कोरोनोमिक्स : हामी साच्चिकै एशियाको मुकुट बन्न सकौं

Advertisement

केहि घटना, दुर्घटना, महामारी, प्रकोप, विपद यस्ता हुन्छन् जसको उत्पत्ति जहाँ भएपनि आफ्नो प्रभाव विश्वव्यापीकरण गरिदिन्छन्। आखिर मान्छेलाईझैँ भाइरसलाई पनि उपनिवेश जमाउने उत्कण्ठा हुने रहेछ। फेसबुक र युटुबले भाइरल भन्ने शब्द सहरदेखि गाउँसम्म पुर्याए तर धेरैलाई भाइरल हुनुको अर्थ बल्ल खुल्दै छ।

फेसबुक र युटुबले भाइरलास्त्रको प्रयोग गरि तथाकथित आधुनिकतामा भर्खरै प्रवेश गर्न थालेका हाम्रा गाउँघरका सामजिक सम्बन्ध, पारिवारिक सम्बन्धलाई इन्फेक्टेड गर्दै थिए र नजानिदो तरिकाले हाम्रो समाजको चरित्र र सम्बन्धका संरचनाहरुलाई बदल्दै थिए। प्रविधिले ल्याएको त्यो भाइरसले ल्याउने रोगलाई मैले infornado भन्ने नाम दिएको थिएँ १०/१२ बर्ष अघि। लब्स्टरलाई पानीमा उमालेर सहज मृत्यु गराएजस्तो हाम्रो संस्कृति, सभ्यतालाई मृत्युवरण  बनाइरहेको थियो त्यो इन्फोर्नेडोले। तर अहिलेको कोरोनाले मानव जीवनका सबै क्षेत्रको यात्रालाई नयाँ मोडलिन बाध्य पर्दै छ र इन्फोरनेडोलाई हाई गियरमा पुराएको छ। इन्फोरनेडो र कोरोना एक अर्काका पुरक भएका छन्।

अहिले SARS-CoV-2 नामको यो भाइरसले COVID 19 नामक रोगमार्फत संसारभरिको स्वास्थ्य सम्बन्ध, शिक्षा सम्बन्ध, सामाजिक सम्बन्ध, विश्वव्यापी आर्थिक सम्बन्ध, उत्पादन सम्बन्ध, बजार सम्बन्ध एवं श्रमसम्बन्ध लगायतका मानवीय सम्बन्धहरुलाई नयाँ लेन्सले हेर्नु पर्ने र नयाँ ढंगले परिभाषित गर्नु पर्ने परिस्थितिको सिर्जना गर्न सफल भएको छ। हामी फिजिकल पृथिवीबाट साइबर पृथिवी (cyber earth) को यात्राम बामेसर्न लागेको बेला, यसले हामीलाई सकिनसकी कुद्न बाध्य पार्दै छ। जैविक आतंक त छदै छ फेसबुक र युटुबको यान चढेर कोरोनाले मनोवैज्ञानिक आतंकसमेत सिर्जना गरेको छ। infornado ले यो भूगोलमा भेटेजातिका चाहिने-नचाहिने सूचना बोकेर मान्छेका घरघर पुगेको छ। अहिले भर्खर बोलिफुटेका वालबालिका देखि गीतसंगीतमा पि. एच. डी. गरेकासम्मकाहरु कोरोना र स्वास्थ्य एक्स्पर्ट भएर यो खानूस, यो पिउनूस, यसो गर्नूस, उसो गर्नूस् भन्दै कन्फुजनमा पारिरहेका छन् र यहि मौका छोपेर SARS-CoV-2 ग्लोबल भिलेजमा ताण्डव मच्चाईरहेको छ।  

संस्कृतमा कैवल्य (perfect isolation) भन्ने शब्द छ। अहिलेको प्राबिधिक कोरोना र जैविक कोरोनाले हामीलाई कैवल्य सम्बन्ध र कैवल्य अर्थतन्त्रको भुमरीमा धकेलिदिएको छ। त्यो कन्फ्युजन्को भुमरीमा हाम्रा समाजिक सम्बन्ध र अर्थसम्बन्धका लिगामेंट्सहरु टुक्राटुक्रा भैरहेका छन्। हामी isolation economy (कैवल्य अर्थतन्त्र) र  isolation social relationship (कैवल्य सामाजिक सम्बन्ध) संग साक्षात्कार गर्दै आफ्नो व्यवहार, रहनसहन, जीवनशैली, उद्योग व्यवसायको परिचालन, सामाजिक सम्बन्ध, उत्पादनसम्बन्ध, वितरण, बजारीकरण लगायतका विषयका एतिहासिक एवं युगान्तकारी यात्राम सोंचेभन्दा तीब्र गतिमा धकेलिएका छौ। कहाँ गएर खस्छौँ या खस्दाखस्दै प्यारासुटको निर्माण गरी सुरक्षित अवतरण गर्छौँ त्यो हेर्न बाँकि छ तर एउटा कुरा के स्पष्ट छ भने हामी कैवल्य सम्बन्ध र कैवल्य अर्थतन्त्रको भोरटेक्स र फोर्स अफ ग्राभिटिमा तानिई सकेका छौं।  

यो भाइरस र यसले ल्याउने रोगको सेरोफेरोमा केहि समयकालागि विश्वव्यापी अर्थतन्त्रको सुई उच्च गतिमा घुम्ने निश्चित छ र साथसाथै त्यसको प्रभाव दसकौंसम्म रहने संकेत अहिलेबाट नै देखिन थालिसकेका छन्। अबको अर्थतन्त्रले केहि समयको लागि कोरोनोमिक्सको फोर्मुला प्रयोग नगरी अगाडि बढ्न सक्ने छैन। अमेरिकाले आफ्नो अर्थतन्त्रमा 1929 देखि 1933 सम्म व्यहोरेको महामन्दी (great depression)को तहमा यस SARS-CoV-2 भाइरसले प्रभाव पर्ने कुरा गर्न थालिसकेको छ। कतिले त प्रवेश गरिसक्यो पनि भनेका छन्। ज्ञात रहोस्, महामंदीको ६ बर्ष पछि अमेरिका दोस्रो विश्व युद्दमा होमिएको थियो। यतिखेर भने अमेरिकाले त्यो प्रभावलाई कम गर्न र त्यो प्रचन्डताको मन्दी नआवस भनेर २० खर्ब डलर बराबरको राहत प्याकेज निर्माण गर्न दुवै सदनमा अहिले घनिभूत छलफल भैरहेको छ। सम्भवत: यो लेख प्रकाशित हुने बेलासम्म उक्त राहत घोषणा भैसक्ने छ। तर राहतको राजनीतिले आहत ल्याउने सम्भावना पनि त्यतिकै छ। आशा गरौँ कोरोनोमिक्सको कारणले आहत व्यहोर्न पर्ने छैन। राहत या आहत जे भएपनि यसले स्वास्थ्य र सरसफाई, उत्पादन र वितरण, प्रविधि र भूमण्डलीकरण, साना तथा घरेलु उद्द्योग, स्थनीय उत्पादन, जलबायु परिवर्तन लगायतका विषयमा नयाँ ढंगका विमर्शहरुको निर्माण गराउने कुरा निश्चित देखिन्छ। हिंजोसम्म दिस्टेंस लर्निंग, खुला एवं अनलाइन स्कूल, होमस्कूल जस्ता किनारमा राखिएका शिक्षण प्रविधि र अभ्यासहरु अब मूलधारसरह मान्यता प्राप्त गर्नेछन्। यो भाइरसले कार्यालयको परिभाषा, कामको परिभाषा, प्रविधिको प्रयोग, खाद्यन उत्पादन र यसको प्रयोग आदिमा समेत फरक ढंगले सोंच्नु पर्ने बनाउने छ।  

अमेरिकामा हुने मन्दीको कारणले बेरोजगारीको प्रतिसत १० भन्दा बढी हुन् सक्ने संकेत देखिन थालेको छ। सर्भिर इन्डस्ट्री धरासाही हुने अवस्थामा पुग्दै छ। आजभन्दा ९० बर्ष अघिको मन्दीको संकेत देखिनाले यसलाई शताब्दीकै आर्थिकप्रलयकोरुपमा हेर्नु पर्ने हुन् सक्छ।

कोरोनालाई ट्वाइलेट भाइरसको नामले बोलाउँदा पनि हुन्छ किन भने ट्वाइलेटमा चाहिने पेपर, पानी र स्यानिटाइजरको हाहाकार सिर्जना गर्दै हिंडेको छ। एकजना मान्छेले आफ्नो जीवनभरलाई चाहिने टोइलेट पेपरको लागि ३८४ रुखको हत्याको कारक बन्नु पर्छ। यस अर्थमा यसले जलवायु परिवर्तनलाईसमेत उच्चगतिमा लैजाने छ। ८ करोड ३० लाख ४८ हजार ११६ रोल टोइलेट पेपरको उत्पादन एक दिनमा हुने गर्छ। एउटा रुख बाट ८१० रोल ट्वाइलेट पेपर उत्पादन हुन्छ भने एक दिनमा उत्पादन हुने ट्वाइलेट पपेरको लागि १ लाख २ हजार ५ सय २८ ओटा रुख काटिने गर्छन्। यो विषयमा हुने छलफलले ट्वाइलेट पेपर प्रयोग र उत्पादनबारे पनि विमर्श सिर्जना गर्ने छ र बैकल्पिक उपाएको खोजी र इन्नोभेशनसमेत गर्नु पर्ने देखिन्छ। विश्वव्यापीरुपमा ट्वाइलेट पेपरको मागलाई यसले केहि हदसम्म बढाउने छ र अझ बढी जंगलको विनाशको मतियार बन्ने छ।  

ह्यान्ड स्यानिटाइजरको हालत पनि तेस्तै भयो अमेरिकामा। अमेरिकन हल्लाबाट प्रभावित भएर क्रय-आतंक फैलियो संसारभरि। एकातिर Infornado र SARS-CoV-2 भाइरस मिलेर विध्वंसको चक्रब्यूह निर्माणमा लागेकाछन् भने अर्को तिर मान्छे गुप्तवास, सेल्फ मोनिटरिंग र इ-कमर्सका माध्यमबाट चक्रब्यूह तोड्न कोसिस गर्दै छ।

गतवर्ष २ लाख टन ह्याण्ड स्यानिटाइजर उत्पादन भएको कुरा तथ्यांकले देखाएको छ भने यो बर्ष अलि धेरै फड्को मर्ने सम्भावना देखिन्छ। एक अध्ययनले देखाएअनुसार अहिलेको दैनिक आवस्यकता नै २ लाख टन देखिन्छ। यसको अर्थ के हो भने इथानोल र स्यानिटाइजर उत्पादन अथवा तिनका बैकल्पिक उत्पादन व्यवासयहरुको पनि बढोत्तरी हुने सम्भावना धेरै छ। प्रेसहरुमा फालिएका पेपरबाट रीसाइकलिंग गरेर टिस्सु उत्पादन गर्ने चलन बढ्ने छ भने प्रिन्टर र रीसाइकलिंग टेक्नोलोजीमा इन्नोभेसन भै घरमै प्रिन्टरहरुले टिस्सु पेपर प्रिन्ट गर्न सक्ने प्रविधिको पनि विकाश हुने सम्भावना त्यतिकै छ। यस भाइरसको कारणले साबुन र पानीको माग पनि उत्तिकै बढ्ने देखिन्छ। साकाहारी एवं भिगन हरुको संख्यामा उल्लेख बृद्दी भै भिगन उत्पादकहरुले राम्रो बजार पाउने सम्भावना देखिन्छ।

टेलिसपिंग, टेलिवर्क, टेलिमेडीसिन, टेलिमिटिंग, टेलिमल लगायत व्यक्तिवादीजीवन शैलीको बढोत्तरी एकातिर हुनेछ भने सरकारहरु समाजबादी बन्दै जाने सम्भावना पनि त्यतिकै छ। मान्छे र भाइरसविचको प्रतिस्पर्धा नयाँ होइन। प्रतेकपटकको महामारीले इनोभेसनको ढोका खोलेको छ। तर नेपाल जस्तो देश इनोभेसनमा जान शिक्षामा धेरै लगानी गर्न जरुरी छ जहाँ गणित, बिज्ञान, इन्जीनियरिंग, अनुसन्धान, क्रिटिकल थिंगकिंग, उद्दयमशिलता, पर्यावरण, स्वास्थ्यलाई अनिवार्य विषयकोरुपमा प्राथमिक तह देखिनै लागु गर्न पर्ने हुन्छ।

नेपाली लगायत अंग्रेजी र चाइनिज भाषालाई समेत शिशुकलास देखिनै इ-लर्निंग मार्फत सिकाउंदै जानु पर्ने हुन्छ। हिन्दी त हामी त्यतिकै लिन्गुइस्तिक् अज्मोटिक इफेक्टबाट पनि सिकिहाल्छौं। प्रत्येक स्कुलमा सानै उमेरदेखि कोडिंग सिकाउन ढिलो गर्नु हुँदैन र मेडिसिन पढ्न चाहनेलाई व्यचेलोरपछि भर्ना फ्री र खुला गर्ने तर परीक्षा कडा गर्ने परिपाटीमा जानुपर्छ जसमा पहिले सेमेस्टरमा सन्तोषजनक प्रगति गर्न नसके उनीहरुलाई अन्य विषयमा जाने बाटो खुला गरिदिने। तर १०/११ मा गणित र विज्ञान पढेकोलेमात्रै मेडिसिन पढ्न पाउने व्यवस्था राम्रो होइन। हामीले डाक्टर, इन्जिनिएर, बैज्ञानिक, कोडरहरु संसारलाई उपलब्ध गराउन सक्ने शिक्षामा जानुपर्छ।

शिक्षा र स्वास्थ्यमा भएको निजीकरण तुरुन्त रोकेर सार्वजनिक शिक्षा र सार्वजनिक स्वास्थ्यको मोडेलमा जान जरुरी छ। कृषिमा धेरै ठुला सपना नदेखी सहकारीमा आधारित उत्पादन प्रणालीमा जानु पर्छ। गाउँहरूलाई एकीकृत गरि कम्तिमा ५०० घरधुरी भएका वस्तीहरु बनाउने जहाँ, विद्यलय, अस्पताल, पुस्तकालय, बजार, सिनेमाघर, पार्क, बगैचा, स्विमिंगपुल, नाट्यशाला, स्थनीयहरुको समाजिक-सांस्कृतिक-ऐतिहासिकता संरक्षित हुने संग्रहालयहरु, प्रयोगशाला, काव्यशाला, रंगशाला, जेष्ठनागरिक सम्बादशाला, कृषि संकलन केन्द्रहरु भएका होउन्। प्रतेक घरधुरीले सहकारीकालागि आफ्नो करेसाबारीमा उत्पादन गरेर अन्न तरकारी बेचुंन्, उत्पादन भएको कुरा सरकारले सहकारी मार्फत किन्ने ग्यारेंटि गरेर सबैलाई उत्पादनशिल बन्नमा प्रोत्साहन गरोस। छुवाछुत र विभेदको पूर्ण अन्त्य होस्, यज्ञहरुमा सबैको सहभागिता समान हैसियतमा होस्, मन्दिरमा बली प्रथाको अन्त्यहोस्।

प्रत्येक एकिकृत वस्ती नजिक सिजनल र स्थानीयरुपमा उत्पादन हुने फलफूलहरुको वनहोस् जसको उत्पादन, उपभोगमा स्थानीयहरुको पूर्ण सहभागिता होस्, ७ देखि मस्तिरका स्कुले विद्यार्थीहरुले ती वनको संरक्षण गर्ने सर्भिस लर्निंगको क्रेडिट पाउने व्यवस्था होस्। कोरोनोमिक्सले हामीलाई आत्मनिर्भर, बैज्ञानिक, समतामुलक, पर्यावरण प्रेमी, इनोभेटिभ देश बन्नेतिर लगोस् र हामी साच्चिकै एशियाको मुकुट बन्न सकौं।            

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल