नेपाली जनताको प्रेम कहिल्यै डगमगाउँदैन: गोविन्दा

Advertisement

बलिउड सुपरस्टार गोविन्दा बाक्लै नेपाल आउने गरेका छन् । उनकी श्रीमती सुनिता अहुजा नेपाली मुलकी हुन् । उनको जन्म काठमाडौंको साखुँमा भएको थियो । श्रीमती नेपाली भएका कारण गोविन्दा नेपाललाई आफ्नो ससुराली देश बताउने गर्दछन् । उनी कामको शिलशिलामा थुप्रै पटक नेपाल आइसकेका छन् । नेपाली भाषा राम्रोसँग बुझ्ने उनले पशुपतिनाथको दर्शन गर्न आफू पटक-पटक नेपाल आउने गरेको बताउँछन् ।

गत वर्ष राजधानीमा भएको ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन उनी छोरीसहित नेपाल आएका थिए । अभिनेता गोविन्दा मंगलबार फेरि नेपाल ओर्लिएका छन्, श्रीमती सुनितासँग । उनी विरगञ्जमा कात्तिक २१ गतेबाट सुरु हुन लागेको ‘स्वर्णिम चलचित्र महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् । भोली बिहान उनी विरगञ्ज पुग्ने कार्यक्रम छ । त्यहाँ उनले आफ्नो प्रस्तुती पनि दिने बताइएको छ । उनले नेपालको केही पर्यटकिय स्थलको भ्रमण पनि गर्दैछन् ।

मंगलबार दिउँसो तीन बजे त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपाली जनताले दिएको मायाप्रति आफू आभारी रहेको बताए । ‘तपाईंहरुबाट मैले धेरै माया, प्रेम, स्नेह र सम्मान पाएको छु । यो सधैं रहन्छ भन्नेमा विश्वस्त छु । यहाँको मलाई सबैभन्दा मनपर्ने भनेको प्रेम हो, जुन कहिल्यै डगमगाउँदैन’, उनले भने । गोविन्दाले आफूलाई गुन्द्रुकको झोल र भात खान एकदमै मन लागेको बताए ।

नेपाली चलचित्रमा अभिनय गर्न निकै मन लागेको बताउने उनलाई पत्रकारले एउटा जिज्ञासा राखे( ‘नेपाली चलचित्र हेर्नुभएको छ रु’ नेपालीबाट पत्रकारले सोधेको प्रश्नको श्रीमती सुनिताले अंग्रेजीमा उल्था गरेपछि गोविन्दाले हिन्दी भाषामा भने( ‘हेरेको छु । तर, पूरै हेरेको छैन । म मेरै चलचित्र त पूरै हेर्दिनँ ।’ उनले विरगञ्जमा हुने महोत्सवमा आफ्नो माग भएको खण्डमा नृत्य प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरे । तर, तयारी गरेर भने नआएको उनको भनाई छ ।

मंगलबार अभिनेता गोविन्दासँगै महोत्सवमा सहभागी हुन भारतको मुम्बईमा बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह पनि नेपाल ओर्लिएकी छन् । आफू बाल्यकालदेखि नै गोविन्दाको ठूलो फ्यान रहेको बताउँदै उनले पहिलो पटक भेट हुँदा अत्यन्त खुसी महशुस भएको बताइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने ‘स्वर्गिम चलचित्र महोत्सव’ कात्तिक २१ गतेदेखि २३ गतेसम्म चल्दैछ । यसको आयोजक चलचित्र निर्माता संघ हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल