त्यसैत्यसै चित्त बुझाउँछु बुबाको मृत्युमा पनि !

Advertisement

छोरो गाउँ फर्किएला भनेर
मेरै बाटो हेरिरहनु भएका मेरा बुबा
पितृ बन्नु भएपछि उहाँको सम्झनाले
अचेल दैनिक आँसु बगाउँछु

उहाँको वात्सल्यमा बितेका
मेरो बाल्यकाल सम्झेर रुन्छु
बिसेक हुनुहोला भनेर खुवाइएका औषधीका
प्रेसक्रिप्सन छातीमा टाँसेर भक्कानिन्छु !

मुटुमा चिसो सिरेटो छिरिरहेछ
हुरीले छानो उडाएको
झुपडीजस्तै उदाङ्गो भएको छु
बुबाले बाल्नुभएको
तीर्थधामजस्तो चुलो निभेर
छातीभित्र गढेको छ
लाग्छ, मलाई आकासले थिचिरहेछ ।

बुबा मेरो साक्षात् ईश्वर हुनुुहुन्थ्यो
उहाँ रहनु हुँदा देवधाम लाग्ने घर
उहाँको आशीर्वादले बनेको मेरो जिन्दगी
उहाँको सपनाले बुनिएको मेरो कहानी
अब रित्तो बनेको छ !

मेरो हर अठोटले उहाँको ओठमा मुस्कान झुल्थ्यो
मेरो हर दुःखमा उहाँको मुहार बादलले ढाकिन्थ्योे
आज यो दिन कसरी आयो कुन्नि ?
मेरो खुशीमा मलाई हेरेर मुस्कुराउने
त्यो अग्लो हिमाल ढलेको छ
मेरो आँखाको नानीजस्तो त्यो प्रिय फूल
ओइली झरेर माटोभित्र पुरिएको छ
भावशून्य हुँदै अलि पछाडि फर्किएर हेर्छु
पितापुर्खाहरू यसरी नै मरेर गएका छन्
अगाडि सोचेर हेर्छु, हामी पनि यसरी नै मरेर जानु छ
सम्झिन्छु, मृत्यको अगाडि हाम्रो के नै लाग्छ र !
त्यसैले असह्यै पीडा हुँदाहुँदै
बुबाको मृत्युमा पनि त्यसैत्यसै चित्त बुझाउँछु !
अरू गर्नै म के सक्छु र !

(व्याकुल माइला राष्ट्रगानका रचयिता हुनुहुन्छ । वि. सं.२०७५ साल पुस १३ गते राति ७२ वर्र्षको उमेरमा उहाँका पिता मानबहादुर राईको देहावसान भएको थियो । कविका प्रिय पिताको वार्षिक पुण्यतिथि नजिकिँदै गर्दा सम्झनाले भक्कानिएर उहाँले सिर्जना गर्नुभएको कविता ।)

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल