सोध्नु छ, आज त सोध्नु छ, तिमीसँग !

Advertisement


                         रीता अधिकारी,  “ऋतु”
                                          पोखरा

सोध्नु छ ,
आज त सोध्नु छ ,
तिमीसँग
* * *


छन् ,
तिमीजस्तै तिम्रा केही साथीहरू छन्
जो , हिमालसित अलिकति रङ माग्छन्
अलिकति रङ गुराँससँग माग्छन्
फूलको मुस्कान,
बतासको कोमलता,
आकासको फैलावट,
बादलुको उचाइ र सागरको गहिराई पैँचो मागेर
छामेर तमाम सुन्दर दृश्यहरू
प्रकृतिको चित्र चोर्छन् क्यानभासमा
अनि ,
निर्धक्क आफ्नो नाम दिन्छन् ।
* * *
चराको चिरबिर,
झरनाको छङछङ,
नदीको कलकल,
र , जीवनका केही लय गुन्गुनाउँछन्
अनि, निसंकोच आफ्नै नाम दिन्छन् ।
* * *

टिपेर केही अजम्बरी अक्षरहरू कागजमा
कहीं जब छापिन्छ एकाध कुरा
हतार हुन्छ नाम दिन
मानौं ,
नाम छुट्दैमा सर्वस्व छुट्छ ।
* * *
यता यौटा म छु
जो, नौ – नौ महिना गर्भमा राखेर
सहेर प्रसव जिन्दगीको
जन्माए -हुर्काएका, हृदयका सिर्जनाहरूलाई
खन्याएर मातृवात्सल्य
रित्याएर आफूलाई
तिम्रो नाम दिइरहेछु
तिम्रै थर दिइराहेछु
तिम्रै गोत्र दिइरहेछु ।

* * *



उनीहरु तिम्रै नामले हुर्किरहेछन्
हर निस्साहरूमा तिमी छौ
मानौं कि, तिनीहरू तिम्रा एकल सिर्जनाहरू हुन् ।
* * *
ललाटको बिचमा रातो -बाटुलो टीका
जो हरदम लगाइरहन्छु म
चुरा, पोते, सिन्दूर अनि शृंगार
जो बोकिहिंडिरहेछु हरदम
सबैमा तिम्रै नाम छ
छ, तिम्रै पहिचान छ
मेरो हत्केलाको मेहन्दी
गलाको मंगलसूत्र
औंलाको औंठी
नाकको नथिया
पाउको पाउजूदेखि
शिरको श्रीफूलसम्म
सबैमा तिमी छौ
मेरा पहिचानका हर कागजातहरू
तिम्रै नामबाट शुरु हुन्छन्
जप-धर्म, ब्रत या पूजा-पाठ
तिमीमै समाहित हुन्छ
यहाँसम्म कि , मैले पाउने आशिर्वादमा
म, तिमीलाई नै पाउँछु ।
* * *
बाबाले बर्षौअघि
मेरो थर , गोत्र मेटेर
जब सुम्पे तिमीलाई
हो त्यही दिनदेखि
तिम्रै आकास ओडिरहेछु म
भन्न त तिमी पनि आफ्नो सर्वस्व मैंलाई भन्ठान्छौ
ओ, मलाई आफ्नै ठान्ने मेरो मान्छे
मेरो नाम र पहिचानको परिधान
तिमीसँग चाहिं के छ हँ ?

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल