सतीप्रथा उन्मूलनका प्रेरक बालागुरु षडानन्द

Advertisement

– पूर्णप्रसाद मिश्र काठमाडौँ, २ मङ्सिर

नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले विसं १९४० मा सती जान बाध्य पारिएका दुई महिलालाई मृत्युको मुखबाट बचाएर समाज सुधार आरम्भ गर्नुभयो ।

भोजपुर वितलवका ७० वर्षीय हरिलाल लम्सालको निधन हुँदा समवयी जेठी श्रीमती र १८ वर्षीय कान्छी श्रीमतीलाई सतीका रूपमा पठाउन बेग्लाबेग्लै डोलीमा राखिएको थियो । स्थानीयवासी नन्दीकेश्वर अधिकारीबाट यसको जानकारी पाएपछि षडानन्द लम्सालको घरतर्फ लाग्नुभयो ।

बाटो लागिसकेको शवयात्रालाई रोकी मलामीलाई दुवै महिलालाई सती पठाउन नहुने भनी उहाँले सम्झाएपछि दुई जनाको जीवन बचेको षडानन्दका विषयमा अध्ययन अनुसन्धानमा लाग्नुभएका प्रा डा गोविन्दमानसिंह कार्की बताउनुहुन्छ । षडानन्दले आफ्नी आमा रुक्मिणीको निधन भई अरुण नदीको सतीघाटमा अन्तिम संस्कारका लागि गएका बेला अरुणपारि मृतक पतिसँगै पत्नीलाई जलाएको घटना सुन्नुभएको थियो । त्यहीबेलादेखि उहाँ यो अमानवीय प्रथाको अन्त्यका लागि दृढसङ्कल्पित हुनुभएको थियो ।

सुदूर पूर्व भोजपुरको दिङ्लाबाट बालागुरु षडानन्दले शुरु गर्नुभएको अभियानले विसं १९७७ मा साकार रूप लियो । तत्कालीन श्री ३ राणा प्रधानमन्त्री चन्द्रशम्शेरले सतीप्रथा उन्मूलनको घोषणा गर्नुभयो । शिक्षासेवामा महत्वपूर्ण योगदान गर्नुभएका षडानन्दले सतीप्रथा उन्मूलनका लागि राणा सरकारलाई उत्प्रेरित गर्नुभएको थियो ।

विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरी सबै जातजातिका मानिसले पढ्न पाउने व्यवस्था मिलाउनुभएको थियो । राजधानी शहरमा समेत राणा र उच्चवर्गीय परिवारले मात्र पढ्न पाउने त्यो बेलामा जनताको समेत सहयोग लिएर पठनपाठनको व्यवस्था मिलाइएको थियो ।

त्यसबेला आममानिसले दैनिक उपभोग गर्ने अत्यावश्यक चिजबिजको सहज आपूर्ति थिएन । किसानले उत्पादन गरेका अनाज बिक्री गर्ने व्यवस्था नहुँदा मानिस कष्ट भोग्न बाध्य थिए । षडानन्दले दिङ्ला भञ्ज्याङमा प्रत्येक शनिबार हाटबजार लाग्ने व्यवस्था मिलाउनुभयो । यसले भोजपुर र सङ्खुवासभाका धेरै जनतालाई दैनिक जीवन उपार्जनमा सहजता मिलेको थियो ।

त्यसैबेलादेखि दिङ्लामा स्थापना भएका शिवालय एवं राम, सीताका मन्दिरमा बाला चतुर्दशी र रामनवमी पर्वको मेला शुरु भयो । मेलामा पनि बजार लाग्ने व्यवस्था मिलाएपछि त्यस क्षेत्रका मानिसको जीवनयापनमा सजिलो भयो ।

षडानन्दले बगँैचा स्थापना गरेर धेरै प्रकारका बिरुवा लगाउनुभयो । त्यस क्षेत्रका वनजङ्गलमा प्रशस्त हुने रुद्राक्षलाई उहाँले व्यावसायिक खेती गर्न जनतालाई प्रेरित गर्नुभयो । यो खेती हाल भोजपुर, सङ्खुवासभा र धनकुटाका विभिन्न स्थानमा भइरहेको छ र यसले अर्थोपार्जनमा सहयोग गरेको छ । डेढ सय वर्षअघि देखि वन संरक्षण शुरु गरेकैले यस क्षेत्रको पर्यावरण सुधारमा योगदान गरेको दिङ्ला पुख्र्यौली थलो भएका दयाकृष्ण न्यौपाने बताउनुहुन्छ ।

षडानन्दले विसं १९४० मै जगेडा वनको अवधारणा ल्याउनुभएको थियो । उहाँको सोचअनुसार स्थापना भएको वनलाई हाल विकासका नाममा वन विनाश गर्न थालेको राजधानीमा बस्दै आएका भोजपुरवासीको गुनासो छ । नेपालमै पहिलोपटक सामुदायिक वनको सोच अघि सार्नुभएका षडानन्दको यो पाटो ओझेलमा परेको इन्द्रमणि सुवेदी बताउनुहुन्छ ।

अष्ट्रेलियाली वन परियोजनाले पञ्चायतकालमा सिन्धुपाल्चोकको ठोकर्पामा शुरु गरेको अभियानलाई पहिलो सामुदायिक वनको शुरुआत भनिएकामा उहाँको आपत्ति छ । वनलाई समुदायको हितमा उपयोग गर्ने षडानन्दको योगदान बिर्सन नहुने सुवेदीको माग छ ।

रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष मनोजकुमार चापागाईं षडानन्दको कालदेखि नै भोजपुर र यस वरपरका जिल्लामा शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा भएको विकासले पूर्वी क्षेत्रको अर्थतन्त्र धानिएको बताउनुहुन्छ ।

बालागुरु षडानन्दले शिक्षा र समाज सुधारका धेरै क्षेत्रमा पु¥याउनुभएको योगदानको अध्ययन गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानले अध्ययन कक्षको स्थापना गर्ने प्रतिबद्धता कुलपति गङ्गाप्रसाद उप्रेतीले व्यक्त गर्नुभयो ।

प्रतिष्ठान र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको संयुक्त आयोजनामा आइतबार राजधानीमा भएको ‘राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयक गोष्ठीमा उहाँले विद्वानको समूह बनाई प्रज्ञा मातहतमै अध्ययन अनुसन्धान गराइने जानकारी दिनुभयो ।

प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले षडानन्दले राणाकालमै पूर्वी नेपालमा बालेको अध्यात्मको ज्योति निभेकाले त्यसलाई पुनर्जीवित गर्न पनि थप अध्ययन–अनुसन्धानको आवश्यकता रहेको औँल्याउनुभयो । मन्त्रमा विज्ञानलाई ‘फेल’ गराउने ज्ञान भएकाले दिङ्लाको अध्यात्मको ज्योति फेरि जगाउनुपर्ने उहाँको भनाइ थियो ।

षडानन्दले विसं १९४० मा बहुआयामिक उद्देश्य समेटेको सीताराम गुठी स्थापना गर्नुभयो । गुठीअन्तर्गत विद्यालय, मन्दिर, भौतिक संरचना, धार्मिक सांस्कृतिक कामको उन्नयन एवं व्यवस्थापनका साथै ऋण प्रदान सेवा पनि समेटिएको उहाँका विषयमा अन्वेषण गरिरहनुभएका यादव चापागाईं बताउनुहुन्छ ।

गुठीमा तीन हजार २१७ रोपनी जग्गा राखिए पनि हाल त्यो मासिएर करिब ९०० रोपनीमा सीमित भएको छ । राजनीतिक दाउपेचले सामाजिक हितमा उपयोग हुँदै आएको गुठी जग्गा संरक्षण हुन नसकेको स्थानीयवासी परशुराम कट्टेल बताउनुहुन्छ ।

मासिएको गुठी जग्गाको खोजीमा स्थानीय सरकार लागिपरेको षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले सुनाउनुभयो । पुरातात्विक महत्वका सिँढी, राम, सीता र हनुमानका नाममा स्थापना भएका कुण्ड पनि पुनर्निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । गुठी व्यवस्थापनका लागि नगरपालिकामा गुठी शाखा नै स्थापना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

गुठीको अध्यक्ष रहनुभएका दिङ्लावासी कृष्णप्रसाद पौडेल जग्गासमेत भएकाले षडानन्दको योगदानको कदरका लागि विश्वविद्यालय स्थापना गर्न ढिलाइ गर्न नहुने माग गर्नुहुन्छ । तीनै तहका सरकारको सक्रियतामा कृषि वा अन्य नामका विश्वविद्यालय बनाउन सकिने दिङ्लावासीको माग छ ।

षडानन्द र योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने षडानन्द प्रतिष्ठानका सदस्यसचिव लालनाथ सुवेदीले बताउनुभयो । समाजसुधारका क्षेत्रमा योगदान गर्नुभएका दुवैको योगदानको कदर गर्दै विभूति घोषणामा ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । रासस

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल