नेपालमा पनि कक्षा १ देखि नै संस्कृतको पढाइ हुने

Advertisement

काठमाडौं, वैशाख २६ । अब नेपालमा पनि कक्षा १ देखि नै संस्कृतको पढाइ हुने भएको छ । यसका लागि नेपाल सरकारबाट पाठ्यक्रम लागू गर्न स्वीकृत भइसकेको छ ।

नयाँ पाठ्यक्रम संरचनाले विद्यालय तहमा कक्षा १ बाट नै संस्कृत विषयको पठनपाठन गर्न बाटो खुला भएको छ । यसै सन्दर्भमा स्थानीय तहले विकास तथा कार्यान्वयन गर्न सक्ने गरी ऐच्छिक विषयका रूपमा संस्कृतको पठनपाठन हुने गरी पाठ्यक्रम विकास केन्द्रले कक्षा १ को अस्माकम् संस्कृतम् (हाम्रो संस्कृत) पाठ्यपुस्तक तयार गरेको छ ।

यसका लागि कक्षा ८ सम्मकै पाठ्यक्रम तयार भइसकेको भए पनि हाल कक्षा १ को मात्र पाठ्यपुस्तक तयार भएको र यसलाई यसै शैक्षिक सत्र २०७७ देखि लागू गर्न सकिने केन्द्रले जनाएको छ ।

अस्माकम् संस्कतम् कक्षा १ लाई एकीकृत त्रैभाषिक पद्धतिबाट विकास गरिएको छ । यस पुस्तकमा शब्द प्रविष्टि संस्कृतमा दिइएको छ भने नेपाली तथा अंग्रे्रेजीमा तिनको अर्थ दिइएको छ । संस्कृतका शब्दको रंगीन चित्रसहित अर्थबोध गराइएको छ भने अभ्यासपरक निर्देशन नेपाली भाषामा दिइएको छ । यो पिसा स्टान्डर्डमा उत्कृष्ट ठहरिएका फिनल्यान्डलगायत शैक्षिक स्तरमा उत्कृष्ट मानिने देशमा प्रचलित अभ्यास पनि हो ।

यसबाट अन्य मातृभाषा भएका विद्यार्थीले नेपाली वा अंग्रे्रेजी भाषाजस्ता अनिवार्य विषयको सहयोग लिई सजिलैसँग यो भाषा सिक्न र भाषिक ज्ञान बढाउन सक्ने देखिन्छ । यसबाट दोस्रो भाषा शिक्षण विधि र बहुभाषिक शिक्षण विधिको उपयोग गर्ने अवसर पनि उपलब्ध भएको छ ।

बहुभाषिक तथा बहुसांस्कृतिक नेपालमा भाषिक रूपान्तरण तथा स्थानान्तरणका आधारमा भाषा सिकाइ गर्ने नयाँ सोच र शैलीको प्रयोग पनि गरिएको छ ।

अस्माकम् संस्कृतम् पाठ्यपुस्तकमा संस्कृत र नेपाली भाषामा प्रयोग गरिएको देवनागरी लिपिका सम्पूर्ण वर्णको उच्चारण, पहिचान र लेखनलाई महत्व दिनुका साथै बाह्रखरीको प्रशस्त अभ्यास गराइएको छ । यसबाट नेपालीका साथै देवनागरी लिपि प्रयोग गर्ने सबै मातृभाषाको शुद्ध र सही प्रयोगमा सहयोग पुर्याउने प्रयास गरिएको छ ।

‘अस्माकम् संस्कृतम्’मा संस्कृतलाई शास्त्रीय ढंगबाट भन्दा व्यावहारिक र समसामयिक सन्दर्भबाट सिकाउने पद्धति अवलम्बन गरिएको छ । विद्यार्थीका दैनिक क्रियाकलाप र तिनमा प्रयोगमा आउने विभिन्न साधन तथा उपकरणलाई संस्कृत भाषाबाट वर्णन गरेर पुस्तकलाई प्रयोगपरक र बालमैत्री बनाइएको छ ।

पाठ्यपुस्तकमा प्रयोग भएका वाक्यलाई नेपालीमा समेत अर्थ दिइएकाले आधारभूत तहको कुनै पनि शिक्षकले सरल किसिमले यसको अध्यापन गराउन सकिने देखिन्छ ।

‘अस्माकम् संस्कृतम्’मा भाषिक ज्ञानका साथै सदाचार र संस्कृतिका विषय पनि बालमनोविज्ञानमा आधारित भई समावेश गरिएका छन् । यस अर्थमा यो पुस्तक नैतिक शिक्षाको जग बसाउने सामग्री पनि बन्ने देखिन्छ ।

हाल संस्कृतको अन्तर्राष्ट्रिय महत्व बढ्दै गएको छ । यो शैक्षिक आकर्षणको केन्द्र बन्दै गएको छ । अमेरिकाको राष्ट्रिय खगोलीय तथा अन्तरिक्ष प्रशासन (नासा)ले अन्तरिक्ष अनुसन्धानका लागि संस्कृत सर्वाधिक वैज्ञानिक भाषा भएको तथ्य सिद्ध गर्दै सन् २०३०को दशकबाट संस्कृतलाई आफ्नो वैज्ञानिक अनुसन्धानको माध्यम भाषा बनाउने तयारी गरिरहेको समाचार प्रकाशित भएका छन् ।

यस सन्दर्भबाट पनि यस पाठ्यपुस्तकले भाषिक ज्ञानको विकास, सदाचारको पालना र आजीविकाको अवसर निर्माणमा सघाउ पुर्याउने छ । भाषा आयोगबाट संस्कृत भाषा पढाउन गरिएको सिफारिस तथा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णयबमोजिम यो पाठ्यक्रम तथा पाठ्यसामग्री विकास गरिएको हो ।

यसले सबै भातृभाषीलाई संस्कृत वाङ्मयको आस्वादनका लागि मार्गप्रशस्त गर्दै सबैको संस्कृत र सबैका लागि संस्कृत सम्बद्धलाई अनुकरणीय सोचलाई मुखरित गरिदिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल