म्यानमारको लकडाउन र नेपालीको गतिविधि

Advertisement

‘म्यानमारको लकडाउन कस्तो छ ?’ मनोज न्यौपाने दाइले यसबारे लेखेर हरेकपल डट कमलाई पठाइदिन भन्नुभयो । नेपालको कडा लकडाउनसँग यहाँको लकडाउनको म कसरी तुलना गरूँ ? किनभने उताकाले यताको लकडाउनलाई लकडाउन नमान्न पनि सक्छन् । यता र उता (नेपाल)को लकडाउनमा फरक छ । यता लकडाउन छैन भनूँ त, अनिवार्य रूपमा माक्स लगाउनुपर्छ । स्कुल, सिनेमा घर, रेष्टुरेन्ट, जीम, होटल, क्लब, बार, ब्युटिपार्लर, घुम्ने ठाउँ, तीर्थस्थल, गुम्बा, मन्दिर, चर्च, मस्जिद, नाइट बस, ट्रेन, एयरपोर्ट इत्यादि ठाउँ सबै बन्द छन् । जहाँ–जहाँ मानिसको भीड लाग्ने सम्भावना हुन्छ, जहाँ–जहाँ सामाजिक दूरी कामय गर्न सम्भव हुँदैन, ती सबै ठाउँ बन्द छन् । । सामाजिक दूरी कायम गर्न नसकिने हुँदा बिहे, मिटिङ, अन्य विभिन्न समारोहहरू आयोजन गर्न रोक लगाइएको छ ।

सबै मान्छेहरू आआफ्नो घरमा बसेका छन् अथवा भनौँ, घरै बस्न बाध्य छन् । सहरका सडकहरू सुनसान छन् । महानगरबाट आफ्नै गाडीमा आफ्नो गाउँ, नगर फर्किन चाहनेहरूले सम्बन्धित नगरमा बनाइएको सेन्टरमा २१ दिनसम्म क्यारेन्टाइन बसेपछि बल्ल आफ्नो घर जान पाउँछन् ।

राती १० बजेपछि बिहान ४ बजेसम्म कफ्र्यू लाग्ने गरेको छ । यो समय घरबाट बाहिर निस्कन पाइँदैन । दिउँसोको समयमा भने जो कोही घरबाट बाहिर जान सक्छन् तर पाँच जनाभन्दा बढी एकठाउँमा जुट्न पाइँदैन । अत्यावश्यक ठानिएका रासन पसल, सिटीमार्केट, अस्पताल दिनभर खुल्ला छन् । पार्कहरू पनि खुल्ला छन् । सिटी बस र टेक्सी पनि चलेका छन् । सरकारी अफिस, ठूला–ठूला कारखाना र कम्पनी निश्चित नियम पालन गरेर सञ्चालन भइराखेका छन् । नियम पालन गर्न नसक्नेहरू भने बन्द छन् । गाउँ र नगरबाट महानगरहरूमा सजिलै पस्न पाइन्छ तर होटल, मोटेल, गेस्टहाउसहरू चाहिँ बन्द छन् ।

कोरोना पोजिटिभ भएकाहरू प्रायः विदेशबाट फर्केर आएकाहरू, तिनका परिवार र तिनीहरूसँग संसर्गमा भएकाहरू छन् । सरकारले सबैलाई निःशुल्क टेस्ट र निःशुल्क इलाज गरिदिएको छ । संक्रमित भएकासँग सम्पर्कमा रहेका सबैलाई सरकारी खर्चमा क्वारन्टाइन सेन्टरमा राम्रो गरी राखिएको छ । रोग सर्ने डरले संक्रमित बस्ने घर र टोललाई पूर्ण रूपमा लकडाउन (सिल) गरिदिएको छ । सरकारलाई जनताले पनि तन, मन, धन दिएर सहयोग गरेको छन् । अहिलेसम्म जनस्तरबाट मात्रै पनि लगभग ५ मिलियन यूएस डलर कोरोनाको उपचारका लागि दान प्राप्त भएको छ । सरकार लगायत विभिन्न गैरसरकारी संघ–संस्थाहरूले राहत स्वरूप रासन चामल इत्यादि आवश्यक वस्तु वितरण गरिरहेका छन् । हाम्रो नेपाली समाजले पनि व्यक्तिगत रूपमा, नगर स्तरमा र राष्ट्रिय स्तरमा गरी कुल मिलाई झण्डै एक लाख अमेरिकन डलर जति सरकारमा दान दिएको छ भने नेपालीहरूबीच आवश्यक राहत वितरण पनि गरिरहेको छ ।
०००
मेरो दिनचर्यामा लकडाउनको प्रभाव –

काम व्यापार नियमित चलिरहेको मेरो आफ्नो दैनिक दिनचर्या सबै ठप्प भए पछि सुरुसुरुमा त म पनि एकदमै अत्तासिएको थिएँ । तर ममात्र नभई सारा विश्व नै यही दुःखद् स्थितिमा छ भन्ने तथ्य आत्मसात गरेर मैले लकडाउनको समयलाई सदुपयोग गर्ने निश्चय गरेँ । सर्वप्रथम त यो भयानक रोगको रोकथामका उपायहरूलाई सक्दो प्रचार गर्न लागिपरेँ, लागिपरिरहेकै छु । पहिला आफ्नो परिवारलाई चाहेजति समय दिन पाउँदिनथेँ । अहिले म पहिलेभन्दा धेरै समय दिँदै छु । भाषा, साहित्य र संस्कृति संरक्षणका कार्यहरूलाई पनि सामाजिक सञ्जाल मार्फत् पहिलेभन्दा तीव्र गतिमा अगाडि बढाइरहेको छु । साथीहरूसँग मिलेर गोर्खा हिन्दू धर्मसेवक संघ मार्फत् अनलाईन सत्संग सञ्चालन गरिरहेको छु । पहिलाभन्दा धेरै किताब पढ्ने मौका पाएको छु । कविता लेख्दै छु र प्रसारण पनि गरिरहेको छु । पहिला बिहान व्यायाम गर्न जकिङ्ग जाने गर्थेँ । अहिले घरै दिनको दुई पटक योगासन गर्छु । यसरी आफूलाई पहिलाभन्दा पनि व्यस्त बनाएको छु ।
०००

मलाई लाग्छ–
यस महामारीको अन्त्यपछि विश्वभरका साहित्यकर्मी र कलाकारहरूमा मानवजीवन र मानवीय मूल्यप्रतिको दृष्टिकोणमा ठूलो परिवर्तन आउने छ । मानव जाति यस धर्तीका सर्वश्रेष्ठ प्राणी हो भन्ने अहंपूर्ण भ्रमबाट हामी सबै ब्यूँझिने छाैँ । अब हाम्रा साहित्य र कलाहरूमा प्रकृतिसँग अझ नजिक र सहिष्णुता भएका सृजनाहरू देखा पर्नेछन् । हाम्रा पुर्खाहरूले हाम्रा लागि कतै धर्मको नाममा, कतै दस्तुरको नाममा, कतै परम्परा र संस्कृतिको नाममा राखिदिएका अथाह ज्ञानहरू, जो आजको तथाकथित आधुनिक भनाउँदा शिक्षाहरूबीच हेय अवस्थामा विलिन हुनलागेका छन्, ती पुरातन ज्ञानको भण्डारलाई पुनः संस्कारित गराउने भूमिका साहित्यकार कलाकार र संस्कृतिकर्मीहरूको रहने छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल