अपाङ्गता मात्र होइन साङ्ग व्यक्तिको लागि पनि प्रेरणा योग्य केशव थापा

Advertisement

लाउँला खाउँला भन्ने कलिलो उमेरमा नै मेरुदण्ड पक्षघातका शिकार भएका केशव थापा सम्पूर्ण अपाङ्गता व्यक्तिका प्रेरणाका स्रोत बनेका छन् । जीवनमा कयौ दुःख, कष्ट, पिडा, आर्थिक अभाव आदिले सिर्जिएका पर्खालहरुलाई तोडेर आज उनले जुन उचाइ पाएकाछन् त्यो वास्तव नै अपाङ्गता मात्र होइन साङ्ग व्यक्तिको लागि पनि प्रेरणा योग्य छ । विशेष गरी जीवनप्रति गुनासाका पोका बोकेका र पलायनवादी साृेच बोकेका गैरजिम्मेवारी युवा जमातले उनीबाट प्रेरणा लिएर जीवन प्रवाहमा नयाँ प्राण भर्न सक्छन् साथ साथै सार्थक जीवन बाँच्ने कला सिक्न सक्छन् ।

यस्ता प्रतिभाशाली आत्माविश्वासले भरिपूर्ण केशव थापाको जन्म वि.सं. २०४८ साल म्याग्दी जिल्लाको तत्कालिन ताकम १ धारापानी र हाल धौलागिरी गाऊँपालिका वडा नं.७ भएको हो । बुबा खड्गबहादुर र माता दिलमाया थापाका जेठा सन्तान हुन केशव ।

निम्न मध्यम परिवार भएको केशवको प्रारम्भिक शिक्षा गाउँकै स्कुलवाट पूरा भयो सो स्कुलबाट कक्षा ८ पूरा गरी उनी कक्षा ९ पढ्न २ घण्टा हिँडेर जाने गर्थे । त्यो स्कुलमा ९ कक्षासम्म मात्र पढेर उनी कक्षा १० पढ्नको लागि म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित प्रकास माध्यमिक विद्यालयमा भर्ना भएर पढ्न थाले । त्यही विद्यालयबाट उनले २०६४ सालमा प्रथम श्रेणीमा एस.एल.सी. उतीर्ण गरे । एसएलसी पछि पोखरा हेम्जास्थित गौरी शङ्कर उच्च मा.विमा भर्ना भएर पढ्न थाले ।

त्यहाँबाट उनले १२ पास गरेर स्नातक पढनको लागि पोखरा स्थित पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । हिउँदे विदाको समयमा घर आउँदाको समयमा उनी डाले घास काट्ने क्रममा रुखबाट लडेर मेरुदण्ड पक्षघातको शिकार हुन पुगे । त्यसपछि उनको पढाइको यात्रा केहि समय अवरुद्ध हुन पुग्यो पछि इलाज र पुर्नस्थापना पछि आफ्नो छुटेको पढाइलाई निरन्तरता दिने विचार गरेर काठमाडौको वौद्ध फूलबारी स्थित बौद्ध बहुमुखी क्यामपसमा भर्ना भएर पढ्न थाले र त्यहि क्याम्पसबाट सन् २०१५ मा स्नातक तह पूरा गरे । स्नातक तह पूरा हुने वित्तिकै उनलाई १० महिने नेतृत्व विकास सम्बन्धि तालिम लिन जापान जाने सु अवसर प्राप्त भयो ।

त्यहाँबाट फर्केपछि फेरि स्नाकोत्तर गर्ने सोच जन्मियो उनलाई । त्यसको लागि काभ्रे बहुमुखी क्याम्पस बनेपामा भर्ना भए । त्यहाँ गएर नियमित रुपले पढ्ने अवस्था थिएन तर पनि गहिरो स्वरध्यानबाट नै उनले स्नाकोत्तरको शैक्षिक तह पनि पूरा गरे । जस्तो सुकै दुःख पिडा, जटिल, शारिरीक अवस्थाका वाबजुद पनि उच्च शिक्षा हासिल गर्ने उत्कट अभिलाषालाई उनले पूरा गरेरै छाडे । एकातिर हिवल चियरको जीवन अर्को तर्फ संरचनागत व्यवधान यी सबै समस्यासँग पौठेजोरी खेल्दै शैक्षिक यात्रालाई निरन्तरता दिनु कम चुनौतिपूर्ण थिएन केशवको लागि । तर उनले हिम्मत हारेनन् । मनभित्र गर्छु, सक्छु भन्ने भावले उनलाई दोहो¥याइ रह्यो । जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्र नारायणटारमा बसेर बौद्धको फूलबारीसम्म ह्विलचियरबाटै ओहोरदोहोर गर्नु पर्ने, ती माथि खाल्डाखुल्टीबाटो, यातायातको ओहोर दोहोरको अवस्था, वर्षायाममा झनै समस्या हिउँदमा जाड।ेले हिँड्नै नसक्ने, कहिले बिरामी परेर थलिनु पर्ने अवस्था । यस्ता कयौ कयौ अफ्ठ्यारा अवरोधलाई चिरेर केशवले आफ्ना शैक्षिक यात्रालाई अगाडि बढाइ रहे र स्नातकोत्तर सम्मको उच्च शिक्षा हासिल गर्न सफल भए ।

सानैदेखि पढेर केहि गर्ने सोच बोकेका केशव स्नातक तहको प्रथम वर्ष पढ्दै गर्दा हिउँदे विदामा उनी घर आएका थिए । घरमा रहँदाको समयमा उनको जीवनमा अकल्पनीय र त्रासदी पूर्ण घटना घट्न पुग्यो । २०६७ साल पौष २७ गतेको दिन थियो त्यो । त्यो दिन करिब १ बजेतिर गाई वस्तुको लागि डाले घाँस काट्न भनि उनी घरबाट निस्के । स्थानको जानकारी आमालाई दिएका थिए । घाम नलाग्ने खोचमा पुगे । घास काट्ने क्रममा रुख नै भाचिन पुग्यो । उनी लडेर भुँइमा बजारिए । एकछिन उनी उठ्न खोजे तर सकेनन् । खुट्टाले भरै दिएनन् । चिच्याए तर त्यो निर्जन, अनकन्टार ठाउँबाट उनको आवाज कसैको पनि कानसम्म पुग्न सकेन ।

शुरुमा त होसमै थिए तर सोच्दा सोच्दै बेहोसै हुन पुगेछन् । पछि उनलाई जानकारी दिइए अनुसारघाँस काट्न भनि गएको तर अवेरसम्म छोरा घर नआउँदा घरमा हल्लीखल्ली मच्चिएछ । करिब राती ८ बजेतिर घर र छिमेकीहरु उनलाई खोज्न निस्किएछन् । धन्न केशवले आमालाई आफू जाने ठाउँबारे जानकारी गराएका थिए । सबैजना त्यतै तिर लागेछन् । ८ बजे देखि खोज्दा खोज्दा करिब १० बजेमा उनीहरुले केशवलाई मरणासन्न अवस्थामा भेटेछन् । उनलाई बोकेर घरमा ल्याइएछ । उनलाई तत्काल मध्य पश्चिमाञ्चल अस्पताल पोखरा पु¥याइएछ । हस्पिटलले रिफर गरेर एम्बुलेन्समा चढ्ने बेलामा घटना घटेको करिब १२ घण्टा पछि मात्र उनको होस खुलेको थियो । काठमाडौमा शुरुमा उनलाई वीर हस्पिटल पु¥याइयो तर फेरि त्यहाँबाट जोरपाटी स्थित अपाङ्ग संघमा रहेको अर्थोपेडिक हस्पिटलमा रिफर गरियो ।

त्यही उनको मेरुदण्डको शल्यक्रिया भयो । त्यस पछि उनी साँगास्थित स्पाइनल कर्ड पुर्नस्थापना केन्द्रमा छ महिनासम्म बसे । केशवले ६ महिना लामो पुर्नस्थापनामा रहने क्रममा अपाङ्गताको वावजुत पनि कसरी सहज र सरल तरिकाले बाँच्ने त्यो कला सिके । त्यसको लागि मनोपरामर्श सेवा लिए । विभिन्न शारीरिक अभ्यास सिकें । अकुपेशनल अभ्यास सिके । त्यसपछि शारीरिक पक्षघातको बाबजुत पनि सक्रिय जीवन बाँच्न सकिन्छ भन्ने आत्मविश्वास पलायो उनको ।मन र शरिर हल्का भएको महसुस भयो ।अब कर्मपथमा सक्रिय रुपले लाग्ने अठोट लिएर उनी फर्किए । फरक ढंगले पनि अर्थपूर्ण जीवन बाँच्न सकिदो रहेछ भन्ने आत्मबोध भयो उनलाई । वास्तवमै पुर्नस्थापनाबाट प्राप्त ज्ञान, सिप, क्षमता र मानसिक उर्जाले साँच्चिकै नयाँ जीवन पाएको अनुभूति भयो उनलाई ।

पुर्नस्थापना केन्द्रबाट फर्केपछि केशव खगेन्द नवजीवन केन्द्र जोरपाटीमा वस्न थाले । त्यहिबाट उनी कलेज भर्ना भई पढ्न थाले । समय र परिस्थिति मौसम र शारीरिक अवस्था साथ दिएसम्म उनी नियमित कलेज गएर पढ्न थाले । सन् २०१५ मा व्यवस्थापन विषयमा स्नातक तह पूरा भएपछि उनलाई नेतृत्व विकास तालिमको लागि जापान जाने सुअवसर प्राप्त भयो । डस्किन लिडरसिप तालिम नामको सो कार्यक्रम १० महिना सम्मको थियो ।यो तालिम एसिया प्यासिफिक अन्र्तगत ४८ वटा राष्ट्रमध्ये नेपाल पनि एक हो ।

अल्प विकसित राष्ट्रहरुबाट हरेक वर्ष ६, ७जना अपाङ्गता भएका युवाहरुलाई सो तालिम लिने अवसर मिल्छ । केशवले पनि त्यो तालिम पाउन निवेदन दिए र छनोट पनि भए । उनका अनुसार यो तालिमले अपाङ्गता सम्बन्धि विभिन्न विषय हो ज्ञान मात्र दिदैनन जीवनमा आत्मविश्वास जगाउने विभिन्न सीप सिकाउने पनि गर्दछ । उनले त्यहाँ रहने क्रममा जापानमा अपाङ्गता भएका व्यक्तिहरुले गरेको आन्दोलन, त्यसको इतिहास र त्यसले स्थापना गरेको सुविधा, आत्मसम्मानको जीवनका वारेमा नजिकबाट बुझ्ने मौका पाए ।

आज जापानमा अपाङ्गता भएका व्यक्तिहरुले सुख सम्पन्न र आत्मसम्मानको जीवन बाँच्न पाएका छन् । हरेक संरचनाहरु अपाङ्ग मैत्री छन् । सरकारबाट प्राप्त सेवा सुविधाले अपाङ्गता भएको कुनै महसुसै हुन्न । केशवलाई लाग्यो अपाङ्ग भइयो भनेर रोएर, निराश भएर होइन संगठित आन्दोलनले सरकारलाई अपाङ्गताप्रति जिम्मेवार बनाउन सकिन्छ र उनीहरुको जीवनलाई सार्थक अर्थपूर्ण बनाउन सकिन्छ । उनले त्यहाँ अपाङ्गता भएका व्यक्तिहरुको लागि सञ्चालित कयौं संघसंस्थाहरुको पनि अवलोकन गरे । त्यहाँ अति असक्त व्यक्तिहरुले पनि कति सहज र अर्थपूर्ण जीवन बाँचेका । नेपालमा त्यस्तो अवस्थाका व्यक्ति भए त जीवन नै समाप्त भइ सक्थ्यो । जापान सरकारले आफ्ना अपाङ्गता भएका नागरिकले कुनै पनि शारीरिक मानसिक समस्या भोग्नु नपरोस भनेर धेरै सुविधा दिएका कारण उनीहरु दीर्घजीवन बाँच्न सफल भएका हुन भन्ने लाग्छ केशवलाई ।

केशवको जीवननमा खेलकूदको महत्वपूर्ण भूमिका रहेको छ । यसले उनलाई जीवन बाँच्न सहज त बनाएकै छ यो भन्दा बढी खेल उनलाई दुनिया घुम्ने र चिनाउने माध्यम पनि बनेको छ । आज केशवले जुन उत्साह उमङ्गका साथ जीवन बाँचेका छन् त्यो खेल कै कारण हो ।। उनी भन्छन् “ अपाङ्गता भएका व्यक्तिहरुको लागि खेल सञ्जिवनी बुटी जस्तै हो । यसले पिडारुपि जीवनमा मलम लगाउँछ । जीवनमा उत्साह, उमङ्ग, हौसला र सम्मानपूर्ण जीवननिर्वाहमा सहयोग पनि पु¥याउछ ।” वास्तवमै केशवको अपाङ्गताको जीवनमा खेल अवसर बनेर आयो । नयाँ सोच, भावना र आत्माजागरणको भावना पैदा गरायो ।

सामाजिक कार्य गर्न उत्प्रेरित गरायो ।यति मात्र होइन अन्तर्राष्ट्रिय सम्पर्कको सञ्जाल विस्तार भयो । वास्तवमै खेलले जीवन सार्थक बनायो । खगेन्द्र नवजीवन केन्द्रको आवस गृहमा वस्दा ताका केशवले शुरुमा मन बहलाउँछन तनावलाई हटाउन टेवल टेनिस खेल खेल्न थाले । त्यसले विस्तारै यसप्रति रुचि बढाउँदै लग्यो । त्यसपछि क्षमता बढ्दै गयो । मनमा खुशी, उमङ्ग र हौसलाका भावहरु बढ्दै गए । उनी त्यहाँ रहेको टेवल टेनिसको सार्वजनिक हलमा खेल्न थाले । उनको मन यसैमा रम्न थाल्यो, डुब्न थाल्यो । पछि उनले शारीरिक अपाङ्ग टेवल टेनिसको प्रशिक्षक अर्जुन सापकोटाबाट प्रशिक्षण लिए ।

उपत्यकामा भएका विभिन्न टुनामेन्ट भाग लिन थाले दोस्रो, तेस्रो भएर पुरस्कार, मेडलहरु पनि जित्न थाले । जसको कारण उनको क्षमता, सीप र आत्मा विश्वासको दायरा फराकिलो हुँदै गयो । जसको परिणामस्वरुप उनको अन्तर्राष्ट्रिय खेल खेल्ने आधार तयार भयो ।

केशवले अहिलेसम्म ५ वटा अन्र्तराष्ट्रिय टेवल टेनिस टुनामेन्ट खेलि सकेका छन् । सन् २०१४ मा नेपालकै प्रतिनिधित्व गरेर बङ्गला देशमा, सन् २०१८ मा इन्डोनेसियाको जकर्तामा र एसियन च्याम्पप्यानसिपमा भाग लिने अवसर पाए । त्यस्तै २०१९ मा जापानको टोकियो थाइलैण्डको बैङ्कक र ताइवानको ताइचुनमा भएको एसियन च्याम्प्यानसिप खेलहरु खेले । उनले यी खेलहरुमा काजकिस्तानलाई त हराए तर जापान र थाइलैण्डसँग हारे । त्यस्तै २०१९ अक्टोबरमा भुटानमा भएको टेवल टेनिसको प्रशिक्षणमा उनले भाग लिने अवसर पाए ।

७, ८ वर्ष लामो खेलको अनुभव सँगालेका केशवको भविष्यमा नेपालको प्रतिनिधित्व गरेर टेवल टेनिस खेलमा पारा ओलम्पिकमा भाग लिने सपना छ ।

उनको संस्थागत संलग्नताको विषयमा भन्नु पर्दा उनी स्पाइनल कर्ड इञ्जुरी नेटवर्क सेन्टर जोरपाटीका संस्थापक महासचिवका रुपमा अझैसम्म कार्यरत छन् । यस संस्थाले मेरुदण्ड पक्षघात भएका पढाइलाई निरन्तरता दिन चाहने बालबालिकालाई १२ कक्षा सम्म पढाउन र स्वास्थ्य मनोरञ्जनका क्षेत्रमा काम गर्छ । साथै अपाङ्गगता को क्षेत्रमा पैरवी गर्ने अपाङ्ग मैत्री संरचना निर्माणमा सरकारसँग मिलेर काम गर्दछ । भविष्यमा यसको दायरा विस्तरा गरेर धेरैभन्दा धेरै बालबालिकाहरुलाई आवसीय सुविधासहित सीपमुलक तालिमको आयोजन गर्ने मनोपरामर्श सेवा दिने र रोजगारीको लागि सक्षम जनशक्ति निर्माण गर्ने रहेको छ । उनका अनुसार हाल १७ जना मेरुदण्ड पक्षघात भएका विद्यार्थीहरुले आवासीय सुविधाका साथ पढ्ने अवसरका साथै वास्केटबल खेल खेल्ने अवसर पाएका छन् ।, धेरैजसो विद्यार्थीहरु अति नै दुर्गम जिल्लाबाट आएका छन् । यस्ता भाइबहिनीहरुलाई पढ्ने अवसर दिलाउन सकेकोमा उनी दंग र प्रफुल्लित देखिन्छन् ।

केशव अहिले खेलकूद र समाजसेवालाई सन्तुलन मिलाएर जीवन रथलाई अगाडि बढाइ रहेका छन् । दुर्घटना पछि विकसित भएको शूरुवाती जीवनको कष्टपूर्ण जीवन सम्झदा पनि केशवको आङ सिरिङ्ग हुन्छ । छातीभन्दा तलको भाग पूर्ण रुपले चेतना हराएको अवस्था दिसापिसाबको अनियन्त्रित अवस्था, आर्थिक, जर्जरता, अपाङ्गग मैत्री संरचनाको अभाव यस्तै यस्तै कयौ समस्याले झेलिएको जीवनलाई सहज पथमा हिँडाउन कम चुनौतिपूर्ण थिएन उनलाई । तर जीवनमा आइ पर्ने हरेक समस्यालाई चिरेर अगाडि बढाउन उनका मामा काजी थापा, सानिमा (छेमा) गंगा थापा लगागत सम्पुर्ण आफन्त तथा दाजुभाईहरुको सहयोग विर्सन नसक्नु छ । उहाँहरुको निस्वार्थ सहयोग कै कारणले उनले औषधी खान पाए । होस्टलमा बसेर पढ्न पाए । शिक्षा आर्जन गर्न सके । यसकै कारण विथोलिएको जीवनको लय पुनस्थापित हुन पुग्यो । उहाँहरुकै सहयोग कै कारण जीवन निराशा र अर्थहिन हुनबाट बच्यो ।

अहिले केशवलाई आफ्नो जीवन सहि बाटोमा हिडिरहेको महसुस हुन्छ । अपाङ्गगताको जीवन अहिले अवसर बनेर आएको लाग्छ । अहिले उनी केहि हदसम्म आर्थिक स्वतन्त्रताको जीवन बाँच्न पाएका छन् । त्यो भन्दा बढी विभिन्न देशमा खेल खेलेर खेलको माध्यमबाट देशलाई चिनाउन पाएका छन् । समाजसेवाको मार्गमा हिँड्न पाएका छन् । पूर्ण आशावादी जीवन बाँच्न सकेका छन् । भन्छन् “अझै धेरै गर्न बाँकी छ ।” यहि भावले उनको जीवन दोहोरिएको छ ।खेलको माध्यमबाट देशको गरिमा उच्च बनाउने आकाङ्क्षा छ उनको ।

आजका हरेक नेपाली युवाले केशवबाट धेरै कुरा सिक्न सक्छन् । जीवन कसरी बाँच्नु पर्छ भन्ने सिक्न सक्छन् । शारीरिक अपाङ्गगताका बाबजुत पनि केशवले आज जुन उचाइ पाएका छन् त्यसबाट हरेक सफलताको रहष्य खोज्न सक्छन् जीवनको नयाँ गन्तव्य कोर्न सक्छन् र जीवनलाई कलङ्करहित द्वन्द्वरहित बनाएर जीवनलाई सार्थक बनाउन सक्छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल