अमेरिका–इरान द्वन्द्व : नेपालीलाई फिर्ता ल्याउन पहल

Advertisement

काठमाडौं, २४ पुस । अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ ।
इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ । मङ्गलबार इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेपछि अवस्था झन् तनावपूर्ण बन्दै गएको छ ।

दुई देशबीच युद्ध भएका खण्डमा इरान र इराकमा रहेका नेपालीको जीवनसमेत सङ्कटमा पर्ने देखिएपछि नेपाल सरकारले सुरक्षा दिने र आपत् परेको खण्डमा तत्काल फिर्ता ल्याउने पहल थालेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्बन्धित देश हेर्ने राजदूतावास र त्यहाँका राजदूतलाई उच्च सतर्कतामा रहन निर्देशन दिनुभएको छ । मन्त्री ज्ञवालीले सबै निकायसँग लगातार सम्पर्क गरी त्यहाँको अवस्थाको जानकारी लिइरहनुभएको छ ।

परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले भन्नुभयो, “परेका बेला तत्काल उद्धार गरी ल्याउन सक्ने वातावरण र व्यवस्था गरिराख्न भन्नुभएको छ, त्यहाँ रहेका नेपालीको यकिन गरी सम्पर्कमा रहन भन्नुभएको छ ।” इराक र इरान दुई देशमा वैधानिक रूपमा काम गर्न जाने अनुमति छैन तर पनि अवैधानिक रूपमा थुप्रै नेपाली त्यस क्षेत्रमा कामका लागि रहेका छन् ।
इरान–अमेरिकाबीच युद्धको अवस्था उत्पन्न भएमा त्यहाँ रहेका नेपालीलाई कसरी नेपाल फिर्ता ल्याउने भन्ने कसरत नेपाल सरकारले गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दुई देशबीच भनाभनको अवस्था हो, त्यो युद्धमा परिणत भइहालेमा त्यहाँ रहेका नेपालीको सुरक्षा गर्नु सरकारको दायित्व हो, त्यहीअनुसार केही छलफल भएको छ ।”

श्रम स्वीकृति दिएर नपठाउने भएकाले त्यहाँ कति नेपाली छन्, कहाँ कहाँ छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन । त्यो तथ्याङ्क यकिन गर्न परराष्ट्र मन्त्रालयमार्फत इराक हेर्ने कुवेत र इरान हेर्ने पाकिस्तानको राजदूतावासमार्फत खबर गरिएको छ । इराकको बग्दाद, कुर्दिस्तान लगायतका क्षेत्रमा थुप्रै काम गर्ने नेपाली रहेको सम्पर्कमा आउनेहरूले बताएका छन् । केही सङ्ख्यामा महिला वर्गसमेत घरेलु कामका लागि इराकमा रहेको अनुमान गरिएको छ । इरानमा पनि अवैधानिक रूपमा काम गर्ने नेपाली रहेको अनुमान छ । इराक हेर्ने कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले सरकारी निर्देशानुसार सूचना जारी गरी तथ्याङ्क सङ्कलन थाल्नुभएको छ ।
सूचनामा सतर्क रहेर सुरक्षाका लागि सम्पर्कमा आउन भनिएको छ । नेपाली पहिचान गरी सम्पर्क स्थापित भएपछि थप सुरक्षाको पहल थालिने मन्त्रालयले जनाएको छ ।
यसैबीच अमेरिका र इरानबीच बढ्दै गएको तनावले इरान र खाडी देशमा काम गर्ने नेपाली श्रमिकलाई पर्न सक्ने समस्या र त्यसको समाधानमा चाल्नुपर्ने कदमका विषयमा बिहीबार परराष्ट्र मन्त्रालयमा गृह र श्रमसहितको बैठक गर्ने तयारी भएको श्रम मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालय वैदेशिक रोजगार महाशाखाका प्रमुख एवं सहसचिव उमेश ढुङ्गानाले नेपाली श्रमिकलाई समस्या परेको खण्डमा उद्धारका लागि को कसले कस्तो तयारीमा रहने भन्ने विषयमा छलफल हुने जानकारी दिनुभयो । तीनवटै मन्त्रालयका मन्त्रीसहितको छलफल हुने भएकाले त्यसबाट एउटा निष्कर्ष निकाल्ने उहाँको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल