नेपाली कांग्रेस भित्रको विवाद र समाधानको उपाय

Advertisement

शनिवार-नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा नेपाली कांग्रेस भित्रको विवाद र समाधानका उपायहरुको बारेमा छलफल भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस भित्रको विवादको रुप कस्तो हो भन्दै आचार्यले यहि पुष ११ गते भएको केन्द्रीय समितिको बैठक र त्यसले गरेका निर्णयहरुको विवाद अझै पनि टुङ्गिएको छैन। बैठकमा कोही भाग लिएका छन्, कोही भाग लिएका छैनन् । यसैबिच जिल्ला सभापतिहरुको रामचन्द्र पौडेलले बोलाउनु भएको परामर्श बैठक पनि ३ दिन सम्पन्न भएर सकिएको छ । फेरि पनि वार्ता टोली वा समस्या समाधान टोली बनेर कुराकानी हुन थालेको छ । वार्ता टोली पहिला पनि बनेको थियो । यतिखेरको निष्कर्ष पनि फेरि वार्ता हुनुप¥यो भन्ने छ ।


हाम्रो पार्टीको १२औं र १३औं अधिवेशनमा पनि विवाद थियो । त्यो क्रियाशील सदस्यताको अस्तव्यस्तताको कारण थियो । क्रियाशील सदस्यता अस्तव्यस्त भएपछि आधारभूत रुपमा पार्टीलाई प्रभाव पार्ने नै भयो । १२औंमा दुई पार्टीलाई मिलाउनु पर्ने काम पनि थियो । विधान निलम्बन समेत गर्न परेको थियो । १३औंमा संविधान बनाउने चटारो थियो त्यही बेलामा क्रियाशील समिति बनाउनु प¥यो । त्यतिखेरको विवाद क्रियाशील समितिमा मात्रै विवाद भयो पार्टीभरी विवाद भए जस्तो देखिएन । क्रियाशील समितिको सिफारिसलाई फेरि समयछदैं केही गरिएन । फेरि पनि विधान निलम्बननै गर्नुपर्ने स्थिति आयो ।


अधिवेशन हुने वर्षमा मतमतान्तर हुनु स्वभाविकै हो । तर सहमतिमा हुने विधानका धारा निलम्बन गर्ने र महाधिवेशन गर्ने कार्यनै एकाङ्गी हुनु र विवादमा पर्नु अस्वाभाविक देखियो ।
कम्युनिष्ट पार्टीको सरकार मनोमानी ढंगबाट शासन गर्दैछ । तर प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस आफै विवादमा परेको हुनाले यस्तो अवस्थामा सत्ता पक्षलाई चेतावनी दिने र सतर्क बनाउने काम प्रभावकारी रुपमा हुनसकेन । सरकारको अनियमितता र वदमाशीको समाचार आइराखेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेस एकजुट भएर सत्ता पक्षलाई चेतावनी दिनु पर्ने स्थितिमा हुनुपर्ने हो । संसदमा भएका केही साथीहरुले गर्नु भएको छ । तर प्रभावकारी रुपमा हुनसकेन भन्ने धेरै मानिसको भनाई छ ।


अधिवेशन हुने वर्ष विवादकै वर्ष हो, तर हामीले वर्षदिन नै गर्ने कि छ महिना मात्र गर्ने हाम्रै निर्णयमा भर पर्छ । महासमिति बैठक हुँदासम्म, ११ गते भन्दा अघिसम्म जे पनि विषय भइरहेको थियो । अब अलग अलग हुन खोजिरहेको छ । अहिले सरकारमा हाम्रो दृष्टि त्यति पुग्न सकेको छैन । प्रमुख प्रतिपक्षी हामी नै हौं । नेकपामा पनि यतिखेर चरम विवाद छ । संसद चल्न सकेको छैन । सभामुख चुन्न सकेको छैन सबै नेकपाको विवादकै कारण हो ।

रमेश लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले यो बसाई छलफल बडो सुन्दर लाग्यो नरहरि दाइप्रति धन्यवाद । साथीहरुले भन्नु भएको छ विधान मोटो छ त्यो भन्दा मोटो नियमावली हुँदैछ । जहाँ जति ठूलो अविश्वास हुन्छ त्यहा त्यतिनै ठूलो हुदै जान्छ । यसको कारण सबै कुरा कानुनमा लेखेर बाध्न खोज्छन् । तेस्रो विश्वको समस्या यहि हो । कार्यान्वयन नहुने अवस्था बढी हुन्छ । यतिखेरको विवाद महाधिवेशन लक्षित कार्यक्रम हो । अहिले भएको सभापतिमा अर्को सभापति हुन चाहनु पनि स्वभाविकै हो । अहिले भएको सभापति फेरि सभापति हुन चाहनु पनि स्वभाविक हो । यहि दुईटा स्वभाविकताबाट अहिलेको द्वन्द्व प्रारम्भ भयो । नेपाली कांग्रेसको यो विवादमा कुनै सैद्धान्तिक, रणनीति, नीति, आदर्शसँग जोडिएका विषय छैनन् ।


हाम्रो आदर्श सिद्धान्तमा आएको मतान्तर होइन । अहिलेको संविधानलाई हेर्ने दृष्टिकोणमा आएको मतान्तर होइन । अहिलेको सरकारलाई हेर्ने दृष्टिकोणको बारेमा मतान्तर होइन । नेपाली समाजको चरित्र, नेपाली समाजको ऐतिहासिकता, नेपाली समाजको विद्यमान गतिशिलता, रुपान्तरणका सवालमा हाम्रो विवाद होइन । हाम्रो विवाद पार्टी संचालनको कार्यविधिमा विवाद छ । राजनीति भनेको पावर हो पावर बाड्नु पर्छ भन्नु भयो यसमा विवाद छ । अहिले आएर महाविधेशनमा आआफ्नो पक्ष चुनावमा जाने रणनीतिमा आधारित विवाद हो । हामी निर्वाचन सुन्दर ढंगले लोकतान्त्रिक पद्धति अनुसार चुनाव गर्छौ । निर्वाचन गर्नुलाई नै लोकतन्त्र हो भन्ने ठान्छौं यो समस्या छ । निर्वाचन सकिएको दिन लोकतान्त्रिक प्रक्रिया सकिने होइन । निर्वाचन गरिसकेपछि पार्टी व्यवस्थापनको पक्ष हाम्रो कमजोर रह्यो ।


अहिले भएको विवादको पनि समाधान गरेर अघि जानुको विकल्प छैन । समाधान गर्न कुराकानी संवाद भइराखेको छ । सभापति र वरिष्ठनेताको उयिन, उयिन हुनेगरी विचको बाटो खोज्नु पर्ने हुन्छ । विधानको धारा निलम्बनलाई सच्याऔं, विभागमा सहमतिमा गठन गरेर सच्याऔं, महाधिवेशनको तिथिमिति यथावत् कायम गरौं । १४ महिना पछि महाधिवेशन छ । अहिले नै महाधिवेशनको मितिलाई लिएर झगडा गर्नु आवश्यक छैन ।


आज म वरिष्ठ नेतासँग परामर्श गरेर, सभापतिजीसँग परामर्श गरेर नरहरि दाइसँग कुरा गर्न आइपुगेको छु । पार्टीमा सबैलाई समान किसिमको अवस्थामा राख्न सक्दा मात्र सबैलाई राम्रो हुन्छ । त्यसैले अब छिट्टै केही दिनमै समस्याको समाधान हुने मलाई लागि राखेको छ ।
अहिलेको सरकारले संविधानको अहितमा, लोकतन्त्रको अहितमा काम गरिराखेको छ । यतिखेर कान्तिपुर, नागरिक, अन्नपूर्ण पत्रिकाहरुमा आएको समाचार हेर्दा सरकार के गरिरहेको छ र कस्तो छ भन्ने स्पष्ट भएको छ । हामी प्रतिपक्षी भूमिकामा छौं, जनतालाई यि सबै विषय सूसूचीत गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो । हामी भन्दै पनि आइरहेका छौं । साथै जनतालाई पनि हामीले सँगै लिएर हिड्न जरुरी छ ।

साधुराम खड्का नेपाली कांग्रेसका महासमिति सदस्य साधुराम खड्काले कांग्रेसको विधानको समस्या र पार्टीमा गर्नुपर्ने काम नहुनुको समस्या विधान कार्यान्वयन नभएर हो । विधान राम्रोसँग कार्यान्वयन हुने हो भने विवाद रहदैन । पार्टीमा पहिलादेखिनै आफुखुसी सहमतिमा काम गर्ने परम्परानै भयो । यसैले नै पार्टी विधानलाई उल्लङ्घन गर्ने बनायो । समसामयीक निर्णय गर्दा पनि विधानलाई टेकेर गरिदैन । विधानमा भएका प्रावधानहरु समयमा पुरा गरिदैन । यो अहिले मात्र होइन, हिजोदेखिकै क्रम हो । अहिले यो समस्या थपिदा थपिदा यहाँसम्म आइपुगेको हो । विधानको धाराहरु निलम्बन गर्ने क्रम गम्भीर हो । यो किन निलम्बन गरियो नेताहरुले भन्न सक्नु पर्छ । निरन्तर यहि भइ रहनु राम्रो होइन । राजनीति भनेको पावर नै हो । पार्टीको घोषणापत्र अनुसार काम हुन सकेन जसले गर्दा यो यो गरियो भन्न नसकिने कठिन अवस्था भयो ।

दामोदर खड्का नेपाली कांग्रेसका महासमिति सदस्यदामोदर खड्कालेपार्टी विवाद भित्रको कुरा हामीलाई हात्ति छामेको जस्तो हुन्छ । पत्रपत्रिकाको भरमा धारणा बनाउनु पनि त्यति उपयुक्त हुँदैन । विषय केन्द्रीय बहस हुने र समुह बन्ने कहिल्यै भएन । व्यक्तिसँगको सम्बन्ध सम्पर्क नै हाम्रो दृष्टिकोण बन्ने परम्परा बनेको छ । पार्टी एक हुनुपर्छ, एक नभए अगाडि बढ्न सक्दैन । यस्तै विवाद बढ्दै गए चुनावमा घातप्रतिघात बढ्छ । यसलाई छिटो, तत्काल व्यवस्थापन गर्न जरुरी हुन्छ । चुनावमा सामुहिक खटाई हुननसकी चुनाव जितिदैन । विधान भित्र बसेर समस्याको समाधान खोजौं । सहमतिमा विभाग कति बनाउने हो बनाऔं । विधान अनुसार पनि हामीले समय सीमा भित्रको काम गर्दै जानु प¥यो । हामी नमिलि हुँदैन, मिल्नै पर्दछ ।

सभापति बाहिर हेर्दा मिलाउन खोजेको देखिन्छ । वरिष्ठ नेताले पनि मिल्ने कसरी हुन्छ भूमिका त्यहि अनुसार गर्नुप¥यो । पार्टी हामी सबैको हो । लोकतन्त्रको मूल्य मान्यता अनुरुप नै हामी सबै्र एकै ठाउँमा भएको हो । लोकतन्त्रको रक्षाका लागि हाम्रो भूमिका हुनुपर्दछ । सरकार पेलेर अगाडि बढी रहेको छ । यसमा हामी दरिलो रुपमा बोल्न सकिराखेका छैनौं । यतिखेर हाम्रो अनुशाशीत, मर्यादित र दर्विलो प्रतिपक्षीको भूमिका हो । यसमा हाम्रो दह्रो प्रस्तुति जनताको इच्छा छ । यो भूमिकालाई मजबुत बनाउने किसिमले काम गरौं ।

हरिहर अधिकार नेपाली कांग्रेसका महासमिति सदस्य हरिहर अधिकारीले हामी संचालित हो की स्वचालित हो भन्दै पार्टी भित्रका साथीहरु पनि एकले अर्काको कुरा सुन्न नसक्ने भएपछि पार्टीको राजनीति धारासायी हुन्छ । सबै भन्दा पहिला हामी सच्चिन प¥यो, किनभने नेता चुन्ने हामीले नै हो । नेताहरुलाई गालि गरेर मात्र हुँदैन । त्यसपछि नेता सच्याउने काम पनि हामीले गरौं ।
अधिवेशन नेता राम्रो छान्नकालागि हुने हो । अहिले एउटाले बोलायो भने अर्को नजाने भएको छ । संगठनमा बसेपछि जिम्मेवारी पाएको मान्छेले काम गर्न प¥यो । अर्को समुहले साथ दिन प¥यो । फेरि नेतृत्वको जिम्मा पाएकोले अर्को पक्षको प्रतिनिधित्वलाई पनि सुनिश्चित गराउने विश्वास दिलाउनु प¥यो यो हुन नसके पार्टी कसरी अघि बढ्न सक्छ ? पार्टी विवाद विषयगत हुनुपर्दछ ।
दुरदर्षी नेता धेरै पहिलेदेखिनै हाम्रो पार्टीमा खड्किएको हो । अहिले छरपष्ट भएर पोखिएको छ । झगडा गर्ने, यहि चलाए भन्ने हिड्ने मात्र काम भएको छ । यसैले पार्टीलाई मजबुत बनाउन सकेन । हाम्रो नेताको कमजोरी भन्दा कम्युनिष्टका कमजोरी धेरै छन् । मुलुक धेरै कमजोर भइसकेको छ । कांग्रेस जिम्मेवार भएर जनतालाई साथ लिन जरुरी छ । कम्युनिष्टहरु सबै लोकतान्त्रिक संस्था र देशलाई कंगाल बनाउने किसिमले अघि बढि रहेका छन् । देश चलाउने, देशलाई अघि बढाउने राजनीतिले हो ।

एकेन्द्र पन्त दैलेख नेपाली कांग्रेसका नेता एकेन्द्र पन्तले भन्नु भयो नरहरि आचार्यले कांग्रेस भित्रको विवाद र यसको उत्तर पनि बडो राम्रो किसिमले दिनु भएको छ । उहाँले मिठो र सजिलो किसिमले भन्नु भएको छ । मेरो विचारमा यो कांग्रेस भित्रको विवाद कुनै विषयको विवाद होइन । यो कुण्ठाकोदम्भको र अहंकारको विवाद हो ।


म गाउँबाट विस्थापित भएर आएको मान्छे हुँ । सहरका मान्छेले वीपीदेखि दैनिक विमोचन हुने पुस्तक पढेर धारणा बनाउछन् । गाउँमा कांग्रेस हुनेहरु ति पुस्तक पढेर कांग्रेस भएका हुँदैनन् । के पढेका मान्छेमात्र लागेर कांग्रेस बलियो हुने हो ? यो गम्भीर कुरा छ । कांग्रेस भित्र स्थापनाकालदेखि असहमति, असुन्तुष्टि हुदै विभाजनसम्म भयो फेरि पार्टी एकीकरण भयो । तर अझै पनि चेत खुलेको देखिदैन ।


यतिखेर सरकार लोकतन्त्र विरोधी भएर काम गरिरहेको छ । यस विषयमा कांग्रेस केही गर्न सक्दैन । तर आफ्नै साथीहरुका विचमा झगडा किन ? यसले पार्टीका सदस्य र लोकतन्त्रवादीहरुलाई हामीले के सन्देश दिदै छौं । यसको लागि गम्भीर हुनु पर्दछ । कांग्रेस भित्रको सैद्धान्तिक विवाद नरहरि आचार्य सभापति उठ्दा भएको थियो । अन्यथा कुनै समय कांग्रेस पार्टी भित्र सैद्धान्तिक विवाद, बहस केही हुन सकेको छैन । यसैले कांग्रेस दिशा हिन पनि बन्दै आएको छ । विवाद वैचारिक हुन आवश्यक छ ।

प्रभाकर पाण्डे काठमाडौं कांग्रेसका नेता प्रभाकर पाण्डेले आजको विवादको पृष्ठभूमि हिजोको अवस्थाको पनि छ । समुह हुन्छन्, तर पनि हाम्रोमा समुह स्थायी खालको भयो यो हुनु हुदैनथ्यो । विषयगत समुह हुनुपर्ने हो । यो भए स्वभाविक देखिन्थ्यो । यहाँ गुट व्यक्तिगत स्वार्थका लागि भयो । यतिखेर जनता, कार्यकर्ता सबै नै आत्म केन्द्रित पनि बन्दै आएको देखिन्छ । यसले सामाजिक मान्यतानै पाएको जस्तो भएको छ । २०३२-३३ सालसम्म पार्टीमा लाग्दा मारिनै दिन्थे त्यस्तो अवस्थामा राजनीतिमा लाग्नु भएको नेताहरुलाई अहिले गम्भीर प्रश्नहरु उठ्नु अनौठो हो । उहाँहरुको दुःख हामीले ज्यादै नजिकबाट देखेका हौं ।


हाम्रो पार्टीमा पछिल्लो समय आर एस एसलाई शक्तिशाली रुपमा अघि बढाइयो । त्यसमध्ये शैलजा आचार्य वितिनै सक्नु भयो । अब बाँकी शेरबहादुर देउवा र रामचन्द्र पौडेल हुनुहुन्छ । यो आर एस एसले पनि हिजो गिरिजाबाबु र किसुनजीको विचको समस्यामा पनि अगाडि बढेर केही गर्नु भएन । नेताहरुले गर्नु भएको काम कुरामा केही भन्न हुदैन भन्ने मान्यता अनुरुप उहाँहरु अघि बढ्नु भयो । अहिले उहाँहरुले चलाउदा पनि त्यहि समस्या देखियो । रचनात्मक हस्तक्षेप कतैबाट कहिल्यै हुन सकेन जसले गर्दा कांग्रेस पार्टीलाई गतिशिल बनाउन सकेन ।

रामचन्द्र घिमिरे नेपाली कांग्रेस काठमाडौंका सदस्य रामचन्द्र घिमिरेले नेपाली कांग्रेसको २०१७ सालको विधान १९ पेजको छ अहिलेको विधान धेरैनै मोटो छ । यतिखेर विधान भन्दा नियमावली अझ मोटो भएर आएको छ । ०१७ सालको विधानबाट नै २०४६ सालमा प्रजातन्त्र आयो, सरकार चलाईयो तर अहिले कतापुगियो कता !


पुरानो अवस्था हेर्नेहो भने पनि राष्ट्रिय कांग्रेस स्थापना हुँदा विवाद थियो वा थिएन थाहा पाइएन । जब २००६ सालमा प्रजातान्त्रिक कांग्रेस र राष्ट्रिय कांग्रेस एकीकरण भएर नेपाली कांग्रेस बन्यो । यसबेला देखिनै शिर्षस्थ नेताहरु २ जना देखिनु भयो वीपी कोइराला र सुवर्ण शंशेर । २०४८ पछि किसुनजी र गिरिजाबाबुको विवाद पनि देखियो । त्यतिखेर गिरिजाबाबु र किसुनजी एउटा कोठामा सुतेर उठेपछि समस्या समाधान भएको पनि सुनियो । यसपछि गिरिजाबाबु र शेरबहादुर देउवाको विवादमा पार्टीनै विभाजन भयो । मेरो विचारमा यि दुबै पार्टी अडिन सकेको भए कम्युनिष्ट यो अवस्थामा हुने थिएनन् अर्थात् नियतिको यो चाहना थिएन । संविधानसभाका लागि फेरि पार्टी एकीकरण भयो ।

फेरि अधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवाको विवाद भयो । सुशील कोइराला सभापतिमा विजयी हुनुभयो । उहाँले विभाग विधान अनुसार समयमानै बनाउनु भयो तर त्यो नेपाली कांग्रेसको वेवसाईटमा २ दिन रहेर हटाइयो । त्यसपछिको अधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्रतिस्पर्धी हुनुभयो । शेरबहादुर देउवा विजयी हुनुभयो । फेरि पनि विवाद जहाँको तही छ अहिलेको अवस्था हामी सबैले बेहोरेकै छौं । यतिखेरको विवाद पनि विधान र विभागमा नै रहेको देखिन्छ साथै खित्रिमित्रि नेविसंघ, तरुणदल पनि भनिदैछ ।


यतिखेरको फरक र खतरनाक अवस्था जब सभापति वरिष्ठ नेताको घरमा जानु भयो त्यतिखेर टुङ्गिनु पथ्र्यो । कांग्रेसको एउटा अभ्यास टुटेको छ । साथै केन्द्रीय समिति लामो बहिस्कार हुनु डरलाग्दो अवस्था छ । यसको परम्परा के हुने हो सबैलाई चिन्ता ग्रस्त बनाएको छ ।
यतिखेर कांग्रेस दयनीय अवस्थामा छ । प्रतिपक्षीको भूमिका खेल्न सकिएको छैन । मानिसहरु त्रसित बनिरहेका छन् । सरकार निरंकुश बनिरहेको छ । यतिखेर अभिभावक नै बेहोसीमा रमाएको जस्तो अवस्था देखिएको छ । अवस्था भयावय भयो । यतिखेर कांग्रेस एक भएर सर्वसम्मत नेतृत्व चयन गर्ने अभ्यास तर्फ नलागे पार्टीको उचाई बढाउन कठिन छ । एकताको पक्षमा जुटौं ।

टोपेन्द्र राना मगर आरआर क्याम्पस नेविसंघका सदस्य टोपेन्द्र राना मगरले अभिभावकले सन्तानलाई जे सिकाउछन् त्यहि जान्ने हो । त्यसैले अहिले कांग्रेस भित्र मच्चिएको जुन कलह छ त्यसको छिट्टै समाधान हुनुपर्दछ । टरपस्ट भएका कांग्रेस प्रेमी शुभचिन्त, भातृ संगठनहरुलाई कसरी एकतृत गर्न सकिन्छ भनेर गहन चिन्तन गर्नुपर्ने बेला हो ।
यस्तोमा हाम्रा महान नेताहरु गुटउपगुटमा विभाजित हुनु भएन । यसले जनतामा कस्तो प्रभाव पार्ला भनेर सोच्न जरुरी छ ।

कार्यक्रममा संजय थापा, विनोद सिं रावल, अर्जुन देवकोटा,श्याममणी आचार्य, अनिष श्रेष्ठ, प्रेम खत्री,लगायतले आफ्नो विचार राख्नु भएको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल