डाक्टर दीक्षितलाई धन्यवाद !

Advertisement

यी डाक्टरले तीनचार दिनअघि खतराको घण्टी बजिसकेको अनुभव गरे । आफूले लक्षणसहित रिफर गरेको बिरामीको समेत परीक्षण नभएपछि यिनको मनमा चिसो पस्यो र आफै पत्रकार सम्मेलन गर्न पुगे ।

हामीले उनलाई पक्रिनुपर्ने र कारबाही गर्नुपर्ने माग गर्यौं । के बिर्सियौं भने भोलि सङ्क्रमण तीव्र रूपमा फैलियो र हामी थला पर्यौं भने बुढो शरीर लिएर पनि मैदानमा बचाउन निस्किने यिनै डाक्टरहरू हुन् । उनले अनुचित र आधारहीन केही भनेका थिएनन् । नेपाल कोरोनाभाइरसले भरिइसक्यो भनेका थिएनन् । बोर्डर बन्द गर्न, बढ़ीभन्दा बढ़ी परीक्षण गर्न र शुरुमैं यो सङ्क्रमण रोक्न सरकारलाई सचेत गराएका थिए । उनले प्रोफेशनल्ली दिन मिल्ने जति सूचना र उदाहरण प्रस्तुत गरेका थिए । दिनहुँ दर्जनौं बिरामी हेर्ने डाक्टरसँग भन्दा हामीसँग बढ़ी सूचना छ जस्तो हामीलाई लाग्यो ।

हामीले र सरकारकै केही सदस्यले माग गरेझैँ इगो साधेर डाक्टरलाई थुनेको भए र चुप लागेर बसेको भए अवस्था कस्तो हुँदो हो ? बाहिर जे भनिए पनि उनलाई सुनेपछि भित्रभित्रै सबैको मनमा चिसो पस्यो । रातारात सबै तात्तिए । सरकार थप एउटा केस पनि नभेटिँदै लकडाउनको कठोर निर्णयमा पुग्यो । प्रयोगशालाले बल्ल आवश्यक जनशक्तिका लागि विज्ञापन गर्यो । अहिले डाक्टर सही रहेछन् भन्ने धेरैलाई लागेको छ । चीनले पनि शुरूमा यस्तै गल्ती गरेको थियो । झन्डै तीन महिनापछि उसले माफी माग्यो ।

हल्ला भएपछि अहिले बल्ल थाहा भयो, हामीसँग पर्याप्त जाँच गर्ने किट्स पनि छैनन्, जनशक्ति पनि छैन । तीन करोड़ जनसङ्ख्याका लागि जम्मा एउटा प्रयोगशाला छ । बोर्डरमा जाँच होइन, तमासामात्रै छ । हस्पिटलमा तालिमप्राप्त स्वास्थ्यकर्मी र अत्यावश्यक पीपीई पनि छैन । तर कम्तिमा यो सार्वजनिक सङ्ज्ञानमा आइसकेकाले अझै बितेको केही छैन । धेरै जसो जनता घरभित्रै छन् । अब जे छैन त्यतातिर ध्यान दिने हो भने अहिलेसम्म बल हाम्रै कोर्टमा छ । शङ्का लागेजतिलाई परीक्षण गरिहाल्ने र अलग गर्ने हो भने सजिलै चेन-ब्रेक हुन सक्छ । आशा छ, सरकार त्यही दिशातिर अघि बढ्दै छ ।

नारायण गाउँलेको फेसबुकबाट

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल