कोभिड महामारीमा सोह्रश्राद्धबारे विज्ञको सुझाव

आश्विन कृष्णपक्षको प्रतिपदाको दिनदेखि सोह्रस्राद्धको प्रारम्भ भएको छ । हरेकपल डटकमको नियमित कार्यक्रम ‘शं नो भवतुको तेस्रो शृङ्खलामा सोह्रश्राद्ध भनेको के हो, किन गरिन्छ, नगरे के हुन्छ, कोभिड महामारीको संत्रासका बेला कसरी श्राद्ध गर्ने भन्ने विषयमा छलफल गरिएको छ । यस विषयमा विज्ञको सुझव दर्शक तथा पाठकहरू माझ पुर्याउन ज्योतिषाचार्य नारायणप्रसाद निरौलाले प्राध्यापक भवानीप्रसाद खतिवडासँग गर्नु भएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छः  

वर्तमान परिस्थितिमा यो कसरी सम्पादन गर्न सकिन्छ ?

आश्विन कृष्णपक्षको प्रतिपदादेखि औंशीसम्मका दिनहरूलाई सोह्रश्राद्ध भनिन्छ । सोह्रदिन श्राद्ध गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । कतिपयले सोह्रे दिन श्राद्ध गर्ने गर्दछन् । वर्तमानमा भने आफ्ना पितृको तिथिमा गरिने एक विशिष्ट श्रद्धाभक्तिको कार्य सोह्रश्राद्ध हो । नभस्यापरे पक्षे यत्र कन्यां व्रजेद्रविः । स महालयसंज्ञः स्याद् गजच्छायाह्वयस्तथा ।।  अर्थात् आश्विन कृष्णपक्षलाई महालय भनिन्छ । यस अवसरमा महालय श्राद्ध गर्ने वैदिक विधान छ । जस अन्तर्गत आफ्ना पितृहरूको स्मरण स्वरूप श्रद्धाभक्तिपूर्वक सम्पूर्ण पितृलाई तर्पण, श्राद्ध गर्नुपर्दछ ।  पितृ हाम्रा देवता हुन् । पितृको सम्मान गर्न सकियो भने मात्र हाम्रो कल्याण सम्भव छ । किनकि हामीमा पितृको बीज छ ।  हामी पितृकै अंशरूप हौँ ।

अनलाईन श्राद्ध कति उचित ?

श्राद्धमा देश, काल, स्थान, पात्र र प्रयोक्तको शुद्धि चाहिन्छ । जबसम्म यी कुराको शुद्धि हुँदैन तबसम्म त्यो श्राद्ध पूर्ण हुँनसक्दैन । श्राद्धमा तीनजना अनिवार्य चाहिन्छ । श्राद्धकर्ता पतिपत्नी र पुरोहित । पितृ पुरोहितकै रूपमा श्राद्धस्थानमा आउने भएकाले फोन वा प्रविधिको माध्यम अनलाइनबाट श्राद्ध गर्नु उपयुक्त हुँदैन । शास्त्रले प्रत्यक्ष रहेर नै । श्राद्ध गर्नुपर्ने विधान गरेको छ । ब्राह्मणले उच्चारण गरेका मन्त्र पनि प्रविधिको माध्यमले शुद्ध र प्रष्ट प्राप्त हुँदैनन् । श्राद्धमा कुशका ब्रहमा, पवित्र, मोटक बनाउनुपर्ने हुन्छ । यी कुरा कर्ताले सम्पादन गर्न सक्दैनन् । यसरी विधिहीन भएर गरेको श्राद्ध फलिभूत हुँदैन । पितृतप्तिदायी रहँदैन । यसैले पनि श्राद्धमा धेरै भीडभाड नगरी, भौतिक दूरी कायम गरेर पतिपत्नी र पुरोहितको सन्निध्यमा श्राद्धका कार्य सम्पादन गर्नुपर्दछ । बरु राज्यले पनि गुरु पुरोहितलाई आवतजावतका निम्ति सहज वातावरण मिलाइदिनुपर्छ ।

श्राद्ध नगरे के हुन्छ ?

श्राद्ध नगरे पितृ रुष्ट हुन्छन् । श्राद्धं न कुरुते मोहात् तस्य रक्तं पिवन्ति ते । भनेर बताइएको छ । जसले लोभवश श्राद्ध गर्दैनन् त्यस्ता व्यक्तिको रक्त पितृले लिन्छन् अर्थात् कल्याण हुँदैन । आयु, आरोग्य र सन्तति बढ्दैनन् । यसैगरी पितृलाई उपयुक्त समयमा श्रद्धाभाव व्यक्त गर्न सकिएन भने श्राप दिएर जान्छन् पनि भनिएको छ । पितृको श्राद्ध गर्नाले मानव जीवन सहज हुन्छ । पितृले आशिर्विद प्रदान गर्छन् । आयु, आरोग्य र ऐश्वर्यको वृद्धि हुन्छ । सन्तति सुख मिल्छ भनिएको छ । 

वेदान्तदर्शन श्राद्ध बिच कस्तो सम्बन्ध रहेको छ ?

वेदान्तले ज्ञानद्वारा मोक्षको मार्ग बताउँछ । यसरी ज्ञान प्राप्तका निम्ति कर्म गर्नुपर्दछ । यही कर्मरूप नै श्राद्ध हो । कर्मद्वारा चित्तलाई शुद्ध गराएर मात्र मोक्षको प्राप्ति हुने भएकाले वेदान्तदर्शन र श्राद्धाद्धि कर्मको अन्योन्याश्रित सम्बन्ध रहेको छ ।

यस संवादको पूरै भिडियो हेर्नुहोस्ः

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल