प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीका नाममा याैटा भुक्तभोगीको पत्र

Advertisement

कोभिड १९ को सर्वव्यापी आतंक छ । सरकारको सुझवूझका कारण नेपालमा यसको प्रभाव खासै नपरेको निष्कर्ष सरकारी नीति र कार्यक्रममा हामी सबैले सुन्यौं । यो सुखद् हो । कोभिड विरुद्धको औषधि खरीदमा हुन लागेको भ्रष्टाचारको कथा अव विस्मृतिको गर्भमा पुगेको छ । नेपालीहरुमा पलाइरहेको यौटा भ्रम के हो भने सेनाले जिम्मा पाएपछि लाग्छ त्यहां दूधले धोएकाहरु छन् र उनीहरुबाट हुने कुनै पनि आर्थिक कारोवार पारदर्शी हुन्छ । होला यो भ्रम यथार्थ पनि । जनपथ र सशस्त्रका अनेक प्रमुख र अधिकृतहरु कार्वाहीमा परिरहेका हुन्छन् । सेनाका विषयमा कमै सुनिन्छ त्यस्तो । आज प्रसंग औषधि खरिदको होइन । प्रसंग हो कोरोनाको त्रासले सिर्जना गरेको मनोवैज्ञानिक सन्त्रास, सरकारी दावी र देखिएको वेथितिको ।

कोरोनाबाट प्रतिरक्षाकालागि देशमा लकडाउन भएको दुई महिना पुग्दैछ । तीन सयको हाराहारीमा संक्रमित भएका छन् र दुईजनाको दुखद निधन भएको छ । सचेतता, पूर्वतयारी आदि भएको जानकारी प्रतिदिन सरकारी प्रवक्ताहरुबाट पाइरहेका छौं । तर कोरोनाको पहिलो कोरोना शहिद वाह्रविसेकी सावित्री लामिछाने र बाँकेको नरैनामा निधन भएका युवा दुवैजना समयमानै उचित उपचार पाउन नसकेर मरेका हुन् भन्ने तथ्यले सरकारी दावीलाई निरर्थक र आत्मवञ्चना हो भन्ने सिद्ध गरेको छ । तयारी सही छ र क्वारेन्टाइनमा उचित व्यवस्थापन छ भन्ने सरकारी दावी के छ भनेर हेर्न बांके र वर्दिया वा तौलिहवा गौर पुग्नै पर्दैन । राजधानीको तस्वीर हेर्दा हुन्छ । कोरोना आतंक, समाजको दृष्टिकोण, सञ्चारकर्मीहरुको सोच, सरकारी अस्पतालको हालतका सन्दर्भमा एक भुक्तभोगीको पीडा सुन्ने समय छ, फुर्सद छ, जाँगर छ र धैर्य छ भने पढ्ने कष्ट गरिदिनुहुन मेरो सादर आग्रह छ ।

कुरो बुढानीलकण्ठ नगरपालिका १० कपनको कुनै एक टोलक्षेत्रको हो । एकजना युवती केही महिनाकी गर्भवती थिइन् । उनको पेट दुख्यो र परिवारका सदस्यहरुले अत्तरखेल स्थित नेपाल मेडिकल कलेज अस्पताल पुर्याए । उनलाई पखाला चलेको, वमन भएको अवस्थाका कारण अरु कुनै परीक्षण गर्नु भन्दा पहिले उनको कोरोना भाइरस छ छैन भनेर रेपिड टेस्ट भयो । यो काम असाध्य उचित थियो । पहिलो परीक्षणमा पोजिटिभ देखियो । तर दोस्रो र तेस्रो परीक्षणमा नेगेटिभ । परिवारले सल्लाह गरी एकपटक पोजिटिभ देखिएको हुनाले थप परीक्षण गराउन टेकुस्थित अस्पतालमा लगे । त्यहाँ सरुवा रोगको उपचार गरिने हुनाले कोरोनाको समेत परीक्षण र उपचार गर्ने भनी सरकारले जानकारी दिएको छ । त्यो दिन २ जेठ शुक्रवार थियो । विरामी त्यहाँ पुर्याउदा करीव तीन वजेको थियो । अस्पतालमा अहिले कुनै वेड खाली नभएको, तीन वजिसकेको , किट नभएको,परीक्षण गर्न नसकिने हुनाले पाटन अस्पताल लैजान सुझाव दिइयो । पाटन अस्पतालमा पनि कोरोना परीक्षणको व्यवस्था छ । तर पाटन अस्पतालमा पनि तीन वजेको हुनाले भेलि विहान मात्र परीक्षण हुने वताइयो र विरामी भर्ना गरियो । विहान दश वजे स्वाप परीक्षण पछि भनियो मेसिन विग्रिएको हुनाले वीर अस्पताल लगेर ल्याव् टेस्ट गराएपछि रिजल्ट आउने छ । सांझ पाँच वजेतिर नेगेटिभ रहेको जानकारी पाएपनि त्यसमा सम्बन्धितहरुको हस्ताक्षर नभएसम्म औपचारिक हुन नसक्ने सूचित गरियो । अन्ततः विरामीलाई पेटको समस्याका कारण अस्पतालमा नै केही दिन राखिएको छ ।

तर यता कुनै अनलाइनले कपन नारायणचोक पञ्चकुमारी क्षेत्रमा कोरोना परीक्षणमा पोजिटिभ देखिएको समाचार दिएछ । उसले अत्तरखेल अस्पतालमा लगेको विवरण सार्वजनिक गर्दै पारिवारिक सदस्यबाट पुस्टि गराएको देखियो । तर पारिवारिक सदस्यले पहिलो पोजिटिभ आएको तर दोस्रो पछि नेगेटिभ आएको भनी दिएको विवरण प्रकाशन नगरी रेपिड टेस्टको पहिलो रिजल्टलाई मात्र राखेर सेन्सलाइज्ड गरायो । त्यसपछि विमारी युवतीको नाता खोजि शुरुभयो । अमूकको वुहारी, अमूकको छोरी, अमुककी भाइवुहारी, अमूककी भतिजी अमुककी श्रीमती । विरामी युवती वसेको डेरा खोज्दै प्रहरी अधिकृत, जनप्रतिनिधि भीडकासाथ जुटे । एक कान दुइ कान मैदान । चारैतिर हाहाकार । उधूम हुनथाले सामाजिक सञ्जालहरु । विद्वत्ता देखाउने, सूचना प्रवाह गर्ने होड नै चल्यो । अमूक नातेदारहरुका छिमेकीहरुमा आतंक । सबैका झ्याल ढोका वन्द । बाटो वन्द । मानो भयानक कुनै अपराधी त्यहाँ त्यसघरमा लुकिरहेको छ वा कुनै आतंककारी गुरिल्लाले वम विष्फोटनको तयारी गरिरहेको छ । सुरुभयो फोन आतंक । तपाईको परिवारमा त कोरोना पसेछ , हैन त्यो नानी त उदयपुर पुगेर आएकी रहिछन् र त्यतैबाट पो बोकेर ल्याइछन् । कस्ती अपराधी रहिछिन् । ( उनी परिवारका अन्य सदस्य सहित पारिवारिक काममा करीव अढाई महिना पहिले गाईघाट गएर फर्केकी थिइन् ) । तर अहिले त्यहीबाट कोरोना बोकेर ल्याएको अभियोग उनमाथि लाग्न थाल्यो । आफन्तहरुका फोनहरुको कुनै गणना नै छैन ।

देशविदेशबाट आउने चिन्ताका, सहानुभूतिका स्वरहरु त आपन्तकै त हुन् । शनिवार वेलुका पांँच वजेसम्म परिवारले यति ठूलो यातना सहनु परो कि शब्दमा उल्लेख गर्नु सम्भव हुँदेैन । सहानुभूती, स्नेह र सहयोगी हुनु भन्दा अरुको यन्त्रणामा उपहासपूर्वक, घृणापूर्वक, उपेक्षापुर्वक र शत्रुतापूर्ण तरीकाले प्रतिक्रियादिने नेपाली समाज शिक्षित, समृद्ध, चेतनशील र विवेकशील कसरी हुनसक्छ ? हाम्रो समाज भित्रैबाट कसरी र कुन रुपमा विकसित भइरहेछ ? कस्तो शिक्षा र चेतना आवस्यक हो हाम्रालागि ? अनि आधा सूचना दिएर वा बढाईचढाइ सूचना प्रवाह गरेर सेन्सेलाइज्डको खेती हामी संचारकर्मीहरुबाट यसरी किन हुन्छ ? यस घटनाले प्रश्न गर्न विवश बनाएको छ । मैले पत्रकारिता गरेको वयालीस वर्ष पुगेका छन् । हाम्रा कामहरुको नै पुनरावलोकन हुनुपर्छ कि जस्तो अनुभव हुँदैछ । सायद यसैलाई रियलाइजेसन भनिन्छ कि ? मानिसहरुमा विवेक पलाउने शिक्षाको खोजी सरकारले गरोस् भन्ने मेरो विनम्र आग्रह छ ।

सरकारसंग अस्पताल र उपचारवारे मेरो गम्भीर प्रश्न छ । राजधानीका सुविधासम्पन्न सरकारी अस्पतालको यो अवस्था किन छ ? किन आम नागरिकलाई दुखदिने काम हुन्छ ? के तीन वजेपछि शुक्रवार कुनै परीक्षण नगर्ने नीति छ ? अस्पतालमा कति वेड छन् र तिनमा भरिएपछि आउने विरामीहरु के सडकमा नै पुगेर सुत्नु पर्ने र मृत्यु पर्खनु पर्ने हो ? संसारभर कोरोना आतंक छाएको करीव तीन महिनापछि मात्र नेपालमा देखिएको छ । तर सरकार पहिलो दिनदेखि नै तयारीमा छौं भनिरहेपनि अहिले त्यति ठूलो अस्पतालमा परीक्षण गर्ने मेसिन विग्रिएको सुनिन्छ किन ?

परीक्षणकालागि आवस्यक किट छैन भनेर राजधानीका अस्पतालमा भनिन्छ भने दूरदराजमा क्वारेन्टाइनमा परीक्षणको दिनगन्ती गर्दै तनावमा वसेका असंख्य नागरिकहरुको अवस्था कस्तो होला ? तराईमधेसका सुविधाविहीन विद्यालय, कुनै अस्पताल वा यस्तै चउरमा क्वारेन्टाइनमा वस्नेहरुको विजोग निश्चय पनि पुराणहरुमा वर्णित कुनै रौरव नर्क भन्दा भिन्न छैन । प्रधानमन्त्री, स्वास्थ्यमन्त्री वा कुनै शासकीय सत्तामा निर्णायक भूमिकामा रहनुभएकाहरु एकदिन त्यस्तो क्वारेन्टाइनमा अरु सरह एकरात एकदिन वस्ने साहस गर्नुहुन्छ ? पहाडी विकट क्षेत्रका अस्पतालहरु वा यस्तै क्वारेन्टाइन सेन्टरहरुको हालत कस्तो होला ? औषधिमा कमिसन, सामान खरीदमा कमिसनका समाचार सुन्दा दिक्क भएका हामी नेपालीहरुले कोरोना आतंक कसरी सहने र सामना गर्ने कुनै ठोस योजना सरकारसंग छ ? अन्यत्र कोरोना सल्केर डढेलो लागेको धेरै दिन भयो , तर हामी त्यो डढेलोको तातोमा हात सेकेर अत्यन्त सन्तुष्टिकासाथ भनिरह्यौं : जनवादी सत्ता भएकै कारणले चीनले वुहानसंक्रमणमाथि तुरुन्त नियन्त्रण गर्यो तर पूँजीवादी अमेरिका र युरोप डढेलो रोक्न असमर्थ छन् । यतिसम्म हल्ला गरियो कि पूंँजीवादी अमेरिकाले चीनको समृद्धिलाई तहसनहस पार्न कोरोना भाइरस पठाइदिएको हो । नेपालका लालबुझक्कडहरुका यस्ता भनाइहरु त हामी अमेरिकामा भएकै समयमा हामीले सुनेका थियाैं । अर्थात् जनवादको श्रेष्ठता स्थापित गर्ने कामहरु भइरहे र सरकार समयलाई दुरुपयोग गरिरह्यो ।

अव जनवादसम्मको सिढी बनाउन तल्लीन वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले नेपालीहरुलाई जोगाउने, कोरोनाको डढेलोबाट जोगाउने के योजना वनाएको छ ? भोलीका दिनमा कोरोनाकै कारण भोग्नु पर्ने समस्याहरुको सम्बोधन कसरी गर्ने ? दक्षिणवत्र्ती सीमामा अड्किएका नेपाली नागरिकलाई यो प्रचण्डगर्मीमा उतै भोक, प्यास, र लामखुट्टेलाई नै जिम्मा दिने र यहाँ हाईसञ्चो वस्ने सरकार कि के गर्ने ? लाखौं नेपालीहरु खाडीको श्रमवजारमा छन् । उनीहरु नेपाल घर फर्कन आतुर छन् । तिनलाई दिनको चारपाँच हजारमा फर्काउदा समेत करीव एक वर्ष लाग्ने छ । एक वर्षसम्म उनीहरुको व्यवस्थापन कसरी होला ? अनि उनीहरु फर्केपछि रोजगारी, आवास, र त्यसबाट देशलाई तत्काल पुग्ने आर्थिक क्षति कताबाट कसरी व्यहोर्ने ? चीनमा अड्किएका विद्यार्थीलाई हवाई जहाज चार्टर गरी फर्काउने जुन तदारुकता सरकारले देखाएको थियो त्यसलाई प्रशंसा गर्नै पर्दछ । तर छेउमा वसेका मजदूर र विपन्नहरुलाई सीमापारी मृत्युको मुखमा राख्नखोज्दा सामाजिक न्याय कसरी हुन्छ सरकार ?

धेरै विषय होलान् सोध्नु पर्ने । तर यौटा भुक्तभोगीले भोगेको हल्ला आतंक, अस्पतालहरुको वेथिति र सरकारको नाराका विषयमा मात्र आज केही भन्ने जाँगर चलाएको हूं ।

यति भन्दै गर्दा कष्टपूर्णरुपमा पनि लगनशील भएर सेवारत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, सुरक्षाकर्मीहरु र स्वयम्सेवकहरुको प्रशम्सा राष्ट्रले, आमनागरिकले गर्नेै पर्ने हुन्छ । कठीनतापूर्वक समाचार सम्प्रेषण गर्न सक्रिय पत्रकारहरुलाई धन्यवाद त छँदैछ थप के छ भने कसैको पीडालाई सेन्सलाइज्ड गराउने काम भने पक्कै पनि गर्नुहुने छैन । हेक्का राख्नै पर्ने के छ भने कोरोनाको सामना सरकारको क्षमताले , प्रयासले मात्र गर्न सकिदैन । यसमा आमनागरिक आफू पनि जवाफदेही, उत्तरदायी र जिम्मेदार हुनु आवस्यक छ । कमसेकम आफू, आफ्नो परिवार, समाजलाई सचेत गराउने त हामी सबैको दायित्व हो । त्यति गर्दा पनि संक्रमण भयो भने सरकारको जिम्मेदारी हुनु पर्दछ ।


वुनपा १० कपन नारायणचोक
२०७७ । २ । ६ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल