पूर्वसभामुख महराकाे दशैं प्रहरी हिरासतमा, बयान दशैँपछि

Advertisement

काठमाडाै‌, २० असाेज । देशबासी दशैंमा रमाइरहेका बेला निवर्तमान सभामुख कृष्णबहादुर महराको दशैं प्रहरी हिरासतमै बित्ने भएको छ।

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा दशैंको अष्टमीको दिन साँझ सभामुखको निवासबाटै पक्राउ परेका हुन्।

उनलाई अहिले महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ। पीडित महिलाले बानेश्वर प्रहरी वृत्तमा उजुरी दिए पनि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सिंहदरबारमा राखिएको हो। आइतबार उनलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार हाल महरालाई बलात्कार प्रयासको मुद्दामा थप अनुसन्धानका लागि अन्य आरोपीसरह हिरासतमा राखिएको छ।

मुलुकमा बलात्कार, यौन दुर्व्यहार र महिला हिंसाका घटना सार्वजनिक र कारवाही हुने क्रम बढे पनि उपल्लो तहका राजनीतिक पदाधिकारी जोडिएको यो पहिलो घटना हो।

यही असोज १२ गते काठमाडाैंको शान्तिनगरस्थित ‘डिप्रेसन’ को औषधि सेवा गर्दै आएकी संसद् सचिवालयमा कार्यरत एक महिलाको निवासमा भएको भनिएको सो घटनामा पीडित महिलाले सार्वजनिकरूपमा परस्पर विवादित प्रतिक्रिया दिए पनि प्रहरीलाई किटानी जाहेरी दिएकाले थप अनुसन्धानका लागि महरालाई प्रहरी हिरासतमा राखिएको हो।

ती महिलाको सार्वजनिक पहिलो भिडियोमा आफू महराबाट बलात्कृत भएको उल्लेख छ भने दोस्रो भिडियोमा महरासँग लामो पारिवारिक सम्बन्ध रहेको र बाबुसमान व्यक्तिबाट त्यस्तो घटनाको कल्पना गर्न नसकिने उल्लेख छ।

दशैँ बिदाका क्रममा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने भएकाले घटनाबारे अनुसन्धान जारी रहे पनि सुनुवाइ रोकिने हुँदा त्यसबीचमा महरा हिरासतमै रहनुपर्नेछ। पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनमा शोक मनाउन सर्वाेच्च अदालतले यही असोज २७ गते मुलुकका सबै अदालतमा बिदा दिने निर्णय गरेकाले २८ गतेमात्र अदालत नियमित खुल्नेछ।

अन्य घटनामा जस्तै यस घटनामा पनि प्रहरीले थप अनुसन्धान गरी प्रतिवेदन तयार गर्नेछ। उक्त प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गरी अदालतमा पेश गर्नेछ।

यस प्रकारको घटनाको अध्ययनमा संलग्न अधिवक्ता स्वागत नेपालले पीडितले वक्तव्य वा बयान फेर्नु वा नफेर्नुले अनुसन्धानमा खास असर नपर्ने जनाउँदै पीडितको मानसिकता त्यही घटना दोहोरिरहने हुनाले बयान फेर्न सक्ने गरेका अन्य घटना पनि भएको र पीडकलाई अदालतले कारवाही गराएका उदाहरण रहेको टिप्पणी गरे। तर उच्च तहका पदाधिकारी (हाइ प्रोफाइल) का व्यक्तिहरुले कतिपय यस्ता घटना छिपाएर राख्ने गरेको पनि अधिवक्त नेपालको भनाइ छ।

घटनाबारे पक्ष विपक्षमा टीका टिप्पणी भएपछि यही असोज १४ गतेको सम्पन्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले महरालाई प्रतिनिधिसभाको सभामुख र सांसद पदबाट राजनीमा दिई अनुसन्धानलाई सघाउन आग्रह गरेको थियो।

महराले असोज १५ गते आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी सभामुख पदबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए। सोही दिन उपसभामुख डा शिवमाया तुम्बाहाम्फेको आदेशमा संसद् सचिवालयले सूचना टाँस गरी राजीनामा बारे जानकारी दिएको थियो।

प्रतिनिधिसभा नियमावली, २०७५ को २११ अनुसार त्यसरी राजीनामा दिएको सूचना टाँस गरेपछि पद रिक्त भएको मानिनेछ। उनले सांसद पदबाट भने राजीनामा दिएका थिएनन्। प्रहरीले अदालतमा मुद्दा दायर गरेमा सांसद पद निलम्बित हुनेछ।

आरोप पुष्टि भए ५ वर्षसम्म कैद

महरामाथि लागेकाे आरोप पुष्टि भएमा उनलाई तीन वर्ष ६ महिना वा ५ वर्ष कैद सजाय समेत हुनेछ। मुलुकी अपराध संहिताले कुनै पनि कसूरको उद्योग पुष्टि भए तोकिएभन्दा आधा सजाय हुने व्यवस्था गरेको छ।

संहिताको परिच्छेद १८ मा रहेको जबरजस्तीकरणी सम्बन्धी कसूर सम्बन्धी दफाको उपदफा ३ (ङ) मा पीडित १८ वर्ष वा सोभन्दा बढी उमेरको महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने उल्लेख गरिएको छ। महरा प्रकरणमा पीडितको उमेर १८ वर्षभन्दा बढी भएकाले यो व्यवस्था लागू हुने देखिन्छ। रासस

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल