राती १२ बजे घाम लाग्ने देशको कथा -८

Advertisement

-हरिविनाेद अधिकारी-

वास्तवमा जीवन नै यात्रा हो, जीवनका प्रत्येक पल नै , हरेक पल नै अनुभवका लागि हुन् । कुनै अनुभवले खुसी दिएको जस्तो लाग्छ त कुनै अनुभवले दुःख भएको जस्तो लाग्छ ।

वास्तवमा जीवन भनेको नै सबै चिजको समाहित स्वरुप रहेछ । हामी अर्थात् म, मेरी श्रीमती देवकी, छोरी अर्चना , ज्वाई नवराज सापकोटा तथा २ वर्षकी नातिनी अदिति सापकोटा सहित ५ जना अनलाइन टिकट किनेर जर्मनीको राजधानी बर्लिन र चेक गणराज्यको राजधानी प्रागका लागि जुलाई २५ अर्थात् साउनको ९ गते ओस्लोबाट बर्लिनतर्फ लाग्यौँ । ओस्लोमा सार्वजनिक यातायातको राम्रो व्यवस्था भए पनि विहानै ७ बजे जस्तो बेलाको प्लेन हुनाले र अन्ताराष्ट्रिय हवाइ मैदान टाढै हुनाले चाँडै निस्कियौँ र द्रूतमार्गको रेलमार्फत् बेलैमा पुग्यौँ । अनि सामानको सुरक्षा जाँच गर्न लाग्दा सानी नातिनी कुनबेला कुनबेला हामीलाई छोडेर सुरक्षा घेराभन्दा भित्र पुगेकी रहिछन् ।

हामीले त्यो बेलामात्र थाहा पायौँ जब हामी उनका पानीका बोतल र खानेकुराहरुको विवरण अध्यागमन प्रहरीलाई भन्दैथियौँ । नातिनी त छैन, कता गई गई । तर अलिपर कतै जाँदै थिई र हामीले त्यहीँको प्रहरीलाई अनुरोध गरेर फिर्ता ल्यायौँ । कस्तो अप्ठेरो भने न त हामी सुरक्षा रेखा पार गरेर भित्र जानै सक्थ्यौँ सुरक्षा जाँच विना , न त बच्ची नै अरुसँग मान्नेवाली थिई । तर सुरक्षाकर्मी बहिनीले बोकेर ल्याइदिइन् । सुरक्षा चेक गरेर भित्र पसेपछि बल्ल डर लाग्यो यदि बच्ची भीडमा प्रवेश गरेर हराइकी भए ? त्यस्तोबेलामा के हुन्छ भने कसले गर्दा बच्चीको वास्ता भएन ? हामी सबैले भन्यौँ , चकचके नानीलाई सबैले ध्यान दिनु पथ्र्यो तर दिइएन , नानी भेटिई , तत्कालै देखियो र खासै केही सेकेन्डमै भेटियो ।

अब हामी सतर्क भयौँ बच्ची कतै पनि कुनै पनि बेला फुत्त कतै जान सक्ने अवस्था छ । हामी बर्लिन झरेपछि जानु थियो बिज्सिवेगसम्म जहाँ हाम्रा वैज्ञानिक दम्पति हिमेन्द्र झा र रानी झा बस्थे । बर्लिन ठूलो सहर रहेछ । हवाइ मैदानदेखि स्पान्दाउसम्मको लामो सहरी रेल मार्ग सतहमा रहेछ । भूमिगत रेलमार्गलाई त्यहाँ यु बाहन भन्दा रहेछन् र सतहमा रहेको रेलमार्गलाई एस बाहन भन्दा रहेछन् । त्यसो त रेल, बस सबैलाई नै बाहन नै भन्दा रहेछन् । स्पान्दाउसम्म रेलको हवाइ मैदानदेखिको अन्तिम स्टेसन रहेछ । एकजनाको करिब ४ युरो लाग्दो रहेछ । ओस्लोमा कम्तीमा एक घन्टे टिकट हुन्छ भने बर्लिनमा कम्तीमा दुई घन्टे टिकट हुँदोरहेछ । हामी त्यही स्पान्दाउसम्मको टिकटमा नै विज्सिवेगसम्म पुग्यौँ । करिब डेढ घन्टासम्मको रेल यात्रा र २२ मिनेटको बस यात्रा गर्दै ।

हामी ५ जना भएकाले एउटा ट्याक्सीमा बस्न मिल्दैन रहेछ । एउटा सामान्य ट्याक्सीमा जम्मा ५ जनामात्र बस्न पाउने जसमा ड्राइभर पनि हुन्छ । अनि ४ वर्षसम्मको बच्चाका लागि बेबी सिट अनिवार्य चाहिन्छ । अर्थात् पछिल्तिर ३जना, अनि ड्राइभरसमेत अघिल्तिर दुई जना । एकजना अर्कोको लागि बेग्लै ट्याक्सी अनिवार्य चाहिने ।

यो कुरा हाम्रालागि कहिले समस्यामूलक भयो भने २८ जुलाईमा जब हामी प्राग जानका लागि बर्लिनको सेन्ट्रल स्टेसन जानु पर्ने बेला भयो , आइतबारको दिन थियो, विहानै रेल र बस कुनै पनि समयमा चल्नेवाला थिएनन् अनि हाम्रो विहानैको ७बजेर ३० मिनेटको रेल लिपजिग समात्नु थियो । ट्याक्सी ठिक ६ बजेर ३५ मिनेटमा आयो तर अर्को ट्याक्सी पनि वरिपरि थिएन अनि उसले ५जनालाई कुनै पनि हालतमा लान मानेन । हामीले भन्यौँ हाम्रो रेल छुट्छ, अनलाइन टिकट हो, समय सर्दा पनि सर्दैन ।

ड्राइभरले भन्यो , यो तपाईँहरुको समस्या हो । उसले मानेन र अर्को ट्याक्सी मगाएर जाँदा रेल छुट्दै थियो । त्यहीबेलामा रानी झाले छिमेकी भारतीय बन्धु विवेक श्रीवास्तवसँग अनुरोध गर्नुभयो हामीलाई जसरी हुन्छ रेल्वे स्टेसनसम्म समयमा पु¥याइदिनका लागि । कुरो फेरि त्यही ५ जना, बेबी सिट अनि एकजना के गर्ने ? उहाँले एउटा खतरा मोल्नुभयो , बाटामा अर्को ट्याक्सी नभेटेसम्म सबैजनालाई उहाँले नै लिएर जाने, अनि जहाँ ट्याक्सी भेटिन्छ, त्यहाँ बच्चालाई बेबीसिटमा राखेर पठाउने । तर एउटा धर्म निभाउने कुरा के रहेछ भने प्रत्येक ट्याक्सीसँग बेबीसिट हुने नै रहेछ ।

विना बेबी सिट बच्चालाई चढाउन पाइँदैन , चढाएमा दण्डको कुराभन्दा पनि त्यो ट्याक्सीको अनुमति नै रद्द हुने रहेछ । श्रीवास्तवजीले त्यो खतरासँग यसकारणले जुध्ने साहस गर्नुभएको थियो कि आइतवार सामान्यतया विहान ९बजेसम्म कुनै चेक पनि नहुने रहेछ किनभने सडकमा गाडी नै नदेखिने रहेछन् । सार्वजनिक यातायात पनि आइतवार कम चल्ने , ढिलो चल्ने र चाँडै बन्द हुने रहेछन् ।

करिब एक किलोमिटर टाढा हामीले ट्याक्सी पायौँ र ज्वाई र छोरी ट्याक्सीमा र हामी श्रीवास्तवजीकै कारमा रेल्वे स्टेसन पुग्यौँ । त्यो दिनको समय हाम्रा लागि एकाविहानै देखि किन किन अप्ठेरो जस्तो भयो । सडकको रातो ट्राफिक बत्ती पनि धेरै बेर बलेको जस्तो लाग्ने, अब रेल छुट्यो , छुट्यो जस्तो भयो । हामी होपबाहन हफ रेल्वे स्टेसनको २ नंबर प्लेटफर्ममा पनि पुग्नु अनि त्यो आइ सी रेल पनि आइपुग्नु । कस्तो ठीक समय भयो भने , यदि एकमिनेट मात्र पनि ढिलो भएको भए त्यो लिपजिगसम्मको द्रूत वाहन रेल छुट्ने रहेछ । लिपजिगबाट बसमा प्राग जाने टिकट थियो । हामी बस पार्कमा पुग्यौँ ।

९ बजेर २६मिनेटको बस थियो, आरामसँग बस टर्मिनलमा बसेर बसको प्रतीक्षामा थियौँ , बस आयो तर हामीलाई बेबी सिट नभएकाले लान नसक्ने अड्डी लियो । बच्चाबाहेक आफ्नो सिटमा बस्न भन्यो । ऊसँग बेबी सिट पनि थिएन र विना बेबीसिट नलाने भने पछि हामीले अनुरोध गरयौँ , अब हामीले के गर्ने त ? उसले त्यो तपाईँहरुको समस्या हो भन्दै बस गुडायो उसको गन्तव्यमा । हामीलाई त्यहीँ छोडेर । नेपाली विद्यार्थीहरु पनि थिए तिनले पनि अनुरोध गरे, तर उसले मानेन । त्यो ड्राइभर टसमस भएन, उसले हामीलाई छोडेर जान न त कुनै अप्ठेरो मान्यो , न त कुनै पछताउ । हाम्रै आँखा अगाडि हाम्रा सिटहरु खालि राख्दै आइ सी बस प्रागतर्फ गयो हामीलाई जर्मनीको लिपजिगमा छोडेर । नियमको कडाइ मान्ने कि अमानवीयताको पराकाष्ठा मान्ने ?

ज्वाईले टिकटमा बेबी सिटको कुरा नलेखेको भनेर भन्दा पनि ड्राइभरले बसको नियम देखायो , ४ वर्षसम्मको बच्चालाई बेबीसिट आवश्यक छ , नत्र विना बेबीसिट चलाए ड्राइभरको अनुमतिसमेत रद्द हुने कुरा बारम्वार देखायो । हामीले सामान राख्न खोज्दा नै उसले सोधेको थियो बच्चा कतिको हो ? हामीले झुठो कुरो भन्नु थिएन , भन्यौँ २ वर्ष । अनि उसले कुनै पनि हालतमा मानेन । हामी छक्क पर्यौँ , अलमल्ल पर्यौँ । गन्तव्य प्राग अब के हुने ? रेलबाट झरिसकेका थियौँ , प्रागमा होटेल बुक थियो ३ दिनलाई , साथमा बच्चा छ अनि बर्लिन फर्कन पनि अर्को टिकट आवश्यक हुन्छ किनभने हामीले प्रागबाट फर्कने टिकट त ३० जुलाईको छ , ३१ बर्लिनबाट ओस्लो फर्कन प्लेनको ।

ज्वाईँ जानु भयो डच बाहनको अफिसमा । अनि सबै समस्या सुनाउनु भएछ । डच बाहन संसारमा नै समयको वारेमा सच्चा यातायात संस्था र यात्रुको कुनै पनि समस्या सुन्ने संस्था मानिदो रहेछ । डच बाहनले हामीलाई त्यही दिनको ड्रेस्डनसम्मको यात्रा र ड्रेस्डनबाट बसमा प्रागसम्मको व्यवस्था गरेर लेखेर दियो सबै समस्यासमेतमो कागज जर्मन भाषामा । हामी ११बजेर ३८ मिनेटको रेलमा जाने भनेको टिकट कन्ट्रोलरले पहिले पनि जान सक्ने भनेर हामीलाई रेलमा बोलायो र हामी करिब १२ बजे नै ड्रेस्डन पुग्ने द्रूत वाहनमा चढ्यौँ प्राग जाने क्रममा । प्राग जानका लागि सीमासम्म बसको व्यवस्था गरिएको रहेछ रेलको सट्टा भनेर । हामी १ बजेको बसमा प्राग तर्फ लाग्यौँ , त्यहाँ कुनै बेबीसिट चाहिएन, त्यो पनि डच बाहनकै बस थियो , उही कम्पनीको । वास्तवमा बसका लागि आवश्यक थिएन र ड्राइभरले त्यो अडान लिएकाले सायद हामीलाई बाहन कम्पनीले हाम्रालागि त्यो व्यवस्था गरेको होला । ड्रेस्डनमा त रेल्वेका कर्मचारीहरुले हामीलाई बसमा चढाएरमात्र विदाइ गरेका थिए ।

हामीलाई चेकको उस्तीसम्म पुर्याएर बसले छोड्यो र ड्राइभरले भन्यो—अब १० मिनेटमा नचढे अर्को एक घन्टापछि मात्र रेल आउँछ । उस्तीबाट प्रत्येक एक एक घन्टामा प्रागको केन्द्रीय रेल्वे स्टेसनमा रेल जाने रहेछ । हामीलाई डच बाहनले उस्तीको रेल्वेको समेत व्यवस्था गरेको थियो । तर उस्तीको रेलले हामीलाई छुट दिएन, मात्र उसले त्यही मूल्यमा टिकट दियो प्रत्येक व्यक्तिको ६.५ युरो बराबरको । हामीले डच बाहनले दिएको कागज देखायौँ , टिटीले मानेन तर भन्यो—त्यो बसको टिकट मिलाएको कागज हो । हामी चेक रिपब्लिकन हौँ, यो कागज दिने जर्मन कम्पनी हो । उसको त्यो भनाइमा कता कता अभिमान थियो , कता कता उसको नमिलाउने दम्भ थियो । वास्तवमा त्यो कागजमा प्रागसम्मको स्पष्ट त्यही रेलको वारेमा समेत लेखिएको थियो । हामीलाई प्राग पुग्ने कुराले खुसी तुल्याएको थियो । नदीको तिरैतिर तिरैतिर करिब ५० मिनेटमा पुर्यायो प्रागको केन्द्रीय रेल्वे स्टेसन ।

हामीले बुक गरेको पेन्सन प्राग होटेल कता हो भन्ने कुराको लागि सोध्दा थाहा छैन भन्छन् पुलिसहरु पनि । ट्याक्सीहरु पनि । फोनमा चार्ज सकिन लागेको छ नक्शा देखाउन पनि । स्टेसनको अर्कोभागपट्टि भनेर देखाउँछ स्टेसनको अर्को भागतिर जाने बाटै छैन कतै पनि । करिब एक घन्टासम्म हामी भौँतारियौँ स्टेसनमा नै । ठूलो स्टेसन रहेछ । युरोपका सबै सहरमा रेल्वेको जालो फिँजाएको प्राग स्टेसन । पुरानो सहर युरोपकै । कुनैबेला युरोप नै आफ्नो कब्जामा राखेर शासन गरेको प्राग पछि सोभियत संघको कब्जामा परेको थियो र १९८९मा मात्र स्वतन्त्र भएर पनि चेक र स्लोभाक गणराज्यको रुपमा बाँडिएको थियो । भूपरिवेष्टित देश चेकको राजधानी प्रागमा पनि सार्वजनिक यातायातको साह्रै राम्रो व्यवस्था रहेछ खासगरी सहरमा ट्रिक अर्थात् ट्रली बस। प्रत्येक स्टेसनमा वाइफाइ फ्रि रहेछ जुन जर्मनीमा र नर्वेमा अझै सम्भव हुन सकेको रहेनछ ।

अनि हामीले केहीमात्र चार्ज बाँकी रहेको फोनलाई प्रयोग गर्दै होटेल पेन्सन प्राग सिटीसम्म पुग्यौँ र ३० तारिखको ४बजेसम्म प्राग सहर घुम्यौँ । त्यसपछि त ४बजेर ३२ मिनेटको इसीको रेल थियो सिधै बर्लिनसम्मको । रमाइलोसँग बर्लिन आयौँ अनि भोलिपल्टको साँझको ओस्लोका प्लेनमा गान्डेमुन अन्तराष्ट्रिय विमान स्थलसम्म आइपुग्यौँ र रातको १२बजेतिर लाक्केगाताको राथ्खेसगाता आइपुग्यौँ ३१ तारिखको अन्तिम मिनेटमा ।

बाहन भन्दा रहेछन् जर्मनीमा यातायातलाई । नर्वेमा पनि बान भन्दारहेछन् खासगरी मेट्रोलाई थि—बान वा टी—बान । बान पक्कै जर्मनी बाहनको बान भएको हुनुपर्छ जस्तो लाग्यो किनभने सँस्कृतमा वाहन भनेको परिवहनको साधन हो ।

अब त सूर्य पनि दक्षिणायन भए । ओस्लोमा पनि घाम झुल्कने बेला आजको ( ८ जुलाई) विहानको ५ बजेर १६ मिनेटमा थियो र घाम अस्ताउने साँझको ९ बजेर २९ मिनेटमा हुनेछ । फेरि यो पनि अर्को अचम्भ लाग्यो, किन हो प्रत्येक मोबाइल र आइप्याडमा फरक फरक समय देखाउँछ । मेरो आइफोनमा देखाएको समयमात्रै मैले लेखेको । र आजको साक्षात्कार एकजना त्यस्तो नेपाली युवासँग जसले ओस्लो सहरमा पनि केही गरेर नेपालको सेवामा जुटेको छ डोटीका युवा जीतेन्द्रविक्रम शाही । एम एस सी वातावरण विज्ञान पढ्न नर्वेजियन युनिभर्सिटी अब लाइफ साइन्सेजमा आउनु भएका शाहीको अहिलेको परिचय भनेको युवा उद्यमीको रुपमा मात्र होइन , नेपाली जन सम्पर्क समिति , नर्वेका सभापतिको रुपमा पनि छ । खासगरी नेपालीहरुले महोत्सवका रुपमा नै मान्ने गरी गरिने खेलकुद प्रतियोगिताको रुपमा २१ जुलाईमा भलिबल प्रतियोगिताको सफल सञ्चालन गर्नुभएका शाही आफू सधैँ नेपालमात्र सम्झने बताउनु हुन्छ । अबका दिनमा नेपालबाट आउने जनशक्तिको असल प्रयोग कसरी गर्ने र घुम्नमात्र आउने नेपालीको स्वास्थ्य सुरक्षा कसरी दिलाउने भन्नेमा शाही चिन्तित हुनुहुन्छ र भन्नुहुन्छ—एउटा कोष नै बनाउने र नेपालीहरुको हितमा लगाउने विचार छ । जन सम्पर्क समिति त नेपाली काँग्रेसप्रति आस्थावान नेपालीहरु जो जो नर्वेमा बस्नुहुन्छ , उहाँहरुको आफ्नो सँस्था भए पनि हामी सबै नेपालीहरुको साझा सँस्थाको रुपमा यसलाई चिनाउन चाहन्छौँ भन्नुहुन्छ शाही ।

माता राधिका शाही र पिता दिलबहादुर शाहीको पुत्रको रुपमा सन १९८१ मे १८मा दीपायलकाे केआई सिंह गाउँपालिका ५ मा जन्मनु भएका शाहीले प्रारम्भिक शिक्षा सरस्वती मावी राना गाउँ थपनमा लिनुभयाे भने विद्यालयतह ( उच्च मावि तह सम्म) दीलिपेश्वर मावि , दीपायलमा , स्नातक तह त्रिचन्द्र क्याम्पस तथा स्नातकोत्तर तह रसायन शास्त्र त्रि.वि. कीर्तिपुरबाट उत्तीर्ण गर्नुभयो । नर्वेबाट वातावरण विज्ञानमा उच्च शिक्षा प्राप्त गरेपछि यतै बसेर उद्यमी हुनुभएका शाहीलाई मैले रोयल तन्दुरीकै कार्यकक्षमा भेटेको थिएँ । उहाँँ आफैँ रेस्टुराँको लगानीकर्ता भए पनि उहाँ ग्राहकहरुको सन्तुष्टिका लागि खटिरहनु भएको थियो भन्नुहुन्थ्यो—काम सबै उस्तै हुन्छन्, सेवा धर्म हो भनेर करिब २० जना जत्ति श्रमिकहरुको सेवा लिएर काम सञ्चालन गरिरहेको छु ।

अबको योजनाका वारेमा शाहीको धारणा थियो—नेपालमा नेपाली काँग्रेस कमजोर हुँदा प्रजातन्त्र कमजोर हुने रहेछ , त्यसैले नर्वेको अनुभव ग्रहण गर्दै नेपाललाई जसरी हुन्छ सबै आधारभूत आवश्यकताको परिपूर्ति गर्ने खालको बीपीको सपनाको प्रजातान्त्रिक समाजवादी देश बनाउनका लागि जे सक्छु , त्यही गर्ने विचारमा आफू रहेको छु । त्यसको लागि नेपाली जन सम्पर्क समिति नै सहज माध्यम बनाउने कुरामा आफू तल्लिन रहेको बताउने शाही अब केही वर्षपछि नै नेपालमा नै गएर समाज सेवा गर्ने विचार रहेको बताउनु हुन्छ । अहिले पनि नेपालका विभिन्न गाउँ र विद्यालयहरुमा शिक्षा सहज बनाउनका लागि सक्दो सहयोग गर्दै आउनु भएका शाहीको धोको पनि विद्यालय शिक्षालाई नर्वेकै जस्तो सहज, सुलभ र निःशुल्क बनाउने छ ।

उहाँका धारणाहरुलाई आवाजमा सुनौँ । तलकाे लिंकमा क्लिक गर्नुहाेस्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल