‘माया नमार २’ बाट छोरालाई हिरो बनाउँदै रमित ढुंगाना

Advertisement

झन्डै २ दशक अगाडिको मदन घिमिरे निर्देशित चलचित्र ‘माया नमार’ बाट अभिनय करिअर सुरुवात गरेका अभिनेता रमित ढुंगानाले यही चलचित्रको सिक्वेलबाट आफ्नो छोरालाई अभिनेतामा लञ्च गर्ने भएका छन् । आइतवार आफ्नो जन्मदिन मनाउने क्रममा उनले यो कुराको खुलासा गरेका हुन् । तर, चलचित्रको निर्माण हुन भने अझै ४ देखि ५ वर्ष लाग्ने उनले बताएका छन् ।

उनका छोरा ओजश्वी गएको १५ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । कम्प्यूटर इन्जिनियरिङ विषयमा अध्ययन गरिरहेका उनले चलचित्रमा अभिनय गर्ने इच्छा देखाएपछि ‘माया नमार २’ बाट डेब्यू गर्ने तयारी गरेको रमितले बताए । उनले भने, ‘मेरो दबाबमा ओजश्वीले चलचित्रमा अभिनय गर्न लागेको होइन । ऊ आफैंले इच्छा देखाएपछि चलचित्रमा डेब्यूको तयारी गरेका हौं ।’

चलचित्र ‘माया नमार’ अभिनेता रमितका दाई अमित ढुंगानाले निर्माण गरेका थिए । यसमा उनको पनि अभिनय थियो । यो चलचित्रको दोस्रो श्रृंखलाबाट अमितले आफ्नो छोरा अमिरलाई डेब्यू गर्न लागेका थिए । तर, उनले चलचित्रमा अभिनय गर्ने इच्छा नदेखाएपछि रमितका छोरालाई डेब्यू गर्न लागिएको हो । केही महिनायता रमितका छोरा चलचित्रका लागि तौल घटाइरहेका छन् ।

आइतवार पिताको जन्मदिन सेलिब्रेसन कार्यक्रममा उपस्थित भएका ओजश्वीले चलचित्रमा डेब्यू गर्ने विषयमा भने, ‘मलाई सानैदेखि चलचित्रमा अभिनय गर्ने इच्छा थियो । त्यो इच्छा अब चाँडै पूरा हुँदैछ ।’ उनले अमेरिकाबाट ४ वर्षमा आफू अभिनेता बन्न योग्य भएर फर्किने बताए । अभिनेता रमित र निर्माता अमित ‘माया नमार २’ बाट आफ्नो भान्जालाई पनि डेब्यू गर्ने तयारीमा छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल