आदिमहाकवि भानुभक्ताचार्य तथा महाकवि गोस्वामी तुलसीदास

(साहित्यकार छविलाल उपाध्यायको जन्म वि. सं. १९९३ साल कात्तिक १८ गते असमको विश्वनाथ घाट, दरङमा भएको हो । विविध विधामा कलम चलाउने छेत्रीका सिर्जना, समालोचना, अनुवाद र सम्पादनका गरेर दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । दर्जनौँ पुरस्कार र सम्मान पाएका उपाध्याय सन् १९९८ मा साहित्य अकादमी अनुवाद पुरस्कारजस्तो सम्मानित पुरस्कारबाट पुरस्कृत भएका थिए । असम सरकारले उनलाई आजीवन साहित्यिक भत्ता प्रदान गरेको छ । विश्वभरका नेपालीका श्रद्धाका पात्र भानुभक्तमाथि नेपालबाहिर बस्ने स्रष्टाहरूका रचना प्रकाशन गर्ने सिलसिलामा यहाँ यो रचना प्रस्तुत छ – सम्पादक । )

नेपाली भाषा–साहित्यका आदिमहाकवि भक्तराज भानुभक्त आचार्य तथा भक्तसम्राट् गोस्वामी तुलसीदासजीको जन्म भिन्नाभिन्नै कालमा भएको हो तापनि कतिपय कुराहरूमा मिल्दोजुल्दो पाउँछौँ हामी । भक्तसम्राट् गोस्वामी तुलसीदासजीको जन्म प्रयागको बाँदा जिल्लाअन्तर्गत राजापुर नामक गाउँमा संवत् १५५४ मा भएको थियो भने आदिकवि भानुभक्ताचार्यको जन्म तनहुँ जिल्लान्तर्गत चुँदीब्याँसीको रम्घा नामक गाउँमा सं. १८७१ मा भएको हो ।

आ–आफ्नो परिवेश र परिस्थिति अनुसारले गर्दा यी दुवै महाकविको भावधारा र उद्देश्य झण्डै–झण्डै एउटै थियो भन्न सकिन्छ । साथै महाकाव्य निर्माणको उद्देश्य पनि सम्भवतः एउटै हुनु पर्दछ । दुवै महाकविको काव्य–कथाको स्रोत पनि अध्यात्मरामायणै हो । दुवै महाकवि आ–आफ्ना स्थान वा क्षेत्रमा समाजको प्रतिनिधि भएर आएका हुन् र दुवै महाकवि युगप्रवर्तक पनि हुन् भन्न नसकिने होइन । अतएव यी दुवै विभूतिहरूका काव्य–साधना सम्बन्धी साम्य एवम् वैषम्यतालाई ध्यानमा राखेर केही उदाहरणहरू प्रस्तुत गर्ने धृष्टता गरिएको छ । अनि आदिकवि भानुभक्त आचार्य विरचित नेपाली रामायणको शुभारम्भ निम्नलिखित श्लोक शार्दूलविक्रीडित छन्दबाट यसरी भएको छ –

‘एक्दिन नारद सत्यलोक् पुगिगया लोक्को गरूँ हित् भनी ।

ब्रह्मा ताहिँ थिया पर्या चरणमा खुशी गराया पनि ।।’

त्यस बेलाको अन्धकार युगमा शिक्षित भनिने केही ब्राह्मण व्यक्तिहरूका मुखमा मात्र संस्कृत भाषाको बोलबाला थियो । अरू सर्वसाधारण जनता अन्धकारमै निसासिएका थिए । सर्वसाधारण जनताहरू अमार्जित वा असंस्कृत भाषामा आ–आफ्नो मत विनिमय गर्दथे । पौराणिक वा धार्मिक वातावरणदेखि कासौँ टाढा थिए । भानुभक्त आचार्य पूर्वका कविहरू कि त संस्कृत भाषामा रचना गर्दथे, कि त भारतीय भाषा मिश्रित शब्दहरूद्वारा आ–आफ्ना आराध्य अथवा भगवतभक्ति सम्बन्धी स्तोत्रहरूले आफ्ना आश्रयदाताहरूलाई रिझाएर आफूलाई सौभाग्यशाली मान्दथे । कथङकाल कसैले भाषामा लेखिहाल्यो भने त्यो निन्दाको पात्र हुनुपर्दथ्यो । त्यस्ते परिस्थितिमा पनि एक्लो भानुभक्तले आँट गरेर साधारण जनताको (बोलचालको) भाषामा संस्कृत रामायण जस्तो जटिल भाषालाई नेपालीमा अनुवाद गरेर सार्वजनिक गरिदिए । आज विश्वमा छरिएर बसेका नेपाली भाषीको कण्ठहार बनिएको छ र नेपालको राष्ट्रभाषा हुन पुगेको छ । साथै विश्वले पनि जान्यो, नेपाली भाषा पनि विश्वको भाषामा एउटा रहेछ र यस भाषामा पनि रामायण महाकाव्य रचिएको रहेछ भनेर ।

रामभक्ति शाखाका भक्तसम्राट् महाकवि गोस्वामी तुलसीदासजीको समयमा पनि भाषाको गतिविधि त्यस्तो कुनै भरपर्दो थिएन औ न त धार्मिक स्थिति नै स्थिरता वा बलवान थियो । त्यस उसले गोस्वामी तुलसीदासजीले आफ्ना आराध्यदेव रघुकुल भूषण श्रीरामचन्द्रजीकै जन्मभूमिको बोलचालको भाषा (अवधी) मा अध्यात्मरामायणको आधारमा रामचरितमानसको रचना गरे । गोस्वामीजीले धेरै कुराहरू भनौँ यताउतिका प्रसङ्ग र तत्वहरूलाई जोडेर आफ्ना विचारमा भक्तित्व र व्यक्तित्व झल्काउन समर्थ भएकाले उनको रामचरितमानस विशाल र विस्तृत हुन पुगेको छ भन्दा अर्घेल्याइँ नहोला । यता भानुभक्त आचार्यले भने विशेष गरेर लामा–लामा स्तुतिहरूलाई छोट्ट्याउनुका साथै कथावस्तुलाई पनि छोट्ट्याएर अनुवाद गरेकाले कलेवरमा पनि परिवर्तन भएको पाइ्रन्छ । भनौँ सङ्क्षिप्त पारामा निर्माण गरेका छन् भानुभक्तले ।

गोस्वामी तुलसीदासजीलाई आफ्नै विदुषी पत्नीद्वारा उपदेश प्राप्त भएको थियो भने यत भानुभक्त आचार्यलाई (मोतीराम शर्मा भट्टको भनाइअनुसार) साधारण घाँसीबाट उपदेश प्राप्त भएको हो भन्ने भनाइ छ । उता भक्त सम्राट् गोस्वामी तुलसीदासजीले ‘रामचरितमासन’ निम्नलिखित अनुष्टुप् छन्दले यसरी शुभारम्भ गरेका छन् –

‘वर्णानामर्थ संघाना रसानां छन्दसामपि

मङ्गलानां च कर्तारौ वन्दे वाणी विनायकौ ।। १ ।।

अर्थात् अक्षरहरू, अर्थसमूह, रस, छन्द र मङ्गलाकारी सरस्वतीजी अनि गणेशजीलाई म वन्दना गर्दछु । अनि त्यसपछि ग्रन्थ निर्माण गर्दा क–कसको र कहाँ–कहाँबाट प्रेरणा पाएका हुन् ती कुरा वसन्ततिलका छन्दमा यसरी उल्लेख गरेका छन् –

‘नानापुराणनिगमागमसम्मतं यद्

रामायणे निगदितं क्वतिदन्यतोऽपि ।

स्वान्तः सुखाय तुलसी रघुनाथ गाथा

भाषानिबन्धमतिमञ्जुलमातनो ति ।।

अर्थात् अनेक पुराण, वेद र (तन्त्र) शास्त्रहरूबाट सम्मत तथा जे जे रामायणमा वर्णित छन् साथै अन्यत्रबाट पनि उपलब्ध श्रीरघुनाथजीका कथालाई तुलसीदास आफ्नो अन्तःकरणको सुखका लागि अत्यन्त मनोहर भाषा रचनामा आफूलाई समर्पण गर्दछ । यसबाट के पनि थाहा लाग्छ भने महाकवि तुलसीदासले भनौँ आफ्नै सुख–शान्तिका निम्ति रामायणको रचना गरेका रहेछन् तापनि परवर्ती कालमा समग्र मानव सन्सारकै उपकार भयो । तर भानुभक्त आचार्यले यस कुराको उल्लेख नगरे तापनि सर्वजनहितका निम्ति रचना गरेका हुन् भन्ने सङ्केत पाइन्छ । उदाहरणार्थ ‘बुझ्नलाई सजिलो भाषा बनाइ दिया ।’

गोस्वामी तुलसीदासको रामचरितमानस भानुभक्तका पालासम्म आइपुग्दा निकै ख्याति पाइसकेको थियो । तसर्थ महाकवि भानुभक्त आचार्यज्यू गोस्वामीका ‘मानस’बाट प्रभावित हुनु स्वाभाविकै कुरा थियो । तसर्थ यी दुवै महाकविहरूद्वारा विरचित रामायणका केही मिल्दाजुल्दा अंशहरूको उल्लेख गरिनु समीचीन होला भन्ने विचारले यसरी दिने धृष्टता गरिएको छ ।

वनबासका निम्ति निस्किएकी गोस्वामी तुलसीदासकी सीता गङ्गाजी पारहुनु भन्दा पहिले विघ्नबाधा नहोस् भनेर गङ्गाजीको स्तुति यसरी गरेकी छिन् –

‘सियँ सुरसरिहि कहेउकरजोरी

मातु मनोरथ पुरउबि मोरी

पति देवर सँग कुसल बहोरी

आइ करौं जेहि पूजा तोरी ।।’

(रामाचरितमानस, अयोध्याकाण्ड,पृ. ३६३)

अर्थात् सीताजी जम्लाहात गरेर गङ्गाजीसित बिन्ती गर्दै भन्दछिन्– हे माता ! मेरो मनोकामना पूरा गरिदेऊ । म पति र देवरकासाथ वनबास जाँदै छु । उताबाट सकुशल फर्किएर आएपछि विधिविधानले तिम्रो पूजा गर्नेछु । आदिकवि भानुभक्तकी सीताले पनि त्यही कुरालाई यसरी भनेकी छिन् –

‘गङ्गे ! आज म जान्छु घोर वनमा केवल् नमस्कार् गरी

फिर्दामा म पुला अवश्य गरुँला सामग्रि ठूलो धरी ।। ’

(भानुभक्तीय रामायण, अयोध्याकाण्ड, पृ. ३९, श्लो. ५९)

अर्थात् हे गङ्गे ! आज चाहिँ म नमस्कारै मात्र गरेर वनबास जान्छु । बरु उताबाट फर्किएर आएपछि सामग्रीहरू जुटाएर विधिविधानले गतिलोगरी पूजा गर्नेछु । अनि गोस्वामीजीले शिव–पार्वतीका संवादमा आफ्नो ‘मानस’ मा विस्तृत रूपमा भूमिका बाँधेका छन्, भने भानुभक्तले उनको रामायणमा सङ्क्षिप्त रूपले काम लिएका छन् । अनि उसैगरी गोस्वामीकै झैँ भानुभक्त आचार्यले पनि गौतम पत्नी अहिल्यालाई शिला (ढुङ्गो) को रूप देखाएका छन् । उदाहरण–

‘देख्ता पत्थर एक् ठुलो प्रभुजिले कुल्ची दिँदा त्यो भया

सुन्दर् मूर्ति भई खडा भइगइन् ताहाँ अहिल्या पनि ।।’

(भानुभक्तीय रामायण, बालकाण्ड, पृ. १९, श्लो. ९५)

अर्थात् एउटा ठूलो पत्थर (ढुङ्गो) मा श्रीरामचन्द्रजीले खुट्टाले छोइदिँदा उत्तिनै खेर त्यो प्रकाण्डको पत्थर सुन्दर रूपमा परिवर्तन भएर गौतम पत्नी अहिल्याको रूपमा देखा पर्यो । उसरी नै गोेस्वामी तुलसीदासजीको श्लोक यसप्रकार छ –

‘परसत पद पावन सोक नसावन प्रगट भई तपपुंज सही ।

देखत रघुनायक जन समुदायक सनमुख होइ कर जारि रही ।।’

अर्थात् श्री रामचन्द्रजीका पवित्र एवम् शोकहर्ता चरणका स्पर्शले साँच्चै नै त्यो प्रकाण्ड पत्थर (ढ्ङ्गो) सुन्दरी अहिल्याको रूपमा परिणत भयो । भक्तजनलाई सुख–शान्ति प्रदान गर्ने श्रीरामचन्द्रजीलाई देखेर उनी (अहिल्या) दुईहात जोेडेर अघिल्तिर उभिइन् । त्यसै गरी गङ्गाजी पारहुने बेलामा भानुभक्तको माझी र गोस्वामीको माझीमा एउटै व्यवहार भएको पाइन्छ । दुवै महाकविको माझी अयोध्यापति श्रीरामचन्द्रजीका पाउ नधोइ नाउमा चढाउन मान्दैन । अर्थात् अनेकौँ कौशल गरी श्रीरामचन्द्रजीका पाउ धोएरै्र आफ्नो मनोवाञ्छा पूरा गर्दछ । नाउमा प्रवेश गर्नुभन्दा अगाडि विनम्र प्रार्थना गरेर यसो भन्छ भानुभक्तको माझी –

‘ख्वामित् ई दुइ पाउको अति असल् धूलो जसै ता पर्यो

पत्थर हो त पनि मनुष्य सरिको सुन्दर् स्वरूपै धर्यो

त्यस्तै पाठ यहाँ भयो पनि भन्या डुङ्गा स्वरूप् धर्दछन्

डुङ्गाले पनि रूप् धर्यो यदि भन्या हाम्रा जहान् मर्दछन् ।।’

भानुभक्तीय रामायण, बालकाकाण्ड, पृ. १९, श्लो. ९७)

अर्थात् हे प्रभो ! हजुरका पाउका धूलाको यति प्रभाव छ कि कठिन पत्थर पनि मनुष्यको रूप धारण गर्दछ । अतएव यहाँ पनि त्यस्तै भयो भने मेरो डुङ्गाले पनि मनुष्यको रूप धारण गर्दछ । हाम्रो निर्वाह कसरी होला ? मेरा जहान छोराछोरी भोकै मर्ने छन् । गोस्वामीजीको माझी पनि कम चलाख छैन, ऊ पनि यसो भन्छ –

‘मागी नाव न केवट आना । कहइ तुम्हार मरमु मैं जाना

चरन कमल रज कहुँ सबु कहई; मानुष करनि मूरि कछु अहई ।।

छुअत सिला भइ नारी सुहाई । पाहत तें न काठ कठिनाई

तरनिउ मुनि घरिनी होइ जाई; बाट परइ मोरि नाव उडाई ।।’

(रामभचरितमानस, अयोध्याकाण्ड, पृ. ३६१, श्लो. २–३)

अर्थात् अयोध्यापति श्रीरामचन्द्रजीले गङ्गाजी तर्नका निम्ति माझीसित नाउ मागे; तर माझीले मानेन । ऊ भन्दछ मैले तपाईँको महिमा जानी सकेको छु । तपाईँका खुट्टामा लागेको धूलाको कुरा सबैनै जान्दछन् । त्यो धूलामा पत्थरलाई पनि मनुष्य बनाउने शक्ति छ रे । मेरो नाउ त काठको हो, काठ ढुङ्गोभन्दा साह्रो त अवश्यै हुँदैन । अतएव मेरो यो नाउ पनि गौतम पत्नी अहिल्याले झैँ रूप धारण गर्यो भने मेरो बिजोक हुन्छ । मेरो जीविकाको बाटै हराउँदछ । साथै तपाईँ पनि गङ्गाजी तर्न पाउनु हुन्न । यसरी बठ्याइँ गरेर श्रीरामचन्द्रजीका गोडा धुन्छ, गोडा धोएको पानी शिरमा चढाउँछ साथै चरणोदक पान गर्दछ । त्यसै गरी भानुभक्तको माझीले पनि अयोध्यापति श्रीरामचन्द्रजीका गोडा धोएको वर्णन यहाँ यसरी उल्लेख गरेको पाइन्छ–

‘यस्तो बिन्ति सुनी तहाँ प्रभुजिले पाउ अगाडी दिया

माझीले जलले पखालि उहिजल् आफ्ना शिरोपर् लिया ।।’

(भानुभक्तीय रामायण, बालकाण्ड, पृ. २०,श्लो. ९८)

अर्थात् यस्तो विनम्र प्रार्थना सुनेर श्रीरामचन्द्जीले आफ्ना चरणयुगल पसारि दिए । माझीले ती चरण धोएर त्यो चरणोदक आफ्ना शिरमा चढायो अनि पवित्र चरणोदक पान गर्यो र धन्य भयो । साथै यस पुण्यप्रतापले आफ्ना पितृहरूलाई पनि यस भवसागरबाट मोक्ष गराउन सफल भयो । अनि श्रीरामचन्द्रजी पनि गङ्गाजी तर्न सफल भए ।

भानुभक्त आचार्यजीले भरत र शत्रुघ्नकी पत्नीहरूको नाउँ उल्लेख गर्नमा हेरफेर गरेको पाइन्छ । उनले भरतकी पत्नी श्रुतकीर्ति र शत्रुघ्नकी पत्नी माण्डवी भनेर उल्लेख गरेका छन् । यता गोस्वामी तुलसीदासजीले चाहिँ माण्डवीलाई भरतकी र श्रुतकीर्तिलाई शत्रुघ्नकी पत्नी मानेका छन् । भानुभक्तको श्लोक यस्तो छ –

‘सीता पत्नी भइन् रमापतिकि ता लक्ष्मण्जिकी उर्मिला

पत्नी हुन् श्रुतकीर्ति ता भरतकी शत्रुघ्नकी माण्डवी ।।’

(भानुभक्तीय रामायण, बालकाण्ड, पृ. २२, श्लो. ११३)

अर्थात् सीताजी श्रीरामचन्द्रजीकी पत्नी हुन् र लक्ष्मणजीकी चाहिँ उर्मिला हुन् । अनि भरतकी पत्नी श्रुतकीर्ति हुन्, र शत्रुघ्नकी पत्नी चाहिँ माण्डवी हुन् भनेका छन् । अनि गोस्वामी तुलसीदासजीले यसरी उल्लेख गरेका छन् –

‘जानकी लघु भगिनी सकल सुन्दरि शिरोमनि जानि कै

सो तनय दिन्ही ब्याहि लखनहि सकल बिधि समानि कै ।

जेहि नामु श्रुतकरिति सुलोचनि सुमुखि सबगुन आगरी ।

सो दई सिपुसूदनहि भूपति रूप सील उजागरी ।।’

(रामचरितमानस, बालकाण्ड, पृ. २५६, श्लो. ३)

अर्थात् जनक नन्दिनी सीताजीकी बहिनी उर्मिलालाई सबै सुन्दरीहरूमा शिरोमणि ठानेर सम्मान साथ लक्ष्मणसित विवाह गरिदिए । अनि जसको नाउँ श्रुतकीर्ति हो, उसरी नै अत्यन्तै राम्रा नेत्र भएकी र धेरै–धेरै गुणहरूकी खानी अनि रूप र शील–स्वभावमा पनि सर्वश्रेष्ठ भएकी हुनाले उनलाई शत्रुघ्नसित विवाह गरिदिए ।

अध्यात्म रामायणमा परशुराम क्रोधित हुनुको मुख्य कारण चाहिँ अयोध्यापति श्रीरामचन्द्रले उनको नाउँ (परशुराम) धारण गरेकाले हो । तर भानुभक्तले चाहिँ परशुरामजी क्रोधित भएको कारण धनुषभङ्ग अथवा धनु भाँचेको कारणमा भनेका छन् । उदाहरणार्थ –

‘कस्को पुत्र तँ होस् बता मकन लौ जाबो पुरानो धनू

भाँच्तैमा अति गर्वभो तँकन ता धेरै कुरा क्या भनूँ ।।’

(भानुभक्तीय रामायण, बालकाण्ड, पृ. २५, श्लो. १२६)

अर्थात् तँ कसको छोरो होस् भन्, पुरानो, थोत्रो धनु (गुलेली) भाँच्तैमा तँलाई यत्रो घमण्ड भो ? अब यसभन्दा बढी के भन्नु ! उता गोस्वामी तुलसीदासले यसरी भनेका छन् –

‘अति रिस बोले वचन कठोेरा

कहु जड जनक धनुष कै तोरा ।

बेगि देखाउ मूढ न त आजु

उलटउँ महि जहँ लहि तव राजू ।।’

(रामचरितमानस, बालकाण्ड, पृ. २१३, श्लो. २)

अर्थात् साह्रै रिसाहा भएर अति कठोर वचनले भने – रे मूर्ख जनक ! भन्, यो धनु कसले भाँच्यो ? त्यसलाई अहिले नै देखा, नत्र भने, अरे मूर्ख ! जहाँसम्म तेरो राज्य छ त्यहाँसम्मको धरती आजै नै पल्टाइ दिन्छु ।

त्यसै गरी भानुभक्तले उनकी शबरीलाई चिताग्निद्वारा डढाएका छन् भने, गोस्वामी तुलसीदासजीले चाहिँ उसलाई योगाग्निद्वारा डढाएका छन् । अर्कातिर गोस्वामीजीका लक्ष्मणलाई पञ्चवटीमा भएकी सीता छायारूपिणी मात्र हुन् भन्ने ज्ञान छैन; जसलाई लङ्कापति रावणले हरण गरेर लगेथ्यो । अनि रामले पछ्याएको सुनको हरिण राक्षस मारीच हो भन्ने पनि ज्ञान छैन । गोस्वामीले यसको उल्लेख यसरी गरेका छन् –

‘लछिमनहूँ यह मरमु न जाना

जो कछु रचित रचा भगवाना ।

दसमुख गयउ जहाँ मारीचा

नाइ माथ स्वारथ रत नीचा ।।’

(रामचरितमानस, अरण्यकाण्ड, पृ. ५६०, श्लो. ३)

अर्थात् भगवानले जो लीला रचेका छन्, त्यो कुरा लक्ष्मणलाई थाहा छैन । स्वार्थपरायण र नीच रावण उहाँ गयो जहाँ मारीच बसेको थियो, उहाँ पुगेर उसले शिर निहुरायो । यता भानुभक्तका लक्ष्मणलाई चाहिँ सबैकुरा थाहा छ । भनौँ त्यहाँ देखिएको सुनको हरिण अरू कोही होइन राक्षसु मारीच छल गर्न आएको हो भन्ने कुरा लक्ष्मणलाई पूरै थाहा भएको हो । उदाहरणार्थ –

‘छल्का वचन् सुनि सिताजि बहुत डराइन्

लक्ष्मण्जिलाइ तिमि जाउ भनी अह्राइन् ।

लक्ष्मण्जिले हुकुम यो सुनि बिन्ति पार्या

हे माइ ! जो मृगथियो प्रभुले त मार्या ।।’

(भानुभक्तीय रामायण, अयोध्याकाण्ड, पृ. ७०, श्लो. ७४)

अर्थात् छल–कपटका कुरा सुनेर सीताजीलाई साह्रै डर लाग्यो र लक्ष्मणलाई तिमी झट्टै जाउ दाजुलाई के भयो भनेर अह्राइन् । यस कुरामा लक्ष्मणले यसो भनेका छन् – हे माता ! जुन हरिण थियो, त्यसलाई त प्रभु श्रीरामजीले मारी हाले नि । (लक्ष्मणलाई थाहा थियो, जुन मारीचले छल गरेर ‘लक्ष्मण’ भनेर बोलाएको थियो) त्यो राक्षसको छल  हो भन्ने ।

गोस्वामी तुलसीदासजीले रामेश्वरको स्थापना लङ्काकाण्डमा गराएका छन् भने भानुभक्त आचार्यले युद्ध काण्डमा स्थापना गराएका छन् । स्मरण रहोस् गोस्वामी तुलसीदास र भानुभक्त आचार्यजी दुवै महाकवि शिवोपासक र मूर्तिपूजक पनि हुन् । गोस्वामी विरचित ‘रामचरितमानस’ र भानुभक्तद्वारा अनुदित ‘रामायण’को स्रोत अध्यात्मरामायण नै हो । जसरी गोस्वामीजीले नवधा भक्तिमा ‘सत्सङ्ग’लाई नै सर्वश्रेष्ठ भक्ति मानेका छन्, त्यसरी नै भानुभक्त आचार्यजीले पनि ‘सत्सङ्ग’लाई नै श्रेष्ठस्थान दिएका छन् ।

गोस्वामीजीको उदाहरण यस्तो छ –

‘नवधा भगति कहउँ तिहि पाही

सावधान सुनु धरुमन माहीं ।

प्रथम भगति संतन्ह कर संगा

दूसरी रतिम मम कथा प्रसंग ।।’

(रामचरितमानस, अरण्यकाण्ड, पृ. ५७३)

अब म तँलाई आफ्नो नवधा भक्तिको बारेमा भन्दछु । तँ मन–चित्त दिएर सुन् र मनमा राख । पहिलो भक्ति नै सन्तरूको ‘सत्सङ्ग’ हो । दोस्रो नम्बरको भक्ति हो मेरा कथा प्रसङ्गमा अनुराग हुनु । भानुभक्त महाकविको पनि भनाइ त्यहीनै छ । उदाहरणार्थ –

‘नौसाधन् कि त भक्ति छन् ति नवमा पैल्होत सत्सङ्ग हो ।’

(भानुभक्तीय रामायण, अयोध्याकाण्ड,पृ. ७८, श्लो. ११५)

नवधा भक्तिको तात्पर्य नौ प्रकारका भक्ति । यी हुन् – श्रवण, कीर्तन, स्मरण, पाद–सेवन, अर्चना, वन्दना, सख्य, दास्य, अनि आत्मनिवेदन ।

गोस्वामी तुलसीदासजीले आफ्नो थर–गोत्र तथा वंशावलीको परिचय दिएका छैनन् । मात्र आफूलाई रामको दास, रामको सेवक भनेका छन् । तर भानुभक्तले त त्यति पनि भन्न भ्याएनन् । अतएव यसबाट के पनि अनुमान लगाउन सकिन्छ भने यी दुवै विभूतिहरू निस्स्वार्थ भाषा–साहित्यका सेवक हुनुका साथै श्रीरामचन्द्रजीलाई अखण्ड, अविनाशी, अद्वितीय, दुष्प्राप्य, ज्ञानराशि, रत्नाकर, अनन्त, सर्वज्ञ, सच्चिदानन्द, परिपूर्ण, परमात्मास्वरूप आदि मान्दछन् उसै गरी भानुभक्तले पनि तिनै–तिनै मान्यताहरूलाई स्विकारेका छन् । उनले यसो भनेका छन् –

‘राम् हुन् परात्म ति कहाँ विकारी

यस् लोकमा छन् नररूप धारी ।

काम् गर्न लाग्या ति नरैसरीका

लीला अपार् छन् भगवान् हरीका ।।’

(भानुभक्तीय रामायण,बालकाण्ड, पृ. १४, श्लो. ६६)

जसरी विधवा क्रौञ्चपन्छी (कर्याङकुरुङचरो) को करुण क्रन्दनले आदिकवि बाल्मीकिजीको हृदय विगलित भएर कविभाव जाग्रत भएथ्यो, आफ्नी विदुषी अर्धाङ्गिनीका वचनले प्रभावित भएर महाकवि कालिदासद्वारा अमर कृतिहरू निर्माण भए । आफ्नी नवविवाहिता पत्नीका कटु वचनले गोस्वामी तुलसीदासको भक्तित्व जाग्रत भएझैँ सामान्य घाँसीका लोकोपकार सम्बन्धी कुराले प्रभावित भएर भानुभक्तद्वारा नेपाली रामायणको जन्म भएको हो । अध्यात्म दर्शनको भावधारा नेपाली सन्सारमा प्रवाहित भयो र आज त्यो (भानुभक्तीय रामायण) नेपालीहरूको ज्ञानार्जनका लागि विश्वविद्यालय स्वरूप प्रतिष्ठित छ भन्दा धेर हुँदैन ।

दुवै महाकविले संस्कृत साहित्य एवम् धार्मिक ग्रन्थहरूको विधिवत् अध्ययन गरेका थिए । तसर्थ दुवै संस्कृत भाषा–साहित्यका धनी र धार्मिक विषयका ज्ञाता पनि थिए । भाषामाथि गोस्वामीजीको दखल बलियो थियो । उनले अवधी र ब्रज भाषामा ग्रन्थ निर्माण गरे भने भानुभक्त आचार्यले ठेट नेपालीमा रचना गरे । ‘रस’का दृष्टिले गोस्वामीजी अद्वितीय छन् । सबै रसको परिपाक (दक्षता)को निदर्शन उनका ‘मानस’ मा झल्किएको पाइन्छ । अर्कातिर भानुभक्त आचार्यले पनि नौवटै रसमा कलम चलाएका छन् । गोस्वामीकै झैँ भानुभक्तले पनि वात्सल्य र भक्ति रसमा कलम नचलाएका होइनन् । दुवै महाकवि प्राकृतिक सौन्दर्यका प्रेमी हुन् । दुवै महाकविले मर्यादाको पालन गरेका छन्, भनौँ मर्यादाको उल्लङ्घन भएको छैन । गोस्वामीजीको रूपसौन्दर्यको वर्णन यस्तो छ –

‘स्यामल गौर किसोर बर सुन्दर सुषमा ऐन

सरद सर्बरीनाथ मुखु सरद  सरोरुह नैन ।।’

(रामचरितमानस, अयोध्याकाण्ड, पृ. ३७३, श्लो. ११६)

अर्थात् श्यामल (हल्का कालो वर्ण) र गोरो वर्ण छ, सुन्दर किशोर अवस्था छ, दुवै परम सुन्दर तथा शोभाका मन्दिर छन् । शरद  पूर्णिमाका झैँ यिनको मुख र शरद् ऋतुमा फुल्ने कमल झैँ नेत्र छन् । यता भानुभक्त पनि त्यति पछि परेका छैनन् । यिनले पनि शृङ्गार वर्णनमा चमत्कार देखाएका छन् । उदाहरणार्थ –

‘लाल् छन् नेत्र विशाल खुप् हृदय बेस् बेस् मोतिका हार छन्

शोभा चन्दन पुष्पको पनि छ बेस् देख्तै भयो खुशि मन् ।।’

(भानुभक्तीय रामायण, युद्धकाण्ड, पृ. २४२, श्लो. २१)

अर्थात् राता–राता आँखा छन्, फराकिलो छातीमा मोतीका हार शोभायमान छन् । श्रीखण्ड झैँ सुगन्ध तथा पुष्प झैँ सुन्दर शरीर देख्तै आकर्षक छ । अतएव गोस्वामी तुलसीदास र आदि महाकवि भानुभक्त आचार्यजीको वर्णनमा केही मिल्दाजुल्दा अंशहरू आफ्ना दृष्टिमा परेका यहाँ उल्लेख गर्ने तुच्छ प्रयास मात्र गरिएको हो ।

निथारमा भन्नुपर्दा गोस्वामी तुलसीदासजीको बाल्यकाल डरलाग्दो, अन्धकारय थियो । मूल्याहा अर्थात् मूल नक्षत्रमा जन्म (बाह्र महिनाको गर्भबास पछि) भएकाले पितृ–मातृ र आफ्ना नातेदारदेखि फ्याँकिनु परेकाले बेवारिस जीवन बितउन परेको थियो । यौवनकालमा पत्नीदेखि तिरस्कृत भएर बाबा श्रीविश्वनाथजीका कृपाले र माता सरस्वतीका आशीर्वादले विदग्ध पण्डित हुन पुगेका हुन् । अर्कातिर भन्नुपर्दा भानुभक्त आचार्य हुनेखाने र प्रतिष्ठित कुलमा जन्मी बढी र समयानुसारको विद्या आर्जन गरेकाले उनको जीवन सुखमय थियो भन्नुपर्दछ । भानुभक्तको घर सन्सार भएकाले नातागोताद्वारा पनि भरथेग थियो, भने गोस्वामीजीको सङ्गत साधु–सन्तहरूसँग थियो । तसर्थ उनलाई सन्त महात्मा पनि भन्न सकिन्छ । यस उसले यी दुवै महाकविको जीवनशैकलीमा अकास र पत्तालको फरक पाइन्छ । यो त मात्र सानो उदाहरण हो, विस्तृत होइन । अब उसो विद्यावारिधि गर्नेहरूले अवश्य पनि विस्तृत रूप दिने नै छन् भन्ने आशा राखौँ । साँच्चो भन्नुपर्दा कविसम्राट् गोस्वामी तुलसीदासजी धेरै माथि छन् ।

जेनै हवस् भरतखण्डको भारतीय चरित्रमाथिको पहिलो वा आदि महाकाव्य(रामायण) का बारेमा यति नै भन्न सकिन्छ –

‘यावत्स्थास्यन्ति गिरयः सरितश्च महीतले ।

तावद्रामायण कथा लोकेषु प्रचरिष्यति ।।’

अर्थात् जहिलेसम्म पर्वतहरू र नद–नदीहरू पृथिवीमा रहलान् तहिलेसम्म रामायणको कथा लोकमा प्रचार भई नै रहने छ । अस्तु ।

=== 

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल