल जर्नलमा बिपीको अङ्ग्रेजी साहित्य पठन लर्ड टेनिशनको लोटस इटर्स शीर्षक कविताबाट आरम्भ हुन्छ । त्यहीँ उनले भनेका छन्— मलाई यस कविताको सङ्गीत मन प¥यो । यसरी लयात्मकता अथवा गेयात्मकताले गर्दा उनी प्रभावित देखिन्छन् । यो नै कविताको एक महत्त्वपूर्ण विशेषता हो । तर टेनिशनलाई पढ्नुको मतलब बीसौँ शताब्दी लाग्ने बेलाका शास्त्रीय कविहरूको प्रतिभाले प्रभावित हुनु जस्तै हो । यसको तात्पर्य रोमान्टिक काल निख्रिएको युगसन्धी पढ्नु हो । तर नेपालको स्थिति दुःखपूर्ण थियो । कस्तो मर्मको वाक्य छ एक ठाउँमा— कल्पनालाई सरकारले बन्द गरिसकेको छ ( पृ.५ ) । वास्तवमा एउटा स्रष्टालाई अरूथोक के चाहिन्छ र < स्वतन्त्ररूपले कल्पना खेल्ने ठाउँमात्र दिए भइहाल्छ । र एउटा लामो विचारले विश्वसाहित्य राजनीति र दर्शनको पठनले बिपीमा एउटा भिन्न धैर्य, सोच र शक्ति निरन्तर आफैँभित्र स्थापित र प्रवाहित छ । त्यसैले अरू कुरा जे भए पनि उनी आफ्नो लक्षमा दृढ छन् । उनले एक ठाउँ भनेका छन्— हाम्रो विजय अर्थात् प्रजातान्त्रिक विचारको विजय सामन्तवादका उपर अवश्यम्भावी छ भन्ने कुरामा मलाई कुनै द्विविधा छैन (पृ.७) । यही दूरदर्शिता र यही मनोवलको तेजले सबै दुःखकष्ट सहने धैर्य र प्रतीक्षा गर्ने समयसँग भिड्ने साहस उपलब्ध भएको छ । एकातर्फ अफ्रिकी प्रधानमन्त्री लुमुम्बाको हत्या भएको छ अर्का तर्फ नेपाली प्रधानमन्त्री कारागारमा बन्दी छ । प्रजातान्त्रिक स्वतन्त्रताको अभावमा विश्व प्रकम्पित छ । सदैव षड्यन्त्रको शिकार हुँदै मृत्यु सामना गर्नुपर्ने समय छ । त्यसकारणले गर्दा सधैँभरि दर्शन चिन्तनमा मात्र ध्यान छैन, निरङ्कुशहरूले जीवनलाई नै समाप्त गरिदिने हुन् कि भन्ने भय पनि रहेको छ । एक ठाउँमा बेलायती दार्शनिक/लेखक सि इ एम जोडको नाम उल्लेखित छ र अब अध्ययनको कुरालाई छोडेर नोबल पुरस्कार विजेता लेजरक्वीष्टको उपन्यासिका सिबिलको अनुवादमा लागेको कुरा छ । अनुवादको निमित्त सिबिलको चयन गर्नुको तात्पर्य सिधै विश्वशान्तिको एउटा चर्चित कृतिमा प्रवेश गर्नु जस्तै हो । यसबाट नेपाली जातिलाई के लाभ हुन्छ त्यो कुराको अनुमान गर्नु हो । किनभने यता हिटलर र यहूदीको महामृत्युखेल देखिसकेपछि मानिसलाई केले विवश पार्छ, केले उसलाई राष्ट्रबाट उच्छेदित गर्छ भन्ने विषयको मनोविज्ञान बुझ्न यो कृति पर्याप्त छ । वास्तवमा निरीह अवस्थामा रहेका यहूदी पक्षीय विनाशको त्रास बुझाउने यो सिबिल कृतिको प्रतीकात्मक अर्थ रहेको छ । अर्कातिर प्रजातन्त्रलाई मानव स्वतन्त्रतालाई निरङ्कुशहरूले प्रजातन्त्रको ‘ताजा रगत’ निमोठेर जीवनलाई स्पन्दनहीन बनाएका छन् । यस्तो बेलामा बिपी कहिले पाश्चात्य व्यवस्था, कहिले प्रजातन्त्रलाई समाप्त गर्ने व्यवस्थाको चिन्ता गर्दै वर्तमान तानाशाही व्यवस्थाको विरुद्ध जुलुस झिकेको सूचना पढ्दै पनि उनी आशान्वित हुन्छन् । मनुष्यलाई हरेश खाने आवश्यकता छैन । यस्तो निराशा र अन्धकारले छोपेको समयमा उनले लेखेका छन्— शरीर चिसो भएर सर्दीले राति मलाई भेट्छ भन्ने लागेर म उठेँ । उपनिषदमाथि लेखिएको अध्यायलाई केहीबेरसम्म पढेँ । जलपान गरेपछि फेरि हिष्ट्री अफ फिलोसफीको किताब लिएर घाममा आएँ कैम्पखाटमा पल्टेर किताब पढ्न थालेँ— उपनिषद ।

ती यातनाका वर्षभरि निरन्तर नबिसाई शारीरिक र मानसिक अस्वस्थताले वशीभूत गराएको समयमा बाहेक बिपी कोइरालाले निरन्तर रूपले मनलाई कुनै न कुनै कर्ममा लगाइरहे । यसको संकेत जेल परेको वर्षदेखि निस्केसम्म बारम्बार आइरहन्छ । १८ सालको एक प्रविष्टिमा भनेका छन्— समयलाई खेर फाल्नुभएन, चित्तलाई खाली राख्यो भने उद्विग्न भएर जान्छ(पृ.२३)। त्यसको भोलिपल्टै समयलाई कसरी व्यस्त राखेको होला यो प्रविष्टिमा संकेत पाइन्छ— साँझतिर एकछिन टहलेँ । एक हात ब्याडमिन्टन पनि खेलेँ । घरबाट सात–आठवटा किताबहरू पठाइदिएको रहेछ यसरी टहल्नु, खेल्नु, पढ्नु लगायतका कर्म यहाँ छन् । अर्काे प्रविष्टिमा उनले भनेका छन्— नयाँ किताब तरुणी हुन् आजको नयाँ किताब शायद मिला—१८ (Mila-18) यो उपन्यास पनि यहूदीको दुःख कष्ट यातनासँग जोडिएको छ । त्यसैलाई उनले तरुणी ( तत्कालै श्पर्श गरौँ लाग्ने) भनेका होलान् । तर अझै पनि त्यो कृति सेन्सर भएर आएको थिएन । यसरी विश्वसाहित्यको अध्ययनसँगै लेखन पनि गहिरिँदै गएको छ । तर सम्पूर्ण युरोप हिटलरको दावानलमा परी जलिरहेको थियो । यहूदी सबै नै भष्म भएका थिए । उता अल्जिरिया, फ्रान्स, अष्ट्रिया, पोल्याण्डसम्म भाग्दा पनि उनीहरूमाथि आगो झोसिन्थ्यो । उनीहरूप्रतिको करुणाले वा मानवतावादी चिन्ताले होला सबैजसो कृति यहूदी स्रष्टाका अथवा यहूदी उपर अत्याचारका छन् । अझ पनि बिपी जीवन्त भएका भए यसपालिको नोबेल पुरस्कार बिजेता यहूदी स्रष्टा मोदिआनोको कृति डोराब्रुडरको कत्रो प्रशंसा गर्थे होला । त्यसमाथि यस आख्यानको लेखन शैली अद्वितीय छ । बिपीका पठनबाट लेखन अभिप्रेरित छन् । उनका पठनीय कृतिहरूमा रविन्द्रबाबुका कृतिहरू पनि रहेका छन् ।

बिपीलाई विविध भाषाको ज्ञान अथवा विविध भाषा–ज्ञानको रुची तीव्र छ । उनले नेपाली भाषा अझै राम्रो र सरल पार्न पाए हुन्थ्यो भन्ने इच्छा प्रकट गरेका छन् । हिन्दी भाषामा आफ्नो सिर्जना थालेका पनि हुन् । अङ्ग्रेजीलाई पनि उनले साधिकार प्रयोग गरेका छन् । सर्वाेच्च भाषा संस्कृतको धेरै ठाउँमा प्रशंसा गर्दै त्यसपट्टि मोह प्रकट गरेका छन् । एक ठाउँमा ता म बांगला भाषामा रविबाबुका कृतिहरू पढ्ने प्रयत्न गर्दछु (पृ.३०) भनेका छन् । तर पढ्नुको सार्थकता त्यसको बोधमा छ । उनलाई लाग्छ पढ्नुको सार्थकता ज्ञानको, शिल्पको एवम् चेतनाको विस्तारमा छ । केवल सङ्ख्यामा पुस्तक पढ्नु व्यर्थ छ । त्यसैले जेल जर्नलको आरम्भमै भनेका छन्— केवल पढ्नुको तात्पर्य सुन्दरीका गहना जस्तो मात्रै हुनेछ । भने (पृ.३१)मा भनेका छन्— दिनको एउटा पुस्तक सिध्याएर त्यसरी वर्षदिनमा ३६५ पुस्तक पढिसकेर औँलामा गन्न सकिने सङ्ख्या थुपारेर मात्र के लाभ ? यस प्रकारले पढ्नु र लेख्नु उद्देश्यपूर्ण भएर गरिने अर्थात् सचेततापूर्वक गरिने अनि निष्फल नहुने गरी गरिने कर्म हुन् । यसमा साहित्यको उन्नति सँगै भावना र शिल्पको उन्नतिसमेत जोडिएको हुन्छ । त्यसैले पढ्नुभन्दा लेख्नु गाह्रो हुन्छ । यसरी उनले पढ्ने प्रक्रियासँग जोडिएका अनेक प्रकारका बौद्धिक परिणामको चर्चा गरेका छन् (पृ.३२) । त्यसैले बिपीका पठनहरू उद्देश्यपूर्ण रहेका छन् । कुनै पठन दर्शनको निमित्त, कुनै राजनीतिक चेतनाको निमित्त, कुनै साहित्यिक ज्ञानको निमित्त र धेरै चाहिँ बौद्धिक विस्तारको निमित्त गरिएका अथवा वाञ्छित छन् नत्र रविन्द्रबाबुका कृतिका चर्चा गर्दागर्दै आधुनिक दर्शनका पिता फ्रान्सेली विद्वान् डेकार्टेको कुरा गर्नु भनेको अति उच्च बौद्धिकताको मार्ग हो । डेकार्टेको डिस्कोर्श अन मेथड दर्शनको एउटा आधारभूत कृति हो । त्यसैगरी अर्का फ्रान्सेली काव्यकार चाल्ज बोद्लेयरका कृति पठनको कुरा गरेका छन् र बोद्लेयर आधुनिक काव्य कविता लेखनका पिता नै हुन् । अझै पनि नेपालीमा डेकार्ट अथवा बोद्लेयर पढ्न सक्नेहरूको सङ्ख्या नगण्य होला । तर बिपीका सबै पठन लेखन ता सिर्जनाका लागि थिए ।

तत्कालै अर्काे दिन उनलाई बंगाली साहित्यले तान्दछ र ताराशंकर बन्दोपाध्यायको शप्तपदी भन्ने उपन्यासको हिन्दी अनुवाद पढेको चर्चा गरेका छन् । यसबाट प्रष्ट हुन्छ बंगाली भाषा पढ्ने उत्साह र उत्कण्ठा हुँदाहुँदै पनि त्यति सहज रहेनछ । तथापि प्रेमवश यो बोल्दछन्— बांगला मेरा लागि मातृभाषा नभए पनि विदेशी भाषा होइन । यसरी उच्चकोटीका विश्वस्तरीय फ्रान्सेली साहित्यका कृतिहरू पढ्दापढ्दै बंगालीमा आउनु फेरि अङ्ग्रेजीमा जानु, फेरि अज्ञेय जस्ताको नदीको द्वीप कृति पढेको कुरा प्रकट गर्दछन् । तर अत्यन्तै उच्च मस्तिष्क बोकेका विलक्षण साहित्यिक प्रतिभा बिपी कोइरालाभित्र एउट निर्भिक र स्पष्टवादी समीक्षक रहेको छ । नत्र भने अज्ञेयको कृतिमा चरित्रको पूर्ण अभाव छ । त्यसैले यसको ममाथि राम्रो प्रभाव परेन भन्ने आँट कसरी आउँथ्यो होला ।

बारम्बार शून्यताले घेर्दछ । मनमा पूर्ण उदासी छ सानोसानो कुराले पनि हृदयलाई उद्वेलित पार्छ र मनमा उदासिनता भरिन्छ । उनी भन्छन्— दस बजेतिर एउटा प्लेन उडेको ध्वनि सुनेँ । लाग्यो तिनीहरू नै गइरहेका छन् । अचानक प्रेम करुणामा परिणत भएर म मनमनै भन्न लाग्छु— तिनीहरू सुखी रहून्, कल्याण होस् उनीहरूको ।यस्तो बेलामा विश्वप्रसिद्ध अष्ट्रिअन (जर्मन) स्रष्टा स्टिफेन ज्वीगको मेरि एन्तोएनेत शीर्षक आख्यान पढिसकेका छन् । ज्विग एन्तोएनेत एक साधारण युवती (रानी)ले अत्यन्तै ठूलो दुखान्तिक भूमिका खेलेकी छन् । ती पात्रलाई पढेर बिपी भन्दछन्— उनको व्यक्तिगत विपत्तिलाई मेरो आफ्नो विपत्ति जस्तो अनुभव गर्न थाल्छु (पृ. ३९) । यस प्रकारले एउटा पात्रले संवेदनशील मनलाई कहाँसम्म छुन्छ अनि फेरि एउटा कृति पढ्नुको तात्पर्य आफ्नो मनोजगतलाई कहाँसम्म बुझाउनु रहेछ— यस्ता कुराले बिपीमा रहेको स्रष्टाका संवेदनशीलताको मापन गर्दछ । असफल क्रान्तिको कारण एन्तोएनेतले यस्तो दुखान्त भोग्नु प¥यो । उनको यो स्थिति मेरोसित पनि कहीँ तुलनीय छ । यस प्रकार कृति वा त्यसका पात्रले छुँदा पनि कहाँ कहाँसम्म छुने रहेछ । त्यो स्मरणीय छ । त्यतिले मात्र पुगेन । पछि हिटलर र यहूदी लेख्ता बिपी कोइरालाले मेरि एन्तोएनेत पात्रको क्षुद्र झुपडीको भ्रमण गरेको कुरा उल्लेख गरेका छन् । यो केवल कल्पना थियो । फ्रान्समा यी काल्पनिक पात्रको झुपडी थियो कि थिएन त्यहाँसम्म बिपी पुगे कि पुगेनन् त्यो नै एउटा रहस्यको कुरा छ र उनका रचनामा एउटा पठनले एउटा पात्रताले कत्रो प्रभाव पार्दाेरहेछ देख्न सकिन्छ । अर्काेदिन उनले लेखेका छन्— वातावरण वियोगले भरिएको छ । हृदय त्यसै पग्लिरहन्छ र दबाइएको आँसु हृदयमा र आँखामा उम्लिन खोज्छ (पृ.४०) । यस प्रकारले बज्रजस्तो दृढता बोकेर देशलाई हाँक्न निरङ्कुशता विरुद्ध बलिदान दिन निस्केका वीर पुरुषको हृदयलाई पनि करुणा प्रेम र नैराश्य भावले विगलित गराएको देख्ता हामीलाई लाग्छ, उनीभित्रको मानव कति सरल र कति करुणाले भरिएको कोमल रहेछ ।

बिपीको मन जेल जीवनभरि लेख्ने र पढ्ने चिन्ताले सधैँ व्याकुल थियो । सोही दिनको पञ्जिकामा उल्लेख गरेका छन्— एउटा किताब थालेको ७५ पेजसम्म पढेपछि मन लागेन, छाडिदिएँ । भोलिदेखि नियमपूर्वक लेख्ने काम गर्नुप¥यो । त्यसै जेल जीवन बर्बाद भयो — एक वर्ष सानो अवधि होइन त्यसै खेर गयो । यो पढ्नेको हृदयमा कस्तो भावना उत्पन्न हुन्छ होला । हामी आफूलाई प्राप्त भएको समयको महत्त्व नबुझी लेख्ने वा पढ्ने कार्यतिर नलागी व्यर्र्थै उडाइरहेका पनि छौँ । बिपी कोइराला यातागृहमा रहेका दिनमा, यसबाट मुक्तिको कुनै आशा नरहे ता पनि त्यस चिन्तालाई दमन गर्दै त्यस समयको प्रत्येक क्षणलाई व्यर्थ जान नदिई पढ्ने र लेख्ने चिन्ताले छोपेको देखाउँछन् । वास्तवमा तीनै कठोरकाल अध्ययन र मननले चिन्तन र लेखनले बिपीलाई विश्व स्रष्टाको उचाइमा स्थापित गरेको हो । नत्र भने उनको लक्ष्य केवल राजनीति हुन्थ्यो भने त्यो व्यक्तित्व यस्तो उचाइमा पुग्ने थिएन होला । म मेरा समवयीलाई विद्यार्थी स्रष्टा अनुयायीलाई यही आदेश र उपदेश गर्दछु, समयको सूक्ष्मतम अंश पनि व्यर्थमा नष्ट नगरी पढ्नमा व्यतीत गरौँ । पढाइको व्यर्थतामा मात्र रमाउने होइन सँगसँगै लेख्नमा पनि लागौँ ।

जेल बसाइको एकान्तिक भयलाई अर्काेदिन बिपीले यसरी व्यक्त गरेका छन्— यो एक महिना दस दिन भयानक मानसिक व्यथामा बित्यो । मानौँ म एउटा ठूलो स्वप्नमा छु । नाना किसिमका अमंगल कल्पनाले जेल जीवनको निरसतामा ठूलो व्यथाको वातावरण ल्याइदिएको छ । मनको कष्ट यस्तो चरमावस्थामा पुग्दछ कि मन लठ्ठिएर त्यसलाई बोध हुन छोडेको छ (पृ. ४२) त्यस्तो स्थितिमा पनि बेहोस हुँदै फेरि सम्झिँदै केही पढ्ने र केही लेख्ने मनोबल भरिएको देखिन्छ । त्यसैले जस्तो सुकै घटना भए पनि र साथै मनमा आउने विचारहरूलाई नढाँटेर लेख्नुप¥यो भनेका छन् । उनको मनमा देशभित्रको बर्बरता विदेशका अनेक भूमिमा अल्जेरिया, कंगो, अनेक देशको सङ्घर्षको झल्को आउँछ । सेनाको महत्त्वबारे केही सोच आउँछ । यस्तो बेलामा उनी किताबकै सहारा लिन पुग्दछन् । त्यसबेला उनी देवेन्द्रराज उपाध्यायले पठाइदिएको अर्नाेल्ड टोएन्वीको एउटा र केपीएस मेनन्को अर्काे कृति पढ्न शुरु गर्दछन् तर उनकी माताले बाहिरभन्दा जेल भित्रै सुरक्षित छ भन्नु भएकाले बिपीलाई जेलमा यातना भोग्ने केही साहस प्राप्त हुन्छ ।

निकैदिन पछि फेरि उनी स्टिफन ज्विगको विवेर अव् पिटि शीर्षक कृतिमा लागेका छन् र कृति पढिसकेर त्यसको तत्काल समीक्षा वा त्यसप्रतिको टिप्पणी आदि पनि प्रस्तुत गर्दछन् । जस्तै विवेर अव् पिटि पढी सिध्याएँ, राम्रै लाग्यो, ज्विग प्रथम श्रेणिका लेखक होइनन्, द्वितीय श्रेणीमा उच्च सम्मान छ उनको । छोटकरीमा केही प्रभावयुक्त वाक्यद्वारा परिस्थितिलाई स्पष्ट पारेर छ्याङ्ग पार्न सक्तैनन् उनी (पृ. ५०)। यसरी लेखक र समीक्षक सँगसँगै (एउटै व्यक्तिमा) बसेका छन् । अर्काे प्रविष्टिमा उनले गुरुदत्तद्वारा लिखित सहस्रबाहु पढेर यसमाथि टिप्पणी राखेका छन्— विज्ञान र धर्म यी दुई विषयको द्वन्द्वलाई लिएर यो उपन्यास लेखिएको छ ( पृ ५२) । यति संकेत पाएपछि त्यसलाई विस्तार गर्दै उपन्यासलाई उभ्याउने भौतिक र आध्यात्मिक दुई पक्षको विश्लेषणमा आफ्नो मन्तब्य प्रकट गर्दछन् र गुरुदत्तको लेखनको स्पष्ट आलोचना गर्दछन्— गुरुदत्त सफल लेखक होइनन्, यद्यपि यिनले हिन्दीमा धेरै किताब लेखेका रहेछन्, तर मैले यिनको यो पहिलो उपन्यास हो जो पढ्न पाएँ । भाषमा कुनै रस छैन । उपन्यासको दृष्टिबाट पनि, विचारको दृष्टिबाट मात्रै होइन यो अत्यन्त साधारण ग्रन्थ रहेछ ( पृ= ५३)।

अर्काे कृति छ— बेलायती लेखक लिटन स्टेचिका धेरै कृतिको वर्णन छ तर उनी ठूला लेखक नभएता पनि बिपीलाई उनको प्रान्जलताले निकै प्रभाव पारेको छ । त्यसैले उनको स्ट्र्यिाङ्गल्ड क्राईजको अध्ययन गरे । विशेष गरी साम्यवादले उत्पन्न गरेको अत्याचार त्यसबाट पिसिएका जनताको रोदन क्रन्दन आदि कुराले बिपीलाई साम्यवादको विरुद्ध उभिन अर्थात् स्वतन्त्रताको विषयमा अडान लिन ठूलो सहयोग पु¥याउँछ त्यसैले गर्दा त्यो प्रविष्टिमा कोष्टलर, पाष्टरनाक, च्याम्बर्स, जर्ज अर्वेल जस्ता प्रजातन्त्रको पक्षमा लड्ने स्रष्टाहरूको पनि नाम उल्लेख गरेका छन् । अझ यो शताब्दीमै अधिक बिक्री भएको आख्यान अर्वेलको एनिमल फार्म पढ्दा सबै प्रष्ट हुन्छ । यो एक प्रतीकात्मक मास्टरपिस हो । साम्यवादप्रति मानिसको कत्रो उपेक्षा थियो त्यो देख्न पाइन्छ ।

बिपीको अध्ययनमा देशको मनोविज्ञानजस्तै आफ्नै शारीरिक मनोविज्ञानको पनि ठूलो चिन्ता छ । त्यसैले एक दिन मनोचिकित्सक ह्याब्लक एलिस पढेको चर्चा गर्दछन् । सँगसँगै फ्राइडमाथि अध्ययन गरेको पनि कुरा छ । यी दुवै मनोविश्लेषकहरूले अन्तर्जगतको चित्र देखाएका छन् भने यौन किन यति प्रवल विषय छ भन्ने कुराको विश्लेषण गर्न आएको नयाँ मनोविश्लेषण धारका स्रष्टालाई उनले बारम्बार अध्ययन गरेका छन् । हिन्दू धर्मको महान् ग्रन्थ गीता उपनिषदका अतिरिक्त बौद्ध धर्म गन्थको लंकावतार सूत्र एवम् सुन्दरनन्दको अध्ययन गरेको चर्चा छ । एक दिनका प्रविष्टिमा ता लेखेका छन्— आज लाइब्रेरीबाट गणेशमानजीको नाममा पच्चीसथान किताबहरू आए । तर ती पच्चीस थानभित्र के के थिए तिनको उल्लेख छैन । बिपीलाई पढ्न नसक्ता नभ्याउँदा हुने ग्लानि, लेख्न नसक्ता नभ्याउँदा हुने ग्लानि बारम्बार दोहोरिन्छ । एउटा प्रविष्टिमा लेखेका छन् आजको दिन, हेर न, एक अक्षर नपढेर बित्यो । त्यसपछिको प्रविष्टिमा जर्ज केनन्द्वारा लिखित रसिया एण्ड द वेस्ट अन्डर लेनिन एण्ड स्टालिन शीर्षक कृति पढ्न थालेको प्रसङ्ग छ । यस प्रकारले बिपीले आत्मजीवनीमा भनेझैँ उनको पठन साहित्य दर्शन र इतिहास विषयमा केन्द्रित छ र सबैभन्दा बढी ता साहित्यमा केन्द्रित छ । एउटा प्रविष्टिमा देखाए अनुसार दिनको आठ घण्टा गम्भीर पठनलाई छुट्याएका छन् । फेरि पनि उनको पठन मानव जातिको व्यापक कल्याण गर्ने विषयतिर, राजनीति समाजशास्त्र र इतिहासका विषयतिर बारम्बार ढल्किन्छ । किनभने एउटा राजनेताले आफ्ना देशका नागरिकको मात्र हैन क्षेत्रको समक्ष वा विश्वकै चिन्तामा बिताउनु पर्ने हुन्छ । त्यसैकारणले एउटा प्रविष्टिमा रिचि क्याल्डरको कमनसेन्स अबाउट अ स्टार्भिङ (दुर्भिक्षले आक्रान्त विश्वको सम्बन्धमा सामान्य धारणा_ शीर्षक कृतिको गम्भीर अध्ययन गर्न थालेका छन् । यसको कारण के हो भने जनसङ्ख्याको तीव्र गतिमा वृद्धि भइरहेकोले गर्दा यसले गम्भीर समस्या ल्याउन सक्छ । अब हामीले मानव समाजको गम्भीर स्थितिलाई ध्यानमा राख्नुपर्दछ । कस्ता प्रकारका परस्पर विरोधी विषय क्षेत्र छन् – एकातर्फ अदृश्य अन्तर्तहको मनोविज्ञानको क्षेत्र पठनीय छ भने अर्कातिर विश्वमा हुन लागेको संकटापन्न स्थितिको चिन्ता आदि तिनै दिनमा स्वजनहरूले कारागृहमा भोग्नु परेको दुर्दसा पनि मनमा आइरहन्छ—रोशाले सुन्तला र कागतीहरू पठाइदिएकी थिइन् । तारिणीहरूको बारेमा लेखेकी छिन् कि नख्खुमा उनीहरूको बस्ने ठाउँ अत्यन्त सङ्कीर्ण छ । फोहोर पनि छ रे । सानासाना कोठामा कोचिएर बस्नुपर्छ रे । तारिणी केही दुब्लाएको पनि छ रे (पृष्ठ ८३) ।

एउटा प्रविष्टिमा चारवटा कृतिको अध्ययन गरिसकेको संकेत मिल्दछ । जस्तै लेज्ली पौलको द इङ्लिस फिलोसफर्स, कम्टनको अन मोरल करेज, बार्बारा वार्डको रिच नेसन्स एण्ड पुअर नेसन्स— यता माघ लागेदेखि बिहान नियमित रूपले जमानसिंहबाट बाल्मीकि रामायणको पाठ सुन्ने गर्दछु । घण्टाको यो दैनिक सत्रमा प्राय ३० पेज जति पाठ हुने गरेको छ । त्यस पछाडि उनले नोबेल पुरस्कार विजेता अर्नेस्ट हेमिङवेको फर हुम् द बेल टोल्ज शीर्षक आख्यान पढेको उल्लेख गरेका छन् । कत्रो विविधता, कस्तो विचित्रको अभिरुचि होला । हेमिङवे पढेर त्यसमाथि टिप्पणी छ, रामायण पढेर त्यसको महत्त्वमाथि टिप्पणी छ । एउटा प्रविष्टिमा लेखेका छन्— कोठाहरूलाई नयाँ किसिमले मिलाएँ, खुब सफाइ गरेँ र मनमनै भोलिदेखि निश्चिन्तताका साथ पढ्ने लेख्ने कार्यक्रम बनाएँ । यस प्रकारले मनमा उठिरहने चिन्ता छ (पृष्ठ ८९) ।

बिपीको पठनसित सिर्जनाका अनेक पक्षको बारम्बार कुरा आउँछ । अरू सहबन्दीहरू के पढ्नमा अभिरुचि राख्तछन् त्यसको पनि जानकारी छ । जमानसिंहले बाल्मीकि रामायणको पाठ गरेजस्तै, किसुनजीले उपनिषद र योगी अरबिन्दको सन्ध्यालाप वा अन्य कृति पढ्ने बानी छ । तर बिपीको हृदयमा लेखनपठनकै ग्लानि र चिन्ता छ । कारावास पसेको दुई वर्षपश्चात् एउटा प्रविष्टिमा भनेका छन्— त्यत्रो लामो अवधिमा मेरो अध्ययन र लेखन कार्य अत्यन्त अल्प भएको छ । जस्तो आएँ अहिले पनि त्यस्तै छु । २ वर्ष जेल जीवन सानो अवधि होइन । आज बिहान यो कुरा सम्झिँदा कि दर्शन, कला र राजनीतिक विषयहरूको अध्ययन, जसका लागि मलाई वास्तवमा अभिरुचि छ र बाहिरको सक्रिय जीवनमा यी विषयहरूको अध्ययन मेरा लागि सम्भव छैन, मैले यहाँ पनि व्यवस्थापन गर्न सकिनँ मलाई ठूलो दुःख लाग्यो । दुःखले एकदम स्तब्ध भएँ मानौँ कसैले ठूलो आघात मेरा शिरमा दियो । समयको यत्रो दुरुपयोगको ख्याल आउँदा म अनायास भावुक पनि भएँ र आफूलाई बारम्बार धिक्कार्ने प्रेरणा मनमा जागृत भयो । साथै एउटा दृढता पनि जे भो, अझ पर्याप्त समय छ, सुध्रिनका लागि । अझ पर्याप्त समय छ— ठूलो काम गर्नका लागि । यदि चेतेर अब पनि राम्ररी व्यवस्थित किसिमबाट अध्ययन गर्न थालेँ भने शायद मेरो अध्ययनको धोको पूरा हुनेछ (पृ. ९८–९९) । कत्रो प्रेरणादायी कुरा छ । के आजसम्म कुनै पनि कारागृहमा नपर्ने हामीहरूले यो उन्मुक्त खुला संसारमा बसेर चेतेका छौँ ?

जेल जर्नलभरि लेखन पठनले प्रमुखता पाएको छ । यसैले अनेक प्रकारका कृतिको चर्चा आउँछ । लेखकको चर्चा आउँछ । आफू युवा कालमा गान्धीवादी भएको समयमा टाल्स्टाय, रस्किन, भिक्टर ह्युगो आदि लेखक पढेको कुरा गरेका छन् (पृ. १०४) । यता आजको स्थिति उल्लेख गर्दै भन्छन्— यहाँ आएर दर्शनका केही किताबहरू पढ्ने मौका पाइयो उपनिषद पनि केही पढेँ, इतिहासको पनि साधारण तौरले अध्ययन गर्न पाएँ । यी सब कारणले हुन सक्छ आस्तिकवाद र नास्तिकवाद र विश्वास र अविश्वासको द्वारमा अहिले उभिएको छु (पृ. १०५) । यसरी निरन्तर गम्भीर पठनले बिपीको मनोजगत्मा क्रमिक परिवर्तन ल्याइदिएको छ । चिन्तनको स्तर उच्चतर हुँदैछ । त्यो पठनले उनको लेखन प्रभावित छ । चिन्तन प्रभावित छ । अनि आजको पाठकले बिपीलाई बुझ्न उनको पठन क्रमलाई नजिकबाट बुझ्नु आवश्यक छ । कुनकुन कृतिपाठले कसरी बिपीलाई सुदृढ बनाउँदै जीवन जगत्का अनेक विषयमा सोच्न सक्ने शक्ति प्रदान गरेको छ ?

धेरै दिन पछाडि अर्काे प्रविष्टिमा लेखिएको छ— आज लाइबे्ररीबाट केही राम्रा पुस्तकहरू आए डग्लस जेको सोसलिजम इन द न्यू सोसाइटी र सउल्ड रोजले सम्पादन गरेको पोलिटिक्स इन साउदन एशिया जसमा नेपालको बारेमा एउटा लेख छ हाम्रो पक्षकाप्रति साहानुभूतिले लेखिएको (पृ. ११८) ।

त्यसपछिका उनका पठनमा ट्यागोरका नाटक, फ्रान्सिस बेकनका दर्शन तथा कालिदासका कृति पर्दछन् । कति कृति उनले आफ्नो नेपाली भाषा सुधार्ने उद्देश्यले पनि अध्ययन गरेका छन् र गीतालाई मानिसका मनका उद्विग्नता, द्वेष, दम्भ, राग, तृष्णा अनेक विकारलाई समन गरी परम तत्व चिनाउने अद्वितीय कृतिको रूपमा चर्चा गरेका छन् । त्यसैगरी उनका कृतिमा नाटकको गरिहो चर्चा छ । उता शेक्सपियरदेखि कालिदाससम्म अध्ययका कुरा छन् । कृतिको उत्तर भाग अन्तर्राष्ट्रिय परस्थितिले गर्दा ज्यादा प्रभावित छ । केनेडीको हत्या, सरकार र सेना, बन्दीगृहको स्थिति उता लुमुम्बाको हत्या, हेमरसोल्डको अन्त्य यस्ता कुराले प्रजातन्त्रमाथिको अवरोध र तानाशाहको वृद्धि, प्रति हिंसा आदिलाई देखाउँछ ।

पुस्तकमै रमाउने, पुस्तकमै जीवन बिताउन चाहने बिपीले आफ्ना सन्तानको लागि इतिहास, ज्ञानविज्ञान जस्ता विषयमा कृति लेखिदिने इच्छा थियो सो अधुरै रह्यो । यसैगरी लेजरक्वीस्टको सिविल र कामुको रिबेल पनि अनुवाद निकाल्ने इच्छा थियो । यतानागृहमा पसेको तीन वर्ष पश्चात् यस्तो परिकल्पना गर्दै बिपीले लेखेका छन्—यी सब थालेका काम सम्पन्न गर्न पाए जेलको जीवन एकदम खेर गयो भन्ने थिइनँ । आठ–दश किताबहरूका पाण्डुलिपि लिएर बाहिर जान पाए सन्तोष हुने थियो (पृ. १५७) । नभन्दै ती लक्षित अनुवाद वा पाण्डुलिपिहरू कता हराए तथापि बाँकी रहेका अधिकांश बिपीका प्रकाशन यतानगृहभित्रै रचिएका वा रचना आरम्भ भएका कुरा हालै मात्र जीवनचन्द्र कोइरालाले बिपीको अर्काे (पन्ध्रौँ) कृति सङ्ग्रह प्रकाशित गरेका छन् । यसको शीर्षक हो— समयको सन्देश यसरी अझै बिपीका कृति अथवा सिर्जना प्रकाशित हुन बाँकी छन् । पृ. १५८ को प्रविष्टिमा उल्लेख गरेका छन्— यसपालि २४ थान मात्र पत्र लेखेँ । अर्काे दिनको प्रविष्टिमा लेखेका छन्— यसपालि १९ थान चिठी लेखेँ । अर्काे प्रविष्टिमा लेखेका छन्— भोलिदेखि आलस्य त्याग्छु । यस प्रकारले बन्दीगृहमा रहेर पनि विचार, चिन्तन र सिर्जनाको निरन्तर संयोजक भई बिपीले हामीलाई जुन अमर प्रेरणा दिएका छन् त्यो कसैबाट सम्भव थिएन । पढ्नेजस्तै लेख्ने उत्कन्ठा र त्यसको तीव्रता हेरौँ— एउटा लघु उपन्यास बडो तेजीका साथ थालेको थिएँ— ८० पेज तीनदिनमै लेखि सिध्याएको थिएँ तर त्यसपछि रोकिएको रोकिएकै छु (पृ. १८३) । यो प्रसङ्ग हिटलर र यहूदीको थियो । अन्त्यतिर अनेक लेखन धर्म आदिको चर्चा छ । कल्पनालाई लेखेको चिठीमा विलियम जेम्सले गरेको उपनिषदको चर्चा छ, सुफीहरूको पनि त्यहीँ चर्चा गर्दछन् र स्वामी रामतीर्थका भक्तिपूर्ण कृतिहरूको प्रसङ्ग छ । छ वर्षको काराबासमा बिपीले बिताएको कर्ममय जीवन अध्ययन र चिन्तनमा डुबेको र सिर्जनामा समर्पित थियो । त्यसको निकै वर्षपछि फेरि सुन्दरीज कारावासमा पर्दा त्यसको दश वर्षपछि एउटा प्रविष्टिमा लेखेका छन्— अरू केही दिन पछि पर्याप्त स्थिर भई गम्भीर अध्ययन र लेखन गर्न सक्ने आशा छ (पृ. १० फेरि सुन्दरीजल) । यस पल्ट आएर जर्ज सान्तायानका निबन्ध पढेको चर्चा छ । यसपालि पनि लेख्न नभ्याएर उद्विग्न भएको मन यसरी व्यक्त भएको छ — मसँग विभिन्न विधाहरूमा लेख्नु पर्ने धेरै विचारहरू छन् । यी सबै काम कहिले भ्याइसक्नु ? मैले हतार गर्नुपर्छ । समय थोरै छ । दिक्क र खिन्न हुन मसँग समय छैन । पटक्कै छैन (पृ. ४१ फेरि सुन्दरीजल) । त्यसो भनेको चार वर्षपछि ती माहामानवको अवसान भयो र कत्रो दुखान्तको कुरा ।

एक ठाउँमा भनेका छन्— बिताएका तीस दिनमा केही पनि पढिनँ भन्ने मलाई लागेको थियो । जानी नजानी ६०० पेज पढेको रहेछु । किताब पढ्नु नै मेरो मुख्य काम हुनेछ तर खै किताब ? पढ्ने सामग्री दिइएन भने हामीलाई साह्रै गाह्रो हुनेछ (पृ. ४२ फेरि सुन्दरीजल)। त्यसपछि सलिभानको वि आनर नट अलोन,  आसिमोभको  इन्टलिजेन्ट म्यान्स गाइड टु साइन्स, बसामको  वन्डर द्याट वाज इन्डिया आदि पढेका चर्चा छन् । एक प्रविष्टिमा ७५० शब्दमात्र लेखेँ भन्ने उल्लेख छ र  पृ. ५६ मा हाम्रा पाठकलाई पठनसँगै लेखन कसरी जारी राख्नुपर्छ भन्ने कुराको संकेत छ— मैले लेख्न शुरु गरेको छु । मेरो लेखाइ राम्रो छैन तर राम्रो स्तरको नभए पनि लेख्न जारी राख्नुपर्छ भन्ने मलाई लाग्छ । जब म व्यवस्थित हुन्छु त्यतिबेला यसलाई सुधार्ने छु (पृ. ५६) । यसप्रकारले यस्तो घोर दुःखमा पनि पठन र लेखनप्रतिको यो समर्पण देख्ता हाम्रा देशका नयाँ पुराना सबै पाठकले, नयाँ पुराना सबै स्रष्टाले सबैको प्रथम कर्तव्य पढ्नु हुनेछ । पठनसँग जोडिएको  अनिवार्य कर्तव्य लेखन हुनेछ । बिपी कोइरालाका  जेल जर्नल र फेरि फेरि सुन्दरीजलभित्र मात्रै दुई सयभन्दा बढी कृतिहरू छन् भने अरू कति कृति उनका उपन्यासमा पनि आउँछन् । अरू उल्लेख नभएका कृतिहरू कति होलान् यसबाट हामीलाई एउटै प्रेरणा मिल्छ बौद्धिक र स्रष्टाहरूले एक छिन पनि समय व्यर्थ नफाली, व्यर्थ जान नदिई लेख्ने र पढ्ने कार्यमा समर्पण गर्नुपर्छ । 

हिजो मात्र मैले आफ्ना छिमेकी मित्र नेत्र केसीसित अनौपचारिक संवाद गरेँ । उनी मार्केजको मास्टरपिस हण्ड्रेड इयर्स अव् सलिच्युड पढिसकेर मसँग आएका थिए । त्यसअघि उनले हर्मन हेस्सेको  सिद्धार्थ, हन्टिङटनको क्ल्याश अव् सिभिलाइजेशन, फ्रान्सिस फुकुयामाको  द इण्ड अव् हिष्ट्र एण्ड द लास्ट म्यान अथवा उनकोद ओरिजिन्स् अव् पोल्टिकल अर्डर, अम्बेडकरको  द बुद्ध एण्ड हिज धम्म, बिपीको  हिटलर र यहूदी  जस्ता कृति पढिसकेका छन् ।  सेवा निवृत्तजीवन छ । पठनमा ठूलो शोख छ बौद्धिकता पनि छ तर लेखन बिनाको पठन सबैसबै समयले नै मेटिदिन्छ त्यसकारणले यो प्रसङ्ग पनि मैले उनलाई सुनाएँ— बिपीले यसो भनेका छन् पठनको तात्पर्य कुनै युवतीको सृङ्गार जस्तै होइन । त्यसभन्दा पर पनि यसको  दीर्घकालिन महत्त्व छ । जीवनभन्दा पर अनेक जीवनसँग पनि लेखन रहिरहन्छ, सिर्जना रहिरहन्छ । त्यसकारणले  आजैबाट पठनसँगै लेखन अघि बढाउनुहोस् ।

हाम्रो देशमा  कति शिक्षक, अध्यापक, कर्मचारी अथवा गम्भीर पठनमा रुची राख्ने नागरिक होलान् जसले लेखनको महत्त्वलाई हृदयाङ्गम नगरी केवल पठनलाई व्यसन बनाइरहेका छन् । बीपीको जीवन र कर्मले  यस्ता अध्येताहरुलाई ठूलो शिक्षा दिन्छ । मेरो प्रस्तुत रचनाको आशय र उद्देश्य पनि यही हो ।

अन्त्यमा बिपी कोइरालाको पठनसंस्कृति र त्यसको सिर्जनामा प्रभाव शीर्षक राखेर यसलाई हामीले द्वयर्थक नै छोडेका छौँ किनभने यसको आशय बिपीका पठन संस्कृतिको हामी माथि प्रभाव हो कि विविध पठन संस्कृतिको बीपी स्वयम्माथि प्रभाव हो त्यो कुरा प्रष्ट पारिएको छैन र प्रष्ट नहोस् पनि किनभने यो एउटा सङ्क्षिप्त निबन्धमा यी तीनवटै कुरा पूर्ण गर्न सकिँदैन—

क) बिपी माथि पूर्ववर्ती पठन संस्कृतिको प्रभाव

ख) बिपीका कृतिमाथि उनको पठन संस्कृतिको प्रभाव र

ग) हामीमाथि बिपीका पठन संस्कृतिको प्रभाव

यी तीनवटै विषयलाई प्रष्ट्याउन तीनवटा लामालामा आलेखको आवश्यकता पर्दछ । यस अघिका यस प्रकारका आलेखमा बिपीकै पठनमा ज्यादा अनुसन्धान भएको छ । अथवा पठनको उनीमाथि प्रभावबारे पनि मैले विशद चर्चा गरेको छु । भाउपन्थीद्वारा सम्पादित आख्यानकार विश्वेश्वरप्रसाद कोइराला पुनर्पाठ शीर्षक बृहत् कृतिले माथिका क र ख का प्रश्नको उत्तर दिने छ भने प्रस्तुत आलेखमा चाहिँ म नं. ग को प्रश्नमा केन्द्रित भएको छु । किनभने बिपीका पठन संस्कृतिबाट नेपाली अध्येता र स्रष्टाहरूले कुन कुराको अनुशरण गर्नुपर्दछ भन्ने विषयमा आजसम्म कतै कुनै चर्चा गरिएको छैन र यो बिपी कोइरालाका वैचारिक आयाम शीर्षक जर्नलको लागि यो विचार निबन्ध प्रस्तुत गरेको छु ।

Advertisement

1 प्रतिक्रिया

  • purushottam Ghimire

    BP काे सिर्जनशीलता ,पठन-लेखन संस्कृति ,समीक्षा कला सम्बन्धमा राम्रो विश्लेषण छ।गाेविन्द सरलाई धन्यवाद ।

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल