भारतसँग एउटै एजेन्डा-सीमा नियमन तत्कालै

Advertisement

-हरिविनोद अधिकारी-

नेपालको सीमा भारतले मिच्ने कुरा धेरै पहिलेदेखि नै हो । यसपटक कास्मिर र लद्दाखका वारेमा भारत सरकारले गरेको नयाँ निर्णयलाई स्पष्ट पार्नका लागि भनेर भारतको नयाँ नक्शा तयार गर्दा नेपालको कालापानी क्षेत्रलाई भारतमा देखाएर ल्याए पछि विवाद दुई देशको सीमा नाघेर बाहिर पनि पुगेको छ । सुगौलीको सन्धी गर्दा नै नेपाललाई ठगिएको थियो ।

नेपालको ठूलो भू-भाग तत्कालीन भारतका शासक अंग्रेजले भारतमा मिसाएका थिए । भारत स्वतन्त्र भयो तर नेपाललाई जहानियाँ शासन चलाउने राणाको पञ्जाबाट स्वतन्त्रता दिलाउनका लागि र प्रजातन्त्र प्राप्तिका लागि एकातिर राणाहरुले १९५०मा भारतसँग तल परेर सम्झौता गरे अनि राणाको पतन पछि पनि हामीले त्यही सुगौली सन्धी, त्यही १९५०को नेपाल भारत मैत्री सन्धीलाई मानेर बस्नु परेको अवस्था अझै विद्यमान छ ।

नेपालको सीमा कति ठाउँमा मिचिएको छ भनेर बनेको समितिले खासै काम गरेको छैन । अहिले जुन समस्या आएको छ कालापानी क्षेत्रलाई भारतले आफ्नो सीमाभित्र समेटेको, त्यसका लागि नेपालमा एक अभूतपूर्व एकता देखिएको छ जसले भारतलाई आफ्नो गल्ती सच्च्याउन लगाउने छ ।
अहिले धेरै मोर्चाले भारतलाई सच्चिन लगाउने अवसर दिने सम्भावना बढेको छ । भारत र चीनका बीचमा भएको सम्झौताले पनि केही गल्ती जुन गरेको थियो, त्यो पनि अब सच्चिनु जरुरी छ ।

चीनले सीमाका वारेमा कुनै विवाद हुन दिएको छैन जवकि चीन तिर पनि करिब १५०० किलो मिटरको खुला सीमाना छ । चीनले बीपी कोइरालासँगको भद्र सहमतिमा सगरमाथामा देखिएको विवादसम्मको सहज हल निकालेर आफ्नो असल छिमेकीको उदाहरण प्रस्तुत गरेको थियो । अहिले पनि समस्यारहित छिमेकीको रुपमा चीन जहिले पनि नेपालको पक्षमा छ । यो मामिलामा पनि चीनले स्पष्ट भाषामा नेपा र भारतका बीचमा आपसी सहमतिले समस्या समाधान गर्नका लागि आह्वान समेत गरिसकेको छ ।

महाकाली नदीको मुहानका वारेमा विवाद गर्ने कुनै आवश्यकता नै छैन । त्यसै पनि कुमाउँ गढवाल हाम्रै थियो , सुगौली सन्धीले महाकालीको पानी डोरोलाई सीमा मानेपछि पनि फेरि किन विवाद गर्ने हो भनेर भारतसँग आँखामा आँखा जुधाएर हाम्रा प्रतिनिधिहरुले किन कुरा राख्न नसकेको होलान् ?
चार वर्ष अघिमात्र नेपालको संविधान बन्दा भारतले अर्घेल्याईँ गर्दै गरेको नाकाबन्दीले नेपालीहरुमा भारतप्रति सकारात्मक भाव आउन सकेकै छैन । झन अहिले परम्परागत सीमाभन्दा पूर्व पनि आफ्नै देखाएर नक्शा छापेर विश्वमा बाँडे पछि नेपालले अब खुलेरै भारतसँग आफ्ना कुरा राख्नै पर्छ ।

कूटनीति भनेको वार्ताको गोप्य माध्यम हो । बाहिर एकथोक भन्ने अनि भित्र अर्कै कुरा भन्ने उपाय पनि हो । कोही रिसाउँछ कि भनेर डराई डराई कुरा चपाएर गर्ने तरिकापनि कूटनीति हो । बाहिर जनताका लागि चर्चित कुरा गर्ने अनि भित्र आफ्नो दुनो सोझ्याउने पनि कूटनीतिको विेशेषता हो । तर जब सीमा नै मिचेर नक्शामा नै राखेपछि त्यहाँ कूटनीतिक माध्यममा भन्दा स्पष्ट एजेन्डा खुलारुपमा राखेर निर्णायक वार्ता जरुरत छ । हाम्रो यहीमात्र एजेन्डा हुन्छ , नभए कुनै सहमति हुनै सक्दैन । नेपाली भूभाग जानाजान भारतको नक्शामा परेको छ, भारत जानाजान निकालेको नक्शा हो पनि भन्छ र वार्ता गर्ने कुरामा पनि आउँछ ।

अवको वार्ता भनेको पहिले नक्शाबाट कालापानी हटाएको अर्को नक्शा निकाल, कालापानीबाट भारतीय सेनाको क्याम्प हटाऊ । आधारभूत आवश्यकताका लागि कहिलेसम्म केके गर्ने हो , भारत र चीनका लागि नेपाली सेनाले नै सहयोग गर्ने छ भनेर स्पष्ट भन्न सक्नुपर्छ ।

सीमा मिचिएको छ, भारतीय सीमाबलको ज्यादती दिनैपिच्छे समाचारमा आउँछ तर हामी चुपचाप छौँ । कुनै पनि सरकारका लागि यो लाजमर्नु कुरा हो । यहाँ नेपालको प्रश्न छ , यहाँ नेपाली राष्ट्रियताको कुरा छ र आफ्नो धारणा निर्णायकरुपमा प्रस्तुत गर्ने बेला आएको छ ।

हामीले भारतको विरुद्धमा सडकमा नारा लाएरभन्दा पनि ठोस प्रस्ताव लिएर छिटोभन्दा छिटो सीमा नियमन गर्नु परेको छ । यसमा पक्कै नै सरकारको भूमिका नै प्रमुख हुन्छ । नेपालीहरुले भारतको सीमा जोगाउनका लागि गरेको बलिदानको हामीले कुनै व्याज पनि खोजेको होइन, आफ्नो भूमिको अधिकार खोज्ने हो । यसमा नेपाली जनतामात्र होइन, विश्वका नेपालीहरु र नेपालका शुभचिन्तकहरु सबैको सहयोग र सदिच्छा पक्कै पाइन्छ ।

अहिले जुन वातावरण नेपालमा छ र चीनले पनि जुन प्रकारले नेपाली सीमाका वारेमा बोलेको छ, त्यसले समय फलाम रातो भएको बेला छ । यही बेलामा नै सबैकुराको समाधान एकै प्याकेजमा गर्नु जरुरी छ । कसैले कसैलाई दोषारोपण गर्नेभन्दा नेपालको हितमा सबैको स्पष्ट अडानको जरुरत छ जुन अहिले देखिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल