भाग्य चम्काउने उपाय के हो ? हेर्नुहोस् आजको नीति वचन

यथा एकेन हस्तेन तालिका सम्प्रपद्यते ।
तथोद्यमपरित्यक्तं न फलं कर्मणः स्मृतम् ।।
–पञ्चतन्त्र

भाग्य कर्म गरेपछि मात्र चम्किन्छि । भाग्यलाई फलिभूत गराउन कर्म गनुृपर्दछ । जसरी एक हातले मात्र ताली बज्दैन त्यसैगरी कर्म नगरी भाग्य चम्किदैन ।
भाग्य र कर्म एक अर्काका परिपूरक हुन् । कर्म गरेपछि मात्र भाग्य फलित हुन्छ । रूखमा फलेको फल भाग्य हो भने त्यसलाई टिप्नका निम्ति गरिने उद्योग कर्म हो । कर्म र भाग्य एक अर्काका पर्याय हुन् ।
हामीले हाम्रो भाग्य आफै लेखिरहेका हुन्छौँ । हामी जे जस्तो कर्म वा काम गर्छौं त्यसले हाम्रो भाग्यलाई पनि निर्धारण गरिरहेको हुन्छ । अझ भनौँ भाग्य कर्मको आर्जित कमाइ नै हो । जो कलान्तरमा हामी भोग्ने गर्दछौँ । कतिपय कर्मका फल तात्कालिक हुन्छन् भने कतिपय परकलालिक तर कर्मको फल हामीले अवश्य नै भाग्नु पर्दछ ।
यही कुरो श्रीकृष्ण भगवान्ले अर्जुनलाई गीतामा बताउनुभएको छ । हामी कर्मकै वेदीमा निरन्तर चलिरहेका छौँ । ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ अर्थात् कर्म गर तर फल वा भाग्यको आश नगर ।
जसरी एउटा खेलाडीले राम्रो खेल खेलेसँगै नाम र दाम दुवै कमाइरहेको हुन्छ । उसले प्राप्त गरेका दाम त केही समयका खर्च गरेर सक्ला तर उसले कमाएको नाम उसको जीवनभरी रहिरहन्छ । उसको कार्यविशेष प्रतिभाले उसलाई तत् क्षेत्रको स्मरणीय व्यक्तित्व बनाइरहेको हुन्छ । ऊ त्यही पेशा र निरन्तर त्यही ज्ञान र सीपलाई निखार्न लागिपर्यो भने उसले कालान्तरमा धनका साथै मान पनि वृद्धि गर्दे जान्छ । अन्यथा ऊ क्षणिक खहरेजस्तै केही समय उदाउँछ र हराउँछ । यो उदाहरण कलाकार, नेता, अभिनेता, जो कोहीमा पनि लागू हुनसक्छ । यसरी हामीले कर्मद्वारा भाग्य चम्काइरहेका हुन्छौँ ।
यसैगरी हामीले पनि यस्तै कार्य आआफ्ना क्षेत्रका धर्मपूर्वक निर्वाह गर्दै गयौँ भने हाम्रो भाग्य अवश्य चम्किन्छ । जसका निम्त स्वर्धको परिपालनाका साथै सत्यको मार्ग भने नितान्त आवश्यक हुने गर्दछ । यदि झुटको खेती गर्न थालियो भने त्यो क्षणिक दाम दिने भए पनि त्यसले कालान्तरमा नराम्रो असर पार्ने गर्दछ ।
हामी हाम्रै कर्मको भोग गरिरहेका छौँ । हामीले गरेका कार्यको अभिलेखन जन्मजन्मान्तर हुने गर्दछ । कसैको केही नगरी भाग्य चम्किरहेको पनि देख्न सक्दछौँ । ती व्यक्तिको पूर्व जन्मको आर्जित कर्मफल पनि हुनसक्छ । त्यसैले अरुलाई हेरेर अरुको तुलना गरेर भन्दा पनि आफ्नो आत्मालाई साक्षी राखेर कर्मको वेदीमा निरन्तर लागि पर्नुपर्दछ । जसले हाम्रो भाग्य अवश्यमेव चम्किन्छ । गीता उपदेशको सार पनि यही नै हो । धर्मपूर्वक स्वकर्मको निर्वाह गर्नुपर्दछ । भाग्य स्वतः चम्किन्छ ।
कर्म नगरी भाग्य चम्किदैन र भाग्य नभई कर्म पनि व्यर्थ हुन्छ । त्यसैले कर्म नगरी भाग्यको मात्र भर पर्नु एकहातले ताली बजाउनु जस्तै हो जो असम्भव छ । यही कुरालाई पञ्चतन्त्रकार विष्णुशमर्माले उजागर गरेका छन् ।
जसरी दर्शकले खेलाडीको मूल्याङ्कन गरिरहेका हुन्छन् । त्यसैगरी हाम्रो कर्मको मूल्याङ्कनकर्ता ईश्वर छन् । हामी जस्तो कर्म गर्छौँ त्यस्तै नै हाम्रो स्वतः मूल्याङ्कन भइरहेको हुन्छ । त्यही कर्मको फल भाग्यका रूपमा फलिभूत हुने गर्दछ । अतः धर्मपूर्वक कर्म गरेर नै भाग्यलाई चम्काउन सकिन्छ । यसैले भाग्उ चम्काउन कर्मको वेदीमा होमिनुपर्छ भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल