१९ स्थानमा दसगजा गोलमाल

Advertisement

इलाम, १७ मंसिर । जिल्लाको भारतीय सीमासँग जोडिएको दसगजा वर्षौंदेखि दुवैतर्फबाट अतिक्रमित छ। भारतीय पक्षले दसगजामा सरकारी भवन बनाएर सुरक्षाकर्मीसमेत राखेका छन् भने नेपालीले पनि निजी घर र अन्य संरचना बनाएका छन्।

इलामसँग जोडिएको भारतीय सीमा सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटर छ। यो दूरीमा दुवैतर्फबाट १९ स्थानमा दसगजा मिचेर संरचना बनाइएको पाइएको छ। एकले अर्को देशको भूमि अतिक्रमण नगरे पनि दसगजामा चाहिँ बेला–बेला समस्या दोहोरिने गरेको सुरक्षा निकायले जनाएको छ। पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्ट बिओपी का अनुसार सीमामा कहिले सामान्य र कहिले जटिल समस्या देखिनुको कारण दसगजा अतिक्रमण नै हो। यो क्षेत्रको दसगजा नेपालतर्फबाटभन्दा भारततर्फबाट दोब्बरभन्दा बढीले अतिक्रमित छ।

जिल्लाको सन्दकपुर, कालपोखरी, मेघमा, गैरीबास, तुम्लिङ, मानेभञ्ज्याङ, चित्रेगुम्बा, हिले, छब्बिसे, फाटक, पुलखोला, सिमाना र गुफापातालमा दसगजा मिचेर संरचना बनाइएका छन्। यी क्षेत्रमध्ये भारतले दसगजाको धेरै स्थानमा पक्की सडक बनाएको छ। हिले, छब्बिसे, गैरीबास र सन्दकपुर क्षेत्रको दसगजामा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को क्याम्प नै छ। पुलखोलाको दसगजामा एसएसबीले गोलघर बनाएको छ भने छब्बिसेमा भारतीय जवाहर नवोदय विद्यालय छ। विद्यालयको खेलमैदान पनि दसगजामै पर्छ।

पशुपतिनगरको फाटकमा भारतीय प्रहरीको चेकपोस्ट नै नेपालपट्टिको दसगजामा छ। नजिकै भारतले करिब २ वर्षअघि पुरानो गुम्बा मर्मतको नाममा पक्की गुम्बा बनाएको छ। हिले, सन्दकपुर, तुम्लिङ, चित्रेगुम्बा र सिमानाको दसगजामा भारतले पक्की सडक बनाइसकेको छ। मानेभञ्ज्याङ र सिमानाको दसगजामा दुवैतर्फ निजी घर बनेका छन्। नेपालतर्फबाट कालपोखरीको दसगजामा चर्पी बनेका छन् भने सन्दकपुरमा गेस्ट हाउस छ। गैरीबासमा घर, चित्रेगुम्बामा सडक र मेघमाको गुम्बाले दसगजालाई नै कम्पाउन्डका रूपमा बारेका छन्।

पुलखोलाको दसगजामा एसएसबीले गोलघर बनाएको छ भने छब्बिसेमा भारतीय जवाहर नवोदय विद्यालय छ। विद्यालयको खेलमैदान पनि दसगजामै पर्छ।
विभिन्न स्थानको दसगजामा नेपाल–भारत दुवैतर्फबाट ३२ घर बनेका छन्। मानेभञ्ज्याङमा नेपालतर्फबाट १२ र भारततर्फबाट १० घर बनेका छन्। मानेभञ्ज्याङको मानेडाँडामा नेपालतर्फबाट दुई, सिमानामा भारतपट्टि चार, नेपालपट्टि दुई तथा पशुपतिनगरमा दुवैतर्फ एउटा–एउटा घर बनाइएको छ। पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बिओपीका अनुसार दसगजाको सबै तथ्यांक माथिल्लो निकायमा पठाइसकिएको छ। बिओपीका सशस्त्र प्रहरी निरीक्षक पवन खड्काले सशस्त्र प्रहरीले पूर्वी सीमाक्षेत्र बेला–बेला अवलोकन गर्ने गरेको बताए।

दसगजा मिचिनु र सीमाकै कारण बेला–बेला तनाव सिर्जना हुनुको कारण चाहिँ सीमास्तम्भ नहुनु हो। भएका सीमास्तम्भ जीर्ण र कतिपय स्थानमा सीमास्तम्भ नै नभेटिएका कारण विवाद बल्झिरहने गरेको छ। सुरक्षा निकायले यो स्थानका सीमास्तम्भको तथ्यांक पनि संकलन गरेको छ।

जिल्लाले छोएको भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ वटा फेला परेका छन्। एउटा सीमास्तम्भ हराएको भए पनि गाडिएको स्थान भने पत्ता लगाउन सकिने ठाउँमा छ। रोङ गाउँपालिका–६, मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ फेला नपरेको हो। ‘भएका १६ मध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन्,’ उनले भने, ‘साढे ५२ किलोमिटर दूरीमा चार मुख्य सीमास्तम्भमात्रै सग्ला छन्।’

यो दूरीमा ८३ सहायक सीमास्तम्भ हुनुपर्नेमा ७२ वटामात्रै छन्। ४६ साना सीमास्तम्भ हुनुपर्नेमा २१ मात्रै भेटिएका छन्। मुख्य १२, सहायक ५० र साना १९ गरी ८१ सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थाका पाइएका छन्। यीबाहेक सहायक सात र साना दुई सीमास्तम्भ पुनःनिर्माण गर्नुपर्ने अवस्थाका छन्। जिल्लाको सन्दकपुर, रोङ, माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाले भारतीय सीमा छोएका छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल