दुई लाख नेपाली पासपोर्ट इन्टरपोलको रेकर्डमा, दैनिक ६३ पार्सपोर्ट हराउँछ

Advertisement

काठमाडौं ८ मंसिर । राहदानी विभागले हराएको २ लाख ६ हजार ८ सय ६६ पासपोर्ट इन्टरपोलमा राखेको जनाएको छ । विगत ९ वर्षदेखि हराएका र चोरी भएका नेपाली पासपोर्ट दुरुपयोग रोक्नका लागि इन्टरपोलमा राखेको राहदानी विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार नौ वर्षयता ६० लाख राहदानी जारी भएकोमा वार्षिक करिब २३ हजार नेपाली पासपोर्ट हराउने गरेका छन् । विभागको तथ्यांकलाई आधार मान्दा दैनिक ६३ वटा राहदानी हराएको रिपोर्ट विभागमा आउने गर्छन् । यो संख्या विभागको जानकारीमा आएको रेकर्ड मात्रै हो ।

राहदानी विभागका अनुसार हराएको सो पासपोर्ट प्रहरीको इन्टरपोल शाखामार्फत् इन्टरपोलमा रेकर्ड राखेको हो । विभागले हस्तलिखित पासपोर्ट भने इन्टरपोलमा राखेको छैन । हस्तलिखित पासपोर्ट हटेर मेसिन रिडएबल पासपोर्ट जारी हुन थालेपछि हराएका र चोरी भएको पासपोर्ट इन्टरपोलमा राख्दै आएको छ ।
विभागले ११ पुस २०६७ देखि एमआरपी जारी गर्न सुरु गरेको हो । नेपाललगायत अन्य मुलुकले पनि पासपोर्ट हराएमा इन्टरपोलमा राख्ने गर्दछन् । इन्टरपोलले यसलाई आफ्नो ‘सिस्टम’मा राखेको छ, जसको पहुँच अध्यागमन कार्यालयलाई दिइएको छ ।

राहदानी दुरुपयोग रोक्न इन्टरपोलमा रेकर्ड

विभागले व्यक्तिको हराएको राहदानी दुरुपयोग रोक्नका लागि इन्टरपोलमा राख्दै आएको छ । राहदानी विभागमा पासपोर्ट हराएको तथा चोरी भएको जानकारी गराएपछि सो पासपोर्टको सम्पूर्ण विवरण प्रहरीको इन्टरपोल शाखामार्फत अपडेट गर्दै आएको छ । राहदानीको विषयमा सम्बन्धित अधिकारीलाई शंका लागेमा इन्टरपोलमार्फत सम्पूर्ण विवरण लिन सजिलोका लागि रेकर्ड राखिएको हो । इन्टरपोल अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन हो, जहाँ विश्वका १ सय ९४ राष्ट्र आबद्ध छन् । हाल इन्टरपोलमा विश्वभर हराएका वा चोरी भएका ८ करोड ४० लाख पासपोर्टको तथ्यांक छ ।

दुरुपयोग गरे तीन वर्ष कैद ५ लाख जरिवाना

राहदानी ऐनको दफा २२ को १ मा राहदानी कसुर गर्नेलाई २ लाखदेखि ५ लाख रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद सजाय पाउने व्यवस्था छ । त्यस्तै, आफ्नो नामको राहदानी अरूलाई प्रयोग गर्न दिएमा वा ऐनमा उल्लेख भए विपरीत काम गरेमा सजाय हुने व्यवस्था उल्लेख छ । ऐनको दफा ३ मा विदेश जाँदा आफ्नो नाममा जारी भई बहाल भएको राहदानी लिएर जानुपर्ने उल्लेख छ । यसलाई उल्लंघन गरे पनि दफा ५ ले दण्डनीय मानेको छ ।

बोलपत्र रद्द हुदाँ विद्युतीय राहदानीको काम अलपत्र

सन् २०२० सम्ममा विद्युतीय राहदानी जारी गर्ने योजना राहदानी निर्माणका लागि आह्वान गरेको बोलपत्र रद्द हुदाँ अलपत्र परेको छ । विभागले राहदानी बनाउनका लागि दुईपटकसम्म आह्वान गरेको बोलपत्र रद्द भइसकेको छ ।
१० भदौमा सेक्युरिटी प्रिन्टिङ स्थापना र त्यससँग सम्बन्धित सबै प्रक्रियाका लागि परराष्ट्र मन्त्रालय मातहत रहेको राहदानी विभागले प्रतिस्पर्धामा आधारित अनलाइन बोलपत्र आह्वान गरेको थियो । सरकारको निर्णयसँगै राहदानी विभागले २१ कात्तिकमा बोलपत्र रद्द गरेको छ । विभागले विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरे पनि प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनीको छनोट हुन नपाउँदै बोलपत्र रद्द भएपछि विद्युतीय राहदानी ल्याउउने कार्य पछाडि धकेलिएको छ । सरकारले फ्रान्सेली कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि सम्झौता गर्ने निर्णय गरेसँगै राहदानी विभागले आफ्नो बोलपत्र आह्वान रद्द गरेको जनाएको छ ।

राहदानी बनाउने तीन गुणाले बढे

विभागका अनुसार विगतको तुलनामा राहदानी बनाउनेको संख्या तीन गुणाले बढेको छ । विभागको पछिल्लो तथ्यांकअनुसार २८ असोजमा २ हजार ८ सय २१ थान एमआरपी छपाइ भएको छ । २९ असोजमा २ हजार ५ सय २१, ३० असोजमा ३ हजार ३ सय २३, १ कात्तिकमा ३ हजार ७ सय, २ कात्तिकमा ३ हजार ४ सय, ३ कात्तिकमा ४ हजार १ सय र ४ कात्तिकमा ४ हजार ३ सय २८ थान एमआरपी छपाइ भएको थियो ।
यसअघि १ हजार २ सयदेखि १ हजार ४ सय थानसम्म दैनिक एमआरपी छपाइ हुने गथ्र्यो । विभागका अनुसार सन् २०१० देखियता हालसम्म ६१ लाख २१ हजार साधारण राहदानी जारी भए । त्यस्तै, १ लाख ७१ हजार ८ सय ७३ विशेष राहदानी र कूटनीतिक राहदानी ५ हजार १ सय ५५ थान जारी भएको विभागले जनाएको छ ।

राजधानी दैनिकबाट

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल