आज पापाङकुशा एकादशीव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन २२ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको २२ गते बुधवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको एकादशी तिथि दिवा ५।५७ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । धनिष्ठा नक्षत्र राति १२।५० बजेसम्म रहनेछ । शूल योग र बब करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।०१ मा छ भने सूर्यास्त बेलुका ५।४० बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा छन् ।


आज पापाङ्कुशा एकादशीव्रत रहेको छ । आश्विन शुक्लपक्षको एकादशीलाई पापाङ्कुशा भनिन्छ । यो एकादशीको व्रत धारण गर्नाले शरीरमा भएका सम्पूर्ण पाप नष्ट हुनेछन् । आज विधिपूर्वक भगवान पद्मनाभको पूजा गर्नुपर्छ । यो एकादशीले मनोवांछित फल दिएर स्वर्ग प्राप्त गराउँदछ । लामो समयसम्म कठोर तपस्याबाट जुन फल प्राप्त हुन्छ त्यो फल भगवान गरुडध्वजलाई नमस्कार गर्नाले प्राप्त हुन्छ । अज्ञानवश भएका अनेक पापको निवृत्तिका निम्ति आजको व्रत सिद्धिदायी रहन्छ । यसैगरी यमयातनाबाट निवृत्तिका निम्ति पनि आजको व्रत लाभदायी रहनेछ । यसैगरी सम्पूर्ण तीर्थ गरेको जो फल हुन्छ सो पापाङ्कुशा एकादशीको व्रतले पूरा गर्दछ । जबसम्म मनुष्यले पद्मनाभ अर्थात् पापाङ्कुशा एकादशीको व्रत गर्दैनन् तबसम्म शरीरमा पापले निवास गर्दछ । गंगा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीथसमान फल दिने पापाङ्कुशा एकादशी महिमा पाइन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल