‘सत्ताका किनाराहरू’ कविता सङ्ग्रह : एक दृष्टि

Advertisement

शास्त्रीय छन्दोबद्ध कविता लेखनमा निरन्तर सक्रिय कवि तीर्थराज अधिकारी (२०१४, गोरखा) को कवितासङ्ग्रह ‘सत्ताका किनाराहरू’ (२०७०) उनको दोस्रो एकल कवितासङ्ग्रह हो ।

यसअघि सहलेखनमा ‘केही कवि : केही कविता’ (२०४३), ‘आजको मान्छेको कविता’ (२०४५) र ‘नयाँ युगका कविता’ (भाग १–१०) तथा एकल लेखनमा ‘सपनामा हराएको बिपना’(२०६६) कवितासङ्ग्रह प्रकाशित भएका हुन् । लामो समयदेखि नेपाली कविताको सृजना र विकासमा उल्लेख्य योगदान पुर्‍याएका तीर्थराज अधिकारी मूलतः स्वच्छन्दतावादी स्रष्टा हुन् । नेपाली प्रकृतिको गुणगानमा उनको कवित्व निकै रौसिएको पाइन्छ भने राष्ट्रवादी चेतना उनको कवित्वको केन्द्रीय स्वर देखापर्छ । जीवन अनुभूतिका सहज शृङ्खलामा उनिएका कविताहरू सरलता र सरसताले, सौन्दर्यपूर्ण सञ्चेतनाले परिपूर्ण देखिन्छन् । बेथितिहरूप्रति व्यङ्ग्यात्मक स्वर उराल्दै आशावादी दृष्टिकोण र मानवतावादी चिन्तन प्रस्तुत गर्नु कविको मुख्य ध्येय देखापर्छ ।

सत्ताका किनाराहरूमा ३५ वटा कविताहरू सङ्कलन गरिएका छन् । घटीमा चार श्लोकदेखि बढीमा चौध वटा श्लोकसम्मको विस्तार पाएका कविताहरूमा आधा दर्जन जति शास्त्रीय छन्दलयको प्रयोग भएको पाइन्छ । शार्दूलविक्रीडित र मन्दाक्रान्ताजस्ता लामा छन्द तथा उपजाति, अनुष्टुप्, पुष्पिताग्राजस्ता छोटा छन्दहरूको प्रयोग गरिएको छ । छ्रन्दअनुसार श्लोकसङ्ख्याको वितरण यस प्रकारको रहेको पाइन्छ :
छन्दको नाम कविताको सङ्ख्या श्लोक सङ्ख्या
१. उपजाति २० १५६
२. अनुष्टुप् १० ५४
३. मन्दाक्रा्रन्ता २ २१
४. इन्द्रवज्रा १ १०
५.शार्दूलविक्रीडित १ १०
६.पुष्पिताग्रा १ ५
….. …….
३५ २५६

उपर्युक्त तथ्याङ्कबाट के पुष्टि हुन्छ भने कवि तीर्थराज अधिकारीको लामा खालका छन्द (मन्दाक्रान्ता, शार्दूलविक्रीडित)मा भन्दा छोटो खालका छन्द (उपजाति, अनुष्टुप्) प्रयोगमा रुचि र कौशल बढी देखिन्छ । छन्दप्रयोग सहज, स्वाभाविक गतिमा अघि बढेको पाइन्छ । छन्दभङ्गको अवस्था देखिँदैन । भावानुकूल बनाएर भाषालाई नबिगारी शास्त्रीय छन्द प्रयोग गर्नु कवि अधिकारीको विशेष कुशलता हो । लयनिर्वाहको अवस्था रुचिकर र प्रवाहशील देखापर्छ । भाषाशैली पनि सरस, सरल र सहज लाग्दछ । स्वच्छन्दतावादी स्वरको कवित्व अनुकूल शैलीको प्रयोग भेटिन्छ ।

‘सत्ताका किनाराहरू’मा समाविष्ट कविताहरूले विविध विषय सन्दर्भलाई समेटेका छन् । व्यक्तिवृत्तमा केन्द्रित रहेर महाकवि देवकोटा, विद्वान् टीकाराम पन्थी, कवि दैवज्ञराज न्यौपानेजस्ता व्यक्तित्वको कार्य र वैशिष्ट्यको चित्रण गरी उनीहरूको योगदानको प्रशंसा गरिएको छ । राष्ट्रनिर्माणको भावना, वर्तमानको विखण्डनको चिन्ता, बेथिति, विसङ्गति र अराजकताप्रति व्यङ्ग्य, जन्मभूमिको गुणगान, नेतृवर्गप्रति वितृष्णा, शान्तिप्रतिको चाहना तीव्र रूपमा कविताहरूमा अभिव्यक्त भएको पाइन्छ । त्यसैगरी राष्ट्रको प्रकृृति र संस्कृति, स्वतन्त्रता र समानताको महिमागान, प्रकृति र जीवन रहस्यप्रतिको जिज्ञासा, शिक्षकको कर्म, समर्पण र महत्त्वाको चित्रण, जीवन सार्थकताका लागि उत्साह, उमङ्ग र साहसको महत्त्व, आशावादिताजस्ता कुराहरू पनि यहाँ प्रकट भएका छन् । मानिसका सिर्जनात्मक र विनाशक द्वैध प्रवृत्तिप्रति चिन्ता गर्दै स्वस्थ क्रियाकलापबाट अघि बढ्नुपर्ने सङ्केत गरिएको छ । प्रकृतिका विविध भूमिका र विशेषता वर्णनमा धेरै शब्दावली खर्चिएको पाइन्छ । खासगरी यस सङ्ग्रहका कविताहरू राष्ट्रप्रेम, बेथितिप्रति व्यङ्ग्य, प्रकृतिको गुणगान, विशिष्ट व्यक्तिहरूप्रति श्रद्धा तथा स्थानीयताको रङ्गले परिपूर्ण देख्रिन्छन् । मानिसले मानवीय व्यवहारमा जिम्मेवार बन्नुपर्ने आग्रह गरिएको छ । प्रकृति र संस्कृतिको संरक्षणमा जुट्नुपर्ने बताइएको छ । जीवनलाई सभ्य, सिर्जनात्मक र सार्थक बनाउन प्रयत्नशील रहनुपर्ने आह्वान गरिएको छ ।

सहज स्वाभाविक ढङ्गले विविध अलङ्कारहरू प्रयुक्त भएका छन् । अलङ्कारका लागि विशेष कसरत गर्ने परिपाटी कविमा देखिँदैन । अनेक विम्ब तथा प्रतीकहरूको उपस्थितिले कवित्व उल्लेख्य बन्न पुगेको पाइन्छ । प्राकृत, मानसिक, सांस्कृतिक एवम् राजनीति सापेक्ष विम्ब र तदनुकूल प्रतीकहरूको सहजताले कवित्व आकर्षित छ ।

कवि तीर्थराज अधिकारीको राष्ट्रवादी भावना र जीवनवादी दर्शनका कारण उनका कविताहरू सन्देशमूलक छन् । राष्ट्रको प्रकृति र संस्कृति एवम् यसका वैशिष्ट्यहरूको गुणगान अनि नेताहरूका कारण देखापरेको अस्तव्यस्तता र विसङ्गत गतिविधिप्रतिको चिन्ताले कविको राष्ट्रवादी भावनालाई प्रबल बनाएको देखिन्छ । उनी पूर्णतः राष्ट्रवादी स्रष्टा हुन् । आफ्नो जन्मस्थलप्रति संवेदनशील बन्दै कर्तव्यबोधप्रतिको गम्भीरता र यस पक्षमा देखिएका अरूका क्रियाकलापप्रतिको वितृष्णाले उनी कर्मशील, आस्थावान् सर्जक वा व्यक्ति हुन् भन्ने पनि पुष्टि गर्छ । अग्रजहरूप्रतिको सम्मानभाव र पेसाप्रतिको आस्थाले कविको जीवन शैलीलाई व्यक्त गरेका छन् । मानिसले बाँदर,सर्प, ब्वाँसो, जुका र बाजपन त्यागेर माथि उठ्नुपर्ने सङ्केत कविले गरेका छन् । उनी प्राकृत तथा भावनात्मक सौन्दर्यका पक्षपाती छन् ।

जीवनगत विविधतालाई आफ्ना अनुभूतिका रागमा घोलेर रचिएका प्रस्तुत सङ्ग्रहभित्रका कविताहरू एकसे एक उत्कृष्टतातर्फ लम्केको पाइन्छ । व्यञ्जना अर्थात् ध्वनिका दृष्टिले यी रचनाहरू गम्भीर छन्; उल्लेख्य छन् । अविस्मरणीय रचना छान्ने क्रममा धेरै शीर्षकहरूलाई समेट्नुपर्ने आवश्यकता देखाप¥यो । जस्तै : ‘यो फूलबारी सबले सजाऊँ’, ‘महाज्योति’, ‘मधुबहार’, ‘स्वतन्त्रताको सुसेली’, ‘शान्ति हाम्रो संस्कार’, ‘माटो यही छैन र के विशाल ?’, ‘अब फस्नु हुन्न’, ‘आरुघाट : शब्दचित्रमा’, ‘सिर्जन : समाधि’, ‘चाहिन्न विज्ञापन फूललाई’ आदि ।

कवित्वको नमुनाका लागि केही पङ्क्तिहरू हेर्न सकिन्छ :
न जातको भेद न धर्म भेद
न वर्णको भेद न लिङ्ग भेद
भाषा कुनै रङ्ग थिएन भेद
उदार संस्कार कहाँ विभेद !
(यो फूलबारी सबले सजाऊँ)
०००
तर शिल्पी नरोकिऊन् शिल्पले जग भर्नमा ! (महाज्योति)
०००
कवि हाँसे गला खोल्दै दुनियाँ मुस्कुराउँछ
कवि भक्कानिँदै रोए दुनियाँ आँसु झार्दछ !
(कवि र दुनियाँ )
०००
विचित्र यी चित्र कहाँ छ शिल्पी
छ खेल खेल्दै किन भित्र अल्पी ?
(मधुबहार)
०००
डम्मै अघाए पनि पेटलाई
छ सिर्जना भोक सधैँ मलाई ।
(स्वतन्त्रताको सुसेली)
०००
सुख र शान्ति कहाँ मिल्छ ? कर्म चोखो नभैकन
कर्म चोखो कहाँ हुन्छ बोकेर धमिलो मन !
(शान्ति हाम्रो संस्कार)
०००
सुतेर चुम्ला कसले हिमाल ? (सम्पदा )
०००
मीठा फल भएसम्म बोटमा सब धाउँछन्
रित्तिँदा फलका दाना बोट को सुम्सुम्याउँछन् ?
(स्वार्थी संसार)
०००
यी फूल हाँस्छन् कति दिव्य हाँसो
माटो र पानीसित खै गुनासो ?
सङ्कल्पले सुन्दर रूप पाए
दायित्व बोकीकन फुल्न आए !
(दायित्वले जीवन छैन खाली)
०००

उपर्र्युक्त उद्धरणहरूले कवि तीर्थरराज अधिकारीको कवित्व सुक्तिमय रहेको प्रमाणित गर्दछन् । कवि मानवताका पक्षपाती छन्, सृजनात्मकताको वकालत गर्दछन्, जीवन र प्रकृतिगत रहस्यतर्फ आकर्षित छन्, कर्मशीलता मन पराउँछन्, मानिस स्वार्थप्रिय बन्दै गएकामा असन्तुष्ट छन् अनि प्रकृतिले हामीलाई सम्पूर्ण शिक्षा दिन्छ भन्ने उच्च विचारहरू सहज रूपमा प्रवाहित गरेर आफ्नो सृजनामा दार्शनिक पुट भर्ने उपक्रममा समेत जुटेका छन् भन्ने पुष्टि मिल्छ । उनले क्रियाशीलता नै जीवन सार्थकताको आधार हो भन्नेतर्फ सङ्केत गरेका छन् ।

निष्कर्षमा सत्ताका किनाराहरू कवितासङ्ग्रह जीवनानुभूतिको मार्मिक एवम् हार्दिक दस्ताबेज बनेको छ । कवि तीर्थराज अधिकारीको कविता सृजना नेपाली साहित्यका लागि चिरस्मरणीय उपलब्धि साबित भएको छ भन्दा अन्यथा हुने छैन । भाव, अलङ्कार, विम्ब, प्रतीकजस्ता कुराहरू मूर्त रूपमा प्रवाहित र प्रदर्शित भएका कारण कविको प्रयास सार्थक बन्न पुगेको छ । प्रकृति, राष्ट्र र अनुभूनिको तीव्रताको शृङ्खलामा उनिएका कविताहरूले काव्यात्मक आकर्षण वा कलात्मकतालाई सहज रूपमा संवरण गरेकाले स्तरीय कवित्व सङ्केतित छ । कवि अधिकारी धन्यवादका पात्र बनेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल