इरान-अमेरिका तनावः ट्रम्पद्वारा नयाँ सम्झौतामा जोड

Advertisement

तेहरान, २४ पुस । इराकस्थित अमेरिकी हवाई शिविरमा इरानले ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा भएको जनरल कासिम सुलेमानीको हत्याको बदला लिन अमेरिकी हवाई सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरिएका हुन्।

पश्चिम बग्दादस्थित अल–असद र एरबिलमा रहेका अमेरिकी र गठबन्धन सेना बस्ने गरेको शिविरमा स्थानीय समयअनुसार बुधबार बिहान २ बजे दर्जनबढी क्षेप्यास्त्र प्रहार गरिएका हुन्। मध्यपूर्वमा इरानको प्रोक्सी फौजको नेतृत्व गर्ने जनरल सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टामै इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको हो।

इरानले अमेरिकी हवाई सैन्य शिविरहरुमा आफूहरुले नै क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेको छ। अल–असदमा भएको पहिलो आक्रमणको केही समयपछि एरबिलमा आक्रमण भएको अल–मयदिन टेलिभिजनले बताएको छ। यो सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासलाई कब्जामा लिइए यता इरानले अमेरिकाविरुद्ध गरेको सबैभन्दा प्रत्यक्ष प्रकृतिको हमला हो।

उता, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि इराकस्थित दुई अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेको छ। यद्यपि मानवीय क्षतिका सम्बन्धमा भने पेन्टागनले केही बताएको छैन। वासिङ्टनबाट आएका प्रारम्भिक प्रतिक्रिया छोटो छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सबै ठीकठाक रहेको बताउँदै सम्भावित हताहति र क्षतिको विवरण संकलन भइरहेको भन्दै ट्विट गरेका छन्।

‘हामीले इराकस्थित अमेरिकी आधार शिविरहरुमा भएका हमलाबारे थाहा पाएका छौं। राष्ट्रपतिलाई सूचित गरिएको छ र उनी आफ्नो राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा छन्,’ ह्वाइट हाउस प्रवक्ताले एक विज्ञप्तिमा भनेकी छन्। गत शुक्रबार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जनरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीचको तनाव उच्च भएको छ। इरानले उक्त हत्याको बदला लिने चेतावनी दिइरहेकै बेला बुधबार बिहानको क्षेप्यास्त्र आक्रमण भएको हो। इरानको रिभोलुस्नरी गार्ड्स्ले उक्त हमलालाई आफ्ना सैन्य जनरलको हत्याको बदलाका रूपमा अथ्र्याएको छ।

‘हामी अमेरिकाको आतंककारी सेनालाई आधार शिविर दिने सबै साझेदारलाई चेतावनी दिन्छौं की इरानविरूद्ध आक्रमणमा प्रयोग हुनसक्ने सबै शिविरलाई निसाना बनाइने छ,’ इरानी राष्ट्रिय समाचार एजेन्सीले प्रकाशन गरेको गार्ड्सको एउटा वक्तव्य उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल