अमेरिकामा हिन्दु संस्कार, जुमबाटै विवाह

वर्तमान सन्दर्भमा अध्यात्मको चिन्तन पश्चिमा मुलुकमा पनि दिनानुदिन बढ्दोक्रममा रहेको छ । विश्वभूमण्डलीकरणसँगै एक अर्कोदेशमा मानव आवतजावत बढ्न थाल्यो । फलस्वरूप नेपाली पनि अमेरिकामा स्थायी रूपले बसोवास गर्न थालेका छन् । हाल अमेरिकामै आफ्नो धार्मिक एवम् आध्यात्मिक क्षेत्रसँगसम्बद्ध रहेर कर्म गरिरहनुभएका आचार्य पिपलमणि सिग्देल भन्नुहुन्छ, ‘नेपाली अमेरिका आएसँगै आफ्नो धर्म संसकृति र सभ्यतालाई पनि लिएर आएका छन् ।‘ सो अनुसार अध्यात्म चिन्तनमा त्यहाँ बस्ने मानिसहरू लागेको सिग्देल बताउनुहुन्छ । ‘नेपालबाट अमेरिका आए पछि नेपाली पन र संस्कारको मोह झनै बढ्दो रहेछ ।‘ सिग्देल थप्नुहुन्छ, ‘अमेरिका आएका नेपाली थप आध्यात्मिक बन्दै गएको पाएको छु ।‘

अमेरिका वास्तवमै सबै धर्म संस्कृतिलाई समान दृष्टिले व्यवहार गर्ने मुलुक भएको महशुस गर्दै सिक्देल भन्नुहुन्छ, ‘त्यसैले गर्दा कोभिड १९ का कारण उत्पन्न जटिल अवस्थामा अवस्थामा मानिसले प्रविधि प्रयोग गरेर समेत आफ्नो संस्कारलाई कायम राखेका छन् ।‘ अहिलेको परिस्थितिमा यजमानकहाँ प्रत्यक्ष रूपमा पुग्न नसके पनि जुम लगायतका प्रविधि मार्फत पनि विभिन्न कर्मकाण्डहरू कायम रहेको उहाँ बताउदै भन्नु हुन्छ, ‘यो बिचमा त बिहे पनि जुममार्फत भएका छन् ।‘

नेपालमा जस्तै हरेक धार्मिक पूजाका सामग्री अमेरिकामा किन्न पाइन्छ । धार्मिक पूजा समाग्रीका विशेष स्टोर पनि रहेको र ती सामग्रीहरू नेपाल एवं भारतबाट आयात गर्ने गरिएको सिग्देल बताउनुहुन्छ । ‘नेपालबाट आफन्त आउँदा पनि यस्ता उपयोगी सामग्री ल्याउने चलन छ ।‘, सिग्देल थप्नुहुन्छ, ‘जसले सहजतः धार्मिक अनुष्ठानका कार्यक्रम सपन्नभइरहेका छन् ।‘

नेपालमा जे जसरी चाडपर्व मान्ने चलन छ सोही अनुसार अमेरिकामा पनि हरेक धार्मिक चाडपर्व उत्साहका साथ मनाइन्छन् । हाल मन्दिर पनि थुप्रै बनेका छन् । जसले सामूहिक भेला भएर पनि कार्यक्रम गर्न सकिन्छ । धार्मिक एवं पितृ कार्यहरू गर्दा संकल्पमा भूमी उच्चारण गर्ने चलन छ । अमेरिकामा संकल्प कसरी गरिन्छ भन्ने बारे सिग्देल बताउनुहुन्छ, ‘संकल्पादिको उच्चारणमा नेपालभन्दा पश्चिम दिशामा रहेको स्थान भनेर उच्चारण गरिन्छ ।‘ जसले नेपाली भूमि र यहाँको संस्कृतिलाई संकल्पमार्फत् पनि जोडेको सिग्देलको तर्क छ । 

अमेरिकामा संस्कारका कार्य पनि विधिवत् रूपमा गर्न पाउने स्वतन्त्रता रहेको छ । बच्चा जन्मेको दुई दिनभित्र अस्पताललाई नाम दिनुपर्छ  । पछि उक्त नाम परिवर्तन गर्न पनि मिल्छ । यसरी नाम परिवर्तन गर्दा  धार्मिक गुरुको सिफारिस लिनु पर्दछ । सिग्देल थप्नुहुन्छ, ‘विवाहमा पनि धार्मिक गुरुले प्रमाणित नगरी विवाह वैधानिक मानिदैन ।‘ अदालती विवाह गर्दा पनि वर, बधू र सम्बन्धित गुरुले हस्ताक्षर गरेपछि मात्र उक्त विवाहलाई वैधानिक मानिने उहाँ बताउनुहुन्छ ।

अमेरिकामा धेरै जाति, धर्म र सम्प्रदायका मानिसहरू बसोबास गर्छन् र सबैलाई समान दृष्टिले हेरिन्छ । त्यहाँ हरेक धर्मका प्रार्थना सभालाई उत्तिकै महत्त्व दिइन्छ । नगरपालिकाका सभा पनि शान्तिपाठपूर्वक आरम्भ हुन्छन् । ‘प्रत्येक सत्रअनुसार पालैपालो त्यस स्थानमा जुन जुन धर्मावलम्बी छन्’, सिग्देल बताउनुहुन्छ, ‘ती धर्मका गुरुले शान्तिपाठ गर्नुपर्ने व्यवस्था रहेको छ ।‘

उहाँले खोलेको अर्को रोचक कुरा अदालतमा पनि धर्मसंस्कृतिका समन्वय गर्ने धार्मिक गुरुको व्यवस्था मिलाइएको हुन्छ त्यहाँ । ‘अदालतले पनि धार्मिक पक्षका व्यक्तिको राय सल्लाह लिने गर्दछन् । सिग्देल थप्नुहुन्छ, ‘दण्ड व्यवस्थामा पनि मन्दिरको सेवा गरेकालाई छुटको हुन्छ यहाँ ।‘

दीयो सबै धर्मावलम्बीको समान सूचक हो । सबै धर्मावलम्बीले दीयो बाल्ने भएकाले दीप बाल्ने चलन सर्वस्वीकार्य बनेको छ । यसैले हरेक कार्यको आरम्भमा दीयो बालिन्छ । यसैगरी अहिलेको वर्तमान परिस्थिति अनुसार नमस्कार गर्ने कार्यले पनि स्थान पाएको छ । सबै नमस्कारप्रति आकर्षित भएको सिग्देलको दाबी छ । 

अमेरिकाको प्रशासनिक व्यवस्था पनि व्यवस्थित रहेको छ । जसले गर्दा आफ्नो धर्मर्संस्कृतिका कार्य सम्पादन गर्न सबै स्वतन्त्र छन् । स्वतन्त्रतापूर्वक आफ्नो पन र प्रकृतिमा रम्न सकिन्छ । यही भएर पनि नेपाली मौलिक संस्कृतिले यहाँ पनि राम्रै स्थान पाएका छन् ।

नेपालमा कामका आधारमा सानो ठूलोको वर्गीकरण छ । सानालई हेयका दृष्टिले हेरिन्छ । तर अमेरिकामा कामको दृष्टिले सबै समान छन् र जुनसुकै कामलाई पनि सम्मान गरिन्छ । अझ गुरु पुरोहितलाई थप मान्यता दिइएको छ । अमेरिकाका हरेक कार्य एवं क्षेत्रमा अध्यात्मलाई उपयोगमा ल्याइन्छ ।  उपाचार पद्धतिमा पनि आध्यात्मिक उपचारको विधि अपनाइएको छ । अस्पतालबाट छुट्नुपूर्व आफ्ना धार्मिक गुरुबाट सत्प्रेरणा लिनुपर्ने व्यवस्था रहेको बताउनुहुन्छ सिग्देल ।

भौतिक क्षेत्रमा लागेका व्यक्ति आधुनिक विज्ञानका अनुसन्धाता पनि अध्यात्मको गहिरो चिन्तन गर्छन् । अझ भनौ त्यस्ता वैज्ञनिको अध्यात्ममा झुकाव अधिक रहेको पाइन्छ । विद्यालय एवं विश्वविद्यालयमा पनि आध्यात्मिक ज्ञान प्रदान गरिन्छ । मन्दिरको सेवा गर्नेले, अध्यात्म साधना गर्नेले सहुलियत पाउने व्यवस्था रहेको छ । यसैगरी पौरस्त्य चिन्त अध्ययनका निम्ति गुरुकुल पनि खोलिएका छन् । विश्वविद्यालयमा पनि पौरस्त्य दर्शनको अध्ययन अध्यापनका साथै खोज अनुसन्धान हुने गर्दछ ।

जन्मदेखि मृत्युसंस्कार कर्म सहजतः गर्न सकिए पनि विधि र व्यवस्था अनुसार केही भिन्नता स्वीकार्नुपर्ने अवस्था रहेको सिग्देल बताउनुहुन्छ । । हरेकपल डटकमको कार्यक्रम यसै सन्दर्भमा हरेकपल डटकमको नियमित अनलाईन संवाद ‘शं नो भवतु’ को दोश्रो श्रृङ्खलामा का लागि जुम मार्फत ज्योतिषाचार्य नारायणप्रसाद निरौलाले गर्नु भएको संवादमा सिग्देल भन्नु हुन्छ, ‘यहाँ मूलरूपमा ‘सर्वे भवन्तु सुखिन’को भाव प्रवाहित भएको छ ।‘ अध्यात्मको आँगन थप बृहत् बन्दै गएको महसुस आफूले गरेकोमा सिग्देल हर्षित हुनुहुन्छ ।

‘शं नो भवतु’ दोस्रो श्रृङ्खलाको पूरै भिडियो हेर्नुहोस्ः

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल