ट्रम्पमाथिको महाअभियोग अनुसन्धानमा थप प्रमाण फेला, युक्रेनी राष्ट्रपतिसँग अनुचित आग्रह गरेको खुलासा

Advertisement

काठमाडौं ५ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको अनुसन्धानमा उनीविरुद्ध थप प्रमाणहरु जुटेका छन् । उनीविरुद्ध आएका बयानले महाअभियोग लगाउने सम्भावना झनै बलियो बनेको छ । पूर्व उपराष्ट्रपति तथा आगामी वर्ष २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने दौडमा रहेका जोए बिडेनमाथि भ्रष्टाचारका विषयमा छानविन गर्न युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको विषयमा ट्रम्पमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा मंगलबारराति प्रत्यक्ष खुला सुनुवाई गरेको हो ।

टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको सो सुनुवाईका क्रममा ह्वाइट हाउसका कर्णेल एलेकजेन्टर भिन्डमनले राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई गरेको आग्रह अनुचित भएको बयान दिएका छन् । लेफ्टिनेन्ट कर्णेल भिन्डमनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा त्यस्तो बयान दिएका हुन् ।

गत जुलाइ महिनामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको भनाइ थियो । जाँचबुझले राष्ट्रपतिको शक्तिको दुरुपयोग भए वा नभएको अनुसन्धान गरिरहेको छ । संसद्ले आगामी चुनावमा ट्रम्पका आफ्ना डेमोक्रेटिक प्रतिद्वन्द्वी जोए बिडेनविरुद्ध भ्रष्टाचारसम्बन्धी छानबिन गर्न उनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई दबाव दिने उद्देश्यले युक्रेनलाई दिने अमेरिकी सैन्य सहायता रोकेका थिए या थिएनन् भन्ने कुरा स्थापित गर्न खोजिरहेको छ ।

भिन्डमन ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का युक्रेनसम्बन्धी उच्च विज्ञ हुन् । उनले संसद्को गुप्तचरीसम्बन्धी समितिसमक्ष ट्रम्पले युक्रेनी समकक्षीलाई गरेको आग्रहबारे भने, ‘राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धानको माग गर्नु राष्ट्रपतिका निम्ति त्यो असुहाउँदो थियो, अनुपयुक्त थियो ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत् युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका भिन्डमनविरुद्ध तत्कालै ह्वाइट हाउस खनिएको थियो । अमेरिकी करदाताको योगदान रहने ह्वाइट हाउसको आधिकारिक ट्विटर ह्यान्डल सुनुवाइभरी भिन्डमनविरुद्ध आक्रमण गर्न प्रयोग भएको थियो । सुनुवाइकै बेला त्यसलाई चुनौती दिइएका ह्यासट्यागहरू रिट्वीट गरिएका थिए ।

लेफ्टिनेन्ट कर्णेल भिन्डमन २५ जुलाइ, २०१९ मा दुई नेताबीच भएको कुराकानी सुन्ने मध्येका एक वरिष्ठ अमेरिकी अधिकारी हुन् । युक्रेनमा नै जन्मिएका मिन्डमन इराक युद्धमा पु¥याएको योगदानका लागि सम्मान समेत पाएका सैनिक अधिकारी हुन् । उनका बुवाले ४० वर्षअघि सोभियत संघ छाडेर अमेरिका बस्ने निर्णय गरेका थिए ।
राष्ट्रपति ट्रम्पले सुनुवाइमा बयान दिइरहेकी युक्रेनका लागि अमेरिकी पूर्वराजदूत मरिअ योभानोभिचमाथि पनि आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट हमला गरेका थिए ।

ट्रम्पको कदममाथि चलिरहेको अहिलेको प्रक्रियाले उनलाई राष्ट्रपतिको पदबाट मुक्त गर्न समेत सक्छ । जाँचबुझले सन् २०२० मा हुने चुनावमा पुनः निर्वा्चित हुने सम्भावना बढाउन ट्रम्पले अनुचित सहयोगको माग गरेका हुन या होइनन भन्ने स्थापित गर्ने प्रयास गरिरहेको छ ।

यद्यपि ट्रम्पमाथिको अनुसन्धानको प्रक्रिया अझै पनि सुरुवाती चरणमै छ । डेमोक्रेटहरुको पकड रहेको संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा गत साता पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको हो ।

रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका ट्रम्पले आफूले कुनै गलत काम नगरेको भन्दै आरोप अस्वीकार गर्दै आएका छन् । टेलिभिजनबाट प्रत्यक्ष प्रशारित महाअभियोग सुनुवाइ मंगलवार तेस्रो दिन भएको हो । ट्रम्पले महाभियोग सामना गर्नुपर्न सक्ने अवस्था आउँछ या आउँदैन भन्ने कुरा केही सातामा टुंगो लाग्नेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल