जनजागरण र नेपाली साहित्य विषयमा बहस

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा जनजागरण र नेपाली साहित्य विषयमा बहस भएको छ । नरहरि आचार्यले नेपालमा भएका हरेक परिवर्तनका निम्ति जागृत गराउने र टेवादिने काम साहित्यकोे गहिरो किसिमबाट प्रभाव छ ।

आधुनिक नेपालको परिवर्तन र जागरणको विन्दु २००७ साल कै घटना थियो । यसले राजनीतिक, सामाजिक र केही मात्रामा आर्र्थिक परिवर्तन यही बिन्दुबाट भयो । तर त्यो राम्रोसँग अगाडि बढ्न सकेन भन्ने भनाइ पनि छ । परिवर्तन एकैचोटी हुँदैन, एकपटक मात्रै पनि हुँदैन । परिवर्तनलाई दिगो बनाउन निरन्तरताको जागरणले साथ दिन्छ । परिवर्तन गर्नका लागि मानिस निरन्तर जागृत हुनुपर्दछ । त्यसैले आजको विषय हामीले साहित्य बनाएका छौं । भोलि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पनि हो ।

यस हिसावले पनि आजको यो विषयमा छलफल गरौं भन्ने लाग्यो । देवकोटा महाकवी भए तरपनि महाकवी हुँदा हुदैपनि उनी राजनीतिज्ञ पनि हुन् । उनको सारैनै ठूलो व्यक्तित्व भएको हुनाले कसैले उनलाई राजनीतिज्ञ भनेनन् । त्यत्तिका मान्छे अरुभए राजनीतिज्ञ भन्दै हिड्थे, उनी यसरी हिड्दा पनि हिडेनन् । तर उनले २००४ सालदेखिनै युगवाणीको सम्पादन गरेर क्रान्तिको विगुल फुकेका हुन् । देवकोटा जयन्तीको पनि भएकोले यो विषय छलफल गरौं । नेपाली कांग्रेसले चलाएको जागरण पृष्ठभूमिमा हो । विश्वमा चलेका जागरण र नेपालमा भएका जागरणलाई हामीले कसरी हेर्छौं । साहित्यले समाजको अग्रगामी विचारलाई बोक्ने गर्दछ ।

वरिष्ठ साहित्यकार डा.ध्रुवचन्द्र गौतमले नरहरि आचार्य पार्टी पनि साहित्यकार पनि हुनु भएकोले यो विषय पार्टीको जस्तो पनि भएको होला । जागरण ठूलो कुरा हो आफैमा हुनुपनि प¥यो । साहित्यमा हामी राजनीति होस्, मानवीय धारणा होस्, सामाजिक धारणा होस् सबै मूल्यको रुपमा खोज्छौं । मुद्रा र मूल्यको अन्तर जुनछ, साहित्यिक धारणा र अरु बाहिरी भाषण, प्रचारमा फरक पर्छ । मूल्य भएको विचार दर्शन साहित्यमा खोजिने कुरा यिनै हुन् । साहित्य र जागरणलाई जोड्ने हो भने हामी बाहिर गएर यस विषयमा भाषण पनि दिन सक्छौं ।

आजभन्दा अगाडि जागरण अभियान भनेको राजनीतिक जागरण अभियान मात्र ठानेको थिए । आजबाट साहित्यमा पनि जागरण जोडिन पुगेको मलाई थाहा भएको छ । सही साहित्य सधै चेतना र जागरणकै पक्षमा हुन्छ । चेतनाको विस्तार गर्छ साहित्यले । अहिले चलेको जागरणमा लेखक साहित्यकारहरुले समावेश गराउने अभियान लिनुपर्दछ । देवकोटा स्वयंमले अन्तस्करणले लियौं … भन्ने यो नै लिए पनि हामीलाई पुग्छ । हामीलाई कांग्रेस लेखक भन्छन् तर हामी पार्टी लेखक भएर बसेको होइन । जुन स्वतन्त्रताको अवधारणा छ, त्यसको मूल्य छ, हाम्रो लेखन र कांग्रेस पार्टीको नीति सायद मिल्छ । साहित्य सधै जागृति सित सम्बद्ध हुन्छ ।

डा.जयराज आचार्यले हाम्रो समालोचकीय स्तर गिरेर गएको छ । त्यसकारणले पनि मूल्यवान साहित्य पन्छिने र क्षणीक नारा अगाडि आउने वातावरण बनेको जस्तो लाग्छ । व्यङ्गात्मक रुपले प्रा.दुर्गाप्रसाद भण्डारीले लेख्नु भएको छ – यि कम्युनिष्टहरुको दृष्टिमा युद्धप्रसाद मिश्र रविन्द्रनाथ टेगोर भन्दा पनि माथि छ । यो भन्दा ठूलो व्यङ्ग के हुन सक्छ ! साझा प्रकाशनको पुस्तक विक्रिको रेकर्डमा देवकोटा र वीपीका पुस्तक सबैभन्दा धेरै हुन्छन् । त्यसैले शाश्वत साहित्य के हो ? मूल्यवान साहित्य के हो ? यसले पनि थाहा हुन्छ । मदन पुरस्कार कथा–कुथुङ्ग्री भन्दा बाहिर निस्कन नसकेको लाग्छ । कहिलेकाही केही अपवात बाहेक गएको छैैन । समग्र वाङ्मय भनेको कथा, उपन्यास, कविता मात्र होइन, यो भन्दा बाहिर पनि छन् ।

मम्मटको काव्यप्रकाशनको समालोचनाको सिद्धान्तको पहिलो श्लोक “काव्यम् यसशे अर्थकृते व्यवहारविधे शिवेत रक्षत सत्य परनिव्रतये कान्ताय हितोपदेश” समालोचनाका आधार यि हुन् । समालोचनाका सिद्धान्त नभएकाले पनि पुरस्कार पाएको अवस्था छ । हामी केलाई साहित्य भनिराखेका छौं ?


भोलि लक्ष्मीप्रसाद देवकोटाको जन्म दिवस हो । देवकोटाको छोरा पद्म उहाँ अहिले अमेरिकामा नै हुनुहुन्छ । उहाँ लक्ष्मी जन्म जयन्तीमा कतै जानु हुन्न । उहाँ स्वयम अंग्रेजी साहित्यको प्रोफेसर पनि हो । वीपी कोइराला प्रधानमन्त्री भएको बेलामा लक्ष्मीप्रसाद देवकोटाको देहावसान भयो । वीपीले उहाँको छोराछोरीको पढाइको अवस्था के छ भनेर सोध्नु भयो, केही पनि छैन भने पछि देवकोटाको छोराछोरीको पढाई सरकारले बेहोर्ने सेन्टजेभियर्समा पढाउने भनेर क्याविनेटबाट पारित गरिदिनु भयो र उहाँ पढ्नु भयो । २०३६ सालमा वीपीले देवकोटाका बारेमा बोल्नु भएको छ । म आफुलाई बडो माक्र्सवादी भन्ने ठानीकन देवकोटाजीलाई मैले प्रश्न गरेको थिए तपाईको यो साहित्यले हाम्रो समाजलाई कुन दिशा दिन खोजिरहेछ ? तपाई कतातिर लादै हुनुहुन्छ हामो समाजलाई आफ्नो साहित्य मार्फत ? भन्दा देवकोटाजी आश्चर्यचकीत हुनुभयो । यो के प्रश्न सोधेको ? साहित्यले एउटा निश्चित समाजलाई पशुलाई डोरीले समाएर डो¥याए जस्तो डो¥याउदैनतः । मेरो साहित्य मार्फत समाजको चेतनाको चारै ढोका खोल्ने प्रयास गरिराखेको छु भन्नु भयो ।

मलाई नयाँ कुरा थाहा पाए जस्तो लाग्यो । मुनामदनलाई जागरणको दृष्टिले, क्रान्तिकारीको दृष्टिले कस्तो कृति भन्ने ? त्यो क्रान्तिकारी कृति हो । जुनसमयमा जुद्ध शंशेरको प्रसंसा नगरी लेख्न सकिदैनथ्यो । त्यस समयमा झुपडीमा बस्ने एक गरिवको कहाँनी लेखेर मुनामदन आयो । त्यो प्रचलित साहित्यको विपरित गएको क्रान्तिकारी कृति हो । अहिलेका समालोचकहरुले गहिरिएर समालोचना गर्नुपर्ने विषय के हो भने विगत ५०÷६० वर्षको विचमा शाश्वत कृति कति निस्के र ति मूल्यवान भए । समालोचनामा यदुनाथ खनालको गहिराई र विनम्रता अहिले खोइ ? लेखनाथको बुद्धिबिनोद मेरो समालोचना २००३ सालमा छापियो । त्यसमा यदुनाथले आलोचना गर्नु भएको छ । “उही छ माथि तलको नभस्थल तथापी बृन्तच्युतका फल । नजानु माथि कहिल्यै पनि किन तलाई मालुम छ कियो मन” यो न्यूटनले गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरेको ३०० वर्ष पछि आएर यस्तो प्रश्न गर्नु के भनेर त्योे कितावमा मैले आलोचना गरेको छु । तर उहाँले ९० वर्षको उमेरमा आएर भन्नु भयो मैले बुझेको रहेनछु । जीवनका प्रत्येक क्षणका बारेमा पनि कविता हुनसक्छन् । तिनमा प्र्रश्न पनि हुनसक्छन् । समालोचना गर्ने हाम्रो गहिराई पुगेको छैन ।

डा.ब्रतराज आचार्यले लक्ष्मीप्रसाद देवकोटाप्रति श्रद्धाञ्जली । आजको विषय नेपाली साहित्य र जनजागरण यो दुई विषयको तालमेल अस्थायी किसिमको छ । जनजागरण तत्कालकालागि कार्यमूलक परिभाषा र शाश्वत रुपमा दिने प्रभावका रुपमा बुझ्नु पर्ने हुन्छ । यथास्थीति वादको विरोध लोकतन्त्रवादीले गरे प्रगतिशील हुँदैन र तल्लो स्तरको साहित्य पनि प्रगतिशीलले भने परिवर्तनकारी हुन्छ भन्ने कम्युनिष्टहरुको अवस्थाले हामी धेरै कुरा गुमाउदै गुमाउदै आएका छौं । कांग्रेस हुनु र प्रजातन्त्रवादी हुनु एउटै हो भन्ने पहिलेको कुरा अहिले छैन । हामीले साहित्यलाई जनजागरणको रुपमा पार्टीले प्रयोग गर्नु पार्टीका लागि हित होला । तर समग्र जागरण जनतामा ल्याउने रुपान्तरणको कामलाई नै जागरण मान्नु पर्ने हुन्छ ।

देवकोटाले पनि २००४ सम्म आइपुग्दा मानवतावादलाई नै लिएर जागरण गरेका छन् । एक अर्काको प्रताडना मानवतावादले बोक्न सक्दैन । २००४ साल अघि राजनीतिलाई साहित्यले सहयोग पु¥याउन सकेको त्यति देखिदैन । देवकोटा यहाँको उकुसमुकुसबाट बनारस पुगेपछि यहाँको परिवर्तनमा लागेका हुन् । अहिले पछिल्लो समय मूल्याङ्गन पद्धति हाम्रोे हातमा परेको छ । जागरणको साहित्यिक अभियान २०३६ बाट २०६२÷६३मा देखिएको हो । माक्सवादी साहित्य अहिलेको मूल हो भन्ने गरिन्छ । यसमा हामी उभिएर यो होइन भन्न सक्नु पर्छ । शाश्वत साहित्य अन्य बाहिर पारिएको अवस्था छ । यो अत्यन्तै खराव अवस्था हो । चाइना, उत्तरकोरीयाको भ्रमणले लेखिएका साहित्यले हामीलाई दिने के हो ? त्यसैले यस्ता बहसहरु लेखक संघले गर्न जरुरी छ । स्वतन्त्र साहित्यको मूल्य निर्धारण हुन अत्यन्तै आवश्यक भएको छ । हामीले गर्ने शाश्वत साहित्यको मूल्याङ्गन नै हो ।

डा. हेमचन्द्र नेपालले नरहरि दाइले यतिलामो समयदेखि काम सुरु गर्नु भएको रहेछ खुसी लाग्यो । युरोपेलीहरुको साम्राज्यवादी नीति, युरोपेली पोपहरुको अराजकतावादी धर्म नीतिका बिरुद्ध त्यहाँ पनि धेरैनै जागरणका कार्यक्रमहरु भए । नेपालका सन्दर्भमा पनि यो जनजागरण कम्युनिष्टहरुको अधिनायकवाद विरुद्ध उठेको हो । धरणीधर कोइरालाको जागरण गीत “जागजाग अबजाग लाग उन्नतिविसे अब लाग । घोर निद अब त्याग भो अति सुत्यौ अब जाग” नेपाली कांग्रेस ज्यादै सुत्यो यो जाग्नु पर्छ भन्ने कुरालाई लगेर जोड्ने हो भने हुन्छ ।

नेपाली कांग्रेसको तेस्रो जनजागरणमा गीत, टुक्काहरुलाई जोडन जरुरी छ । देवकोटालाई कम्युनिष्टहरुले आफुतिर तान्नखोजे पनि उहाँ राष्टवादी हुनुहुन्थ्यो त्यसैले उनीहरुको नजिक हुनसक्ने कुरा भएन । देवकोटाको के नेपाल सानो छ भन्ने लेखले प्रतिबिम्बित गर्छ । अहिले कम्युनिष्टहरु आफुलाई राष्ट्रिय पहरेदार हौं भन्दैछन् । कम्युनिष्टहरुले नेपालको राष्ट्रिय झण्डालाई दुरुपयोग गरिरहेका छन् । कांग्रेसको जागरण जनतासम्म पुग्न सकेको छैन । स्वतन्त्रताको दुरुपयोग हुँदै अनुशासन हिन र उश्रृङ्खलता बढेको छ । नेपाली कांग्रेसको समग्र इतिहासमा पनि २००७ सालमा सहयोग पु¥याउने साहित्यकारहरुको उल्लेख पर्न सकेको छैन । कांग्रेसको जागरणमा साहित्यलाई जोड्न सकिएन भने इतिहासमा झाराटार्ने काम मात्र हुन्छ ।

साहित्यकार बियोगी बुढाथोकीले लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन साहित्यिक कार्यक्रम कविता वाचन कार्यक्रम शिवपुरी सन्देशले गर्दै आएको छ । हामी साहित्यकारहरुले पनि आफै जागरण कार्यक्रमहरु चलाउदै आएका छौं । हाम्रो मुक्तक लोकतन्त्रको पक्षपाती हुन्छन् । कम्युनिष्टहरु हाम्रो सृजनाको बिरोधी हुन्छन् । यो स्वभाविक पनि हो । साहित्यिक विचार मन्थन धेरै आवश्यक छ । साहित्यमा पनि जागरण कार्यक्रम आवश्यक छ । गिरिजाबाबुले पनि साहित्यकारहरुले केही काम गर्नुहोस् भन्नु हुन्थ्यो । अहिले कांग्रेसको अवस्था दयनीय छ, तर त्यसो भन्ने नेता र नेतृत्व अहिले छैन । त्यसपछिको नेतृत्वले साहित्यकारलाई कतै खोजेको भेटिदैन । नेतृत्व पढ्ने, लेख्ने हुन आवश्यक छ । समाज रुपान्तरणमा साहित्यको ठूलो भूमिका हुन्छ । अहिले पार्टीले चलाएको दुई पटकको जागरणले केही भएको छैन । पार्टीमा गर्नुपर्ने काम गरिएको छैन ।

डा.रत्नमणी नेपालले आदरणीय नरहरि दाइले आज जागरण र नेपाली साहित्य विषयमा परिचर्चा कार्यक्रम यहाँ भएको छ । देवकोटा जन्मोत्सवलाई पनि जोड्नु भएकोे छ मलाई यो बडो सान्दर्भीक लागेको छ । २००७ सालपछिको आधुनिकिकरणलाई जनजारण मानिन्छ । युरोपको इतिहास हेर्दा पनि रिनासा, पुर्नजारण भनेको पनि जागरण नै हो । कानुनी संस्थाहरु समाजमा बन्दछन् यो नैै जागरण हो । क्रान्तिमा साहित्यले कति योगदान पुर्याएको छ भन्ने बारेमा आजको विषयले छलफल मागेको छ । २००४ सालमा नेपाली साहित्य परिषदको स्थापना भएको छ, जहाँ वीपी, देवकोट, सम हुनुहुन्छ ।

२००८ सालमा लेखक संघको स्थापना भएको छ । २००९ सालमा प्रगतिशील लेखक संगठनको स्थापना भएको छ । शारदाको प्रकाशनले त्यो समयको जागरणकालागि महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ । सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, केदारमान व्यथित आदिका कविता त्यो समयको सेरोफेरोमा हेर्न सक्छौं । आधुनिकताको पहिलो चरण २००७ साललाई भन्छौं । दोस्रो चरण २०१७ सालपछिको समयलाई भन्छौं । जनजागरण र नेपाली साहित्यको कुरा गर्दा २०३२÷३६ सालको विद्यार्थी आन्दोलन हेर्नुपर्छ । जनमतसंग्रहमा असफलता भयौ भनेपनि परिवर्तनको महत्वपूर्ण पक्ष यो चरण रह्यो । यो समयको साहित्यलाई समसामयिक धारा भनिन्छ । यो इतिहासको कुरा भयो ।

अहिलेको समयको जनजागरण नेपाली कांग्रसेसले कसकोलागि जनजागरण गर्न लागेको हो । मेरो हेराईमा पार्टी पदाधिकारीमा जागरण आउनु प¥यो । नेताहरुमा जागरण आउनु प¥यो । यतिखेर चलाएको जागरण पार्टी कार्यकर्तालाई तिम्रो कारणले चुनाव हारियो जाग भनिरहेको जस्तो देखिन्छ । यो कसकालागि हो स्पष्ट पार्न जरुरी छ । हामी लेखिराखेका छौं, नेतृत्वहरुले पढ्नु भएको छ कि छैन । वैचारिक नेता नरहरि दाइले नै यो कुरा उठाएपछि विचारको कुरा झन बढी महत्वपूर्ण भएर आयो नै । विचार पहिला हुनुप¥यो त्यसपछि संगठन हो । नेताहरुमा अलमल व्यापक देखिएको छ जागरण उहाँहरुलाई छ, लेखक संघलाई पनि जागरण आवश्यक छ । हामी सबैले म म भन्न जरुरी छ ।

प्रा.गणेशदत्त भट्टले हरेक शनिवार नरहरि दाइले यो किसिमको कार्यक्रम राख्नु भनेको चानचुने कुरा होइन । यसको महत्व धेरैनै छ, यसलाई नियमित रुपमा गर्न पनि धेरैनै अप्ठेरो काम हो । ठूला साहित्यकारहरु हुनुहुन्छ आज यहाँ । समाजलाई सचेत र जागृत बनाउन साहित्यकारहरुको ठूलो भूमिका हुन्छ । साहित्यलाई कथा र कवितामा मात्र लिनु हुदैन । यसको व्यापक आयामहरु छन् । जेन्डरका विषयमा पनि महत्वपूर्ण साहित्यहरु हुन्छन् । नेपालमा राजनीतिक चेतनाबृद्धि गर्ने सन्दर्भमा धेरै ठूलो योगदान छ ।

जवाहलाल नहरुको मृत्यु पछि हेर्दा उनको तकियाको तल पनि एउटा कविता भेटिएको थियो । उहाँलाई पनि कविताले प्रेरणा दिइरहेको रहेछ । वीपीले डायरीहरुमा साहित्यको महत्वको बारेमा पनि लेखिरहनु भएको छ । जसको साहित्यमा दख्खल हुँदैन, जसले साहित्यको बारेमा जानकारी राखेको हुँदैन, जसले साहित्यको अध्ययन गर्नु हुँदैन त्यो साचो रुपमा देशको नेता हुनैसक्दैन । नेतृत्व हुनका लागि सबै किसिमको व्यक्तित्व हुनै पर्दछ । राजनीतिक चेतनाको वृद्धिमा साहित्यको धेरै ठूलो योगदान छ । हाम्रो समाजमा पनि पढ्नेको सख्या धेरै बढेको छ । यसले बेग्लै किसिमको सक्षम युवा उत्पादन हुदै पनि छ ।

वरिष्ठ पत्रकार हरिहर विरहीले जागरण, साहित्य र लक्ष्मीप्रसाद देवकोटाको जन्मोत्सव सान्दर्भीक विषय छ । जागरणको कुरा गर्दा सबै भन्दा बढी साहित्यले नै ल्याएको हो । हामीले राजनीतिक परिवर्तनकै इतिहास हामीले लेख्ने हो भने पनि मकैको खेतिदेखि लिएर आधुनिक परिवर्तनको सन्दर्भमा धरणीधरका कृतिहरु धेरै चर्चा भइसकेको छ । कांग्रेसले गरेको जागरणको सन्दर्भमा हेर्ने हो भने विल्कुलै उल्टो गरिरहेको म देख्दछु ।

जागरण, जागृति भनेको सत्यको पक्षमा लाग्ने, अन्यायको विरुद्धमा लाग्ने, समाजमा भइरहेको विकृति, विसंगतिलाई उदिनेर त्यसलाई अन्त्य गराउने तर्फ लाग्ने भन्ने हुनुपर्ने हो तर ठिक उल्टो भइरहेको छ । राजनीतिमा लागेका चाहे स्वतन्त्रताको पक्षधर नेपाली कांग्रेस पार्टी भनौं, अथवा जनताको लागि समर्पित भनिएको कम्युनिष्ट पार्टी भनौं दुइटै पार्टीको उद्देश्य र कार्यक्रमहरु औपचारिक रुपमा फरक होला तर व्यवहारमा देखिएको चरित्र सत्यलाई झन् ढाकछोप गर्ने, झुटा कुराहरुको प्रचार गर्ने, जनतालाई वास्तविकताको कुरा थाहा दिने भन्दा पनि भ्रमित गराउने काम दुबै पार्टीहरुबाट भएको छ । लामो समय पछि कम्युनिष्ट पार्टीलाई जनताले चाहेर, भ्रममा परेर वा विवषताले हुनसक्छ शासनमा ल्याए । सत्तामा आएपछि पहिलो काम नै सत्यको मुख थुन्ने रह्यो । सबै कुरामा नियन्त्रण गर्ने । गायकलाई थुनेर राखेको छ । यसले के म्यासेज दिन खोजिदैछ ? यो नीतिले जागरण ल्याउन खोज्ने गायक, लेखक पत्रकार, बुद्धिजिविहरुलाई आतङ्कीत गर्न खोजिएको छ । उनीहरुको स्वतन्त्रता माथि हस्तक्षेप गर्र्ने बाहेक केही देखिदैन । कांग्रेसले चलाएको जागरणमा पनि यहि भएको छ ।

यो जागरण होइन । विधिको शासन हुनुपर्छ, कानुनी शासन हुनुपर्छ भनेपनि कुनै पनि अपराधिलाई सरकारले कार्वाही ग¥यो भने सबै भन्दा पहिला हाम्रा नेताहरु डराउछन् । कार्वाही गर्न खोजेको पक्षमा लागेर ढाल बनेर उभिन्छन् । जागरण भनेको मनको डर भगाउन कोसिस गर्छ । राजनीतिमा लागेका व्यक्तिले नै जनतालाई जागृत गराउनु पर्ने हो । दलहरु सत्य तर्फ भएनन् । त्यसले गर्दा राजनीति तर्फ भन्दा नागरिक समाज, साहित्यकार, बुद्धिजिविहरुले बढी सक्रियता देखाउन सकेभने जागरणको चेतना अघि बढ्न सक्ला ।

नेपाली कांग्रेस काठमाडौंंका सदस्य रामचन्द्र घिमिरेले आजको विषयमा जागरण भन्ने वित्तिकै यतिखेर कांग्रेसले चलाएको जागरण भन्ने नै मेरो मानसपटलमा आएको छ । तथापी जागरणको धेरै अर्थहरु छन् । २०४६ सालदेखि राजनीतिको मियो बनेको कांग्रेस संविधानसभाबाट संविधान दिइसकेपछि यतिखेर बैधानिक प्रतिपक्षी पनि बन्न नसकेको कांग्रेसका लागि जागरणको विशेष महत्व छ । यतिखेर सरकार सभ्यता, संस्कृति, साहित्य केही नबुझेको मुर्ख र नेपाली जनताको मुख थुन्न उद्दत देखिदै आएको छ । केही समय अघि लोकगीत माथि लगाएको प्रतिबन्ध पछिल्लो समयमा अन्य गीतहरुमा पनि यो उद्दण्डता देखाएको छ । लोकतन्त्र मास्न यो सरकार उद्दत देखिन्छ । यसकालागि साहित्यकारहरुको लेखन आन्दोलननै सुरुहुनुपर्ने अवस्था बनिसकेको छ । विशालताको दृष्टिमा नेपाली कांंग्रेस र लक्ष्मीप्रसाद देवकोटा उस्तै देख्छु ।


अर्को विषय नेपाली साहित्य र लक्ष्मीप्रसाद देवकोटाको बारे छ । लक्ष्मीप्रसादेवकोटालाई भारतिय विद्वान डा.राहुल साङ्कृत्यायनले भनेका छन् – “मैले देवकोटालाई बुद्धपछिको सबै भन्दा ठूलो मानवअवतारका रुपमा लिएको छु” । देवकोटाको यो उचोकदले नै थाहा हुन्छ उहाँको विशिष्टता । देवकोटाले २००४सालमा नेपाली कांग्रेसको मुखपत्रमा सम्पादक भएर २००७ सालको क्रान्तिकालागि महत्वपूर्ण भूमिका खेल्नु भएको स्पष्ट हुन्छ । त्यसैगरी देवकोटा २०१३ सालमा शिक्षा मन्त्री भएर त्रिभुवन विश्वविद्यालय खोल्नका लागि स्थानको छनोट गर्ने र खोल्ने दुबै कामले उहाँ कति भविष्य द्रष्टा हुनुहुन्थ्यो भन्ने पनि देखाउछ । देवकोटाले नेपाली भाषी साहित्यलाई अंग्रेजीमा अनुवान गरेर नेपाली साहित्यलाई विश्वसामु पु¥याउने पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँको आर्थिक अवस्थाका बारेमा विभिन्न किम्बदन्ती जस्ता कुरा सुनेतापनि उहाँले टिउसन पढाउने, अनुवाद गर्ने, पुस्तक लेखेर आफ्नो घरको चुलो बाल्नु हुन्थ्यो ।

यसले पनि उहाँको आर्थिक अवस्था कमजोर थियो भन्ने नै देखाउछ । अर्को देवकोटालाई माता–पिता र छोरीको विछोड्ले चुरोटको नशा लागेको भन्ने पढ्न पाइन्छ । त्यसैगरी छोराहरुको वियोगले उहाँको मानसिक उपचार गर्नपरेको पनि बताइन्छ । यस्तो अत्यन्तै दर्दनाक परिस्थितिका विचमा पनि देवकोटा साहित्यमानै विहान उठ्नु हुन्थ्यो, खाना खानु हुन्थ्यो, दिउसो हिड्नु हुन्थ्यो र राति सुत्दा पनि साहित्यमा नै सुत्नु हुन्थ्यो भनिन्छ । देवकोट छोटो समयमा महाकाव्य तयार पार्न सक्ने, परिचय भने कविका रुपमा छ । मलाई पागल पढ्दा अहिले पनि संकोच लाग्छ, त्यसमा प्रयोग भएका शब्द वेस्या, रण्डी मैले पहिला कहिल्यै नबोलिएको शब्द थिए । उहाँका कविता भविष्य देखाउने छन् । मुनामदन अहिलेको खाडीमुलुकमा काम गर्न जाने आउनेको पीडासँग साक्षात्कार छ । यस्ता मुर्धन्यव्यक्तिको बारेमा आजसम्मका सरकारहरुले केही गर्न नसक्नु, चुक्नु नेपाली साहित्यको वेवास्ता गर्नु नै हो ।

काठमाडौं टोखा नगरपालिका कांग्रेसको उपमेयरका उम्मेदवार रजनी थापाले राजनीतिमा साहित्य अपरिहार्य रहन्छ यो म बुझ्दैछु । कतिपय कुरा हामी सबैले भोग्न सम्भव हुदैन । जीवन छोटो छ । भोगेका कुराको पनि महत्वपूर्ण ज्ञान साहित्य हो । त्यसलाई पढेर नै हामी धेरै बुझ्न सकिन्छ । त्यसैगरी गित, कविताले हाम्रो मन छिटै छुन्छ, आकर्षित गराउछ । त्यसैले पनि राजनीतिमा साहित्यको महत्वपूर्ण भूमिका हुन्छ । पार्टीको जागरणमा लागिरहेको एक सदस्यले साहित्यिक दृष्टिकोणबाट पनि बुझ्ने अबसर भयो । हामीलाई साहित्यकारको मार्ग आवश्यक भएको छ ।

बालसाहित्यकार शाश्वत घिमिरेले लेख्ने मानिसकालागि पाठकको खोजी हुन्छ भने पढ्नेले लेख्नेलाई खोज्ने हुन्छ । यो दोहोरो चल्ने स्वभाविक कुरा भयो । जागरण यो दुबैमा पनि चाहिन्छ । लेखेर कसैले पढ्ने जागर गरिदिनु भएन भने किन लेख्ने भन्ने हुन्छ । फेरि नलेखिकन पढ्ने के ! जे कुरा बुझ्न पनि पढ्नै पर्छ । स्वतन्त्र रुपमा लेख्ने मानिस कांग्रेस हुन्छ भन्ने मान्यता कांग्रेसले बुझ्नु पर्छ । कांग्रेसको सदस्यतानै लिनुपर्ने बनाउने भन्दा कांग्रेसले फ्रि रुपमा लेख्न प्रेरित गर्नुपर्दछ । स्वतन्त्र लेखक लोकतन्त्रवादी हुन्छ । लोकतन्त्रवादी कांग्रेस हुन्छ भनेर बुुझिदिनु पर्छ भन्ने मलाई लाग्छ ।

कार्यक्रममा उषा आचार्य, सविन भेटवाल, श्याममणी आचार्य, टोपेन्द्र रानामगर लगायतको उपस्थिति थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल