आज सोमवार, शिवउपासनाको महिमासहित हेर्नुहोस् २०७७ श्रावण २६ गते

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल श्रावण महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अगष्ट महिनाको १० तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ (एक अर्व ९५करोड, ५८ लाख ८५ हजार १२१ वर्ष) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायन छन् । वर्षा ऋतुअन्तर्गत भाद्रकृष्णपक्षको सप्तमी तिथि अहोरात्र रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । अश्विनी नक्षत्र राति ८।५० बजेसम्म रहनेछन् । यसैगरी आज शूल योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।३२ मा छ भने सूर्यास्त बेलुका ६।४४ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् ।

आज यो वर्षको श्रावणको अन्तिम सोमवार हो । वर्षदिनसम्म सोमवारको व्रत धारण गर्न नसकेपनि आजको व्रत धारणले वर्षदिनसम्म गरेको व्रतको फल बराबर प्राप्त हुने गर्दछ । सोम भनेको साक्षात् शिवजीको नाम हो । चन्द्रमा मनसो जातः । (यजुर्वेद) अर्थात् परमात्माको मनबाट चन्द्रमाको उत्पत्ति भएको कुरा यजुर्वेदमा उल्लेख पाइन्छ । यसैगरी सहस्र नाममध्ये नक्षत्रसाधक, सोम आदि पनि भगवान् शिवकै नाम हुन् भनी महाभारतमा उल्लेख पाइन्छ : सहस्राक्षो विशालाक्षः सोमो नक्षत्रसाधकः ।।( महाभारत, अनुशासनपर्व, शिवसहस्रनाम, शलो ३७) यसैगरी सोम चन्द्रमाको पनि नाम हो । अझ भनौ सोमवारका मालिक वा स्वामी चन्द्रमा हुन्, र चन्द्रमाका स्वमी साक्षात् शिवजी हुनुहुन्छ मत्स्वरूपो यतो वारस्ततः सोम इति स्मृतः ।। (श्रावणमाहात्म्य, ६।४) अर्थात् मेरो स्वरूपको वार नै सोम हो भनी स्कन्दपुराणको श्रावणमाहात्म्यमा भगवानले बताउनुभएको छ । यसैगरी सोम अर्थात् चन्द्रमालाई महादेवले शिरमा नित्य स्थान दिनुभएको छ । शीतलता प्रदान गर्ने सोम शिवस्वरूप नै भएकाले सोमवार शिवजीको विशेष उपासना गरिएको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल